Skip to content

उप्केको तलुवा र चप्केको मन


जुत्ताको तलुवा आधा फुस्किएर दायाँ खुट्टाको चाल बिग्रिएको थियो । पदयात्राको तेश्रो दिनमै यो हालत अँझै झेल्नु सात दिन कसरी हो भन्ने उत्सुकताले म भरिएको थिएँ त्यसैसँग मेरो चाहना पोखिन्छ कि भन्ने समेत मलाई डर थियो । हामी त बेशी मै थियौँ तैपनि तलुवा फुस्किसकेको थियो । ताल तालका साथीहरू देश बिदेशका साथीहरू भेट भएका थियौँ । जेरियासँगको पहिलो भेट पनि अचम्मको थियो ।

डन्ट वरी गाइज आइ एभ वन सलुशन वेट अ मोमन्ट भन्दै जेरिया तम्सिई । आफै जुत्ता फुकालिदिई अनि फट्टिएको तलुवामा खाक्सीले घोटेर ग्ल्यु लगाएर एक छिन हावामा सुकाए पछि चप्काएर ढटाएर फेरि गोडामै भिराई त्यसमा आफै लेस बाँधे र पाइला अगाडि बढाएँ । हैन तिमोरु ह्वाँ देखि हाम्रो देशमा घुम्न आउँदा पनि जुत्ता टाल्ने गम पनि ल्यायौ है मान्नै पर्छ हो तिमीहरूलाई त । उस्ले पनि उस्कै भाषामा तिमीहरू पनि त्यति बेबकूफ त छैनौ होला नि, आफूलाई चाहिने सामान त लिएर हिँड्छौ होला त भन्दा त्यसको चिन्ता नगर न जेरी भनेर बिर्को लगाउन मन लाग्यो । उसै त हाम्रो हगाईभन्दा पधाइ ठूलो किन सानो मुख गर्नु जस्तो लाग्यो ।

निकै लामो बाटो हिँडुन्जेल त औपचारिकभन्दा बाहेक कुनै कुरै भएको छैन आज । उही जेरिया थिई दिनभरि हिँड्दा पनि बाटोमा सहारा हुन्थी, बोली मिलाउँथी अलिकति भए पनि हाँसिदिन्थी अनि त पसिना पनि भुलिन्थ्यो स्याँ स्याँ पनि छलिन्थ्यो । तर आज उसमा त्यसतो जाँगर देखिएन बोल्ने त के मुख उक्काउन पनि नपरोस झै मुख बाँधेर हिँडेकी थिई । शायद कसैसँग बोल्न र बोलाउन उस्को कुनै अपेक्षा नै थिएन कोही नबोलोस कसैले आफूलाई नचलाओस कसैले नजिस्क्याओस भने झैँ गरी तम्सिएर हिँडेकी थिई ।

उस्को त्यो सन्नाटालाई चिर्न मन लाग्यो, उस्को तुम्लेटमा पानी सकिएछ मेरोमा भर्खर मुलपानीमा भरेको ताजै थियो निकालेर दिएँ आधाजसो पिएर मलाई फिर्ता गरिदिई । कहिलेकाहीं मनको तलुवा पनि उक्किँदो रैछ बरु त्यसलाई केले टाल्ने होला है जेरि भनेर उसलाई झस्काएँ पहिला अनि पुरानै ठाउँमा आई पुगी । शायद तिम्रो उक्केको जुता टाले जस्तो मन टाल्न पाए त कति मजबुत हुँदो हो जीवन, तर तिमीसँग यस्तो कुरा गरेर के फाइदा । मैले जसलाई यसै गरी टाल्न खोज्थेँ उस्ले मेरो कुरा कहिल्यै बुझ्दैन । मेरो कुरालाई हावामा उडाउँछ, म जमीनको अनि यथार्थको अनि मायाको कुरा गर्छु ऊ चाहिँ खाली हावा कुरा मात्र गर्छ । खालि जिन्दगी भनेको त वाहियात मात्र हो, त मेरै त होस नि कहाँ जान्छेस र मलाई छोडेर भनेर सकेसम्म होच्याएर कुरा गर्छ ।

हामी केटा मान्छेहरू केटी मान्छेहरू देख्यो भने जति नै साधु भए पनि मनमा कता कता उल्टा सिधा कुराहरू ल्याई हाल्छौँ । तिमीहरूलाई हामी जस्ता लक्का जवान केटा देख्दा केही केही भए जस्तो लाग्दैन भनेर प्रश्न उस्लाई नै तेस्र्याएँ । उस्ले जवाफ फर्काई तिमीले एक दम ठिक भन्यौ यहाँ त अँझै निकै कम रहेछ मानिसहरू एकदम लजाउँदा रहेछन । हामी कहाँ यत्तिकै भेट हुँदा पनि अँकमाल गर्ने किस गर्ने त चलन नै रहन्छ । एउटा अचम्मको कुरा के भने नि अस्ति धनकुटामा प्याराग्लाईडिङ्गमा अति राम्रोसँग मनोरञ्जन गराएकाले त्यसको चालकलाई किस गरेँ अनि उसले मसँग फोन नं. माग्यो त्यो पनि दिएँ अनि साँझमा फोन गरेर त होल नाइट गेटटुगेदरको प्रस्ताव राख्छ बा । अनि मैले पनि उसलाई बोलाएँ र उसकै अगाडि हाम्रो सँस्कृतिको बारेमा सम्झाएर पठाएँ । उस्ले पनि मैले भनेको कुरालाई गलत सम्झेन र अहिले पनि ऊ मेरो अनलाइन फ्रेण्ड छ । नेपाल आउँदा कमसे कम कफी चाहिँसँगै बसेर पिउँ है भन्छ म पनि नाई भन्दिन ।

तिमीहरू त पश्चिमा सँस्कृतिमा हुर्केका मानिसहरू दारु पिउनु अथवा रक्सी पिउनु सामान्य नै हुन्छ होला यस्तो होश हराएको बेला त जे पनि हुन सक्छ शायद आफूलाई सम्हाल्न सकिँदैन होला, म त मेसै पाउँदिन हाऊ जेरी कोसँग के गरिन्छ के बोलिन्छ पत्तै हुँदैन ।

खित्का छोडेर हाँस्छे, तिमी गलत छौ त्यस्तो होइन । तिमी आफै भन जति मात्तिए पनि आफ्नो घर बिर्सेर कहिल्यै अरुको घर त पस्दैनो पक्कै पनि । आफ्नो सवारी साधन छोडेर अर्काको त कहिल्यै चढ्दैनौ त अनि तिमीले भन्ने अरु कुरा चाहिँ तिम्रो आपराधिक मानसिकताको उपज हो । यो सही कुरा हो तिमीलाई तितो लाग्ला तर अमला खाँदा तितो भए पनि खाइसकेपछि त्यसले मुख मिठो बनाउँछ त्यो पनि कहिल्यै नभुल्नु ।

मथिङ्गल चाहिँ एक पटक बिद्युतीय झड्का लागे झैँ भयो तैपनि जेरियालाई पत्तो भएन शायद । अनि तिमीलाई जेम्सले कुन तरिकाले मन पराउँछ त अथवा अर्को अर्थमा तिमीहरूको सम्बन्ध कुन गहिराईमा पुगेको हो भन्न मिल्छ कि हुन त त्यो तिम्रो व्यक्तिगत कुरा हो अप्ठेरो लाग्यो भने नभन्नु नि मलाई । त्यत्तिकैमा कोदोबारीबाट एउटा हरियो फट्याङ्ग्रा आएर उसको टिशर्टमा झुण्डियो अगाडि ऊ डराउन थाली अनि मैले पुछारमा च्याप्प समातेर उस्को कपडामा टाँस्सिएका नँग्रा तानिदिएँ अनि फेरि उस्कै आकाशमा बिस्तारै उडाइदिएँ ।

तिमीलाई पौडिन आउँछ पानीमा भनेर सोधि किन नआउनु ससानो छँदा कुलोमा कति हो कति पौडेको भनेर कुराको फाँक हालेँ । नभन्दै त्यसको केही अगाडि ढूलो खोला तर्नु पर्ने थियो शायद मेरो त कम्मरसम्म आउँथ्यो तर ऊ चाहिँ अलि अग्लिनै थिई उसको त थाइसम्म मात्रै आउँथ्यो होला । आपद चाहिँ मलाई पर्यो भित्री कपडा समेत भिज्ने भयो भनेर अरु कोही थिएनन बाटोमा ऊ र म मात्रै थियौँ । म पहिले खोला तर्छु अनि तिमी आउनु भनेर ऊ खोलामा हेलिई र एकतमासले आरामले खोला पार गरी सजिलै । खोला बेगिलो नभए पनि गहिरो चाहिँ थियो । ऊ फेरि वारि आएर मलाई बुइ बोकेर पारी तारिदिई शायद केटो भएर गर्व गर्ने ठाउँ थिएन र पनि उस्ले मलाई मन दुख्ने गरी केही पनि भनिन ।

साँझ पनि पर्यो बाटोकै घरमा बास बसियो । गाउँले खाना खाई वरी आ–आफ्नै बिस्तारामा पल्टियो कतिबेला निदाइएछ पत्तै भएन ।

तिमीले आकाशमा उड्दै हराउँदै गर्ने गौँथली देखेका छौ भनेर सोध्न थाली तर मैले उस्ले के सोध्न चाहेकी हो भनेर भेऊ पाउनै सकिन अलमलमा परेँ । खुल्दुली प्रकट गरेपछि बल्ल मलाई समेत बेरेर केटा मानिसहरू यस्तै हुन गौँथली जस्ता कतिबेला देखिन्छन कतिबेला हराउँछन पत्तो हुँदैन, यो मैले जीवनमा भोगेको कुरा हो तर तिमीलाई भन्यो भनेर नठान है भनेर अलिकति सान्त्वना पनि भेटियो । उस्को भोगाई मैले तेल खन्याउन मन लागेन छोडिदिएँ यसै ।

लामो कुरा पछि थाहा भयो कि जेरिया अलि घमण्डी केटी भए पनि सामाजिक रुपमा सम्बन्धहरू बनाउन र त्यसलाई निभाउन तत्पर अति निडर केटी मान्छे रहिछ जुन महशूस पनि भएकै हो । जेम्स उसलाई अति माया गर्ने शायद उस्को कम्जोरी भनेकै जेरिया थिई र शक्ति भनेकी पनि उही थिई । कहिलेकाहीं शक्ति र कम्जोरीमा सन्तुलन नमिल्दा खटपट भएको पनि बुझियो । धेरै नै पटक जेरियाले जेम्सलाईभन्दा अरुलाई नै सबभन्दा बढी माया गर्छुभन्दा यही कुरा उसमा बिझिरहने यही कुरामा झिकी कटक गरिरहने र फेरि जेरिया उस्को बारेमा कुनै कुरा पनि सुन्न नचाहने कुराले आफैमा अत्याधिक हिनताबोध भए जस्तो हुने कुरा पनि बुझियो ।

धेरै पटक जेरियाले जेम्ससँग कुरा भइरहेको बेलामा उस्को फोन आयो भने कुरा तुरुन्तै फोन काटेर उता बोल्ने गर्दा पनि मन दुखिरहँदो रैछ उस्को । जेरिया मुखले जे जसो भने पनि जेम्स बिना एक क्षण पनि बस्न नसक्ने तर पनि उस्कै अगाडि उसैको उपेक्षा गर्ने जस्ता देखिने व्यवहारले जेम्सको दैनिकीलाई नै बिगारिरहेको थियो र यो कुरा पनि सबै तेरिजा थाहा पाउँथी र पनि उस्को मनको बादल उघार्न चाहन्नथी किनकि उस्को गुन जेम्सको गुनभन्दा दशौँ गुना बढी थियो । सम्बन्धमा जेम्स नजिक भए पनि दुरीमा ऊ चाहिँ नजिक थिएन जुन उसले भन्न चाहेर पनि नचाहेर पनि यथार्थ चाहिँ यही थियो ।

मलाई जेम्ससँग पनि कुरा गर्न मन लाग्यो, अनि एलिजाकै फेसबुक आइ डिबाट जेम्सलाई पनि एड गरेँ कुराकानी भयो । उनीहरू दुवै जनाको बिचमा छिर्न चाहेँ र जेम्सलाई कुरा नलुकाईकन भनेँ साथसाथै आग्रह पनि गरेँ ।

जीवनमा धेरै सम्बन्धहरू हुन्छन, उस्तै खाले मिल्दाजुल्दा सम्बन्धहरू धेरै हुन्छन । माया सदभाव पनि सबैले आ–आफ्नो हिस्साको देखाएकै हुन्छन र पनि सबै चीजहरूलाई निस्तेज पार्दै हामी एउटै गोलका लागि समर्पित हुन्छौँ । ल मानौँ म पनि यसै गरी अर्कै केटी मान्छेलाई वा उससँगको सम्बन्धलाई माया त सबभन्दा बढी उसलाई मान्छु, तिम्रो मेरो सम्बन्ध अरुसँग दाँज्न मिल्दैन भनेर भने भने के होला, उस्को दिमागमा केही कुरा खेल्ला कि नखेल्ला । भलै हाम्रो सम्बन्ध नैतिक खालकै हुन्छ र पनि मायामा वा यस्को नाप जोखमा आफू तल परेको कसैले पनि सुन्न चाहँदैन यही कुराले मलाई पोलिरहन्छ भन्दै जेम्सले म्यासेज बक्समा एउटा एसएमएसको हुल पठायो ।

नेटवर्कले पनि काम गर्न छोड्यो गल्छेडोमा आइएछ क्यार । जेम्ससँग यस्तो उस्तो कुरा नगर है, ऊ त कुराले तिमीलाई भुतुक्कै पार्छ अनि त्यही पत्याउला तिमी चाहिँ अनि गल्ती जति मेरै थाप्लोमा आउला नि ।

अरे जेरिया तिमीले जीवनलाई सधैँ आफ्नो मात्रै अर्थमा नहेर अनि आफ्नो मात्रै अर्थमा नबुझ । हरेक कुराको फरक फरक अर्थ हुन्छ अनि हरेक प्रतिक्रियाको पनि फरक मतलब हुन्छ । सँसारमा आफ्नो मान्छे एक जना मात्रै हुन्छ र हरेक उच्चारणमा व्यवहारमा उसले प्राथमिकता पाउनु पर्छ । कहिलेकाहीं बिचार पुर्याउनु पर्छ, उस्को खुशी बेखुशीको बारेमा पनि अलिकति ध्यान पुर्याइदिनु पर्छ । उसमा पनि केही कमजोरीहरू छन उस्ले पनि सच्याउनु पर्छ ।

जस्लाई तिमीले नै नराम्रो मान्छे भनेर कहानी सुनाउँछौ रिस उठेको बेला उभन्दा पनि तल झारेर भन्नु हुँदैन । मानिसले आफ्नो हैसियत खस्केको सोचेर दिमागमा लघुताभाष घुस्यो भने त्यसलाई धपाउन निकै गाह्रो हुन्छ । थाहा छ तिमी तथानाम भनेर पनि उत्तिखेरै ठिकठाक भइहाल्छौ मनमा केही राख्दैनौ तर पनि सबै तिम्रो जस्तो खन्याउन मिल्ने मन हुँदैन । शायद जेम्स हरेक कुराको जोड घटाऊ गरेर बस्छ अनि धेरै कुराहरूलाई बिश्लेषण गरेर अर्थ निकाल्छ र यिनै बिश्लेषणहरूमा बढी जसो सहिनै हुन्छन । योभन्दा मसिना कुरामा म जान चाहिन जेरिया जे भए पनि ऊ तिमीलाई औधि माया गर्छ अहिले पनि र शायद तिमीले उस्को मन दुखायौ या उसलाई फालिदियौ मनबाट भने पनि तिम्रो लागि दिएको ठाउँ अरु कसैलाई दिन चाहँदैन अँझ दिनै सक्दैन । बास्तवमा यो उस्को कम्जोरी जस्तो देखिए पनि तिम्रो लागि शक्ति हो भन्छु म ।

भोलि कथम्कदाचित उसलाई केही भइहाल्यो वा उस्को मृत्यु भयो भने त्यसबेला उसका यी जिज्ञासाहरूलाई पुरा नगरिदिएकोमा वा उसको मनका खुल्दुलीहरूलाई नमेटाएकोमा तिमीलाई पल पल पोलिरहने छ ।

जेरियाले शायद आफ्नो जिन्दगीको रीललाई उल्टो घुमाइरहेकी जस्तो लाग्यो शारीरिक भाषाले चाहिँ ऊ गहिरै शोकमा डुबे जस्तो लाग्यो ।

दशौँ दिन थियो हामी पदयात्रा सकेर मोटरमा चढ्दै थियौँ, केही क्षणको यात्रा पछि ठूलो बजार इटहरी आइपुगियो । ऊ चाहिँ काठमाण्डौ उड्नका लागि बिराटनगर बिमानस्थलतिर लागि म चाहिँ एक दिन त्यतै बस्ने निधो गरेँ । मेरो यत्रो पाठमा पनि कुनै प्रतिक्रिया दिन चाहिन ऊ मैले पनि केही बुझिन आधा आधी जस्तै भयो मेरो बुझाई ।

त्यसको दुई दिन पछि दुवै जनाको म्यासेज एकै पटक आयो ।

तिमीलाई धन्यवाद दिन चाहन्छौँ हामी दुवै जनाले, बास्तवमा हामी दुई बिचमा आउन सक्ने अरु कोही मानिस पनि थिएन तर बोलाई र शब्द चयनले हामी दुवैलाई असर पार्थ्यौ कहिलेकाहीं तर यी सबै दूर भएका छन । सम्बन्ध बन्ने पनि सानो कुराले हो र बिग्रने पनि सानो कुराले हो । ठूला कुराहरूमा त विवाद हुन्छ अनि मिलिन्छ तर स–साना कुराहरू सबै भन्ने कुरा पनि भएन तर पनि कुवामा पानी धमिलो पार्छन यिनै कुराहरूले । धन्यवाद फेरि पनि भन्दै कुरा सकाएछन । त्यससँगै दुवैजनाको सेल्फी पनि आइपुग्यो टुप्लुक्क अनि अनलाइनबाट हरियो बत्ती पनि हरायो ।

नजिकै क्याफेमा छिरेँ कफि पिएँ अनि उठ्न के लागेको थिएँ स्वदेशी जेरियाको पनि एसएमएस आयो ह्वार्रै । अनि आफै पनि घम्साघम्सीमा तल्लिन हुन थालेँ । त्यतिबेलै भाइबरमा जेरियाको फोन आयो र पनि मैले उसको फोन रिसिभ गरिन किनकि म आफ्नै मान्छेसँग कुरा गरिरहेको थिएँ । मलाई ऊ जत्तिको महत्वपूर्ण कोही हुनै सक्दैनथे । यता कुरा सकिएपछि भने जेरियालाई पनि कल ब्याक गरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *