Skip to content

मुखिया ऐनबहादुर शाहीको स्पष्टीकरण


चिसो भनिनँ र यही जंगलमा जमेर बसेँ इतिहासदेखि
तातो भनिनँ र यही माटोमा पग्लिइरहेँ युगौंदेखि
म राउटे मुखिया ऐनबहादुर शाही

बजारबाट ओडार फर्कंदा त्यस दिन
समयको धोका भुल्न टिल्ल थिएँ
म केन्द्रको बेवास्तामा बेपर्वाह एउटा मानव जुनी
आफ्नै पसिनाले मात्तिएर ढलपल ढलपल थिएँ
पीरसँग कुनै पर्वाह थिएन
म पीरकै सिरक डस्नामा हुर्किएथेँ
भीरसँग भएको शंकै थिएन
भीरमै फुलेथेँ र भीरमै मगमगाएथेँ
तैपनि त्यही भीरबाट गुल्टिएँ र
यो चोला बिसाएँ मैले त्यस दिन

पुर्खाको आलो रगत बाँझो जमिनमा छाड्दै हिँडे
बस्ती बदल्दै निरन्तर निरन्तर
चिहानहरू छाड्दै हिँडिरहेँ
म एक यायावर यस धरतीको
दिनभरका पाइला साँझ जहाँ सुस्ताउँथे
त्यही बन्थ्यो बास बाँकी भविष्यको
जबसम्म पर्दैन परिवारमा अर्को लास

कत्ति काँडा बिझे यी पैतालामा
कत्ति सर्पले डसे
भालुले कोतरे
अरिंगाल र बारुलाले चिले
बाज र गिद्धका ठुँडा घोपिए यही ज्यानमा
घामका अनन्त रापले सेकिएँ
तापले पिल्सिएँ
अजस्र असिनाले चुँटिएँ
सिरेटोले रेटिएँ, रेटिइरहेँ
र, पनि तिमीस“ग एक झुम्रो मागिनँ
एक मानाका लागि हात फैलाइनँ

मैले भोग गरिरहेको जंगलमा
मैले सम्भोग गरेका बुट्यानमा
बरु तिमीले नै धावा बोल्यौ
वन मुद्दाको धम्की दियौ
त्यही झाडीमा वंश निरन्तरताका लागि
मृत्युसँग जुधिरहे मेरा आमाहरू
रगतको आहालबाट तिनको धुकधुकी जोगाउन
एउटा ट्याब्लेट पनि मागिनँ मैले तिमीसँग

मैले आउँछु भनेकै थिइनँ
तिमीले लग्यौ सहर र देखायौ झिलिमिली
मलाई सकसमा पारेर
चम्चा काटाले ज्यूनार गरायौ एक छाक
हातमा अलिकति नोट हाल्दियौ
केही थान लुगा दियौ
र बिदा गर्‍यौ

आफ्नो दायित्व पूरा गरेको खबर भट्याउन लगायौ
टीभी, रेडियो, अखबार र अनलाइनहरूमा
र, यो डेब्रो ऐनबहादुर
सहर बस्न नमानेर जंगलै फर्कियो भनी
डंका बजायौ यत्रतत्र
झ्याली पिटायौ सर्वत्र
र आज
म मरेको पल
जबर्जस्ती उठायौं मुचुल्का
मलाई हुर्काउनु, बचाउनु त तिमीलाई के सरोकार
तिम्रो दायित्व त
मुचुल्का उठाउनु न थियो

मलाई जन्मदर्ता, बिहे दर्ता, नागरिकता, राहदानी
चालक अनुमतिपत्र, प्यान नम्बर, रासन कार्ड
केही केही चाहिएन
सबैभन्दा जड कुरा मेरो पेट थियो
जो पर्दैनथ्यो तिम्रो जिम्मेवारीमा
मात्र अहिले जरुरी पर्‍यो मेरो मृत्यु मुचुल्का
र त उठायौ पहिलोपल्ट

मलाई श्रद्धाञ्जली दिन तिम्रो हृदय नै थिएन
मेरा जनतालाई समवेदना दिनु त टाढाको कुरा
त्यसैले म मुखिया ऐनबहादुर शाही
आफ्नै लासमाथि उभिएर आफैंलाई दिइरहेछु श्रद्धाञ्जली
र व्यक्त गर्दैछु शोक सन्तप्तहरूमा समवेदना

भरेदेखि मेरा भयभित जनतालाई
अर्कै जंगलमा सार्नु छ मैले
म रहे पनि, नरहे पनि
मेरो मुचुल्का उठे पनि, नउठे पनि
म मेरो दायित्वबाट पन्छने अगुवा होइन
किनकि म जंगलको मुखिया हुँ
जंगलको मुखिया दरबारको मुखियाभन्दा भिन्न हुन्छ
दरबारको एक मुखिया लखेटेर बनेका
सय मुखियाभन्दा पनि अलग हुन्छ
जंगलको मुखिया।

http://annapurnapost.com/News.aspx/story/20410

Leave a Reply

Your email address will not be published. Required fields are marked *