Skip to content
DhirKumarShrestha-02


‘हमरा पशुपतिके दर्शन नै करेबै ? (मलाई पशुपतिको दर्शन गराउनुहुन्न ?)’ उनी अर्थात् जुगला मामाको मप्रति सधैँ गुनासो हुन्थ्यो ।

काठमाडौँबाट घर पुगेर भेट हुनुहुँदैनथ्यो, उनको मुखबाट माथिको वाक्य फुस्किहाल्थ्यो । त्यसपछि सानोमा ‘तपाईँलाई यसरी हुर्काएँ, काँधमा बोकेर कहाँकहाँ पुर्याएँ’ भन्न थालिहाल्थे उनी । म जहिले पनि ‘अर्कोपटक घर आउँदा तिमीलाई लान्छु’ भनी आश्वासन दिन्थेँ । मेरो आश्वासनलाई प्रत्येकपटक अस्वीकार गर्थे र भन्थे, ‘जैया अहाँ यही कहिके भुलावैछी (तपाईँ जहिले पनि यसै भनी अलमलाउनुहुन्छ । )’

‘अर्कोपटक त तिमीलाई जसरी भए पनि लान्छु ।’ भनेर थुम्थुम्याउँथेँ ।

‘अपनेके नेपाल देखैके और पशुपतिके दर्शन करैके कतेक दिनके इच्छा छै (आफूलाई नेपाल हेर्ने र पशुपतिको दर्शन गर्ने कत्रो इच्छा छ !)’ उनी वर्षौँको कुण्ठा पोख्थे ।

मलाई पनि उनलाई काठमाडौँ लगेर पशुपतिको दर्शन गराउने इच्छा नभएको होइन । तर सधैँ सोच्थेँ, ‘एउटा कोठाको डेरामा उनलाई कहाँ सुताउने ? आफू कहाँ सुत्ने । स्वास्नी छोराछोरीलाई कहाँ सुताउने ? गाउँको फराकिलो संसारमा जन्मेर हुर्केका उनी सहरको साँगुरो परिवेशमा दुई दिन पनि टिक्न सक्ने हुन् कि होइनन् ? बयलगाडाको सभ्यताभन्दा पर मोटरबाटो पनि नटेकेका उनले सहरको यन्त्रमय जीवनलाई कसरी आत्मसात् गर्ने हुन् ? काठमाडौँ बसुञ्जेल चौबीसै घण्टा उनको गोठालो लाग्ने एकजना चाहिन्छ, नभए के–के उपद्रो मच्चाउने हुन् । मैथिलीबाहेक टुटेफुटेको नेपाली पनि बोल्न नजान्ने भएकाले दोभाषेका रूपमा एकजना उनीसँग हुनैपर्छ । वास्तवमा यिनै कारणले प्रत्येकपटक उनलाई काठमाडौँ लानबाट म तर्कन्थेँ । एउटाएउटा बहाना बनाएर टारिदिन्थेँ ।

गाउँमा मेरा लागि उनी जति सहज थिए, सहरमा त्यत्तिकै कष्टकर हुने पक्का थियो । कारण उनी न्यासध्यान र नियमकानूनका पक्का थिए । त्यस्ता कुरासँग सम्झौता गर्न उनी किमार्थ तयार हुँदैनथे । गाउँमा उनको कट्टरता चर्चित थियो । बिहान उठ्नेबित्तिकै नुहाएर पूजापाठ नगरी अरूसँग त के आफ्नी स्वास्नीसँग पनि बोल्दैनथे । प्रत्येक दिनको सुरुआत एउटै नियमबाट गर्ने उनी गरिब भए पनि चोखोनितोको खुब ख्याल गर्थे । त्यसमाथि उनी शाकाहारी थिए ।

यसपटक उनलाई काठमाडौँ नलाने मेरो बहाना निस्फल भयो । किनभने आमाले आगोमा घिउ थपिदिनुभयो, ‘लैजा न त एकपटक । यसो घुमाएर बसमा चढाइदिनू, राजमार्गमा ओर्लेर सोध्दैसोध्दै आफैँ गाउँ फर्किन सकिहाल्छ नि ।’ आमाको आड पाएपछि सबैलाई उछिन्दै उनले सगर्व घोषणा गरे, ‘एभरी नेपाल नज्याके नइछोड्बै । चाहे अहा लेजाऊ और नलेजाऊ । हम त पिछे लगबे करब ।’ (यसपालि त नेपाल नगई छोड्दिनँ । चाहे तपाईँ लानुस् अथवा नलानुस् । म त पछि लाग्छु ।)

उम्किने उपाय नभएपछि उनलाई आफूसँग लानैपर्ने भयो ।

जिन्दगीमा एकपटक पनि गाउँभन्दा टाढा नगएका उनलाई आफूसँग लानैपर्ने भएपछि एक जोर धोतीकमिज र चप्पल किनिदिएँ । धोतीकमिज र चप्पल यसकारण कि उनले पाइन्टसर्ट र जुत्ता किन्नै दिएनन् । जिन्दगीमा कहिले नलगाएकोले बुढेसकालमा लगाउँदा लाज लाग्छ भनेर मुन्टो बटारे । देहातको बजारमा ती कुरा किनिदिएपछि भने उनले नेपालयात्रा पक्का भएको ठाने । उनको चाउरी परेको शरीरमा अनौठो चमक देखा पर्यो । मलाई भने उनको चमकले कति ठाउँमा बित्यास पार्छ भन्ने चिन्ताले सताइरह्यो ।

लान्छु भनेपछि लानै पर्यो । रातको समयमा सुटुक्क भागेर जाऊँ भने पनि ‘काठमाडौँ लान्छु’ भनेको दिनदेखि सम्साँझै मेरो घरको ओसरामा ओछ्यान लाएर सुत्न आइपुग्थे । निद्रा यति तीखो थियो कि घुरेर गाउँ नै थर्काउने गरी सुतेका बेला पनि सानो आवाजले उनलाई ब्यूँझाउँथ्यो । रातबिरात कतै सानो हल्लीखल्ली भए जर्याकजुरुक उठेर लट्ठी उचालिहाल्थे । उनकै तीखो निद्राका कारण लामो समयदेखि गाउँमा चोर नलागेको कथा आफैँ सगर्व सुनाउँथे ।

त्यति मात्र होइन मैले काठमाडौँ लाने खबर उनले गाउँभरि फैलाइसकेका थिए । जो भेटे पनि पहिलो वाक्यको सुरुआत काठमाडौँ जाने प्रसङ्गबाट गर्थे । गाउँभरि छ्यापछ्याप्ती खबर फैलाएर आफ्नो काठमाडौँ यात्रालाई सुरक्षित पारेका थिए । त्यति भइसकेपछि मैले उनलाई कुनै तरिकाले भुल्याएर अथवा झुक्याएर जाने प्रसङ्ग आएन ।

हिँड्ने दिन बिहानै उनी धोतीकमिजमा ठाँटिएर नयाँ चप्पल ‘फ्याटफ्याट’ बजाउँदै आँगनमा आइपुगे । कपालमा तपतप चुहिने गरी नरिवलको तेल घसेका थिए । कालो शरीरमा सुकिलो लुगाले उज्यालो दिइरहेको थियो । जीवनमा पहिलोपटक चप्पल लगाएर हिँड्दा असजिलो भइरहेको सजिलै अनुभव गर्न सकिन्थ्यो । नभन्दै आँगनको बीचमा के आइपुगेका थिए, डङ्ग्रङ्ग उत्तानो पछारिए । घरभरिका मान्छे हत्केलाले मुख छोपेर मुसुमुसु हाँसे । लड्दा, लट्ठीमा बाँधेर पोको पारिएका कपडा आँगनभरि छरिए ।

उनी ढाड समात्दै उठे । कतै नहेरी छरिएका सामान समेटे । लट्ठीलाई काँधमा राख्तै एक छेउमा पुनः पोको घुसारे । ठिङ्ग उभिएका उनलाई देख्ता लाग्थ्यो, कतै तीर्थयात्रामा जाँदै छन् ।

गाउँबाट सडक भेट्न एक बिहान कस्सिएर हिँड्नुपर्थ्यो । लगभग ५/६ घण्टाको बाटो हिँडेपछि मात्र राजमार्ग पुगिन्थ्यो । त्यहाँबाट काठमाडौँ जाने बस चढ्न पाइन्थ्यो । घाम छिप्पी नसक्तै राजमार्ग नपुग्ने हो भने मधेसको यात्रा कठिन हुन्छ । त्यसैले उनीसँगको यात्रा एकाबिहानै सुरु भयो । हिँड्दा, आमाले मसँगै उनलाई रातो टीका लगाइदिनुभयो । फुर्किएर उनको खुट्टा भुइँमा थिएन । मेरोसमेत झोला लट्ठीको एक छेउमा घुसारेर काँधमा बोके ।

‘आफ्नो झोला बोक्न सकिहाल्छु नि’भन्दा पनि मानेनन् । मेरो हातबाट लगभग खोसेरै लिए । त्यो उनको मप्रतिको आफ्नोपन थियो । उनको फूर्ति देख्ता लाग्थ्यो, उनी कुनै विश्वविजयको अभियानमा हिँडिरहेछन् ।

‘सानु नेपाल फर्कंदै छ रे’ यो हल्ला फैलिएपछि टोलभरिका आइमाई–केटाकेटीको भीड हाम्रो आँगनमा लाग्यो । गाउँ छाडेर सहर फर्किनु गाउँका लागि उत्सवमय हुन्थ्यो । त्यसका भाँतीभाँती चर्चा अर्को नयाँ घटना नभएसम्मका लागि हुन्थ्यो । मनोरञ्जनका अन्य साधन नभएकाले दिनकटनीका लागि यस्तै चर्चापरिचर्चा सहायक हुन्थे । चर्चापरिचर्चामा प्रत्येक श्रोताका तर्फबाट मरमसला थपिँदै जाँदा लामो समयपछि त्यसले किंवदन्तीको रूप लिन्थ्यो । काठमाडौँबाट फर्केर आउँदा आफ्नैबारेका त्यस्ता चर्चापरिचर्चा दन्त्यकथासमान भइसकेको थाहा पाउँदा आश्चर्य लाग्थ्यो । यो, गाउँको संस्कृतिको अङ्ग थियो ।

आँगनमा भेला भएका सबैको भीडबाट उनले बाटो निकाले । अघिअघि उनी, पछिपछि म । वरपरका एकदुई गाउँसम्मको बाटो चिनेकाले उनी मेरो अघिअघि लागे । अथवा यो पनि हुनसक्थ्यो कि म अघि लागेँ भने उनलाई छाडेर खरायो दौडिन सक्छु भन्ने लागेको । त्यसैले आफ्नो यात्रा सुरक्षित गर्न उनी अघि लागेका पनि हुन सक्थे । जेहोस् म उनको पछिपछि थिएँ । उनी साङ्गीतिक तालमा जीउ हल्लाउँदै हिँडिरहेका थिए ।

दोस्रो गाउँको सीमाना काटिसक्न लाग्दा उनका पाइला पछि सर्न थाले । त्यहाँसम्म उनले मेरो सुरक्षाको ख्याल पूर्ण रूपमा राखे । नयाँ मान्छे देखे कि कोकोहोलो मच्चाउँदै भुक्ने कुकुरहरूबाट उनले मलाई जोगाए ।

गाउँ थर्काउने गरी कुकुर भुकेको आवाज सुनेपछि गाउँले आआफ्ना घरबाट निस्केर प्रतिक्रियाविहीन हामीलाई हेरिरहेका थिए । तिनीहरूतिर कर्के नजरले हेर्दै आँखाको भाषामा उनले गुनासो गरे, ‘केहेन छै यी गौँवासब ! अपन गामके कुत्ताके ठेगान नइ लगा सकेछै ! (कस्ता असभ्य गाउँलेहरू ! आफ्ना गाउँका कुकुरलाई पनि ठेगानमा राख्न नसक्ने !)’

वास्तवमा गुनासो अनुचित थिएन । उनको आफ्नै गाउँमा कोही नयाँ मान्छेलाई देखेर कुकुरहरू भुक्न थाले, तिनलाई धपाउँथे । उनलाई देखे कि गाउँका कुकुरहरू पुच्छर लुकाएर वरिपरि भुइँमा लडिबुडी खेल्न थाल्थे । कुनै कुकुरलाई उनले सुम्सुम्याइदिए, त्यो आफूलाई संसारको सबभन्दा भाग्यमानी ठान्थ्यो । भाग्यमानी ठान्नुको फाइदा उठाउनेचाहिँ लुकाएको पुच्छर हल्लाउँदै उनको जीउमा चढेर लुटपुटिनथ्यो । एउटाले उनीसँग आत्मीय सम्बन्ध गाँस्न सकेको फाइदा बाँकी अरूले तत्काल उठाउँथे । सबैले घेरेर लुटपुटिन थालेपछि एक छिन त उनी सबैलाई माया गर्थे । तर जब मायाको प्रतिफलस्वरूप ती छातीमा चढेर मुख चाट्न र्याल चुहाउँदै ल्याफल्याफी जीव्रो निकाल्थे तब उनको रिसको पारो आकाश चढ्थ्यो । छेउमा जे भेट्यो त्यही उचालेर जाइ लाग्थे । लघारेपछि ती केही बेर यो बुझ्न लाग्थे कि उनी साँच्चै रिसाएका हुन् अथवा बनावटी रिस हो । कहिले उनका वरिपरि कुदेर कहिले नजिक पुगेर टाढा भागेजस्तो गरी कुदी हेर्थे । त्यसो गर्दा उनलाई तीसँग खेल्न मन लागे यताउति कुदेकोजस्तो गरी जिस्किँदै खेल्थे । मन नलागे लघार्थे । उनको रौद्र रूप देखेपछि ती लाखापाखा लाग्थे । हिर्काएका वस्तुले नभेट्ने दूरीमा पुगेर ठिङ्ग उभिन्थे र उनीतिर हेरिरहन्थे ।

आफूले अरूलाई गरेको उपकारजस्तै अरूबाट पनि सहायताको आशा राख्नु यो समयको सबभन्दा ठूलो व्यङ्ग्य हो । मेरो संरक्षण गर्न खोज्दा त्यही व्यङ्ग्यको सजाय उनी भोगिरहेका थिए । जेजसरी भए पनि दुई गाउँको सीमानासम्म उनले कुकुरहरूबाट मात्र होइन, बाटामा यत्रतत्र अलपत्र हिँडिरहेका बस्तुभाउका तीखा सिङबाट पनि जोगाए । सम्पूर्ण जीवन तिनै बस्तुभाउसँग व्यतित गरिसकेकाले उनी अनुहार हेरेरै कस्ताले हान्न सक्छन् र कस्ताले हान्दैनन् भन्ने थाहा पाउँथे । कुनैले हान्न आँटेको छ भने उनी अगाडि सरेर धपाउँथे । मेरो सुरक्षा सुरक्षित राख्थे । ती सब गर्दा मेरो संरक्षणमा उनले ख्याल राखेका छन् भन्ने मलाई महसुस गराउन चाहन्थे । मलाई जनाउ दिने गरी समपन्न गरिएका क्रियाकलापबाट सम्भवतः भविष्यको आफ्नै सुरक्षा सुरक्षित राख्न चाहन्थे । किनभने दुई गाउँको सीमानापारि के छ भन्ने उनलाई थाहा थिएन । मेरो संरक्षकत्वबिना एक पाइला सार्न सक्तैनथे । उनका लागि म अपरिहार्य थिएँ । दुई गाउँसम्मको उनको फूर्ति कुना पस्ने निश्चित थियो ।

वास्तवमा, उनी अर्थात् जुगला मामा मेरो साइनोका मामा होइनन् । हाम्री आमाका दाजुभाइ नभएकाले बिहे भएर आएपछि उनलाई भाइका रूपमा हेर्न थाल्नुभएको हो । उहाँ उनको नाम लिएर बोलाउनुहुन्थ्यो । त्यस्तो सम्बोधनमा कहीँकतै ‘भाइ’ शब्द जोडिएको हुँदैनथ्यो । तर यसका विपरित उनी हाम्री आमालाई बोलाउँदा केवल ‘दिदी’ सम्बोधन गर्थे । यसरी हाम्री आमाले सित्तैमा एउटा बफादार र इमान्दार भाइ पाउनुभएको थियो । सित्तैमा यसकारण कि उनले हाम्री आमालाई ‘दिदी’ को सम्बोधन गरे पनि कुनै तिहारमा भाइटीका लगाउँदैनथे । रहर पनि गर्दैनथे । उनी मधेसी मूलका र हामी पहाडे मूलका भएकाले संस्कृति फरक भएर त्यसको आवश्यकता नपरेको हुन सक्थ्यो । भाइटीका लगाएर दिदीभाइको सम्बन्धलाई दूषित पार्नेका लागि उनी र हाम्री आमा चम्किला उदाहरण थिए ।

वास्तवमा सम्बन्ध प्रगाढ हुन कुनै नाताको आवश्यकता पर्दो रहेनछ । त्यो अक्कर भीरमा कठोर ढुङ्गा छिचोल्दै हुर्केको पीपलसमान पवित्र हुने रहेछ । अकृत्रिम रूपमा आफसेआफ हुर्किंदो रहेछ । कसैको मलजलको आवश्यकता पर्दो रहेनछ । भाग्यमा विश्वास नगर्ने भएकाले उनी अघिल्ला जन्मका नभई यसै जन्मका मेरी आमाको नाता नपर्ने भाइ थिए । आमाकै नाताले उनलाई हामी सानैदेखि ‘मामा’ भन्थ्यौँ । मेरै नाताले मेरी श्रीमतीले समेत उनलाई अरूसँगै ढोगिदिँदाका क्षण मक्ख परे । आशीर्वादको वर्षा लगाउन थालेपछि अरूले हाँसेर नझस्काएसम्म सप्तकोसीको भदौरे भेलजस्तै निरन्तर बगि मात्र रहे । जब बढी बोलेको अनुभूति भयो तब उनी सबैको भाव विचारेर चुप लागे । तर आफ्नो आशीर्वाद पूरा गर्न नदिएकोमा गमक्क फुलेर बसे । हाम्री आमाले नबोलाएसम्म अरूसँग बोलेनन् । हाम्री आमाले बोलाएपछि उनको हराएको फूर्ति फर्कियो । फुरुक्क पर्दा उनी एउटा न एउटा बिगार गर्थे । तर उनका लागि ती सब छुट थिए ।

नढाँटी भन्नुपर्दा उनी हाम्रा छिमेकी मात्र हुन् । पेसाले कुम्हाले । माटाका भाँडा बनाएर उब्रेका समय उनी हाम्रै घरवरिपरि चक्कर लगाउँथे । उनी मात्र होइन उनकी जहान, जसलाई हामी ‘माइज्यू’ सम्बोधन गर्छौँ पनि चिउँडोसम्म घुम्टो ओढेर मेरै आमाको वरिपरि हुन्छे । हाम्रा बुबालाई ऊ ससुरा र दाजुलाई जेठाजु मान्छे । मेरी माइज्यू सकभर उहाँहरूका अगाडि पर्दिन । परिहाले दाहिने हातले घुम्टो अँझ लामो पार्दै पिठ्यूँ फर्काएर उभिन्छे । हामी भानिज भएकाले हाम्रा अगाडि पर्दा कायम राख्तीन । निस्फिक्री उनको अनुहार हेर्ने स्वतन्त्रता केवल हामीलाई प्राप्त छ । ऊ राम्री छ । घुम्टोभित्र अनुपम सौन्दर्य निसास्सिइरहेको छ । यसका विपरित लगातार भएका चारचारजना छोराछोरीका कारण अचेल ऊ आफूलाई बुढी सम्झिन थालेकी छ । उसलाई थाहा छैन, उसकी उमेरकी नारी सहरमा बल्ल आफूलाई विवाहयोग्य भएको महसुस गर्छन् । यो एउटा विपर्यय हो । स्थानका कारणले सिर्जना भएको अनौठो विपर्यय !

दुई गाउँको सीमाना काटेपछि म अघिअघि उनी पछिपछि हिँड्न थाल्यौँ । त्यति बेला मात्र उनको बोलिरहनुपर्ने बानीको बोध मलाई भयो । गाउँमा छँदा त्यसको अनुभूति थिएन । त्यहाँ उनलाई सुन्ने मबाहेक अरू हुन्थे । तर जब उनीसँग म मात्र भएँ अनि उनको एकल श्रोता बन्नुपर्दा मलाई कताकता असहज महसुस भयो । तर जाहेर हुन दिइनँ । संयोग पनि कस्तो अचम्म ! मलाई बोल्नै नपर्ने, उनी नबोली बस्नै नसक्ने ! जेहोस्, कलिलो घाम पूर्वबाट पश्चिमाभिमुख हुँदै जाँदा हाम्रो पैदलयात्रा उत्तरबाट दक्षिणतिर जारी थियो । घाम छिप्पी नसक्तै राजमार्ग भेट्नुपर्ने भएकोले म छिटोछिटो पाइला सारिरहेको थिएँ । मलाई भेट्न बेलाबेला उनी उफ्रिँदै कुद्थे । कुद्दा एकदुईपटक लडे पनि । लड्नुको सम्पूर्ण दोष नयाँ चप्पललाई दिए । त्यसैले लट्ठीको टुप्पोमा घुसारेर बोके । आफू खाली खुट्टा हिँडे ।

पछिपछि हिँडिरहेको हाम्रो छाया हामीसँगै हिँड्न थालेपछि टाढा राजमार्गमा दौडिरहेका गाडी देखिए ।

‘घर बगेल्कै, घर बगेल्कै’ (घर बगायो, घर बगायो) भन्दै उनी दौडिहाले ।

‘ए होइन, त्यो मोटरगाडी दौडेको हो’भन्दा पनि पछाडि फर्केर मलाई हेरेनन् । मभन्दा अगाडि दौडे ।

‘जे त होला’ भन्दै आफ्नै सुरमा हिँड्न थालेँ ।

वास्तवमा प्रत्येक वर्षाको मौसममा सप्तकोसीको उर्लंदो भेलसँगै बगिरहेका कैयौँ घरहरू उनले देखेका थिए । सकेसम्म बगेका घर, मानिस र बस्तुभाउको उद्धार गर्थे उनी । पौडिनमा नाम कहलिएकाले त्यस्ता काम सगर्व गर्थे । सप्तकोसीको असमेल भेलमा झ्वाम्म हामफालेर उद्धार गर्न खप्पीस थिए । कहिलेकाहीँ जसलाई मानिस भनेर उद्धार गर्थे, लास हुन्थ्यो । ज्यान जोखिममा पारेर लासलाई उद्धार गरेको कुरा उनी कसैलाई सुनाउँदैनथे । चुपचाप सप्तकोसीमा बगाइदिन्थे । शुद्ध हुन एकपटक पुनः सप्तकोसीको भेलमा चोपलिन्थे र ‘राम–राम …’ को उच्चारण गर्दै बाहिर निस्कन्थे ।

टाढाबाट देखेँ । एकै छिनमा राजमार्गमा मोटरहरूको दोहोरो ताँती लागिसकेको थियो । मोटरका वरिपरि मानिसहरू यताउति हिँडिरहेका थिए । दुर्घटना भएछ कि भनी छिटोछिटो भीडतिर बढेँ । त्यति बेला मात्र थाहा भयो, अगाडि कुदेका जुगला मामा मबाट बिछोडिइसकेका रहेछन् । म उनलाई खोज्न थालेँ । एक ठाउँमा भीड छिचोली बीचतिर पुगेको त जुगला मामा बसलाई काँध थापेर ठसठस्ती कनिरहेका रहेछन् ।

‘बौवा येने आव । यी घर अपने बगैत जाइछेले । हम रोइकके राखल्छी । हम गल लाग्ली । एक छन रोइकके राख । (बाबु यता आऊ । यो घर बग्दै जाँदै थियो । मैले रोकेर राखेँ । गलिसकेँ । एकै छिन तिमी रोकिराख त !)’ मलाई देख्नासाथ भने ।

जुगला मामाले बसलाई घर ठानेछन् । बगिरहेको घरलाई उद्धार गर्न बसलाई काँध थाप्न पुगेछन् । ड्राइभर तथानाम गाली गर्दै थिए । उनी सुनेको नसुन्यै गरी बल गरी बसलाई थाम्दै थिए । सम्झाउँदा नमानेकाले एकपटक त ड्राइभर रिसाएर ‘किचिदिन्छु’ भन्दै सिटमा उक्लिसकेका रहेछन् । यात्रुहरूले सम्झाएपछि ओर्लेर भन्नु नभन्नु भन्दै थिए । जुगला मामालाईभन्दा पहिला ड्राइभरलाई सम्झाउनुपर्ने आवश्यकता महसुस गरेँ । मामाका बारेमा उनलाई अवगत गराएँ ।

‘स्पिडमा कुदिरहेका बेला अचानक अगाडि के आइपुग्यो भनी सिटबाट उठेरै ब्रेक लगाएँ र यो बाँच्यो । नभए यस्को चिल्लीबिल्ली उडिसक्थ्यो । तैपनि दरफर्यायो होला ।’ वास्तविकता थाहा पाएर पनि ड्राइभर तात्तिदै थिए ।

ड्राइभरलाई सम्झाएपछि पाखुरामा समातेर जुगला मामालाई जबरजस्ती तानेँ । नभन्दै उनलाई घुँडामा दरफर्याएको रहेछ । रगत बग्न खोज्दै थियो । भीडका सबै हाँस्न थाले । निर्दोष अनुहार लगाएर जुगला मामाले पालैपालो सबैको मुख हेरे । केही नबुझेपछि मेरो मुखमा हेरे । त्यहाँ बसिरहनु उचित नहुने ठानी पाखुरामा समातेर तानेँ । उनी आफ्ना लट्ठी, पोको र झोला खोज्न थाले ।

जुन जुगला मामाको नादानीले गाउँमा मलाई केही असर गर्दैनथ्यो त्यसैले त्यहाँ लज्जित बनायो । त्यही रिसमा लट्ठी खोसेर फ्याँकिदिएँ र पोका तथा झोलासहित तानेँ । त्यति गर्दा पनि चप्पल हातमा लिन छाडेनन् । चप्पल हातमा झुण्ड्याएको देखी पुनः त्यहाँ उपस्थित धेरैजना हाँस्न थाले । लगभग हप्काएको स्वरमा चप्पल लगाउन आदेश दिएँ । अघिपछिकोभन्दा अस्वाभाविक आवाज सुनेर एकपटक झस्किए । अचम्म मान्दै मेरो अनुहारमा क्वारक्वार्ती हेरे । मेरो अनुहारको कठोरता देखेर चुपचाप चप्पल लगाए र खोच्याउँदैखोच्याउँदै मेरो पछिपछि हिँडे ।

‘बेकारमा आज जुगला मामालाई कठोर बोलेँ । बिचरा के सोचिरहेका होलान् !’ मनमनै गुन्न थालेँ ।

जुगला मामाको नादानीले एउटा फाइदा भयो । त्यो थियो, खाली सिट खोज्न लाम लागेका बसमा थुप्रै विकल्प उपस्थित थिए । खाली सिट खोज्न थालेँ । एउटामा ‘सिट छ’ भनेकाले बसको ढोकामा उक्लिएर जुगला मामालाई तानेँ । तर अडिराखेको ट्रेन तानेजस्तो भयो । पछाडि नफर्की दुईचारपटक तान्दा पनि जुगला मामालाई बसमा उकाल्न सकिनँ । पछाडि फर्केर हेरेँ । बसको ह्यान्डलमा समातेर बल गरेर उभिइराखेका रहेछन् । बोकाबाख्रालाई बसमा चढाउन खोज्दा चढ्न नमानेर पछाडि तानिएजस्तो स्थिति थियो उनको ।

त्यहीँ बेला, ठिक त्यहीँ बेला बसका ड्राइभरले गाडी स्टार्ट गरेर बेस्सरी एक्सिलेटर थिचे । एक्कासि उत्पन्न ठूलो आवाजले जुगला मामा उतर्सिएर टाढा भागे । सिकारीदेखि तर्सेर भागेको मृगजस्तो सुरक्षित दूरीमा पुगेर बसतिर अचम्म मान्दै हेर्न थाले । उनलाई हेर्दै बसका यात्रुहरू मुसुमुसु हाँस्न थाले ।

‘हम नइ बैठब चलत घरमे (म बस्तीनँ हिँड्ने घरमा ।)’ सम्झाईबुझाई गर्दा पनि उनी भन्दै थिए ।

