Skip to content

लोकतान्त्रिक न्याय


अम्बरबहादुर खड्का पेशाले शिक्षक हुन् तापनि उनले उनेको पुख्र्यौली कृषि व्यवसाय पनि छोडेका छैनन् । ४ जनाको परिवार आफू दई दम्पत्ति २ भाइ १६ र १८ वर्षका छोराहरू छन् । कान्छो छोरा ९मा जेठो १२ कक्षामा अध्ययन गर्दैछन् । श्रीमती सामान्य साक्षर छिन्; प्राथमिक स्तरको शिक्षा पूरा गरेकी छिन् तर कृषि कामको लागि भने बघिनी बराबर छिन् भन्छन् गाउँलेहरू ।

बुढा ४८ वर्ष कटे । प्राथमिक द्वितीय श्रेणीमा दुर्गम गाउँमा पढाउँछन् । यसो मधेशतिर सानो घर घडेरी पनि जोडेछन् । बसाई सराई पनि मिलाइहालेछन् । त्यसो हुँदा बढा त लगभग ३० हजारको हाराहारीमा तलब पाउँदा रहेछन् । यता श्रीमती छोराहरूले पुख्र्यौली २०–२२ मुरीको खेत रोप्दा रहेछन् आफैले खान लगाउन मनग्य । घरमा ६–७ वटा खसी, दुहुनो भैंसी, गोरु चाहिं अरुको जोताउँदा रहेछन् अलिकति तलब खर्च गरेर । नत्र बुढाको सबै बचत ।

सधैं यस्तै रितको आयस्ता भए त बुढाको आर्थिक उन्नति राम्रै हुन्थ्यो होला, नोकरी अवधिभर लामो समय तास, जुवा, जाँडरक्सीमा सकेछन् । ८–१० वर्षदेखि मात्र बुढाले लाइन पक्डेका रहेछन् । बुढाले २–४ वर्ष अघि जिल्ला सदरमुकाममा घर–घडेरी पनि पो जोडेछन् । गाउँबाट एक डेढ घण्टामा सदरमुकाम पुगिहालिन्छ । हेर्दा हेर्दै बुढाले बुढेसकालमा २२० सी.सी.को बाइक किनेर कसरी सिके ? लाइसेन्स बनाएर हरर कुदाउन पो थालेछन् । हरे ! परिवर्तन ।

छोराहरू पनि भैंसीलाइघाँस काट्न पनि ठिक्क, हलो जोत्न पनि ठिक्क, बाइकमा हरर कुद्न पनि ठिक्क । उनको यस्तो चाला देखेर दुष्ट काँठे छिमेकीहरू दङदास पर्थे । गरी खाँदैछ भन्नेसम्मको मूल्याङ्कनको सट्टा यस पागलको चाला के होला भनेर कुरा दोचार्थे । हुन पनि उनी निस्फिक्री तालका मानिस थिए आजभोलिको जमानामा ऊ र उनको परिवार कुनै पार्टी सम्पर्कमा थिएन ।
बुढाले यदाकदा देश विदेशमा चर्चित हुने खालका लेख, कविता, निवन्धहरू लेख्थे । अब त उनलाई संसारका साहित्यिक मिडियाले चिन्न गन्न थालिसके । अनि उनी किन जिल्लाका नेताहरूको झोलेमा दरिन चाहन्थे त ? स्वतन्त्र अस्तित्वमा बाँचिरहेका थिए । भर्खरै एउटा कथा संग्रह निकाले झण्डैले मदर पुरस्कार पो पाएका । आत्मपरक शैलीमा आफैले देखे भोगेका कुराहरूमा यसो थपथाप पारी लेखी टोपलेका थिए बाफ रे बाफ ! कहाँ पुगे कहाँ ? आजभोलि त उनी फुर्सद पायो कि घुम्न हिंडिहाल्छन् । ख्यालख्यालमै भारतका १०–१२ वटा प्रान्तहरू त एक्लै पो डुलिसके । दुर्गमको स्कुल त्यति खटिएर पढाउन पर्दो रहेनछ । ठूलै उद्योगपतिको जत्तिकै आनन्द लुट्दै थिए । मसँग गफगाफमा भन्ने गर्थे “यार ट्रेनबाट दक्षिण एसियाको मुलूकहरू घुमौन खासै खर्चिलो नहुने रहेछ । मेरो त यी मुलूकमा घुम्ने पञ्चवर्षीय योजना छ ।”

म त छक्कै पो परे, मान्छेले आँटे जे पनि गर्न सक्छ कि क्याहो जस्तो लाग्न थाल्यो । यस्तैमा बजारको घरको सँधियार छिमेकीसँग सीमानाको विषयमा विवाद उठ्यो भिरालो कान्लामाथि उनको घर । किनेको समयदेखि हालसम्म उनैले चर्चिएको कान्लो । छिमेकीले डोजर ल्याई २ पटकसम्म उक्त कान्लो खारेर सिधा बनाइदियो । यति गर्दा पनि उसले उनलाई रोहबरमा राखेन । उनी घरमा नभएको समयमा जग्गा खारो उनले गाउँ समाज जुटाए छलफलबाट निर्णय समेत भयो । तर उनको विपक्षले उक्त समाजको निर्णय स्वीकार गरेन ।

अम्बरबहादुरले नगरपालिका लगायत जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्यो । यसै सन्दर्भलाई लिएर उनका छोरालाई विपक्षी दलबहादुर राईले गाउँले फटाहा गुण्डाहरूको सहयोग लिई उसैको घर अगाडि बाटोमा निहु खोजी कुटपिट गरे । तर अम्बरबहादुरको छोराले महाभारत पात्र अर्जुनले झैं प्रतिवाद गर्यो । फलस्वरुप २–४ जना राईहरू उसको लात्ता मुक्काले ढले । राईहरू पनि बसाइँवाला लुखुरे क्षेत्रीको लुरे छोराले कुटिएको हुन किन चाहन्थे ? हाने खुकुरीले भकाभक टाउकामा । थला पर्यो अम्बरबहादुर खड्काको छोरो ।

लडाएर जब थिचे अनि करायो केटो, “गुहार–गुहार बुबा ज्यान बचाउनुहोस ।”

आवाज सुनेर आत्तिदै बाबु घटनास्थल पुगे । साँझको समय थियो छोरो कुन हो, विपक्षहरू को–को छन् उसले चिनेन । केबल उसले पनि गुहार–गुहार भनी कराउन थाले । यस्तैमा उनले पनि एक खुकुरी भेटे टाउकोमा तैपनि ढलि त गएनन् । कान्छो छोरा आई दाजुको मरणासन्न हालत देखी आत्तिएर दाजुलाई थिच्ने एक जनालाई हलका खुकुरी प्रहार गरी दाजुलाई छुट्यायो । त्यसपछि उसको ज्यान बचेको थियो ।

यस समयसम्ममा घटना स्थलमा प्रहरीको उपस्थिति भइसकेको थियो । दुवै पक्षको अस्पतालमा भर्ना भई घाजाँच केस फारम गराए । अम्बरबहादुरको छोरालाई टाउकोमा गम्भिर प्रकृतिका धारिलो हतियारका दुई वटा चोट थियो । त्यसैले थप उपचार र सिटी स्क्यानको लागि बि.पी. मेमोरियल हस्पिटल, घोपामा रिफर गरियो । छोरा लिएर बुढा लागे घोपातिर । यता उनी गएपछि उनको विपक्षीले उनीहरूको टाउकोमा परेको सामान्य छाला खोस्रिएको भन्ने देखाउने घाजाँच प्रमाणलाई लिएर अम्बरबहादुर खड्काको सिङ्गो परिवार बाबुआमा र दुई छोरा समेत ४ जनालाई विपक्षी बनाई ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गराए ।

डि.एस.पी. हराम रहेछन् । ५०–६० हजारको लोभमा परेर एकतर्फी कुरा सुनी मुद्दा दर्ता गरिदिएछन् । विचरा अम्बरबहादुरलाई उपचार पछि फर्की आउन सकेनन् ज्यान केसमा थुनिने डरले । भएन डि.एस.पी.ले कानून अनभिज्ञ अम्बरबहादुरलाई फकाई मुद्दा एकलौटी बनाउनको लागि तपाई अहिले नआउनुहोस मैले थुन्नु पर्ने हुन्छ । बरु सरकारी वकिलसँग सम्पर्क राख्नुहोस् म विवश भए भन्यो, उनले विश्वास गरे । त्यसैले उनी आफ्नो छोराको गम्भिर चोट भएको घाजाँच प्रमाण हुँदाहुँदै पनि उनी चुके । उनले सरकारी वकिलसँग फोनमा सम्पर्क गरे । वकिलले उनीसँग केही रकम आशा गरे जस्तो जनाए, अम्बरबहादुर छक्क परे । आफू मर्कामा परेर पैसा खुवाउन अम्बरबहादुरको स्वाभिमानी हृदयले मानेन ।

फलस्वरुव मुद्दा अदालतमा दायर भयो ।

डि.एस.पी. तथा वकिलले अम्बरबहादुरसँग पनि अप्ठ्यारो परिस्थिति जन्माई अलिकति रकम असुल्ने जाल बुनेका थिए । बिचरा सोझा अम्बरबहादुरले कुरा बुझेनन् । इन्साफ पाउने आशामा रकम बुझाएर मुद्दा फिर्ता गराएनन् । अब मुद्दा अदालत गइसक्यो । उनको प्रगतिमा इर्ष्याँ गर्ने दुष्ट मनोवृत्ति भएका तथा देश विदेशमा रहेका शक्तिशाली विद्वान छिमेकीहरूले उनको उछित्तो काढ्ने मौका पाए । धेरै जनाले अदालत गई “अम्बरबहादुरले नै ज्यान मार्ने आसयले सबै परिवारको सहयोग लिई छिमेकी दल बहादुरको परिवारलाई आक्रमण गरेको हो,” भनी बकपत्र गरे ।

दलबहादुर तत्कालीन सत्तारुढ पार्टीको वार्ड कमिटिको अध्यक्ष भएको तथा अम्बरबहादुरको चाहिं कुनै पार्टीसँग सम्पर्क नभएको कुरा दरो मसाला बन्यो । न्यायाधीशले पनि यसो हेर्दा आशलाग्दो शिकार लखेटिएर आफू कहाँ आईपुगेको देखी थुनामा राखी कार्वाही अगाडि बढाए । यसो हुँदा शिक्षक अम्बरबहादुरलाई पर्नु अप्ठ्यारो पर्यो । ६ महिनासम्म पुर्पक्षको निहुँमा जागिर निलम्बन गरी ४–४ जनालाई थुनामा राख्दा पनि अम्बरबहादुरले न्यायाधीशबाट दुधको दुध पानीको पानी इन्साफ पाउने आशाले चुपचाप न्याय फैसला कुरे । उता न्यायधिशले मनमनमा भने साला ६–६ महिना मौका दिंदा पनि कुरा नबुझ्ने ग्वाङ्ग्रो अब सफाई दिऊँ भने प्रतिष्ठाको विषय भइसक्यो । यत्तिका समयसम्म अनाहकमा किन थुनेको भन्लान् दुनियाले भनी ज्यान मार्ने उद्योगमा चारै जनालाई ५ वर्ष कैद गर्ने फैसला गरे ।

बिचरा ! अम्बरबहादुरलाई यस्तो लोकतान्त्रिक न्याय मिल्यो ।

शान्तिराम ज्यामाउ
संखुवासभा माल्टा
मिति – २०७१/७/२७

2 thoughts on “लोकतान्त्रिक न्याय”

  1. कथा मन पर्यो. यस्तै हो हाम्रो
    कथा मन पर्यो. यस्तै हो हाम्रो समाजमा जसको धन र पहुच उसैको न्याय.

Leave a Reply

Your email address will not be published. Required fields are marked *