नठान साथीहो, खुसीले जिएको
छ आँसु आँखामा, नदी भै बगेको
न बन्धु छन् मेरा, न कोही हितैषी
विभिन्न पीडा छन्, बलैले सहेको
चिरिन्छ छाती यो, प्रवाशी हुनाले
भएँ म कैदी झैं, थुनामा परेको
स्वदेश सम्झेरै, सधैँ भो भकानु
धुँदै छु रातोदिन्, सिरानी भिजेको
यहाँ छु बाँचेको, मरेको सरी भै
रहेछ भावीले, यही नै रचेको
यथार्थ भोगेको, सुनाएँ न ढाँटी
सकिन्न लेखेरै, कथा यो दुखेको
निकै छ साँचेको, शुभेच्छा मनैमा
फिरेर देशैमा, गरौँला सकेको
(सूत्र :- ISI SSS ISS ISS)
कोमल भट्ट
komapbhatta@yahoo.com
पुरानो नैकाप, काठमाडौँ
