Skip to content


मचानमा सुकाएका बदाम केश्राहरू खानलाई काँचै पनि झुरुम झुरुम त थिए नै । घरमा बुढी हजुरआमा हुनुहुन्थ्यो, आफ्नै आँखा अगाडि एक पसार निकालेर रुमालको फुर्कोमा सबैले देख्ने गरी लुकाउनु भयो यसमा पनि म मख्ख नै थिएँ रमाइलो महशूस भयो । साँच्चै मागेको भए पनि हुन्थ्यो हामी दिई हाल्थ्यौँ नि भन्ने पनि भयो अलि बढी नै दिन्थ्यौँ होला । फेरि उस्की बहिनी आई उस्ले पनि भिना लौ है घरमा चोर पसे भन्दै एक माना जति गोजीमा भित्र्याई हाली म त्यो देखेर पनि बेखुशी भइन, जो सुकै पनि मेरो घरमा आऊन खाऊन बसुन रमाइलो गरुन भन्ने ठान्दथेँ म ।

साँझ अफिसबाट फर्किँदा हजुरआमा घरमा हुनु हुन्थेन, हजुरआमाको चासो घरमा मलाई मात्र हुन्थ्यो । मैले हजुरआमा कहाँ जानुभयो भनेर सोधेँ उस्ले ठस्किएर बुहारीले यसो गरी उसो गरी खान दिइन भन्दै चाहार्दै गइहोलिन नि शत्तुर हँसाउन । बिहान बेलका सबैलेभन्दा पहिला हाम्राभन्दा ठूला भाऊ खाँदा पनि मैले कहिले जस नपाउने भएँ । कस्तो दिन बिहा गरेर आइएछ कसैको राम्रो हुन सकिएन फुटेको कर्म भन्दै एक्लै फतफताउन थाली म चाहिँ केही बोल्न उचित लागेन ।

साँझ पर्नै आँट्यो सिम सिम पानी परिरहेको थियो, कहिल्यै घर नछोडेकी मान्छे, कतै गए पनि म आफै पुर्यादिन्थेँ र लिन पनि आफै जान्थेँ तर आज सँभावित ठाउँमा सबैतिर सोध खोज गरेँ कतै पनि गएको सुइँको पाइएन । अनि साथीहरू लगाएर कोही कता कोही कता खोज्न गयौँ अन्त उहाँ शुक्रबारे हाट लाग्ने पालमा ओत लागेर काँप्दै रुँदै बस्नुभएको फेला पारियो, मन थाम्नै सकिन, आँखाभरी आँशु भए र पनि आफूलाई सम्हालेँ । म जान्न बाबु छोड्दै बरु यतै बृद्धाश्रम छ भने उहिँ लगेर छोड्दे मलाई भन्दै रुनुभयो तैपनि फकाएर लगेँ घरमा । पछि थाहा पाएँ मैले कि उस्ले त्यही एक पसार बदाम दाना खाएको निहुँमा तथानाम गाली गरेको बचन छोडेको सहन नसकेर घर छोडेर हिँड्नुभएको रहेछ ।

मेरो सदासयता र सँयम रहने बानीले बास्तवमा मेरो नीजि पक्षलाई लतार पतार पार्यो र पनि निरन्तर यसलाई सही ट्रयाकमा ल्याउन धेरै प्रयास गरेँ मैले गल्ती यसैमा भयो मैले सोचे जस्तो सँसार छ अथवा सबैले मेरै जस्तो सहज किसिमको धारणा राख्दछन, होइन रहेछ म चाहिँ गलत रहेछु । मैले अरुलाईभन्दा पहिले आफैलाई चिन्न सकिन समय अनुसार हिँड्न सकिन । जीवनमा जे गर्दछु भन्ने सपना बोकेको थिएँ सबै क्षत बिक्षत भए, जीवन भित्रका सिर्जशीलताहरू पनि बिस्तारै भाइरस ग्रस्त हुँदै गए ।

धेरै नमिठा क्षणहरू रहे, जहिले पनि अति सानाभन्दा साना कुरामा मनमुटाव हुन्थ्यो । कहिले ५ बजे घरमा नआएको निहुँमा कि त भनेको कुरा समयमा नपुर्याएको निहुँमा यस्तै यस्तैमा कहिलेकाहीं त एक हप्तासम्म पनि बोलचाल बन्द हुन्थ्यो यसमा पनि मैले नै सहजीकरण गर्नु पर्दथ्यो । म भित्र के चलिरहेछ, म के सोच्छु के चाहन्छु भन्ने कुरा उस्ले कहिले पनि सँझिने प्रयास गरिन अथवा भनौँ मलाई एकादुई अर्थमा बाहेक समग्र सामाजिक रुपमा आफ्नो श्रीमानको रुपमा ग्रहण गर्नै सकिन । मेरा यस्ता निर्मम अतितहरू त कति हो कति छन किन सबै एकै पटक पस्किनु समय भएमा पस्किँदै गरौँला । शायद यस्को मर्म बुझ्ने अर्को म छैन होला जस्तो लाग्छ किनकि यहाँ कोही पनि अरुकोभन्दा पनि आफ्नै दुख ठूलो ठान्दछन, यसमा पनि मेरो केही गुनासो छैन ।

अहिले म स्वतन्त्र छु जे भए पनि जति बाँचेको छु खुशीले बाँचेको छु । यहाँका बा आमा दाजु भाइहरूले मलाई दिएको अपार माया नै मेरो उर्जा हो । स्कुलमा मैले पढाउने यिनै बालकहरू अब मेरा छोरा छोरी हुन जस्तो लाग्छ । मैले गाउँमा साना तिना सिर्जनशील कामहरूमा यहाँको समाजलाई सघाउने मौका पाएको छु । कति गर्न सकेँ वा सकिन यो त गाउँलेहरूले भन्ने कुरा हो तर उहाँहरूले जुन गुन म माथि लगाउनु भएको छ त्यसको पैचो तिर्न त म कहिले पनि सक्दिन । अब त मेरो घर परिवार समाज जे भने पनि यही गाउँ हो । अब म यसलाई छोडेर कहीं पनि जान्न जीवन पर्यन्त ।

बिकल दाइले लेखेको डायरीको अँश थियो यो, डायरीमा यस्ता फड्केहरू अरु धेरै थिए र पनि सबै उस्तै मर्माहत थिए । अस्ति बिहान जसो कुन्साङ्ग काकाले मलाई सरलाई बिमारले च्यापो निशानलाई बोलाइदिनु भनेपछि बक्के बस्यो तिमी तुरुन्तै आऊ भन्नुभयो र घरमा नभनीकन यता हानिएको थिएँ । पक्की मोटरबाटोको बस यात्रा पछि कच्ची मोटरबाटो अनि पैदल यात्रा गर्दा छिटोमा पनि २ दिन लाग्यो आइ पुग्न तर मैले दाइको सासलाई पनि भेट्टाउन सकिन लाशलाई पनि भेट्टाउन सकिन । गाउँको पुछारमा भएको अरुण नदी किनारमा धुवाँको मुस्लो आइरहेको थियो, गाउँमा कोही थिएन केटा मान्छे । उही वसन्तीलाई भेटेँ सबै जनाका आँखा ओभाना थिएनन उस्ले मलाई रिभानघाटमा पुर्याइदिई ।

अफिसमा एकोहोरिएर काम गरिरहेको, बिहान अफिस आउँदा हाँस्दै पस्ने मान्छे घर फर्कने बेला टाउको धान्न नसके जस्तो झोलिएको गर्धन बोकेर घर फर्केको, जँगलमा फेला पारेको, कुन्साङ्ग काकाको गाउँमा ल्याएको, नाचगान गरेको यी सबै दृश्यहरू चिताको धुँवामा जल्दै बादलमा मिसिएको जस्तो भान भयो । म यता आउने बेलामा पनि भाउजूले मलाई देखेर उँधोमुण्टो लगाएर घुरेर हेरेको पनि त्यसैमा मिसिँदै थियो । उसका आसेपासेहरूको आफन्तहरूको भीडभाडमा कतै पनि दाजुको परछायाँ देखेको थिइन मैले । बरु केटा केटीहरू आफ्ना निर्दोष निस्वार्थी आँखाहरूले अँझै पनि बाबाको बाटो हेर्दै थिएकि जस्तो भान भयो मलाई किनकि ती अन्जान हेराईमा अनौठो पीडा थियो । उमेरमा साना भए पनि भाउजू जस्तो उनीहरू रमाएका थिएनन प्राय सधैँ मौन बसेको देखिन्थे धेरथोर उनीहरूको भाषा म बुझ्थेँ होला । उस्तै रवाफ, उस्तै मचान, हाँसीखुशी बातावरण चलिरहँदा यता दाजूले सँसारबाट बिदा लिइसक्नुभएको थियो ।

कुन्साङ्ग काका भक्कानिएर बोल्नै सक्नुभएको थिएन, गाउँलेहरू पनि कोही ओभाना थिएनन, गाउँनै सबै रिभानघाटमा थिए । मलाई सबभन्दा बढी पछूतो भयो कमसेकम बिकलदाइलाई उहाँको दिवँगत शरिरलाई समेत अँगालो हालेर अन्तिम पटक रुन पनि पाइन मैले यो अधूरो पन सधैँ रहिरहने भयो, उहाँलाईलै न मैले सबैभन्दा बढी माया गर्न थालेको थिएँ, जीवनको एउटा अभिन्न हिस्सा बनाइसकेको थिएँ । बिधिको विधानलाई कसले टार्न सक्थ्यो र मेरा लागि जे भए पनि बिकल दाजुले अन्तिममा मिठो जिन्दगी बाँच्न पाउनु भयो शायद उहाँको असल कर्मको फल होला भन्ने पनि लाग्यो । मैले घाटमा कुन्साङ्ग काकालाई कमसेकम एक दुई घण्टा कुरेको भए हुन्थ्योभन्दा उहाँले आजसम्म कुरियो तर खबर खाबर केही भएन लाश राखेको २ दिन भयो अब रात पर्ने भयो तीन दिन राख्न हुँदैन भनेर लगेको भन्नुभयो यसमा मैले कुनै उत्तर फर्काउन जायज ठानिन ।

हरेक शनिबार बिहान २ घण्टा विद्यालयमा गाउँका सबैजना आएर जति सकिन्छ त्यसको भौतिक सँरचना बनाउने जस्तै कहिले पर्खाल लगाउने, कहिले भत्केको गारो मर्मत गर्ने त कहिले काठको काम गर्ने, कहिले नयाँ कोठाको लागि ढुङ्गा बोक्ने काम गर्ने नियम नै बनेको थियो । काम सकेपछि सबै जना आ–आफ्नो घर जान्थे जाने बेला दाजुले मेरा लागि त सबै गाउँ आफ्नै घर हो बरु कुन चाहिँ दूलामा पसुँ मभन्दा कुन्साङ्ग काकाले दूलो फेर्नु हुँदैन सर भनेर अँगालो हाल्नु हुन्थ्यो अनि सबै जना हाँसेर रमाइलो हुन्थ्यो । हँसि मजाक गर्ने बिकलदाइको बानीमा काकाले झन घिऊ थपिदिनु हुन्थ्यो ।

वसन्तीले आज हजुर हाम्रो घरमा आऊनु है खाना खान आमाले बोलाउनु भको छ भनेर काकाको आँगनमा सबैले सुन्ने गरी भनेर दुई गौँडा फँगाल्दै आफ्नो घरतिर लागि मैले हुन्छ भन्न नपाउँदै । कुन्साङ्ग काकाले पनि आँखाको इशारा बाहेक मसँग केही बोल्न सक्नु भएन शायद उहाँसँग यो प्रसङ्गमा योभन्दा बोल्ने अरु केही थिएन होला । मलाई पनि जाऊँ कि नजाउँ भयो कसरी कुरा गरुँ के भनुँ के नभनुँ । यहाँ जिन्दगी दोसाँधमा अल्झिएको थियो, उस्को मायामा केही खोट थिएन मैले पनि म सभ्यतासँग लीपिबद्ध भइसकेको छु उस्कै कवितामा मैले लय भरेको छु भनेकै थिएँ र पनि नेपथ्यबाट अर्कै लय गुञ्जिरहेको थियो न मैले कान थुनेर नसुन्न सक्थेँ न वसन्तीले मुख थुनेर रोक्न सक्थी । कस्तो अवस्था आउँछ कहिलेकाहीं जस्को उत्तर आफैसँग हुँदैन कहिलेकाहीं ।

मैले काकालाइसँगै जाउँ भने काकाले आफै अगाडि हिँडेर सहमति जनाउनु भयो उहाँकै पछाडि लागेँ ।

नमस्कार आमा सञ्चै हुनुहुन्छ भनेर कुरा शुरु गर्न मै तम्सिएँ वसन्तीले पनि काकालाई नमस्कार गरी हात जोडेर तर मलाई इशाराले मात्रै । जिन्दगी के रैछ र माइली दिदी हिजो यी निशान बाबुलाई एक छिन पर्खेको भए यिनको पनि धोको पुरा हुने रैछ, हामी त अन्यौलमा पर्यौ, टाढाको बाटो कमसेकम काका म आउँदैछु है भनेर खबर गरेको भए तिमीलाई त हामी एक हप्ता पनि कुर्न तयार थियौँ यसैमा भूलभयो अब यस्तै हुन लेखेको भयो के गर्छौ त भन्दै मलाई थुम्थुम्याउनु भयो । सबै जना मिलेर खाना खायौँ कुराकानी गर्यौँ रमाइलो पनि भयो एक छिन । अगाडि जति बोझ महशुस अहिले चाहिँ भएन ।

हजुरले सभ्यतालाई लिएर आएको भए हुन्थ्यो नि देख्न पाइन्थ्यो दिदी कस्तो हुनु हुँदो रैछ भनेर आफू बहिनी भएको पारा पनि वसन्तीले तेस्र्याइ । लाग्थ्यो दिदीको भागबाट मलाई आधा नभए पनि अलिकति भाग दिए हुन्थ्यो भन्ने आशय देखिन्थ्यो । कसरी ल्याउनु बिहे नगरिकन उसलाई गारो हुन्छ नि वसन्ती खै कुरा बुझेको । हामी त एक अर्काका लागि आफ्ना हौँ तर समाजको अगाडि झ्याई झ्याईँ त पार्न बाँकी नै छ नि त्यो पनि समय आउनु पर्यो पछि ल्याउँछु चिन्ता नमान अनि तिमीलाइसँगै बजार घुमाउन लैजाउँला ।

हेर कुन्साङ्ग भाइ जति केटा आए पनि उस्ले मन पराउने हैन म बिहा गर्दिन तपाईँहरूकै सेवा गरेर बस्छु, म एक्ली छोरा भने पनि मै छोरी भने पनि मै भनेर कसैलाई पनि अगाडि पर्नै दिन्न । यस्को दिन नजुरेको हो कि कुनै दशा शशा छुन यस बेला कुन चाहिँले पक्कै रोकेको छ भन्छु म त भनेर आमाले मै माथि अनि वसन्ती माथि अदृश्य प्रहार गर्नुभयो । मैले वसन्तीलाई हेरेर तिमीले यसो नगर विवाह गर्नु पर्छ नत्र पछि पछूतो हुन्छ भनेँ उस्ले चाहिँ उही जिद्दी प्रकट गरी म किन विवाह गर्नु यत्तिकै जान्छ जिन्दगी विवाह गर्नका लागि बाँकी हुनु पनि त पर्यो नि कोही केटा मान्छे । म निस्सासिएँ त्यहाँबाट उम्किन मन लाग्यो वसन्ती जोर जबर्जस्ती उस्को ठाउँमा ठिकै भए पनि मलाई अप्ठेरो लाग्यो । तत्काल सभ्यतालाई म्यासेज गरेर आइ मिस यू बुढी मिस यू सो मच भनेर उत्तिखेरै मोबाइलमा म्यासेज कत्ति छिटो गरेँ मलाई पत्तै भएन र पनि नेटवर्क नभएकाले पेण्डिङ्गमा गएर बसिरह्यो र पनि मन अलि हल्का भयो । म जसका लागि समर्पित छु उस्को याद मलाई काफि थियो ।

कुन्साङ्ग काकाले बिकलदाइको सर सामान मलाई हस्तान्तरण गर्नुभयो आँखा भरी आँशु पार्दै । टिनको बाकसमा सानो चावी लगाइएको थियो त्यो चावी काकाले उहाँको प्राण पखेरु उडेपछि बन्धनहरू फुकाउने बेला जनैबाट निकाल्नुभएको रे । त्यही चावीले बाकस खोलेँ, त्यसमा डायरीहरू थिए, लत्ता कपडाहरू थिए । दाइ र म अफिसमासँगै बसेर खिचेको छ वर्ष अगाडिको फोटो पनि थियो, छोरा छोरीको पासपोर्ट साइजको फोटो आफ्नो नागरिकताको प्लाष्टिकको खोल भित्र आफ्नै फोटोको लाइनमा मिलाएर राख्नुभएको थियो । लेख्दा लेख्दै मसि सकिएका डटपेनका खोराहरू पनि थिए र मैले एक पटक दाजुलाई उहाँको जन्मदिनमा दिएको सुनौलो कलम चाहिँ नलेखी राख्नुभएको रहेछ अँझै पनि खोल भित्रै थियो ।

दाजुको जन्मदिनको दिनको याद गर्न मन लाग्यो । मलाई थाहा थियो उहाँको जन्मदिन र पनि उहाँलाई यो अवसर हो भनेर भनेको थिइन । दाजुलाई मैले कन्याम जाउँ भने किनकि झापाबाट सबभन्दा नजीकको रमणिय ठाउँ त्यही थियो । घुमियो वरियो अनि साँझ बस्न फिक्कल बजार पुगियो, बजार सानै भए पनि चोटिलो थियो । साँझ अलिकति सोमरस पनि भिजाइयो ज्यानमा अनि दाजुलाई बल्ल यही कलम अनि डायरी दिएर ह्याप्पी बर्थडे वीश गरेको थिएँ दाइ एक्कासि झस्किए झैँ गर्नुभएको खुशी पीडा बिश्मय माया जति सबै मिसाएर अनुहार बिगार्नुभएको थियो ।

तिमीले याद दिलाई दियौ आफ्नै जन्मदिन जुन म आफैले बिर्सिसकेको थिएँ भनेर मलाई धन्यवाद दिनुहुन्थ्यो, म आफू मख्ख पर्नभन्दा उहाँको मनमा खुशी कसरी हुन्छ भन्ने ध्याउन्नमा हुन्थेँ सकेको लाइपरी गर्थेँ । उहाँको बाबा हुञ्जेल हरेक वर्ष पण्डित बोलाएर पूजा गरेरै जन्मदिन मनाउनु हुन्थ्यो रे । नयाँ कपडा जुत्ता ढाका टोपि अनि रसवरी, लालमन मिठाईहरू खुवाऊनु हुन्थ्यो रे जीवनको हरेक यस्ता १२ औँ खुड्कीला यसरीनै पार भएका अनि १३औँ खुड्कीला आउनभन्दा एक महिना पहिला आफ्नो बाबालाई गुमाउनु भएको उहाँको कथाले मलाई पनि चिसो बनायो, कठ्याङ्ग्रिए म पनि । तर पनि यो शृँखला सकिएको धेरै वर्ष पछि तिमीले मलाई अमूल्य उपहार दियौ निशान यस्को म केहीसँग तुलना गर्न सक्दिन । मैले आफ्नो जन्म दिनको झल्को छोराछोरिहरूको जन्म दिन पारेर मेटाउँछु भन्दै रापिनुहुन्थ्यो मैले उहाँको ग्लासमा आइसको एउटा ढिको थपेर अलि सेलाउँथेँ ।

आज उही दाजु मेरो साथ छोडेर कहिले नफर्किने यात्रामा महाप्रस्थान गर्नुभएको छ । सँझेर सँझिनसक्नु पहिरो गएको छ मनमा अब म के गरु कसो गरुँ भन्ने सोच्न पनि सकिरहेको छैन म । बाकसमा भएका उहाँका नीजि सामानहरू मैले काकालाई नै फिर्ता गरेँ बाकस सहित मैले मात्र उहाँले लेखेका डायरीहरू अनि कापिहरू मात्र साथमा लिएँ अनि कलम पनि काकालाई नै दिएँ किनकि मैले दिएको निशानी आफैले फिर्ता लिन मन मानेन । काकाले पनि उहाँले चलाएका सबै सामानहरू शिशाको दराज बनाएर सबैले देख्ने गरेर राख्ने भन्नुभयो यसमा भने मलाई गौरव अनुभूति भयो किनकि यो गाउँबासीहरूले उहाँलाई मृत्युपर्यन्त पनि याद गरिरहेको र गरिरहोस भन्ने लाग्यो । अब बिकल सरको नियाश्रो तिमीले मेटिदिनु पर्छ निशान भलै तिमी वर्षमा कम्तीमा एकपटक मात्र भए पनि आऊ, हामीलाई यत्ति भए पुग्छ हामीले केबल तिमीमा मात्र बिकल सरको झल्को पाउँदछौँ भन्नु हुँदा मैले पनि सहर्ष स्वीकारेँ । किनकि म पनि यो गाउँको एउटा अभिन्न हिस्सा हुन पाएँ भनेर ।
मलाई कति बेला यहाँबाट फर्कुँ अनि सभ्यतालाई सबै यो गाउँको कथा अनि बिकल दाजुको कथा सुनाउँ जस्तै भएको थियो । सभ्यता नियाश्रो मानिरहन्थी म कतै बाहिरफेर हिँडे भने, कहाँ गयो के गर्यो भन्ने चिन्ता उसलाई भइरहन्थ्यो । उसले लिएको चासो र मायाले मलाई उर्जा थपिदिन्थ्यो अनि त काममा पनि मन लगाउन सक्थेँ । सबै दिनहरू यस्तै बित्दैनथे, स सानो कुरामा भनाभन भइरहन्थ्यो । हाम्रा कुराका कन्थाहरूले त लाग्थ्यो हामीले एक अर्कालाई चिनेकै रहेनछौँ जस्तो लाग्दथ्यो ।

उस्ले घर छोडेर कतै बजारतिर वा काममा हिँडि भने वा कार्यालयको काममा हिँडेको बेला मलाई लामो समयसम्म पनि वास्ता नगरे जस्तो लाग्थ्यो, सञ्चारका बिभिन्न माध्यमहरू हुँदा पनि उस्ले नजाने जस्तो गरेर टारिदिन्थी तर मलाई असह्य हुन्थ्यो । म टुट्थेँ घरी घरी अनि जोडिन्थेँ बडा सकसले मात्र । कहिलेकाहीं मनभरी भएर गुनासो गर्दा उल्टै मसँग चित्त बुझेन भने अर्कै खोज भन्न पनि पछि हट्दिनथी तर म चाहिँ त्यसो भन्न आँट नै गर्दिनथेँ । आफ्नै जीवन अनि परिवेशहरूलाई हेर्ने मानिसको आ–आफ्नै तौर तरिका हुँदो रैछ र पनि यसमा म नै कमलो मन भएको कम्जोर मानिस हुँ जस्तै लाग्थ्यो ।

गाउँबाट बिदा लिएर म घर फर्किने जोहो गर्न थालेँ गह्रुँगो मन लिएर, बिकल दाइको अधूरो याद लिएर । डायरीका हरेक पन्नाहरूमा हरेक उपकथाहरू थिए उहाँका जीवनका वास्तविक भोगाईहरू । बास्तवमै दाजु हँसीमजाक गर्ने जीवनलाई सरल बनाएर बाँच्न खोज्ने मानिस हुनु हुन्थ्यो र उहाँलाइनै जीवनको कठिन यात्रा भोग्नु पर्यो । हुन त जन्मोप्रान्त नै उहाँका एक खाले ग्रहणहरू शुरु भइसकेका थिए र पनि बैबाहिक जीवन सफल हुन सकेन, जीवनदेखि बिक्षिप्त भएर बैबाहिक जीवनबाट सन्यास लिनु भयो र केही समयको कष्टता पछि रिभान गाउँको साथले उहाँको उत्तरार्ध चाहिँ अति सफल अनि सार्थक रह्यो । उहाँका सबै प्रयासहरू जीवन बनाउने सफल नभएपछि आफ्नै कपालमा कात्रो भिरेर आफ्नै मलामी हिँड्नु भएका मेरा अतिप्रिय दाजु साँच्चिकै महाप्रस्थान गर्नुभएको छ । गाउँलेहरूलाई दुख नदिइकन ३–४ घण्टाको अन्तरालमा जानुभो रेभन्दा सुनेँ उहाँले आफूले जिउँदो हुँदा त कसैलाई दुख दिनु भएन प्राण त्याग्ने बेला पनि केही सुसार गर्न परेन कसैले हाँसि हाँसि बिदा हुनु भएछ ।

जीवनमा अँश हुँदा हुन, धेरै वर्ष लाग्दो हो यो इहलिला समाप्त हुन तर साराँशमा जीवनको अर्थ भनेको मृत्यु रहेछ अनि त्यसभन्दा पछि सँझनाहरू नै रहेछन त्यसको पछि पछि सहनु पर्ने बाध्यता रहेछ । दाजु बाँचुञ्जेल यस्तो दिनको म कल्पना पनि गर्न सक्दिनथे आज त्यही भोग्न परिरहेछ । दाजुका पनि पर्दा पछाडिका जिन्दगीहरू थिए होलान, रोमाण्टिक जिन्दगीका केही छालहरू थिए होलान तैपनि यी सबैलाई निस्तेज पार्नुभयो । ममा अहिले पनि यो प्रश्न किन यत्ति धेरै तिरष्कार गर्नुभयो आफ्नै चाहनाहरूलाई किन तिलाञ्जली दिनु भयो आफ्नै जिन्दगीलाई । उहाँ जस्तो सक्षम मानिसको खाँचो थियो देशलाई मैले दाजुको जीवनबाट सिकेको के हो भने मानिस आफैमा खुशी र सुखी हुन सकेन भने उस्ले केही गर्न सक्दैन रहेछ, मनको खुशी जस्तो केही पनिरहेनछ । जिन्दगी नाताले बाँधिदैन मायाले सद्भावले बाँधिन्छ भन्ने सावित गरिदिनु भयो । मैले दाइको जस्तो बैबाहिक जिन्दगी भोग्न नपरोस, सभ्यताले मेरो अन्तरमनलाई चिनोस म ऊभित्र समाहित हुन सकुँ नत्र यसमा पनि केही खटपट भयो भने म पनि भाँडिन्छु भन्ने ज्ञान भयो ।

मेरो आदरणीय बिकल दाजुलाई हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु उहाँको आत्माले स्वर्गमा पनि राम्रो सम्मानित ठाउँ पावोस । दाजुका पाण्डुलीपिहरूलाई यहाँहरू माझ म उचित समयमा कथाको रुपमा होइन सम्पूर्ण पुस्तककाकार रुपमा पस्किने प्रयासमा छु । हजुरहरूको साथ पाएमा यो अभिभारा पक्कै पुरा गर्ने छु । प्यारी सभ्यताको अपार माया ममताले मेरो यो अभिभारालाई पुरा गर्न सहयोग पुग्ने छ, उसैसँग उसैका लागि समर्पित यी हरफहरू फेरि भन्छु म उसैभित्र खेलिरहन पाउँ जुनीभर ।

http://www.manko-chhaya.blogspot.co.uk/2013/12/blog-post_13.html

1 thought on “अलबिदा”

  1. कथा मार्मिक छ । तर
    कथा मार्मिक छ । तर प्रुफरिडिंगको आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *