Skip to content


प्राणीमात्रमा श्रेष्ठ “मानव” भन्ने जन्तु पनि अचम्मको प्राणिरहेछ । यति लालची र हन्तकाली कि कहिल्यै नअघाउने र कहिल्यै सन्तुष्ट नहुने ।

सृष्टिकर्ता पनि कहिलेकाही आफ्नै सृजनाको चरित्र बुझ्न नसकि खिन्नता मिश्रित आश्चर्यमा पर्छन । यस्तै एउटा घटना यहाँ प्रस्तुत छ ।

एक गरिब व्यक्ति, जसले जति नै दुख मेहनत गरे पनि सधै उसको परिवारलाई हातमुख जोर्न धौ धौ पर्थ्यो । सधै घरमा कचिङ्गल र हाहाकार मच्चिरहन्थ्यो । आखिर हार खाई बिरक्तिदै एक दिन त्यो व्यक्ति भगवानको शरणमा पुग्यो । भित्र आत्मादेखि भगवानलाई पुकारा गर्दै आफ्ना सारा दुख पिर बयान गर्यो । आफ्नो सन्तानको दुख, दलिद्री देखेर भगवनमा दया करुणा जागे छ र उसलाई प्रत्यक्ष दर्शन दिए ।

त्यो व्यक्तिले डण्डवत गर्दै “तिम्रो भक्तले साह्रै दुख पायो भगवन । जति गर्दा पनि जीवन धान्न नसकिने भयो प्रभु” भन्दै आशु झार्यो ।

प्रशन्न मुद्रामा देखिएका भगवनले आर्शीवाद दिदै “पिर नगर ल अब सम्झ तिम्रा दुखका दिन गए ”।

“कसरी प्रभु”?

“मैले तिमीलाई तिम्रो सात पुस्तालाई पुग्ने सम्पति दिएको छु । अब आरामले खाऊ सुखले बा“च ”।

भगवनका त्यति बचन के सुनेको थियो त्यो व्यक्ति जोड जोडले रुन थाल्यो ।

भगवन पनि अचम्ममा परे र सोधे ।“के भो ? किन रोएको”?

त्यो व्यक्तिले आशु पुछदै दुखी मनले भन्यो “मेरो सात पुस्तालाई त भयो । लौ अब मेरो आठौ पुस्ताले के खान्छ होला प्रभु”?

सुशीला देउजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *