Skip to content

सप्तरीको माटोमा सगरमाथा साहित्य परिषद् : एक सन्दर्भ

  • by
NandalalAcharya-02

अग्रज पुस्ता जसले हिजो पनि भोगेको थियो र आज पनि रथ गुडाइरहेछ, उसका लागि सप्तरी जिल्ला वि.सं. २०४४ साल कात्तिक २५ गते बिहीबार (ई.सं. १९८७।११।११) जस्तो थियो आज पनि उस्तै छ ।

फेरबदल खासै भएको छैन । ठूल्ठूला घर बन्नु र जनसङ्ख्या बृद्धि गर्नुभन्दा बाहिर मूल्याङ्कनयोग्य काम भएको छैन । यो त सतही मूल्याङ्कन हो । राजनैतिक दृष्टिले हेर्ने हो भने पनि पञ्चायती काल फ्यालियो । बहुदलीय प्रजातन्त्रकाल ल्याइयो । त्यसबाट पनि सन्तुष्ट नभई राजतन्त्र नै फ्याकेर गणतन्त्र ल्याइयो । २०४४ साल कात्तिक महिनाको २५ गतेपूर्व रामराजाप्रसाद सिंह, गजेन्द्रनारायण सिंहजस्ता एकाध राजनेता पर्दा बाहिर आएका थिए । अहिले त कमिला कोटी नेतानेतृ सप्तरीले भेटेको छ । तीमध्ये सकार मतिका कति छन् र नकार स्वभावका कति छन् भन्ने कुरा जानिफकारहरूको मूल्याङ्कनको विषय हो ।

अँझ वरिष्ठ पत्रकार शिवहरि भट्टराईको नजरको मूल्याङ्कन गर्ने हो भने सप्तरीले प्राविधिक शिक्षा र सञ्चार क्षेत्रमा पर्याप्त प्रगति गरेको छ । छिन्नमस्ता र कंकालीनीजस्ता मन्दिरहरूले सप्तरी मुलुकै धार्मिक पर्यटकीय स्थलमा समेत गनिएको छ । हुन त पत्रकार श्रवण देवको पुरानो लेखमा भनिएको छ– माघ, २०६७मा प्रमुख जिल्ला अधिकारीको रूपमा सप्तरी आएका कैलाशनाथ खरेल भाग लिने प्राय: जसो हरेक कार्यक्रममा भन्ने गर्थे, “२४ वर्ष अगाडि पनि म राजविराज आएको थिएँ, पहिला जस्तो थियो, अहिले पनि त्यस्तै रहेको छ ।”

यी सबै भिन्नभिन्न कुरा हेर्ने दृष्टिकोण भिन्न भएकाले हो भन्ने बुझ्न आवश्यक छ । सयको हाराहारीमा निजी विद्यालय, वित्तीय संस्था, एनजीओ, आइएनजीओ सप्तरीमा जन्मेर सक्रिय छन् । त्यसका आलावा मुनाफारहित साहित्यिक संस्थाहरू पनि खुलेका छन् । वैधानिकताले हेर्ने हो भने सगरमाथा अञ्चलकै जेठो साहित्यिक संस्थाका रूपमा सगरमाथा साहित्य परिषद् पनि स्थापना भएको छ । त्यसै संस्थाको स्मरणको घडीमा म यी शब्दहरू दौडाइरहेछु ।

मिति २०७१।०६।२५गते पवि उच्च माविमा बसेको सगरमाथा साहित्य परिषद्को बैठकले विभिन्न साहित्यकारहरूको जयन्ती, दिवस, चाड र अवसरहरूमा साहित्यिक कार्यक्रम गर्ने, सदस्यता–संगठन विस्तार गर्ने, संस्थागत विकास र कार्यालय व्यवस्थापन गर्ने लगायतको वार्षिक कार्ययोजना पारित गरेको थियो । त्यसका लागि प्रारम्भिक मस्यौदा तयार पार्न अध्यक्ष र सचिवलाई जिम्मेवारी दिएको थियो । अत: निम्न लिखित एजेण्डाहरूमा गम्भीर छलफल गरी निष्कर्षमा पुग्न अपरिहार्य भएकोले परिषद्का कार्य समितिका पदाधिकारी तथा सल्लाहकार परिषद्का अग्रज साहित्यिक सर्जकहरू– अनिल कुमार अनल, मीना ठाकुर, वैद्यनाथ झा, मञ्जु श्रेष्ठ, शिवहरि भट्टराईज्यूहरूलाई बैठकमा भाग लिन विनम्र आग्रह गरिएको छ । बैठकका लागि मिति–२०७१।०७।२५गते, स्थान– गणेश मन्दिर परिसर (अध्यक्ष– मनोहर पोखरेलको निवास दक्षिण) र समय दिउसो ४ बजे किटिएको छ । अध्यक्ष र उपाध्यक्षको सल्लाहबमोजिम सचिव नन्दलाल आचार्यद्वारा प्रेषित सूचनामा भनिएको छ– अन्य माध्यमबाट सूचना प्राप्त भए पनि वा नभए पनि यसैलाई आधिकारिक सूचना मानी पाल्न हुन अनुरोध छ ।

(क) सगरमाथा साहित्य परिषद्को प्रस्तावित वार्षिक कार्ययोजना र संयोजक मनोनयन सम्बन्धमा– प्रत्येक महिना कम्तीमा १ दिन साहित्यिक जमघट गर्ने मनसायले प्रत्येक महिनाको तेस्रो शनिबार निम्न लिखित सर्जकको स्मृति सभा गर्ने र पर्व तथा दिवसहरूको महत्व सम्बोधन हुने कार्यक्रम गर्ने प्रस्ताव राखिएको छ । जस्तै–
१. बैशाख महिना– लोकतन्त्र दिवस– बैशाख ११/मजदुर दिवस– मे १/छन्द दिवस–८ गते/महानन्द सापकोटा–२० गते । संयोजकका रूपमा उपाध्यक्ष– साधना झा ।
२. जेठ महिना– गणतन्त्र दिवस– जेठ १५/सिद्धिचरण श्रेष्ठ– १९६९ जेठ ९ गते/गोपालप्रसाद रिमाल– १९७५ जेठ १८ गते/भवानी भिक्षु– १९६६ जेठ २१ गते । संयोजकका रूपमा सचिव– नन्दलाल आचार्य ।
३. असार महिना– भानुभक्त आचार्य– १८७१ असार २९ गते/विजय मल्ल–१९८२ असार १० गते/हरिभक्त कटुवाल– १९९२ असार १८ गते/गोविन्दबहादुर मल्ल गोठाले– १९७९ असार २५ गते । संयोजकका रूपमा सहसचिव– अजय झा
४. साउन महिना– गाईजात्रा पर्व । संयोजकका रूपमा– कोषाध्यक्ष– कमला भंसाली । विशेष सहयोग–सल्लाहकार परिषद्– १. अनिल कुमार अनल, २. मीना ठाकुर, ३. वैद्यनाथ झा, ४. मञ्जु श्रेष्ठ, ५. शिवहरि भट्टराई ।
५. भदौ महिना– मोतीराम भट्ट– १९२३ भदौ २५ गते/गुरुप्रसाद मैनाली– १९५७ भदौ २३ गते/विश्वेश्वरप्रसाद कोइराला– १९७१ भदौ २४ गते । संयोजकका रूपमा सदस्य–श्यामकान्त सुमन ।
६. असोज महिना– भैरव अर्याल । दौलतविक्रम विष्ट– १९८३ असोज ६ गते/माधव घिमिरे– १९७६ असोज ७ गते (जीवित) । संयोजकका रूपमा सदस्य (ओखलढुङ्गा– विजयकान्त धमला)
७. कात्तिक महिना– लक्ष्मीप्रसाद देवकोटा– १९६६ कात्तिक २७ गते/विद्यापति– कात्तिक त्रयोदशी/केदारमान व्यथित– १९७१ कार्तिक शुक्ल त्रयोदशी/रमेश विकल– १९८५।०७।२९ गते, कात्तिक भाइटीका/ ससाप जन्म–दिवस । संयोजकका रूपमा सदस्य (खोटाङ– गिरिराज पौडेल)
८. मङ्सिर महिनाको २० गते शनिबार– मोहन कोइराला– १९८३ मङ्सिर ११ गते । संयोजकका रूपमा सदस्य (उदयपुर– इन्द्रबहादुर थापा)
९. पुस महिनाको १९ गते शनिबार– लेखनाथ पौड्याल– १९४१ पुस २६/भूपी शेरचन–१९९२ पुस १२ गते/पुष्कर शमशेर– १९५८ पुस १८ गते । संयोजकका रूपमा सदस्य (सिरहा– राजेश विद्रोही)
१०. माघ महिनाको १७ गते शनिबार– सहिद दिवस– माघ १६ गते/धरणीधर कोइराला– १९४९ माघ २६ गते/बालकृष्ण सम– १९५९ माघ २४ गते/हृदयचन्द्रसिंह प्रधान– १९७२ माघ १२ गते । संयोजकका रूपमा– सदस्य (सप्तरी–श्यामसुन्दर यादव)
११. फागुन महिनाको १६ गते शनिबार– प्रजातन्त्र दिवस फागुन ७ गते/भीमनिधि तिवारी– १९६८ फागुन ३० गते/होली पर्व । संयोजकका रूपमा– सदस्य (अन्य/सागरवीर कडारी)
१२. चैत महिनाको २१ गते शनिबार– जन–आन्दोलन दिवस/रुद्रराज पाण्डे– १९५७ चैत्र कृष्ण चतुर्थी/ पारिजात– १९९० चैत्र ०२, ई.सं. १९३४ मार्च १३/नारी दिवस/लैनसिंह बाङ्गदेल– १९७९ चैत्र २१ गते । संयोजकका रूपमा– सदस्य (अन्य/खिलानाथ गौतम)
(नोट : जगदीश घिमिरे, कृष्णचन्द्रसिंह प्रधान, शङ्कर लामिछानेलगायत अन्य सर्जकहरूका बारेमा खोज गर्न बाँकिरहेको छ ।)

(ख) बधाई तथा शुभकामना ज्ञापन सम्बन्धमा– (महाकवि विद्यापति स्मृति दिवसका दिन मैथिली साहित्य परिषद्द्वारा पुरस्कृत एवं सम्मानित सगरमाथा साहित्य परिषद् पूर्व अध्यक्ष डा. सुनिल कुमार झा र परिषद्को स्थापनाकालदेखि नै प्रत्यक्ष–परोक्ष सक्रिय पूर्व कार्यसमिति सदस्य एवं हाल सल्लाहकार मीना ठाकुरप्रति बधाई तथा शुभकामना ज्ञापन गर्ने कार्यक्रम छ । साहित्य, कला–संस्कृतिको रक्षा, संरक्षण र सम्बद्र्धनमा योगदान दिएवापत दिइने सो सम्मानले सम्मानित भएका सर्जकहरू कुनै कालखण्डमा परिषद्सँग आबद्ध भएको ऐतिहासिक पृष्ठभूमि पाउँदा गर्ववोधले छाती चौडा भएको छ । पंक्तिकार उहाँहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।)

(ग) परिषद्को कार्यक्षेत्र विस्तार सम्बन्धमा– (कुनै पनि संस्थालाई दीर्घजीवन दिन आजीवन/साधारण सदस्य विस्तारका साथै जिल्ला शाखा गठन र विस्तार गर्ने कार्य गर्नु आवश्यक छ । कम्तीमा सगरमाथा अञ्चलभित्रका साहित्यकारहरूलाई समेट्ने गरी साहित्यिक ग्रन्थ प्रकाशन गर्ने र परिषद्मा सम्मानजनक अवस्थाको अपेक्षा गर्दै सोलुखुम्बुबाट हिरा कट्टेल, ओखलढुङ्गाबाट इन्द्रकुमार श्रेष्ठ, खोटाङबाट हेमसागर पोखरेल, रामविक्रम थापा, उदयपुरबाट पुन्य कार्कीलगायतका मित्रहरूले प्रत्यक्ष–अप्रत्यक्षरूपमा प्रस्ताव राख्नुभएको छ । उहाँहरूका कुरामाथि विशेष विचार–विमर्श गरी परिषद्मा स्वागत गर्ने कुरामा एकमत हुनुपर्छ ।)

(घ) विविध– (‘हाम्रो राजविराज : राम्रो राजविराज’ शीर्षक वा यस्तै भाव भएका अन्य शीर्षकमा मैथिली र नेपाली भाषामा खुल्ला कविता/साहित्यिक प्रतियोगितात्मक कार्यक्रमको आयोजना गर्न सामुदायिक सेवा मञ्चका अध्यक्ष कुमार पाठकबाट प्रस्ताव आएको सन्दर्भमा र अन्य विषयवस्तुमा यो एजेण्डा केन्द्रित हुने छ । साहित्यिक संस्थालाई सोही क्षेत्रको कार्यभार कसैले सुम्पियो भने त्यो गर्वको विषय हो । अन्य पक्ष समेत साहित्यिक गतिविधि गर्न तम्सनु समाज सुधारका निम्ति एक खुट्किलो उक्लनु हो भनेर बुझ्दा अन्यथा नहोला । उत्कृष्ट एक कविता व्यानरमा लेखी चौकमा झुण्ड्याइने छ । कविताको अध्ययनबाट नगरबासीहरूमा होससहितको जोस उम्रियोस् भन्ने उद्देश्य राखिएको छ । यसका अतिरिक्त अन्य कुराहरू बारे समेत यस शीर्षकमा चर्चापरिचर्चा हुने छ ।)

सगरमाथा साहित्य परिषद्ले गत कात्तिक १ गते शनिबार राजविराज जेसीज हलमा महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा र विद्यापति स्मृति दिवस एक साथ मनाएको थियो । राजविराजस्थित पवि उच्च माविमा शनिबार सम्पन्न परिषद्को प्रथम पूर्ण बैठकले महाकविद्वयको जयन्तीका अवसर पारेर साहित्य गोष्ठी र पदस्थापन समारोह गर्ने निर्णय गरेको थियो । सोही बैठकले रिक्त रहेको सदस्य पदमा ओखलढुङ्गाका विजयकान्त धमलालाई मनोनित गरेको थियो । असोज ११ गते सम्पन्न सातौं परिषद्–अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: मनोहर कुमार पोखरेल, साधना झा, नन्दलाल आचार्य, कमला भंसाली र अजयकुमार झा सर्वसम्मतले निर्वाचित भएका थिए । परिषद्का सदस्यहरूमा श्यामसुन्दर यादव, सागरवीर कडारी, खिलानाथ गौतम, इन्द्र बहादुर थापा, गिरिराज पौडेल, शिवकान्त सुमन र राजेश विद्रोही निर्वाचित भएका थिए । धमला थपिएपछि समितिले पूर्णता पाएको हो । त्यस्तै कार्यसमितिले सल्लाहकारहरूमा अनिल कुमर अनल, वैद्यनाथ झा, मन्जु श्रेष्ठ, मीना ठाकुर र शिवहरि भट्टराईलाई चयन गरेको थियो ।

कात्तिक १ गतेको कार्यक्रमलाई लक्षित गरी प्रेषित शुभकामना मन्तव्यमा तपाईंहरूले महाकविद्वय लक्ष्मीप्रसाद र विद्यापतिको स्मृति दिवस संयुक्तरूपमा मनाउन खोज्नुले तपाईंहरूभित्रको महानता र एकअर्काप्रतिको सहज स्वीकार्यतालाई सगर्व उजागर गरेको छ भनिएको थियो । तपाईंहरूको यस किसिमको सत्प्रयास कुनै पनि औपचारिक सम्मानभन्दा उँचो छ भन्दै सप्तरीको माटोमा पहिलो पटक धर्ती स्पर्श गरेका साहित्यकार धीरकुमार श्रेष्ठले आफ्नो शुभकामना वक्तव्यमा अब सप्तरीको साहित्यले विकास पाउने निश्चित छ भनेर विश्वास जाहेर गरेका थिए । ससापका साहित्यिक गतिविधिबाट सप्तरीको पुरानो परिचय पुनरुथापित हुनमा अवश्य सघाउ पुग्ने छ भनेर आफ्नो अन्तरहृदय खोल्न समेत उनी पछि परेका थिएनन् । परिषद्ले गत भदौ महिनामा १४९ औं मोती–जयन्ती धुमधामका साथ मनाएको थियो ।

परिषद्को इतिहास कोट्याउँदा– २०४४ सालमा गठित पहिलो कार्य समितिमा प्रा.डा. सुनिल कुमार झाको अध्यक्षतामा निम्न बमोजिमका स्रष्टाहरू रहेको देखिन्छ । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र उपसचिवमा क्रमश: शिशुप्रसाद देवकोटा, दुर्गाप्रसाद चौधरी, लीलबहादुर राई र सुभाषचन्द्र राइरहेका थिए । सदस्यहरूमा अनिलकुमार अनल, रामचन्द्र झा, विष्णुप्रसाद पोखरेल, शिवहरि भट्टराई, लक्ष्मी घिमिरे रहेको कुरा ‘साहित्यश्री’ (वर्ष–७, अंक–१, बैशाख–जेठ, २०४५, प्रधान सम्पादक– अनिल कुमार अनल, सम्पादक– उपाध्याय भूषण, रामचन्द्र दलित/मुद्रक– दीपक मुद्रालय, राजविराज–५, प्रकाशक– साहित्यश्री प्रकाशन, स.अ.का.द.नं. ८/०३६–०३७/स.अ.हु.द.नं. ७/०३६–०३७) द्वैमासिक पत्रिकामा लेखिएको छ । स्रोतका अनुसार सल्लाहकारमा सूर्यबहादुर सेन ओली, कृष्णप्रसाद बस्याल, जनार्दन आचार्य, रामचन्द्र दलित, शंकर प्रसाद दीपक, सुशीला आचार्य, चक्र मोक्तान, चक्रपाणि मोक्तान, भुवनहरि कोइराला, गोपाल कट्टेल, शालीग्राम दाहाल, इन्द्रमान वैद्य, जगतमर्दन थापा, विष्णुराज कुसम, रामनारायण देव, शंकरदत्त झा, र जनार्दन सिटौला रहेका देखिन्छन् । सल्लाहकार अनिल कुमार अनलको सुझावअनुसार तीमध्ये दिवंगत स्रष्टाहरू इन्द्रमान वैद्य, शंकरदत्त झा र रामचन्द्र झाका नाममा परिषद्ले कात्तिक १ गते श्रद्धाञ्जली सभा समेत गरेको थियो । उक्त अवसरमा जनकवि केशरी धर्मराज थापा लगायत ज्ञातअज्ञात सर्जक–सहिदहरूको आत्माको चीर शान्तिका लागि समेत एक मिनेट मौनधारण गरी सभा विर्सन भएको थियो ।

त्यस बेला सगरमाथा साहित्य परिषद्ले विभिन्न राष्ट्रिय पर्व, दिवस र अवसरमा कवि, प्रवचन, परिसंवाद गोष्ठी सञ्चालन गर्दै आएको थियो । प्रत्येक महिनाको प्रथम शुक्रबार साहित्यिक भेटघाटको आयोजना गर्दै आएको थियो जसमा नवोदित र पुराना साहित्यकारबाट रचना पाठ हुने गर्दथ्यो । नयाँ वर्षको अवसरमा ‘सगरदीप’ नामक मुखपत्र प्रकाशन गर्ने गरेको थियो । अहिले भने प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक कार्यक्रम गर्ने र ‘सगरदीप’लाई निरन्तरता दिने कुरा आगामी कात्तिक २५ गतेको कार्यसमितिले तय गर्ने सम्भावना छ ।

प्रा.डा. सुनिल कुमार झापछि शिशुप्रसाद देवकोटा, देवी गौतम, अनिलकुमार अनल, वैद्यनाथ झा हुँदै हाल परिषद्मा मनोहर कुमार पोखरेलको कार्यकाल चलिरहेको छ । निवर्तमान उपाध्यक्ष सुरेन्द्र गुप्ताले अध्यक्ष पदमा रहन अनिच्छुक रहेको अभिमत प्रकट गरेपछि ससाप केही वर्ष निस्क्रीय रहेको थियो । त्यसलाई सक्रिय पार्न गत साउन महिनामा जीविस परिसरको फलैचामा भएको पूर्व अध्यक्षसहितको भेलाले मनोहर कुमार पोखरेलको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो । त्यसै समितिले मोती जयन्ती र ससाप–अधिवेशन सम्पन्न गर्यो । त्यसपछि बनेको नयाँ कार्य समितिले महाकविद्वय लक्ष्मीप्रसाद–विद्यापतिको स्मृति सभाजस्ता महत्वपूर्ण काम गरिसकेको छ । स्मरणीय कुरो के छ भने परिषद्ले हरेक कार्यक्रममा साहित्यिक गोष्ठी गर्दै आएको छ । ती गोष्ठीहरूमा नेपाली, मैथिली, थारू, हिन्दी र माडवारी भाषाका रचनाहरू वाचन गरिने गरेको पाइन्छ । रचना वाचन गर्नेहरूको उल्लेख्य भूमिका रहन्छ । जिल्ला बाहिरबाट पनि सहभागिता हुने हुनाले जिल्लाभित्रका सर्जकले उत्साह भेट्ने गरेका छन् । सन्दर्भअनुसारको वृहत् परिचय दिने चलन पनि छ जसले गर्दा विमातृभाषीहरूलाई समेत नेपाली भाषामा कलम चलाउने स्रष्टाहरूको वारेमा धेरथोर जानकारी हुने गरेको छ । कात्तिक १ गते भएको स्मृति सभा तथा साहित्यिक गोष्ठीमा खिलानाथ गौतमले महाकवि लक्ष्मीप्रसाद देवकोटाका वारेमा र श्यामसुन्दर यादवले महाकवि विद्यापतिको व्यक्तित्व र कृतित्वका वारेमा विशद् चर्चा गरेका थिए । भदौमा मनाइएको मोती जयन्तीमा मोतीराम भट्टका वारेमा वक्ताहरू खिलानाथ गौतम, नन्दलाल आचार्य, मञ्जु श्रेष्ठ, मनोहर पोखरेल, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा र कार्यक्रमका प्रमुख अतिथि अनिल कुमार अनलले चर्चापरिचर्चा गरेका थिए ।

पूर्व अध्यक्ष वैद्यनाथ झाका अनुसार पहिले परिषद्मा अञ्चलाधीश, एलडीओ तथा विभिन्न कार्यालयका कर्मचारी, अध्ययन, प्राध्यापन पेशामा आवद्ध पेशाकर्मीहरू परिषद्मा आवद्ध थिए । त्यस बेला उनी लगायत २/३ जना मात्र परिषद्का आजीवन सदस्य थिए । वि. सं. २०४४ साल कात्तिक २५ गते स्थापित परिषद्को लामो समयपछि नयाँ थपिएको आजीवन र साधारण सदस्य सङ्ख्या ३८ जना छ । जसअनुसार सप्तरीबाट मनोहर कुमार पोखरेल, गणेशलाल देव, मञ्जु श्रेष्ठ, मीना ठाकुर, कमला भन्साली जैन, करुणा झा, मोहनप्रसाद उपाध्याय, साधना झा, अनिल कुमार अनल, विकास कुमार श्रेष्ठ, अभित कुमार चौधरी, श्यामपृत मण्डल, अरविन्द कुमार यादव, शिवहरि भट्टराई, अजय कुमार झा, जयराम भगत माली, व्यासशंकर उपाध्याय, श्यामसुन्दर यादव, सुरेन्द्र प्रसाद गुप्ता, शिवकान्त सुमन, विकास कुमार साह, किशोर कुमार चौधरी, स्वामी ध्यान निर्दोष गरी २३ जना, उदयपुरबाट नन्दलाल आचार्य, इन्द्र बहादुर थापा, राममणि पोखरेल, दुर्गाप्रसाद काफ्ले र तेजनारायण शेर्पा रञ्जन गरी ५ जना, मोरङबाट तुलसी प्रसाद पराजुली र बुद्धकुमार खडका गरी २ जना, खोटाङबाट गिरिराज पौडेल र मौसम बञ्जरा गरी २ जना सदस्य थपिएका छन् । त्यस्तै काठमाडौंबाट पार्वती राउत, सुर्खेतबाट लक्ष्मीदेवी ठाकुर, धनुषाबाट सागरवीर कडारी, सिरहाबाट राजेश विद्रोही, सिन्धुलीबाट खिलानाथ गौतम, ओखलढुङ्गाबाट विजयकान्त धमला गरी ६ जना थपिँदा परिषद्ले दिनानुदिन वृहत् आकार बनाइरहेको छ । परिषद्को २०४४ सालकै विधानबमोजिम साधारण शुल्क रु २५ र आजीवन शुल्क रु ५०० मात्र रहेको छ । विशिष्ट सदस्य शुल्कको समेत प्रावधान राखी शुल्कलाई परिमार्जन गरी समसामयिक बनाउनु जरुरिरहेको विज्ञहरू बताउँदछन् ।

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *