भन्दे न साथी कुन देश जाऊँ
गएर साथी कुन काम पाऊँ
गएर साथी हतियार केको
मान्छे म ता ल्याउन त्यो बनाऊँ ।

भन्दे न साथी कि त वाग जाऊँ
बनेर माली कुन फूल ल्याऊँ
बनी व्यापारी अब फूल बेच्छु
नाफा नि मान्छे म त मात्र लिन्छु ।

बनी म शिल्पी कि त आज आऊँ
इमारतै सुन्दर क्यै बनाऊँ
त्यो शिल्पको मूल्य म लिन्न साथी
साटो म मान्छे अब मात्र पाऊँ ।

बनी कलाकार कि त आज आऊँ
म विश्वमा लाख कला फुलाऊँ
साटो कलाको म त लिन्न साथी
मान्छे म आफूनिर हेर्न पाऊँ ।

कतै गएरै कवि भै कि आऊँ
तोडेर ताराहरू नै म ल्याऊँ
सम्मान साथै यस चाहिँदैन
म मात्र मान्छे अब आज पाऊँ ।

तिया र चौकाहरूले यहाँ नि
मेरो हुने हो यदि काम भन्ने
सहर्ष आफू म त हारिदिन्छु
मान्छे जितौरी म त मात्र लिन्छु ।

जोगी भई घुम्न कि आज जाऊँ
यद्वा कुनै दर्शन एक पाऊँ
यी नेत्र खोल्दा अनि बन्द गर्दा
म देख्न मान्छे अब मात्र पाऊँ ।

-सुदामा-३, सर्लाही

मधुपर्क पुष, २०६५

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *