Skip to content

लक्ष्मी जस्ता कवि जगतमा दाँजने छन् कुनै कि?


नेपालै हो शिर धरतीको पूज्य यो देवभूमि,
झर्छन आत्मा अमर यसमा सम्झदै मातृभूमि,
जस्तै सीता,जनक,पृथिवी,बुद्ध जन्मै लिएका,
त्यस्तै माली स्रिजनपथका देवकोटा भएका ।।१।।

ती छन् आत्मा अजर प्रतिभा चेतनाले भरेका,
नेपालीका दिल दिल पसी ज्ञान सारा दिएका
साहित्यैको विविध ढुकुटी भर्दिने ज्ञानवेत्ता,
छन् यी महाकविजी कविकै गर्व हुन् शान यौटा ।।२।।

सहित्यैले अतिव करुणा भर्दिने सत्य भाव,
त्यस्तै मायाँ चरम ममता पस्किने हो स्वभाव,
बाला, बृद्धा,युवक,युवती पौढ़ सारा रमाए,
नेपालीका ढुकढुकी बनी प्रीतका गीत गाए ।।३।।

म्हैन्दू,शाकुन्तल, लुनी, कुसुम्, दिव्य सुन्को बिहानी,
गाथा, गीति, सरस छ मुना औ मदन्को कहानी,
साहित्यैका विविध छ विधा लेखनीमा झुलेका,
भाषा,दर्शन,प्रगतिपथका चेतनामा फूलेका ।।४।।

नेपालीका हृदयपटमा सूर्य न्याना उदाए,
स्वछ्न्दै छन् प्रवृति उनका पाठ धेरै सिकाए,
नेपालैका वन र पहरा गाउँमा वा शहरमा,
धन्कीरन्छन् मधुर लहरी गीतका चेतनामा ।।५।।

हुन् यी नेता यस धरतीका सिर्जनाका हिमाल,
लक्ष्मी हाम्रै अद्धितीय कवि ज्ञान चक्षु विशाल
तृष्णा, पीडा, मुटुभरि ब्यथा साथमा राखीराखी,
जल्दै आफु अमृत झरना पोखने हामीमाथि ।।६।।

लक्ष्मी जस्ता कवि जगतमा दाँजने छन् कुनै कि?
सृष्टि हुन् कि ? सृजन-फूलका साँच्ची नै देव हून यी ?
गर्छु श्रद्धा दिल फूल सरी पाउमा अर्पिएर
भर्छु त्रृष्णा श्रिजित रचना ज्ञान सारा पिएर ।।७।।

नेपालीको शिरको चुचुरो रात्रिको दीपमाला
अक्षरैको बिबिध कुटुरो ज्ञानको धर्मशाला
यस्तो ज्योति हिमशिखरमा बालने हुन् उनै कि ?
लक्ष्मी जस्ता कवि जगतमा दाँजने छन् कुनै कि? ।।८।।

माहाकाव्य, कवित-झरना औ निबन्धै ऊमार्यौ,
यौटा युग्को रथ तिमी बन्यौ सारथी भै कुदायौ
तिम्रा कीर्ति अमृत-फूल हुन् शिरमै मै उनूँ कि ?
तिम्रो आस्था मुटुभरि भरी त्यैँ डुबी पौडिउँ कि ? ।।९।।

यौटा बुद्ध जसरी बनिए ज्ञानका दिव्य श्रोत
देवैकोटा त्यसरी जनिए भावनाका अठोट
मोमैबत्ती सरी जली दिने छन् उज्यालो कुनै कि ?
लक्ष्मी जस्ता कवि जगतमा दाँजने छन् कुनै कि? ।।१०।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *