Skip to content

पलेटीमा गजल तथा कृति विमोचन कार्यक्रम सुसम्पन्न एक झलक


कार्यक्रम परिचय

चितवन जिल्लामा समय समयमा विविध संस्थाहरूद्वारा केही न केही साहित्यिक कार्यक्रम भै नै रहन्छन् । यही आश्विन २५गतेको दिन अग्रगामी समाज नेपालले सगुन पार्टी पयालेस, भरतपुरमा निकै आकर्षक कार्यक्रम सञ्चालन गर्यो । यस कार्यक्रमको सभापति अग्रगामी समाजका संस्थापक अध्यक्ष राजेन्द्र रिजालले गर्नुभएको थियो भने प्रमुख अतिथिमा पारस प्रकाश नेपाल हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा डा. घनश्याम परिश्रमी रहनु भएको थियो ।

यस कार्यक्रममा तीन जना गजलकारहरूका तीनवटा कृति पनि विमोचन भएका थिए । समीक्षक अतिथिमा गोविन्दराज विनोदीले प्रभाकर पण्डितकको ‘समय’को, केशवराज आमोदीले ‘सिरानीमा जून’ विजयराज ज्ञावलीको र धनराज गिरीले पुष्प अधिकारी अञ्जलिको ‘वाह काठमाण्डु’को समीक्षकको रूपमा आसन ग्रहण गरेका थिए भने अतिथिमा प्रेम विनोद नन्दन, एल.वी. क्षेत्री, सरोज भट्टराई, सदानन्द अभागी, गोर्खे साँइलो, किसान प्रेमी, रमेश प्रभात, इन्द्र रेग्मी, केदारनाथ खनाल, हरिहर सविता, भूपिन व्याकुल, पूर्णप्रसाद अधिकारी, ईश्वर कँडेल, द्वारिका नेपाल, बालकृष्ण थपलिया, सरला जोशी, लकाश पौडेल लगायतका करिव १५० जना जति नेपालका विभिन्न स्थानका साहित्यक व्यक्तिहरूले अतिथिको आसन ग्रहण गरेका थिए ।

विनोद अनुजले उद्योषकको रूपमा कार्यक्रमलाई सञ्चालित गदै अग्रगामी समाजले स्थापना कालदेखि नै साहित्यिक कार्यक्रमलाई महत्व दिएको र हरेक वर्ष यो कार्यक्रम मोती जयन्तीमा गरिने भएता पनि यस पटक तीन जना स्रष्टाका गजलका तीन कृतिहरूको विमोचन गरिने भएकोले केही ढिला हुन गएको जानकारी दिनु भयो । अग्रगामी समाजका उपादक्ष मधुसुदन हुमागाईले स्वागत भाषण गर्दै स्रष्टाहरूलाई सुनको संज्ञा दिनु भयो ।

प्रमुख अतिथिले पानसमा बत्ती बालेर उद्धाटन गर्नुभयो । शुभकामना दिने क्रममा प्रेमविनोद नन्दनले मोती जयन्तीमा अग्रगामी समाजले पलेटीमा गजल कार्यक्रम सञ्चालन गर्दै आउने गरेकोमा अत्रदेखि अन्य साहित्यकारको जयन्ती मनाउने कार्यक्रम पनि सञ्चालनको लागि अनुरोध गर्नुभयो । एल वी क्षेत्रीले चितवनको साहित्यिक कार्यक्रम कस्तो रूपले अगाडि बढेको छ सोको उदाहरणको रूपमा यस कार्यक्रमलाई लिन सकिन्छ भन्दै छोटो तथा मीठो धारणा राख्नुभयो । सरोज भट्टराईले चितवन जिल्ला साहित्य कार्यक्रम एउटा चर्चित जिल्ला भएको र यहाँबाट नयाँ कृतिहरू पाइरहेका छौं भन्नुभयो ।

कृति विमोचन कार्यक्रम

तीनवटा स्रष्टाका तीनवटा कृतिहरू प्रमुख अतिथि, विशिष्ट अतिथि र कार्यक्रमका सभापतिले विमोचन एकै चोटी संयुक्तरूपमा रमाइलो रूपमा गर्नुभयो । यसरी विमोचन गर्दा प्रमुख अतिथिका करकमलबाट वाह ! काठमाण्र्डौ विमोचित भयो भने समयको विमोचन डा. घनश्याम परिश्रमी र सिरानीमा जून राजेन्द्र रिजालले गर्नुभयो ।

कृति समीक्षा

कृति विमोचन पछि, यी कृति समीक्षा गर्ने कामको थालनी भयो । वाह काठमाण्डौको समीक्षा प्रा. धनराज गिरीले उत्तर आधुनिक शैलीमा समीक्षा गर्दै छु भन्दै सहभागीहरूलाई हसाउनु भयो र स्पष्ट रूपमा आफ्ना धारणा राख्दै चितवन जिल्लामा राष्ट्रिय कार्यक्रम भएको, अञ्जलिको गजल लेखाइको स्टायल फरक छ, अञ्जली युवापुस्ताका नायक हुन् यिनको मूल्याङ्कन आज हैन भोलि हुन्छ, गजल बन्नमा वाह भन्ने धारणा श्रोताबर्गबाट आउनु पर्छ । कृतिमा कमेन्ट गर्नु राम्रो हो तर मर्यादित कमेन्टमात्र गरौ. । गजलकार जन्माउने व्यक्ति पुष्प हो र गजलहरू परिस्कृत र राम्रा छन् ।

गोविन्दराज विनोदीले समयको समीक्षा गर्नुभयो । उहाँले यस कृतिको समग्ररूपमा आवरण सहित प्रत्येक पाना पानामा उल्लेखित शब््द शब्दको व्याख्या गर्दै लामो टिप्पणी गर्नुभयो । उहाँले राखेका धारणाका केही बुँदा यसप्रकार छन् –

-गजलको समीक्षा कठीन हुन्छ ।
-आवरणले समय वेलगाम भएको, राज्यको अवस्था आदिको घोडाको अङ्ग ङ्गले विम्बको रूपमा प्रस्तुत भएको छ ।
-गजलकारको प्रेम प्रणयको शिष्ट अभिव्यञ्जनाको साथै, राष्ट्र, राष्ट्रियता, राष्ट्रिय संस्कृति, कला वैभव, ऐतिहासिक पौराणिक महत्त्वबोध,राष्ट्रमा नवयुगिन विकास, समता न्याएको खोजी, मानवतावादी आदि थुप्रै धारणा पस्कनु भएको छ ।
-कृतिको मूल्याङ्कन गर्दै, विनोदीजीले भन्नुहुन्छ यस सङ्ग्रहभित्र गजलका थुप्रै विम्ब–प्रतिकहरूको प्रयोगद्वारा सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक, बिकृति बिसङ्गतिप्रति तीक्ष्ण व्यङ्ग प्रहार गरिएको छ ।
-सूक्तिमय, भावमय, हृदयपर्शी अभिव्यक्तिेले प्रस्तुत कृति लोकप्रिय हुने कुरा ।

गोविन्दराज विनोदीजीका यी भावयुक्त अवधारणाले कृतिकारको काव्यिकको साथै व्यक्तिगत उच्चाईलाई धेरै माथि उचालेको छ ।

केशवराज आमोदीले सिरानीमा जूनको सानो तर मीठो समीक्षा गर्नुभयो – उहाँको भनाइ धनराज गिरीको छोटो मीठो समीक्षा मन परेको । सुन्दर कृतिप्रति हार्दिक बधाइ पस्कदै जून, चन्द्रमा, शितलता, जीवनको खुसीयाली र प्रेमको प्रतिक हो । सिरानीमा जून आएर बसेको छ । भित्र पनि शृङ्गार रसले भरिएको छ कृति, अक्षर मिलेका, मात्रा मिलावटमा कमी बेसी आदि विविधताले् भरिएको यो कृति परिस्कृत रूपमा आएको छ ।

डा. घनश्याम परिश्रमीको धारणा

यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्दै उहाँले ४४ सालदेखि गजल लेख्न थालेको र ४६ सालदेखि समालोचना र कार्यपत्रहरू लेख्न थालेको भन्दै चितवन गजलमय भएको छ। आज विमोचित कृतिका तीनै जना कृतिकार वैशिष्ठता प्राप्त गरेका स्रष्टा हुन् । तीनवटै कृति ओजनदार छन् । विजयको कृति परिमार्जन भएर आएको छ । विजयले गजलयात्रामा विजय नै हाँसिल गरेका छन् । गजल बाचनमा तालिबजाउने प्रवृति आएको छ । गजलको मर्म बुझेरमात्र तालि बजाउनु पर्छ । गुट र उपगुट सिर्जना गरेर हैन । गजलमा शेर गहन हुनुपर्दछ ।शब्द दमदार हुनको साथै मनलाई छुन सक्नु पर्दछ ।

प्रमुख अतिथिको धारणा

प्रमुख अतिथिले कार्यक्रमको सिलसिलामा सारगर्भित धारणा राख्दै भन्नुभयो– चितवन साहित्यिमा उर्वरक थलो हो । साहित्य लेखनमा शान्त सुखाएको रूपमा लेखिनु पर्दछ । सिर्जनामा प्रतिकृया आउन सक्छन् तिनलाई सहजरूपमा लिन सक्नुपर्दछ ।आजको साहित्य सिर्जनामा संख्यात्मकरूपमा अघि बढेको त छ तर गुणात्मक रूपमा केही असरहरू देखिएका छन् । लेखनमा प्रष्टता चाहिन्छ । इमानदारिता चाहिन्छ । नेपाली साहित्यमा हाल तोतेलेखनले असर पारेको छ । चितवन गजल क्षेत्रको रूपमा परिचित जिल्ला हो । गजल लेखनमा नयाँ नयाँ विम्ब र प्रतिकको प्रयोग हुनु पर्दछ । लेखनमा लयविधानमा पनि ध्यान दिनुपर्दछ, सिर्जना निस्केपछि आलो्चना हुन सक्छ आलोचनादेखि डराउन भने हुँदैन । आज साहित्य लेखनमा पनि गुट देखिन थालेका छन् । एउटा गुटले राम्रो भनेर ताली पिटछ भने अर्को गुटले त्यसलाई आलोचना गर्दछ । स्वच्छ आलोचना हुनु पर्दछ । आजका तीनै कृति राम्रा छन् । यिनको प्रशंसा गर्नुपर्दछ ।

सभा विसर्जन

कार्यक्रमलाई दुई सत्रमा विभाजन गरिएको थियो । राजेन्द्र रिजालले पहिलो सत्रमा सञ्चालन गरिएका कार्यक्रमको प्रसंसा गर्दै पहिलो सत्रको कार्यक्रलाई विसर्जन गर्नुभयो ।

पलेटीमा गजल

पहिलो सत्रको कार्यक्रम विसर्जन हुनेवित्तिकै दोस्रोसत्रको कार्यक्रम पलेटीमा गजल सुरु भयो । तीन जना गजलकारले विमोचित गजलहरूबाट तीन तीनवटा गजल बाचन गर्नुभएको थियो । गजल बाचन पछि सबैले खानातिर लागियो ।

यसरी अग्रगामी समाज नेपालले चितवनमा एउटा राष्ट्रियस्तरको सुन्दर र सफल कार्यक्रमको आयोजना गरेर कार्यक्रमलाई गजलमय बनाएको र नेपाली साहित्यमा ठूलो योगदान पुर्याएकोमा धन्यवाद दिनै पर्दछ ।

यस कार्यक्रममा विमोचित कृतिहरूको संछिप्त विवेचना

प्रभाकर पण्डितको कृतिको नाम ‘समय’ हो । उहाँको पहिलो कृति ‘ यो अचम्म भो’ हो र यसले निकै लोकप्रिय्रता हाँसिल गरेको थियो । ‘समय’ दोस्रो कृति हो । यसलाई गजलमञ्च चितवनले प्रकाशन गरेको छ । यसको मूल्य १०१/– रुपियाँ र संस्थागत १५१/– रुपियाँ राखिएको छ । यसमा ६५वटा गजलका शेरहरू समावेश गरिएका छन् । गजनलका शेरहरूमा विविधता छ । गजलका शेरहरूमा दम छ र सबैको मन छुने गजलका शेरहरू छन् । यस कृतिको समीक्षामा समीक्षक गोविन्दराज विनोदीजीले माथिनै भनी सक्नुभएको छ । म यसमा अगाडि बढ्न चाहान्न र विनोदी सरको धारणामा सहमत हुँदै प्रशंसा गर्दछु ।

केही शेरहरू
आऊ हिम्मत जुटाएर आऊ भन्छ समयले
तयार गर आगो टेक्ने पाऊ भन्छ समयले
गजल –१, पृष्ठ १

काल आएसँगै आओस्सँगै मर्न पाऊँ
अघिपछि भइन्छ कि यही डर हो मेरो
गजल – ६०, पृष्ठ–६०

देखिन्छन् हतारमा झैं टुँडीखेलका घोडाहरू
पुग्दैनन् ती कहींकतै टुँडीखेलका घोडाहरू
गजल – ६०, पृष्ठ–६०

‘सङ्गत र वातावरण अनुकूल भयो भने मानिसभित्र रहेको प्रतिभा उजागर हुँदो रहेछ –प्रभाकर पण्डित ’

‘वाह ! कठमाण्डु’ कृतिका कृतिकार हुन् पुष्प अधिकारी अञ्जली । पुष्पजीका धेरै कृतिहरू प्रकाशनमा आएका छन् । पुष्पजी गजलकार मात्र नभएर कवि, मुक्तकार, हाइकुकार, सम्पादक पनि हुनुहुन्छ । उहाँको सम्पादनमा हाम्रो मझेरीले ५२औं अङ्कसम्म आइपुगेको छ । मनभित्रको मन (गजलसङ्ग्रह, २०६०), स्वप्नील नयन (गजलसङ्ग्रह, २०६४), एक अञ्जुलि घाम (मुक्तकसङ्ग्रह, २०६१), जून फलेको बस्ती (मुक्तकसङ्ग्रह, २०६५) मनको तृष्णा (हाइकुसङ्ग्रह, २०६९), म कवितामा देश खोजिरहेछु (कवितासङ्ग्रह, २०६९), र वाह ! काठमाण्डु (गजलसङ्ग्रह, २०७१)गरी पुष्पका ७वटा एकल कृतिहरू हामीले पढ्न पाएका छौं । उनले सम्पादन गरेका कृतिहरू पनि यसप्रकार छन् –गजल विम्ब(२०६१), गजलदीप(२०६२), गजल यात्रा – १ (२०६३), गजल यात्रा –२ (२०६४), गजलगङ्गा(२०६५), ई प्रतिनीधि नेपाली गजल(२०७०), हैसियत १ र २ संयुक्त गजलसङ्ग्रह(२०७१) । मैले उहाँलाई नयाँ स्रष्टा जन्माउने स्रष्टाको रूपमा लिने गरेको छु ।

पुष्पजीको ‘वाह ! कठमाण्डु’ कृतिमा ७१ वटा गजलहरू समावेश भएका छन् । यस कृतिको प्रकाशन निशा के.सी.,लक्ष्मीपुर, झापा (हाल इजरायल)ले गर्नुभएको छ । निशाजीलाई पनि धेरै धेरै धन्यवाद छ कृति प्रकाशनको लागि । मूल्य१५०/–रुपियाँ, छ । पुष्पका गजलमा विविधता छ । ‘वाह ! कठमाण्डु’ को गजललाई यहाँ उतार्दै पुष्पको समीक्षमा यहीं नै विट मार्दछु –

दह्रो रैछ तेरो छाती ‘वाह ! कठमाण्डु,
भन्छन् तँलाई विश्वासघाती वाह ! कठमाण्डु ।

दाउपेचको खेल अनि खिचातानी उस्तै,
खै के के हुन्छ राती राती वाह ! कठमाण्डु ।

न जित्न सक्छस्, न हार्न सक्छस् केवल
बोल्छस्मात्रै नानाभाँति वाह ! कठमाण्डु ।

पत्थर पनि मोती हुन्छ तेरो सहरमा
मोती टिप्ने कत्रो ताँती ‘वाह ! कठमाण्डु ।

पद, पैसा, प्रतिष्ठा र घाटा नाफाको
सधैं उस्तै खुराफाती वाह ! कठमाण्डु ।
(‘मान्छेको जीवन पनि समयको दोवाटोमा उभिएको एउटा शालिकजस्तै लाग्छ’ –निशा केसी)

‘सिरानीमा जून’ विजय ज्ञावलीको दोस्रो गजलसङ्ग्रह हो । पहिलो गजलसङ्ग्रह जिन्दगीका विम्बहरूले पनि विजयजीको गजल प्रतिभालाई उच्चाइमा पुर्याएको थियो भने यस पटक यसले त झनै उहाँको गजल लेखनलाई माथि उठाएको छ । यस कृतिमा ७१ वटा गजलहरू समावेश गरिएका छन् । यसको प्रकाशन दीपेन्द्र काफ्ले (तामनगर–१४, बुटवल, हाल अष्ट्रेलिया)ले गरेका छन् । काफ्लेजी पनि धन्यवादका पात्र हुनुहुन्छ ।, मूल्य १५०/–रुपियाँ छ । बास्तवमा विजयराज ज्ञावली शृङ्गारिक रसपानमा आनन्दित हुने गजलकार हुने उनका यस गजलसङ्ग्रहमा विविधतामा रमाएका छन् । यस गजलसङ्ग्रहमा हामीले राष्ट्र राष्ट्रियता, प्रेम प्रणय, नारीवादी चिन्तन, विकृति विसङ्गतिको साथै उनका गजलमा जीवनबोध, युगबोध, मावतावादी धारणा आदिले गर्दा गजलसङ्ग्रह, सङ्ग्रहणीय र पठनीय, बन्न पुगेको छ । हेरौ उहाँका गजलका शेरहरू–

सिरानीमा जून पर्दा तिम्रो याद आयो
खुुसी सबै सागर तर्दा तिम्रो याद आयो
गजल – १, पृष्ठ–१

भगवान पनि बिक्री हुछन् मेरो देशमा
जे पनि निस्फिक्री हुछ मेरो देशमा
गजल – ५० पृष्ठ–५०

चुपचाप भए शब्दहरू अक्षर निदाएको बेला
परिवर्तन भयो दृश्य नजर निदाएको बेला
गजल –७१, पृष्ठ–७१

‘लत या बानी एक अर्काका पर्यावाची शब्दहरू –विजयराज ज्ञावली’।

अन्त्यमा कार्यक्रम सफल रह्यो । यसपटकको तीन कृतिमा सिरानीमा जूनले, केशवराज आमोदीको भूमिका पाएको छ, । ‘वाह ! कठमाण्डु’लाई स्वय म कृतिकारले आफ्नो गजलमा आफ्नै भूमिका प्रदान गरेका छन् । समयमा भूमिका लेखाइएको छैन । तर तीनवटै कृतिमा शुभकामनाका सन्देश भने कमी छैनन् । यो टिप्पणीको बिटमार्नु अघि शुभ कामनाका दई शेर गजल –

दीपावली र छडमा सबलाई शुभ कामना
मङ्गलमय बन्दै जावस् सबका सारा भावना

देशको समृद्धि हवोस् बनोस् सुसंविधान
हे लक्ष्मी माता तिमीमा छ हाम्रो आराधना ।

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *