हरन लगाउँदै कुम्मायक कुस्सायकलाई
फिकुले डाँडा थर्किने गरी
नाच्दै ‘उलाला…उलाला’
आइपुग्यो गाडी !
स्वप्नमा गाडी देख्दा कुम्रेक लाग्ने
गाउँमा
यसपल्ट त
साँच्ची गाडी आइपुग्यो गाडी !
गाडीको प्रतीक्षामा तेर्सा परिसकेका बूढापाका
किताबमा मात्र गाडी चढेका बालबालिका
गाडी–बाटो खन्दाखन्दा हत्तु
युवायुवती
घर–घरबाट निस्के फूलमालासँग,
स्ट्रेट कपाल हल्लाउँदै
निधारमाथिको कालो चस्मा मिलाउँदै
घुँडा नाघ्ने टप बुट लगाएको लोकतन्त्र
फुत्त उफ्रियो छतबाट
बस्तीतिर एक फनक लायो नजर
थुक्यो पिच्च !
लोकतन्त्रलाई सबसे पहिले
अभिवादन गर्यो ठेकेदार खड्गप्रसाद निरौलाले
त्यसपछि पालैपालो सेवारो टक्राए गाउँलेहरूले !
लोकतन्त्र र ठेकेदार निरौला
झण्डै एकघण्टा गोप्य बात मारे
मौका यही थियो
गाउँलेले गाडीलाई
घुमीघुमी हेरे/छोए
गाडीको झ्यालमा टाँसिएको
पोस्टरका हिरो–हिरोइनका नमस्कारलाई समेत झण्डै
फर्काए !
ठेकेदार निरौलाले घर–घर डुलायो लोकतन्त्रलाई
स्वास्थ्य, शिक्षा, गाँसबाँसबारे रिपोर्ट उठायो
आदिवासी आमाहरूलाई एक–एक प्याकेट
कण्डम थमायो
देउताले समेत जाँड खाने घरमा
कोकाकोला बाँड्यो
चाउचाउ बाँड्यो,
कण्डमको हवाइजहाज उडाएर बच्चाहरू
बुरुकबुरुक उफ्रिए
गाउँलेले पहिलोपल्ट थाहा पाए–
‘कोकाकोला’ र ‘कोला’ फरक रहेछ
एक प्याकेट चाउचाउ उमाल्दा एक भाँडा भयो
तर भोक मेटिएन आमाहरूको ।
सबासाम्माङ मात्र बस्ने सुन्तला बारीमा/
कोलाबारीमा
ताम्भुङ्ना पिङ खेल्ने जङ्गलमा
वरक्मा नुहाउने खोलामा
लोकतन्त्रलाई
निस्फिक्री घुमायो ठेकेदारले
“लाऽऽऽ अब !
यसलाई देउता लाग्छ/रगत छाद्छ
बिना धूपबत्ती
–जल टेक्यो यसले
–जमिन टेक्यो यसले
–जङ्गल टेक्यो यसले”
यस्तो सोचेको गाउँलेहरू पो उल्टै विराम परे ।
“हस्पिटल !” यति बोल्यो लोकतन्त्र
गाडीमा खाँदाखाँद चढाइए बिरामी
सिस्नुको कीरैसरी झुण्ड्याइए
झ्यालमा, ढोकामा, छतमा…
क्याबिनमा सुसेली हाल्दै हात
हल्लायो लोकतन्त्रले
हरन लगाउँदै कुम्मायक कुस्सायकलाई
नाच्दै ‘उलाला…उलाला’
गाउँ छोड्दा गाडीले
घुम्तिपिच्छे विरामीले ह्वार्रह्वार्र बमिट
गरे-
रगतजस्तो कोकाकोला र चाउचाउ ।
गाउँलेले सोधे–
“के भयो कोकाकोला र चाउचाउ मात्र खाएका थिए !”
गम्भीर भयो ठेक्केदार–
“देउता लाग्यो ! देउता !!”
अचम्भित भए गाउँले–
“देउता त लोकतन्त्रलाई लाग्नुपर्ने हो !!”
फिस्स मुस्कुरायो ठेकेदार –
“जल, जङ्गल, जमिनभन्दा ठूलो देउता हो लोकतन्त्र !”
नोट :
कुम्मायक कुस्सायक–पाँचथर, यासोक बजारमा पर्ने
आमा–छोरीको रुपमा चिनिने देवस्थल ।
कुम्रेक– रुघाखोकी/महामारी
सबासाम्माङ–लिम्बुहरूले मान्ने बाँदर देवता/फलफूलको देवता
ताम्भुङ्ना–जङ्गलको रक्षा गर्ने देवता
वरक्मा–जलमा बस्ने, जलको मालिकनी देवता ।
