फूलबारी देख्दा फूलकै
नदी देख्दा नदीकै
चियाबारी देख्दा चियाबारीकै
मदिरा देख्दा मदिराकै
तरुणी देख्दा तरुणीकै
केही देख्नै हुँदैन् त्यसैको बारेमा
सबै कुरा लेखिहाल्छन् ।
फूलबारी देख्ने बित्तिकै
फूलसँग मोहित भएर
यसको सुन्दरता र वासनालाई
क्यानभासमा सजाएर
मान्छे र मौरीको
प्रेमी-प्रेमिकाको
माया पिरथिका कुराहरू लेख्छन् ।
नदी देख्दा
नदीले बगाएर ल्याएको डुँगा र माटो
रुख र लहरा मात्र होइन
पीडित परिवारको पीडा र व्यथाहरूसँगै
एउटै गाउँलाई नदीले दुई फाक पारेर
अन्तर्राष्ट्रिय सीमाना स़ृजित गरेका मर्काहरू
सिंगो इतिहास बनाएर लेख्छन् ।
चियाबारी देखेर
चियाबारीको सुन्दरतामा मात्र मक्ख हुँदैनन्
चियाबारीको पाखा-पखेरो
यसमा सिँचेको हाम्रो पुर्खाको इतिहास
ब्रिटिशकालमा हट्टा बाहरको त्रासदी
चिया श्रमिकहरूले भोग्नु परेको
विभिन्न समस्यालाई उधिनेर लेख्छन् ।
मदिरा देख्दा
कविहरूले मदिरा नपिए पनि
कवि आफै बाङ्की परेकी सुलेमी भएर
भावना, शब्द र शैलीलाई
मदिराको माद बनाएर
हेंगओभर हुञ्जेल पाठकवर्गलाई मताउँछन् ।
तरुणी देख्दा
रोमान्टिक कविहरूको
कुनै ठहर ठेगाना नै हुँदैन्
मन परेको बेला
उनीहरूको रुप, योवन र मनका कुराहरू
सुनका अक्षरहरूले लेखेर
आफ्नो आँखामा बसाउँछन्,
मन नहुँदा कहिलेकाहीँ
आफूलाई प्रेयसीको कानको लुर्कना बनाई
नयाँ एपिसोड लेख्न
अर्काकै मनतिर धाउँछन् ।
कविहरू साँच्चै नै खतरा हुन्छन्
केही देख्नै हुँदैन्
चाहिने पनि लेख्छन्,
नचाहिने पनि लेख्छन् ।
हुने पनि लेख्छन्,
नहुने पनि लेख्छन् ।
जे पनि लेख्छन् खाँटी कुरा नै लेख्छन् ।
त्यसैले कविलाई
जहाँ पुग्दैन रवि
त्यहीँ पुग्छन् कवि भनेको पो हुन् कि !
बी बी ठकुरी
मिल्टन्, कनाडा
अक्टोबर २२, २०१९
