Skip to content


माया उर्गेनको घोडा चढेर
त्यो घुमाउरो बाटो
फनक्क घुमेपछि
भेटाउनेछौ
मेरो आदिम बस्ती

प्रिय सुनगाभा,
तिमीले ठीकै भन्यौ । यही सहरको केही पर्तिर, केही घुमाउरो बाटाहरू हिँडेपछि, भेटिनेछ तिम्रो–हाम्रो, त्यही आदिम बस्ती, जहाँ सदियौंदेखि फूल्न चाहेको सपनाहरू सकसको सिकुवामा त्यसै त्यसै सिउरिएका छन् । समयको जस्केलाबाट थुप्रैपटक सपनाले व्युँझिने कोसिस गर्‍यो, तर काटिए पखेटा सपनाका । पड्किए बन्दुक त्रासका र हामी सिर्फ बन्यौं मोहरी । हाम्रा सपनाका भर्‍याङ चढेर, थुप्रैले चुमे सगरमाथा । तर, यो आदिम बस्तीको ‘रातो घर’ भित्र सपना उस्तैगरी निदाइरह्यो– निरन्तर ।
के तिमी सपना ब्युँझाउन ‘रातो घर’ को ढोका ढक्ढकाइरहेकी छ्यौ ?
यदि हो भने आऊ– आदिम बस्तीका केही ताजा एजेन्डाहरूमा डिस्कोर्स गरौं । सबैभन्दा पहिले म तिमीलाई भन्न चाहन्छु– तिमी सहरको ‘प्वाइन्ट अफ भ्यु’ बाट गाउँलाई हेरिरहेकी छ्यौ । जस्तो कि, पराई घर पुगेकी चेली, जो परिस्थितिको चंगुल चुँडेर माइती गाउँ फर्किन सक्दिन, र उसले सिर्फ पठाइरहेछ कसैलाई हुलाकी सन्देश–
‘आमा ! हाम्रो त्यो रातोघरबाट,
अझै थुप्रै मजस्ता
सन्तानहरू तयार पारेर
पठाउ यहाँ,
मेरो युग पर्खिरहेछ ।’
यहीँनेर स्पष्ट पार्न चाहन्छु– त्यो पर्खाइ तिम्रो हाम्रो युगले मात्रै हैन, आमाको सिंगो युगले पनि त गरेको थियो । एउटा लामो र उच्चाटलाग्दो कालखण्डमा आमाले ‘युग अब कोल्टे फेर्ला कि’ भन्ने सपना हुर्काइन् । गोपालप्रसाद रिमालको ‘आमाको सपना’ जस्तै । कोही आए– सपनालाई अँगालो हाले । निद्रामा या तन्द्रामा, सुम्सुम्याएझैं गरे । तर युग आएन । आज त्यही युग तिमी–हामी सहरमा बसेर पर्खिबसेका छौं ।
हुन त सबथोक सहरमै छन् अचेल । थकित पूर्वविद्रोही, सभासद, गाउँ फर्किन नसकेका नेता, ठेकेदार, गाविस सचिव, कवि, मुम्बईको कोठीबाट फर्किएकी चेली अनि लोपोन्मुख राउटे समुदायको डेलिगेसन । यस्तोमा एउटा कविले गाउँलाई सहरको ‘प्वाइन्ट अफ भ्यु’ बाट हेर्नु के अनौठो ?
शक्ति भनेको यस्तै रहेछ सुनगाभा !
सामान्यतया शक्तिले नै मान्छेको मनोविज्ञानमा आफूअनुकूलको ज्ञान र दृष्टिकोण भरिदिने हो । अहिले सहर शक्ति बनेको छ । योसँग सत्ता छ, बहुराष्ट्रिय कम्पनीको इन्द्रेणी बजार छ । यही बजारले लादिदिएको दृष्टिकोणबाट आज हामी आफ्नो गाउँलाई हेरिरहेका छौं । हामीले छाडिआएका गाउँका ‘राता घर’ हरू भने निरीह ठिङ्ग सिक्रो रूख उभिरहेझैं लाग्छ– कतै निर्जन र सुख्खा बन्दरगाहछेउ ।
नढाँटी भन्छु– अचेल म एकदमै सिजोफ्रेनिक बन्दै गएको छु । आफैंलाई बिर्सेजस्तो । आफैंले भोगिरहेको समय नै कतै कोल्याप्स भएजस्तो । हुन सक्छ सायद यो– सर्ट टर्म मेमोरी लस्ट । जस्तो कि तिमीले पनि आफ्नो हिजोको धरातल बिर्सेकी छ्यौ र आजको सहरबाट तिमी आमा पुकारिरहेकी छ्यौ, ‘रातो घर’ पुनर्निर्माणका लागि । मेरो विचारमा यो पनि एउटा सिजोफ्रेनिक समस्या हो । आजका तेस्रो विश्वका आम मानिस जो आफ्नो पुरानो, मौलिक र अग्र्यानिक ‘रातोघरीय’ छवि बिर्सिन अभिशप्त छन् । अथवा भनूँ– समयले हामीलाई त्यस्तै विश्वव्यापी साँचोमा ढालिदिएको छ । र, हामी अरूकै निर्देशनमा नाचिरहेका छौं । सायद त्यही भएर होला नेताहरू पनि सिजोफ्रेनिक भएका । लामो समय ‘सर्ट टर्म मेमोरी लस्ट’ भएपछि तिनीहरू भर्खरै ब्युँझेका जस्ता भएका छन् ।
हो– यो विश्वव्यापी सहरमा निरन्तर हामी नाचिरहेका छौं आफैंलाई भुलेर । आफ्नोपन र स्वत्व गुमाएर ।
कहिलेकाहीं मलाई बिहान टाढा कतैबाट कुक्कुको आवाज कानसम्म आइपुग्दा ओछ्यानबाट जुरुक्क उठेर कुक्कुलाई पछ्याउँदै गाउँ जान मन लाग्छ– कान्ला कान्ला फाल हान्दै । हठात, मनमा विरोधाभास उभिन्छ ठिङ्ग– अहो ! कतै म बौलाएँ पो कि ? आफैं छामी हेर्छु । होस खुलेझैं हुन्छ । फेरि उही सहरको मन्द–मन्द विशालु व्यस्ततामा अल्झिन्छु र आफैंलाई बिर्सन्छु । थाहा छैन– सहरले मलाई मेसिनमा रूपान्तिरित गराइरहेको छ या मलाई ‘सिजोफ्रेनिया’ भएको छ । यस्तोमा आफूले छाडिआएको ‘रातो घर’ लाई तिमीले सहरको आँखाबाट हेर्नुमा मेरो केही गुनासो छैन ।
तिमीलाई थाहै छ– अचेल गाउँ पनि डिजिटल बनेको छ । गाउँका सपनाहरू पनि अब क्याल्कुलेटरमा छिटोछिटो दौडिने डिजिटहरूजस्तै चलायमान र तीव्र बनेर क्षणभरमै विलुप्त हुने इन्द्रेणी चरित्रका बनेका छन् । गाउँ अब आफ्नै सपना देख्न सक्दैन । कसैले बनाइदिएको उत्पादनको रेडिमेड र हाइब्रिड सपना देख्छ अब गाउँ । तिमीले लेखेकै छ्यौ नि ‘मार्फाको रायो’ कवितामा– हाइब्रिड बीउ खरिद गर्न लामबद्ध अभिशप्त कृषकहरूको दर्दनाक कथा ।
हो, यसरी नै बेचिरहेछ बजारले गाउँलाई हाइब्रिड सपना । ग्लोबल क्यापिटालिज्मको चरम चंगुलमा फसेको छ अचेल हाम्रो आदिम बस्ती । तिमी पनि त सहरमा छ्यौ र सहरबाटै सम्झना गरी पठाएकी छ्यौ– कुनै समय तिमी खेल्ने राप्तीको बगर अनि काँसघारीमा अल्झेको तिम्रो बुट्टे जामाको सम्झना ।
प्राकृत बोनवादको साक्षी आखे–म्हेम्हेको त्यो ढ्याङ्ग्रोमा लागेको माकुराको जालो अब कसले पुछ्ने ?
के यो ढ्याङ्ग्रोसँगै हाम्रो बोन तान्त्रिजमभित्र लुकेको अथाह पुख्र्यौली ज्ञानको विनाशप्रति तिम्रा छोरा–छोरी पुस्ताले आँसु बगाउला ? तिमीले त कम्तीमा कविता लेख्यौ । धूवाँको नित्य–नागबेली पीडामा गुजुल्टिएकी आमालाई जक्स्ट्रापोजिसनको रूपमा उभ्याएर कोलम्बियाली गायिका, मोडल तथा कलाकार साकिराप्रति व्यंग्य कस्यौ । अबका दिनहरूमा तिम्रा नाति–नातिनाले तिम्रो कविता ‘धूवाँ र आमा’ की ‘आमा’ पात्रलाई बढी मन पराउलान कि साकिराको ‘वाका वाका…’ लाई ?
मलाई लाग्छ– हामी यहींनेर गम्भीर हुनुपर्छ ।
हो, तिम्रो हाम्रो ‘रातो घर’ रहेको आदिम बस्ती पनि अरू विश्वजस्तै चलायमान हुनुपर्छ– परिवर्तनशील हुनुपर्छ । सायद ‘विकास’ भनेको यही हो । तर यो विकास कसको दृष्टिबाट ? कसका लागि ? र कसरी ? भन्ने प्रश्नमै हाम्रो आदिम बस्तीको मौलिक पहिचान र आत्मसम्मानको अर्थ खुल्छ । तिमीलाई थाहै छ– विकासको पश्चिमी अवधारणा खासमा उपनिवेशवादको छली र धुर्त अनुहार थियो । अहिलेसम्म हाम्रोजस्तो तेस्रो विश्वका मुलुकहरूको विकासमा यही अवधारणा हावी छ । र त, हाम्रा बस्तीका च्याङबाहरू डम्फू र ढ्याङ्ग्रो ठमेलको एन्टिक मार्केटमा बिक्री गरेर मोबाइल किन्छन् गर्लफ्रेन्डलाई र सेल्फी खिचेर फेसबुकमा अपलोड गर्छन् भन्ज्याङमा उभिएर । दूध बेच्छन् अनि ती बियर खान्छन् । कोदो र गहुँ बेच्छन् सस्तोमा– र, बहुराष्ट्रिय कम्पनीको चाउचाउमा र्‍याल चुहाउँछन् ।
तिनले देख्ने सपना पनि आज सीमाहीन बनाएको छ– यो विश्व बजारले । आँगनको अग्र्यानिक सम्भावना छोडेर हामीलाई परदेशको रेडिमेड रोबोट बनाइदिएको छ र हामी पसिना बेच्न बाध्य छौं, खाडी, कोरियादेखि अन्य विकसित मुलुकसम्म । हिजो इतिहासमा ‘मास्न्या मातुवाली’ को कानुनी रेखा नै कोरिदिएर शक्ति र सत्ताले हामीलाई भारी बोक्ने आदिम बस्तीका पिपा बनायो । आजको शक्ति र सत्ता (बजार) ले पिपाको न्यु जेनेरेसनलाई सहरको ड्राइभर बनाइदिएको छ । गर्ने तरिका फरक तर काम उही । र, यो पनि अब ग्लोबल आयाममा विस्तारित हुँदैछ । ड्राइभर सपना बोकेर अरब भास्सिएका ठूलाबाको जेठो छोरो इन्द्रमान काठको बाकसमा नबोली फर्केको अस्तिजस्तै लाग्छ मलाई ।
हो, सुनगाभा ! कामका रूप फरक होलान्, सारमा अचेल हामी सबै–सबै ग्लोबल भरिया भएको पाउँछु म । आधुनिक बजारमा संवेदनाको मूल्य हराउँदै गएको छ र हामी सुखका हरेक पलसँग आफन्तको मृत्यु साटिरहेका छौं । अनि, फर्केलान् एक दिन भन्दै आदिम बस्तीका मानिसहरू आफन्तजनको यादमा तड्पिन अभिशप्त छन् । उता उनीहरू पनि तड्पिएका छन् उस्तैगरी– प्यासको मरुभूमिमा ।
कार्लमाक्र्सले उहिल्यै भनेका थिए– पुँजीवादले मानिसहरूलाई विभाजित पार्नेछ । परिवारमा विखण्डन ल्याउनेछ । र, यो विभाजित स्पेसभित्रै उसले अतिरिक्त मुनाफाको शक्ति आर्जन गर्नेछ । म न माक्र्सवादको अन्धोभक्त हुँ न त बजारिया पुँजीवादको । तर, अहिले यही भइरहेको छ, माक्र्सले भनेजस्तै । हामीलाई टुक्र्याएर, खण्ड–खण्ड पारेर, हाम्रा हरेक सम्बन्धहरूबीच आकांक्षाको अमूर्त र अदृश्य पर्खालहरू
ठड्याएर, यो ग्लोबल पुँजीवाद र मार्केट इकोनोमीले हाम्रै वैयक्तिक प्रेमको खिल्ली उडाइरहेको छ ।
तिम्रो कवितासंग्रह ‘रातो घर’ भित्र पसेपछि मेरा आँखा अघिल्तिर एकसाथ धेरै अनुहारहरू नाच्न आइपुगे । पहिलो अनुहार थियो भाषाविद् अमृत योञ्जनको– जो तामाङ भाषामै लेख्न नयाँ पुस्तालाई हमेसा उक्साइरहेका हुन्छन् । तर, मेरो मत अलिक भिन्न के छ भने ‘मातृभाषामा लेखिनु त पर्छ, तर अहिलेको ग्लोबल पोसिबिलिटीलाई भाषाको परिधिले छेक्नु हुन्न । हाम्रा अग्र्यानिक नलेजहरू अरू भाषामा पनि जानुपर्छ । अर्थात लोकल टु ग्लोबल । तामाङ समाज, विषय, मिथ र मनोविज्ञान नेपालीमा लेखिएन भने– अंग्रेजमा गएन भने– हाम्रो आवाजको राष्ट्रियकरण/अन्तर्राष्ट्रियकरण कसरी हुन्छ ?
यसपछि अर्को अनुहार आयो कवि राबतको । रामबहादुर तामाङ भईकन पनि ‘राबत’ को जनरल छवि बनाएका यी कविलाई हमेसा पहिचानको चिन्ता छ । एक समय नुवाकोटबाट अवसर खोज्दै यिनका बाउ पुस्ता तराई झरे, भाषा बिर्से, संस्कृति गुमाए । सधैं नोस्टाल्जिकझैं मुडमा भेटिने यी कविले मण्डला थिएटरको आँगनमा एक दिन भने, ‘मेरो लेखनमा पहिचानको समस्या छ । तामाङ युनिकनेस ल्याउन मलाई तपाईंहरूलाई जति सजिलो छैन । ‘राजधानी मास्तिरको राजधानी’ तपाईंको ‘महाभारतकी मैच्याङ’ बाट प्रभावित भएर लेखेको हुँ ।’
खुसी लाग्यो– भाषा बिर्से पनि, संस्कृति गुमाए पनि, तामाङ हुनुको परम्परागत इमानदारिता भने राबतको रगतमा जिउँदै रहेछ । इमानको व्यापार हुने यो सहरमा राबतलाई एकथान फ्याफुल्ला अर्थात् स्यालुट !
तिम्रा कविताका पंक्तिसँगै मानसपटलमा राजु स्याङतान, मुक्तान थेवा र लक्ष्मी रुम्बाहरू पनि लस्करै उभिन आइपुगे । तामाङ समाजको युनिकनेसलाई नेपाली साहित्यमा जबर्जस्त स्थापित गर्न लागिपरेका छन् यिनीहरू । कुन्नि के भएको छ मुक्तान र राजुलाई– यी अचेल सडकमा भेटिन्छन् । सडकका पेटीतिर कविताको पोस्टर टाँस्दै हिँडिरहेको बेला एक दिन मुक्तानलाई भेटेथें रत्नपार्कमा । उनले अलिअलि उम्रिन थालेको होचिमिन्ह दारी सुम्सुम्याउँदै सुनाए– ‘हाम्रा कविता ठूला मिडियाले छाप्दैनन्, त्यही भएर पोस्टर बनाएर भित्तामा टाँस्दै हिँडेको ।’
म नि:शब्द भएँ ।
प्रज्ञा प्रतिष्ठानको एउटा कार्यक्रममा यी मकवानपुरे कविले काभ्रे तिमालका अन्तिम तामाङ राजा ‘ह्रिन्जेन दोर्जे’ बारे लेखेको कविता मच्चिमच्चि सुनाइरहेको दृश्य मात्रै याद आइरह्यो । अनि चुपचाप ओझेल परें । आखिर म पनि त यही सहरको भीडमा हराएको मान्छे न हुँ ।
सहरलाई बदल्न साँच्चिकै नसकिँदो रहेछ सुनगाभा ! बरु सहरले हामीलाई सजिलै बदलिदिंदो रहेछ । कहिलेकाहीं लाग्छ– राजु स्याङतानको ‘च्याङबाको रहर’ कविताको पात्र म आफैं हुँ । कुनै दिन रहर खोज्दै म याम्बु (काठमाडौं) पसेको थिएँ– अहिले म आफ्नै छायाँ पनि किन्दै हिँड्नुपरेको छ । यस्तोमा तिम्रो ‘सहरी प्वाइन्ट अफ भ्यु’ सित मेरो केही भन्नु छैन ।
तर, मलाई खुसी यस अर्थमा लागेको छ कि– ‘महाभारतकी मैच्याङ’ पछि तिम्रो कृति ‘तामाङ पात्र, मिथ र सांस्कृतिक चेतना सघन रूपमा नेपाली साहित्यमा भित्र्याउने दोस्रो कवितासंग्रह ठहरिनेछ । समय क्रममा यसको हिसाब किताब पक्कै हुनेछ ।
तिमीलाई भेटेर अहिलेसम्म भन्न नपाएको एउटा कुरा गर्छु अब म । यो सहरमा यस्तै छ हाल । भेट्छु भनेर समय मिलाएर पनि धोका दिनुपर्ने । आखिर म पनि त आजका आममान्छेजस्तै आधुनिक र ग्लोबल भरिया न हुँ ।
खैर छोडिदिउँ ।
कुरो केही महिनाअघि हो । म म्यानमार (बर्मा) को साहित्यिक यात्रामा थिएँ । पुरानो राजधानी याङ्गुनबाट अर्को पुरानो सहर माण्डले जाने नाइटबसमा । मेरो दायाँतिर म्यानमारकै साहित्यकार देवेन्द्र रिजाल थिए– दुवै कानमा इयरफोन सिउरेर मस्तराम निदाउँदै । उनी नेपालकै एउटा रेडियो स्टेसनको अनलाइन भर्सन सुन्दै रहेछन् । उज्यालो एफएमको ‘एकल कवितावाचन’ मा तिमी बोलिरहेकी थियौ ।
‘तपाईं कोबाट प्रभावित हुनुहुन्छ ?’ कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको प्रश्न ।
‘कवि फूलमान वल दाइबाट’ तिम्रो जवाफ ।
देवेन्द्रजी एकैपटक सिटबाट उफ्रे । हतार–हतार एउटा इयरफोन मेरो दायाँ कानमा जोडिदिए । उनी दंग थिए । तर, म भइनँ । तिमीले प्रेमपूर्वक ‘दाइ’ सम्बोधन गरेको ‘म’ साहित्यको बबुरो उपासकसम्म हुँ– साहित्यकार भनिहाल्ने आँट पलाएको छैन । एउटा ‘दाइ’ बाट ‘बहिनी’ प्रभावित हुनुचाहिँ चलिआएको पक्षपातपूर्ण प्राकृतिक कुरा ठान्छु । तर, म आज तिमीबाट प्रभावित छु ।
र, त्यही म्यानमारमा सुनेको रेडियो कार्यक्रम मार्फत पाएको ‘दाइ’ साइनोकै पुल चढेर मैले आज विना तामाङ ‘सुनगाभा’ लाई ‘तिमी’ र ‘बहिनी’ को सम्बोधन गरेको छु ।

कान्तिपुर कोशेली
आश्विन ९, २०७२
http://kantipur.ekantipur.com/printedition/news/2015-09-26/20150926094520.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *