चोक चोकमा अनौठा अनौठ, दोकान भेटिन्छन्।
ओँठ ओँठमा अचेल किनिएका, मुस्कान भेटिन्छन्।।
को भन्छ नीति नियम कानुन, क्यै छैन यहाँ?
हात हातमा आफै लेखिएका, विधान भेटिन्छन्।।
हो साँच्चै अचेल मलाई मूर्ख बनुँझैँ लाग्छ,
जब पाइलैपिच्छे स्वघोषित विद्वान भेटिन्छन्।।
छैनन् भनुँ सब छन् छन् भनुँ ,त कोही छैनन् ,
बिना तिमी यी भीडहरू नि सुनसान भेटिन्छन्।।
रातसँगै पोखिएका मेरा तमाम व्यथा,
हो ती भिजेका सिरानीमा बिहान भेटिन्छन्।।