‘ढिलो भयो’ भन्दै बसका खलासी रिसाउँदै थिए ।

‘पशुपतिको दर्शन नगर्ने ?’ कुनै उपायले सम्झाउन नसकेपछि भनेँ ।

बल्ल हिँड्ने घर अर्थात् बसमा बस्न उनी सहमत भए । उम्कन नदिन पाखुरामा समातेर तानेँ । बली दिन तानेको बोकाको जस्तै हालत थियो उनको । हाम्रो गाईजात्रालाई रमाइलो मानी हेरिरहेका ड्राइभरले बसनजिक पुग्नेबित्तिकै फेरि जानीजानी बेस्सरी एक्सिलेटर थिचिदिए । जुगला मामा फेरि कुद्न खोजेका थिए तर उम्किन दिइनँ ।

जसोतसो उनलाई चढाउनेबित्तिकै बस हिँड्यो । चढिसकेपछि हामीलाई धकेल्दै खलासी खुरर्र पछाडि दौड्यो । फर्कंदा उसको दुई हातमा दुईओटा मुडा थियो । उसले त्यो हामीलाई दिन खोज्यो ।

‘सिट छ भनेको होइन ?’ जुगला मामाले तताएको दिमागमा उसले घिउ थपेपछि झोक्किएँ । ऊ पनि देश खाई शेष भएको मान्छे, मजस्तालाई मूर्ख बनाउँदाबनाउँदा खप्पीस भइसकेको मान्छे, किन डराउँथ्यो ।

‘यो सिट नभए के त !’ मेरोभन्दा चर्को स्वरमा कड्कियो ।

‘यो सिट होइन चिट हो ।’ तत्कालै रिस पोखेँ ।

मेरो रिसलाई उसले बेवास्ता गर्यो । ढुङ्गामा टाउको ठोक्काएजस्तो भयो । घाइते भएँ । उसको अनुहारमा कुटिल हाँसो थियो ।

‘कस्ता–कस्ता मै हुँ भन्नेले क्यै लछारपाटो लाउन सकेन । तँ जाबो कुन खेतको मूला होस् र ! तँ पनि एक छिन मच्चिन्छस्–मच्चिन्छस्, थच्चिन्छस् ।’ कुटिल हाँसो आवाजबिनै बोलिरहेको थियो ।

खलासीबाट सौहार्दता प्राप्त नहुने निश्चित भएपछि चुपचाप एउटा मुडा तानेर बसेँ । अर्को मुडा जुगला मामालाई दिन हेरेको त कुक्रुक्क परेर भुइँमा थ्याच्च बसिसकेका रहेछन् । मुडामा बस्न भनेपछि गाह्रो मान्दै बसे तर बसको रफ्तारसँग सन्तुलन मिल्न सकेन । डङग्रङ्ङ लडे । बसका यात्रीका दृष्टि एकपटक फेरि हामीउपर पर्यो । सबैको अनुहार व्यङ्ग्य पस्किरहेको थियो । जसोतसो उठाएर मुडामा बसालेँ । उनी सन्तुलन मिलाउन नसकेर अब लड्ला तब लड्लाजस्तो गरी सिङ्गै शरीर यताउति हल्लाउँदै थिए । ढोकामा उभिएको खलासी हामीतिर अनौठो नजरले हेरिरहेको थियो ।

एउटा सिटको आड लगाएपछि जुगला मामा सन्तुलित बसे । तर एउटा गाईजात्रा नसकिँदै उनले अर्को सुरु गरे । आफूलाई सम्भ्रान्त देखाउन खोज्ने गजक्क फुलेर बसेका एकजना अधबैँसेको सुकिला लुगाभरि उनले हुलुक्क बान्ता गरिदिए ।

‘लौ मार्यो ।’ अधबैँसे कुटुँलाजस्तो गरी उभिए । उनको आग्नेयास्त्रका अगाडि पानी पनि पग्लेलाजस्तो भयो । हत्तपत्त झोलाबाट रुमाल झिकेर अधबैँसेको शरीरभरि पोखिएको बान्ता सफा गर्न थालेँ र सँगसँगै सम्झाउन थालेँ । जुगला मामा मात्रै भएका भए तिनले गोरुचुटाइ चुट्थे तर मेरो हस्तक्षेपछि शान्त भए । गुरुजीलाई पानी भएको ठाउँमा बस रोकिदिन अनुरोध गरेँ । उनले तत्कालै गाडी रोकिदिएर गुन गरे ।

अधबैँसे र म बसबाट ओर्लिएर पानी खोज्यौँ । मैले उसको कपडाबाट बान्ता सफा गरिदिएँ । ऊ आनन्दले ‘यता–यता’ भन्दै देखाइरह्यो । आज्ञाकारी हुँदै उसले जताजता भन्यो त्यतात्यता सफा गर्दै गएँ । उसको दुर्वासा शान्त गर्न त्यति गर्नैपथ्यो, गरेँ । दुर्वासा शान्त हुँदा उनी निथ्रुक्कै भिजिसकेका थिए ।

त्यसैले आदेश दिए, ‘मेरो सिटमुनि कालो झोला छ । त्यो लिएर आउनुस् । कपडै फेर्न पर्यो ।’ चुइक्क नबोली आदेश तामेल गरेँ ।

हामी फर्किदा अधिकांश यात्रु बसबाट ओर्लिएर रूखको आडमा सल्लाह मिलाउँदै थिए । कोहीकोही खैनी माडेर ‘प्याटप्याट’ हत्केला पड्काउँदै थिए । कोही थचक्क भुइँमा बसेर सुस्ताइरहेका थिए । जुगला मामाले यात्रुहरूलाई विश्रामका लागि उपयुक्त अवसर जुटाइदिए । बसभित्र उनी भने मुडाको सिरानी लगाएर बसै थर्किने गरी घुर्दै सुतिसकेका रहेछन् । मैले भोगेको दुर्दशाका कारण कसैका आँखामा मप्रति सहानुभूति थिए भने कसैका आँखामा घृणा । जेहोस् जुगला मामा निदाएकाले म निश्चिन्त भएँ ।

एक मन भयो, जुगला मामालाई निदाएकै अवस्थामा छाडी सुटुक्क बाहिर निस्केर अर्को बसमा चढूँ । तर कृतघ्न हुन सकिनँ । बसले गति लियो । मन भुलाउन वरिपरि हेर्दै बससँगै गुड्न थालेँ । बस आफ्नो रफ्तारमा थियो । जुगला मामा लल्याकलुलुक परेर कुक्रुक्क सुतेका थिए । निदाएर गुनै गरे । उनका तर्फबाट निश्चिन्त भएर यात्रा गर्न पाएँ ।

‘हम नै खेबो बौवा । हमरा घुरमी लागैछे । तुँ ख्याके या । (म खान्नँ बाबु । मलाई रिङ्टा लागिरहेको छ । तिमी खाएर आऊ । )’ खाना खाने ठाउँमा उठाउँदा उनले भने ।

वास्तवमा उनी होइन, उनको सौहार्दता र आत्मीयता बोलिरहेको थियो । लाग्थ्यो, मैले पाएको दुःख अनुभूत गरी उनीपश्चात्ताप गर्दै थिए । कारक उनी आफूलाई ठहराइरहेका थिए । उनको विवशता देखेर असिम श्रद्धा जाग्यो । बिचराले राम्रो गरेँभन्दा नराम्रो भएकोमा के दोष ? सरलता र निर्दोषिता उपहासको विषय बन्छ भन्ने उनलाई के थाहा ? अज्ञानता त्यति विधि दण्डित हुन्छ भन्ने के थाहा !

कहिले ठूलो स्वरले नबोलेको म उनका आँखामा भलादमीमा गनिन्थेँ । एक छिनको आवेग थाम्न नसकेर मैले जुगला मामाप्रति अन्याय गरेँ । बेकारमा उनको पाखुरामा समातेर आफ्नो असली रूप देखाएँ । नहुनु उपहास भइसकेपछि एक छिन सम्झाएको भए ढिलै भए पनि सम्झन्थे होलान् । त्यता ध्यान गएन । केवल आफ्नो स्वार्थ हेरेँ । जुगला मामाको माया लाग्यो । मभित्रको उहापोहबाट अनभिज्ञ मस्त घुरिरहेका थिए उनी ।

मधेस छाडेर उकालीन थालेपछि बसको गति कम भयो । तराईको तातो हावाका ठाउँ मन्दमन्द चिसो हावा झ्यालझ्यालबाट पस्न थाल्यो । हामी यात्रुले शीतल महसुस गर्यौँ । प्रचण्ड गर्मीबाट आनन्ददायक शीतल प्राप्त गर्दा पोलेको घाउमा मल्हम लगाएजत्तिकै भयो । मौसमको मादकता र बसको एकनासको गतिले यात्रुलाई लठ्याउन थाल्यो । सम्भवतः भातेनिद्राले सुताउन खोज्दै थियो । कतिपय निदाइसकेका थिए । निदाएकाहरू पोखरीको बीचमा ठिङ्ग उभिएको कमलको फूल बताससँगै यताउति बयेली खेलेजस्तै हल्लिँदै थिए । बसले अस्वाभाविक रूपमा घुम्ती काट्दा झस्केर आँखा खोल्थे ती । तर बस पुनः कुद्न थालेपछि निदाउँथे । कोहीकोही टाउकोमा टुटुल्को उठ्ने गरी कतै ठोक्किन्थे । बसका ड्राइभरलाई भद्दा गाली गरेर पुनः कोल्टे फेर्दै निदाउने उपक्रम गर्थे ।

बसभित्र छाएको मीठो मादकताले मलाई पनि लठ्याउन नखोजेको होइन । तर म आफूभन्दा बढी ड्राइभरप्रति सचेत थिएँ । कतै ऊ निमेषभरका लागि लठ्ठियो भने जीवनभर कहिल्यै लठ्िठनुपर्ने आवश्यकता पर्दैनथ्यो । किनभने हामी गुडिरहेको पहाडमुन्तिर विशाल फाँटमा नारायणी नीलो बगिरहेको थियो । टाढाबाट हेर्दा नारायणी जति सुन्दर बगिरहेको थियो नजिक पुग्दा ऊ त्यति नै कठोर घातक थियो । म ड्रइभरले न्वारानदेखिको बल निकालेर दायाँबायाँ झुक्तै फनफनी घुमाइरहेको स्टेयरिङ र उसको अनुहारमा हेर्थें । उसका तर्फबाट खतरा छैन भन्नेमा विश्वस्त भएपछि ढुक्क हुन्थेँ ।

मलाई निद्रा नलाग्नुमा भरखरै खाएको खानाको दिगमिग कारण थियो । जुगला मामा खाना नखाएर निश्चिन्त थिए । म खाना खाएर चिन्तित थिएँ । एक छिनअघि खाएको खाना मुखबाट ह्वालह्वाली आउलाजस्तो भयो । म बलैसँग दबाइरहेको थिएँ । ग्राहकलाई सन्तुष्ट पारेरभन्दा माखेसाङ्लोमा पारेर पैसा कमाउने संस्कृतिको सिकार दिनहुँ मजस्ता सयौँ यात्रु हुन्छौँ । यसमा सुधार हुनुको साटो दिनदिनै नयाँनयाँ तरिका अपनाएर ठग्ने क्रम बढ्दो छ । म सोच्छु, किन हामी वैध आर्जनमा सन्तुष्टिन सक्तैनौँ ? वैध कमाइले किन हाम्रो इज्जत जान्छ ? यो अनुसन्धेय विषय हो । कसैलाई टाउको दुखेको छैन । एक्लो ज्वालामुखी पहाड थामेर कहाँ सक्छु र !

बस रफ्तारमा थियो । जुगला मामा निदाइरहेका थिए । नारायणीपछि त्रिसूलीको नीलो पानी बग्न थाल्यो । नदीकिनारको यात्रा जति सहज हुन्छ त्यति जोखिपूर्ण पनि । अभ्यस्त ड्राइभर बेपरवाह बस कुदाइरहेका थिए । कतैकतै उनको हकाइको गति यति तीव्र हुन्थ्यो कि लाग्थ्यो, बस गुडिरहेको छैन हावासँग म्याराथुन दौडिरहेको छ । विपरित गतिबाट आएका सवारीसाधनलाई अलिकति पनि साइड नदिई एउटै गतिमा हुइकिँदा अनौठो आवाजले मुटु थर्काउँथ्यो ।

त्रिसूलीलाई छाडेर नाकेउकालो उक्लिन थाल्यो बस ।

‘जुगला मामालाई कहाँ सुताउने आफूहरू कहाँ सुत्ने ! मेरी श्रीमतीसँग उनको राम्रो सम्बन्ध भए पनि छोराछोरीसँग भेट भएको छैन । तिनले उनलाई कसरी लिने हुन् ? सहरी हावाले मैमत्त तिनका आँखामा उनका लागि स्वागतसत्कार होला कि नहोला ?’ मलाई चिन्ता लाग्न थाल्यो ।

‘जे त होला, व्यर्थमा के चिन्ता लिइरहनु !’ तनाउमुक्त हुने कोसिस गरेँ ।

बसबाट ओर्लंदा मामा शिथिल थिए । लल्याकलुलुक थिए । यात्राको थकान र पेटमा चारो नपरेका कारण फूर्ति गायब थियो । सहारा दिँदै बसबाट ओरालेँ । त्यस बेला मात्र थाहा पाएँ, खोसेर फालेको लट्ठी कुन सट्को टिपिसकेछन् । मैले देख्छ भनेर आफू सुतेकै ठाउँमा चेपेर राखेका रहेछन् । बसबाट ओर्लिएर पोको र झोला त्यसमा घुसार्न थाले । त्यसो गर्न दिइनँ । काठमाडौँमा हाँसोको पात्र बन्नु थिएन । उनको समेत पोको झोलामा खाँदखुँद पारेर बोक्न खोजेँ । तर दिएनन् । सकी नसकीे आफैँले बोके । म हिँड्न थालेँ । लट्ठी टेक्तै उनी पनि मेरो पछिपछि हिँड्न थाले ।

तिघ्रातिघ्रासम्म आउने गम्लङ्ग कमिज लगाएर सेतो धोतीमा ‘फ्याट–फ्याट’ चप्पल बजाउँदै हिँडेका उनलाई देख्ता बाटामा हिँड्नेहरू अचम्म मानी फर्कीफर्की हेर्थे । हामी आफ्नै सुरमा डेरा पुग्यौँ । मेरी श्रीमतीले ढोगी । काँधमा असरल्ल पडिरहेको सललाई टाउकामा राखी ढोगेकीले जुगला मामा मक्ख परे । बुहारीले त्यसो नगरेकी भए पक्का थियो, उनी आफ्नो सम्मान नभएको ठान्थे । प्रतिक्रियास्वरूप पिठ्यूँ फर्काएर बस्थे । घुर्की लाउँथे । असहमति जनाउने यो उनको मौलिक विधि थियो । धन्न ! बुहारीले बुद्धि पुर्याई । नभए अर्को समस्या थपिन्थ्यो । आफ्नो सम्मानमा कमी नभएको महसुस गरी जुगला मामा फूर्तिला भए ।

‘हजुरबुवालाई नमस्ते गर’ अचम्म मानेर हेरिरहेका एक जोर छोराछोरीलाई भनेँ ।

तर ती नाक खुम्च्याएर प्रतिक्रियाविहीन बसिरहे । जुगला मामाले कुनै प्रतिक्रिया जनाएनन् । तिनकै छेउमा थ्याच्च बसेर टाउको मुसार्न खोजे । ती तर्केर पर सरे । पर सर्दा तिनले चाउचाउका बटुकासमेत आफूसँगै सारे । जुगला मामाको उपस्थितिलाई महत्त्व नदिई जब तिनले चाउचाउ खान थाले अनि मामाको अनुहार खुम्चियो ।

‘एक लोटा पानी लाब त बहुरिया (एक लोटा पानी ल्याऊ त बुहारी)’ जुरुक्क उठेर उनी कोठाभरि पानी छर्किन थाले । उनको चर्तिकला देखेर अचम्भित भयौँ । साहिँली औँलाको सुनको औँठी खोलेर पानीमा चोबल्दै हामीलाई छर्किन थाले । म पनि बुझ्न सकिरहेको थिइनँ, मामा के गर्न खोजिरहेका थिए ! सोध्दा थाहा भयो, छोराछोरीले गड्यौँला खाएको देखेर चोखो पार्न सुनपानी छर्केका रहेछन् ।
मैथिली नबुझ्ने भएकाले छोराछोरीलाई केही भनेनौँ । दुई जोईपोइ भने नहाँसी बस्न सकेनौँ । जुगला मामाले अपमान भएको ठान्लान् भनी तत्काल सम्हालियौँ । छोराछोरी र जुगला मामा पक्क परेर हामीलाई हेरिरहेका थिए ।

‘यो खानेकुरा हो, गड्यौँला होइन’ भनी जुगला मामालाई सम्झाएँ । उनी मान्न तयार भएनन् । तिनले खाजा खाउञ्जेल उनी विपरित दिशातिर फर्केर बसे ।

थकानका कारण पहिलो दिन सबेरै खाना खाई सुत्यौँ । जुगला मामालाई भुइँमा ओछ्यान लाइयो । उनले सहर्ष स्वीकारे । खासै समस्या परेन । भोलिपल्ट बिहान उठेर हेर्दा उनी थिएनन् ।
‘कतै गएका होलान्’ भनी एक छिन पख्र्यौँ । तर चिया खाने बेलासम्म पनि उनी फर्केनन् । चिन्ता लाग्न थाल्यो । लट्ठी र कपडाको पोको उनी सुतेकै ठाउँमा थिए ।

खाना खाने बेलासम्म पनि उनी आएनन् । मुटु पोल्न थाल्यो । पस्किसकेको खाना छाडी खोजीमा निस्केँ । वरपर खोज्दा फेला नपरेपछि बाटोमा निस्केर टाढाटाढासम्म हेरेँ । कतै देखिएनन् ।

‘कहाँ गए होलान्’ भन्दै ‘अलि पर भेटिहालिन्छ कि, अलि पर भेटिहालिन्छ कि’ भनी खोज्दै हिँड्दा सहरको बीचमा पुगेँ । कतै नभेटिएपछि मनमा अनेक शङ्काउपशङ्का जन्मियो । मामालाई क्यै नहोस् भनी कामना गरेँ । उनी साबुत भेटिऊन् भन्ने कामना यति प्रबल हुन थाल्यो कि कता हिँडेर खोजिरहेको छु भन्ने थाहा पाउन छाडेँ । भौँतारिँदाभौँतारिँदै पनि फेला पार्न नसकेपछि कतै दुर्घटनामा पो परे कि भन्ने सम्झना अचानक आयो । दुर्घटनाको ख्याल आउनेबित्तिकै झसङ्ग भएँ । वरपर हेरेँ । म सहरको पुछारमा पुगिसकेछु ।

‘पशुपतिको दर्शन गर्न आएका मामा कतै एक्लै त्यता लागेनन् ?’ अचानक यो सम्झनाले हतारहतार पशुपति पुगेर खोजेँ । कतै भेटिएनन् ।

‘कतै म निस्किनेबित्तिकै टुप्लुक्क डेरामा पुगे कि ?’ सम्झनाले उल्टो पाइला डेरा फर्केँ । उनी त्यहाँ थिएनन् । मेरी पत्नी भान्सा पर्खिरहेकी थिई । मामा नभेटिएको खबरले निराश थिई । एक दिनअघिको बसको यात्रा र भोलिपल्ट दिनभरिको जुगला मामाको खोजीको कुदाइले गर्दा शरीर फतक्क गल्यो । त्यसमाथि मानसिक थकानले शिथिल भएँ ।

‘जुगला मामालाई कसरी खोज्ने होला ?’ विचारविमर्श गर्यौँ । उपाय नलागेपछि पुलिसमा खबर गर्ने निधो भयो । दुईचार गाँस च्यापी बाहिर निस्कियौँ ।

‘बाहिर निस्केका बेला टुप्लुक्क मामा आइपुगे कहाँ बस्छन् ?’ निस्केपछि थाहा भयो ।

त्यसपछि म मात्र जाने र उनी डेरामै बस्ने सहमति भयो । हामी छुट्टियौँ । सरासर पुलिस अफिस गएँ । बेथा बताएपछि इन्चार्जले चारैतिर खबर प्रसार गरे ।

‘सलाम साब, एउटा मधिसे टुँडिखेलमा दिसा बस्ताबस्तै पक्राउ परेर थानामा छ साब । नाम सोध्दा जुगला भन्छ । अरू क्यै सोध्यो भने नबुझ्ने भाषामा के भन्छ–भन्छ साब ।’ बस्ताबस्तै वाकिटकीमा खबर आयो । ती ‘एउटा मधिसे भेटिएको छ रे । कतै त्यै त होइन तपाईँले खोजेको मान्छे ?’ इन्चार्जले मतिर मुखातिब भएर सोधे ।

‘हो सर, त्यही हो । तर ती मधिसे होइनन् । मेरा मामा हुन् ।’ भनेँ ।

‘त्यो मधिसे, तपाईँ पहाडे, कसरी मामा ?’ जवाफ सुनेर इन्चार्ज अचम्ममा परे ।

‘यस्तै हो, यो संसारमा कतै कुनै गाउँ छ जहाँ रगत र छालाको नातालाई मात्र नाता मानिन्न । त्यहाँभन्दा पर थुप्रै नाता छन्, मान्छेका नाता, विशुद्ध मान्छेका नाता ।’ जवाफ टेढो दिन मन लाग्यो ।

‘कतै तपाईँ कवि त होइन ?’ इन्चार्ज जिल्लिए ।

‘हुन खोजेको तर चिप्लिएँ ।’ टाप ठोकेँ ।

‘घरकै ट्वाइलेटमा नगएर एकाबिहानै कहाँ टुँडिखेल पुगेका होलान् ?’ मनमनै उत्तर खोजेँ ।

‘ट्वाइलेटको अनुहारसम्म देखेका छैनन् । कसरी जाने कुरा सोचून् ! गाउँको खुला खेतमा जाने बानी परेकाले खुला ठाउँ खोज्दै हिँड्दा टुँडिखेल पुगेका होलान् ।’ जेहोस् उनी भेटिएकामा खुसी लाग्यो । लगभग कुद्दै थाना पुगेँ । हुँडारको घेरामा गाईको बाच्छा परेजस्तो घेरिएर बसेका रहेछन् । घेरेर बस्नेहरू उनीबाट निःशुल्क मनोरञ्जन लिइरहेका थिए ।

‘धन्य हो मानिसको जात ! मानिसले मानिस नचिन्ने । एउटालाई उल्लाएर बाँकीले मनोरञ्जन लिने । सजातीय प्रेम त पशुमा पनि हुन्छ !’ कुरा नबुझेर उनी अर्थात् जुगला मामा वाल्ल परेर सबैको अनुहारमा पल्याकपुलुक हेर्दै आँसु झार्दै थिए ।

‘भइग्ना हमरा लेचल हो (भान्जा, मलाई लिएर हिँड)’ मलाई देख्नेबित्तिकै छाद हालेर भने । माया लाग्यो । पिठ्यूँ सुमसुम्याएर ढाडस दिएँ । वेदना मत्थर भएपछि इन्चार्जलाई सबै कुरा बताएँ । उनले मामालाई छाडिदिए ।

भएको के रहेछ भने एकाबिहान अँध्यारैमा कोठाको मिनरल वाटरको बोतल बोकेर उनी खुला ठाउँ खोज्दै हिँडेछन् । हिँड्दाहिँड्दै टुँडिखेल पुगी गालामा हात अड्याउँदै बसेका मात्र रहेछन, नगरप्रहरीले थानामा पुर्याइहालेछ ।

‘हामीलाई सोध्नुपर्दैन त ?’ उनको वेदना सुनिसकेपछि गुनासो गरेँ ।

‘एहनो बात भैग्नाबहुरियाके पुछैछे (यस्तो कुरा पनि कतै भानिजबुहारीलाई सोध्छ त !)’ भनेर लजाएको अभिनय गरे ।

‘धन्य जुगला माम ! तिमी कुन दुनियाँमा छौ ! एक्काइसौँ शताब्दीमा अठारौँ शताब्दीको मानसिकता बाकेर यहीँ संसारमा छौ ? वर्तमानको कत्रो विषमता । बाबुछोरी र आमाछोराका बीचमा खुल्लमखुला यौनचर्चा हुने जमानामा तिमी ट्वाइलेट सोध्नसमेत लाज मान्छौ । कस्तो विडम्बना ! आज नपाउनु दुःख पाइयो । त्यति मात्रै भए चित्त बुझाउनुहुन्थ्यो । स्वयं र मलाई समेत उपहासको पात्र बनायौ । तिमीलाई त्यसले कुनै असर नपुर्याए पनि मलाई लज्जित तुल्यायो ।’ मनमनै जुगला मामाप्रति क्षोभ प्रकट गरेँ । प्रत्यक्षतः केही भनिनँ ।

वास्तवमा जस्तोसुकै भुलमा पनि उनको चित्त दुखाउन चाहँदिनथेँ । कताकता लाग्थ्यो, उनको चित्त दुखाउनु भनेको हाम्री आमाको चित्त दुखाउनु हो, जुन मेरा लागि स्वीकार्य थिएन । काठमाडौँका एकएक बयान ऊ गाउँ फर्केर आमालाई नसुनाई बस्नै सक्तैनथ्यो । त्यति मात्र नभई गाउँभरि काठमाडौँका घटनाको बेलिविस्तार लगाउँथ्यो ।

जुगला मामालाई सहरमा बस्ने तरिका सिकाएँ । उनी आज्ञाकारी बालकझैँ सुनिरहे । तर अनुहार हेर्दा लागेन, उनी भनेअनुसार गर्लान् भन्ने ।

‘अब जे गर्दा पनि मलाई अथवा बुहारीलाई सोध्नू ।’ अन्त्यमा केही कठोर हुँदै भनेँ । सहमतिमा उनले टाउको हल्लाए । त्यसपछि बसेको ठाउँबाट उठ्नुपर्दासमेत सोध्न थाले । हामीले सहजतापूर्वक हाँसेर पचायौँ ।

कोठाको टेलिभिजनमा उनको दिलचस्पी थिएन । संयोगले आँखा पुगेका बखत अर्धनग्न युवती देखे लाजले भित्तातिर फर्किन्थे । आँखा चोरेर हामीतिर हेर्थे । टेलिभिजनको दृश्यले हामीमा प्रभाव नपरेको देखेपछि उनी लामो टुप्पी बटार्न थाल्थे । त्यो देखी छोराछोरी दुवै हत्केलाले मुख छोपी मुसुमुसु हाँस्थे । जुगला मामा नजिक हुन खोज्थे । तर ती तर्किन्थे ।

‘कि फूर्ति लगावैछी । तोरा सबके बापके हमी बोकबोकके बड्का करनेछि (के फूर्ति लाउँछौ । तिमीहरूको बाउलाई मैले नै बोकीबोकी ठूलो पारेको हुँ । )’ जुगला मामा पड्किन्थे ।

एक्कासि जुगला मामाको ठूलो स्वर सुनेर हेरेपछि उनी झ्याप्प निभ्थे । बोल्न नपाएर उनी उकुशमुकुसिइरहेका थिए । नबोली बस्न नसक्ने उनका लागि सहरको निशब्दता कष्टकर बन्दै थियो । थाहा पाएर पनि केही गर्न सक्तिनथेँ । उनको अवस्था देख्ता लाग्थ्यो, सहरदेखि सन्तुष्ट छैनन् । जुन उत्साह काठमाडौँलाई नभेट्ता थियो, त्यो सेलाइसकेको थियो । त्यसैले फर्केर उनले राम्रो सन्देश नलाने पक्का थियो । सकेसम्म म उनको आँखामा काठमाडौँको सुन्दर दृश्य अङ्कित गराउन खोज्थेँ । तर के मिल्दैनथ्यो–मिल्दैनथ्यो, नकारात्मक तस्वीर अङ्कित हुँदो थियो ।

भोलिपल्ट बिहान सबेरै उठेर उनले नुहाइधुवाइ गरे । पानीको धारा चलाउन सिकाइदिएकोले आफैँ सबै काम गर्न सक्ने भए । धारा चलाउन जानेको गर्वमा उनी ममाथि केही अधिकार जमाउन थाले । आफूले नुहाइसकेपछि मलाई पनि उठाए ।

त्यो, उनको जीवनको बहुप्रतीक्षित पशुपतिको दर्शन गराउन लाने दिन थियो । फूर्तिफार्ति बेग्लै थियो । जुगला मामा अरू दिनभन्दा हलुका थिए ।

हामी दुईको पशुपतियात्रा सुरु भयो । म अघिअघि उनी पछिपछि थिए । गौशालाको चौबाटोमा पुग्नेबित्तिकै उनको हात समातेर बाटो काट्न थालेँ । तर बीच बाटोमा पुग्नेबित्तिकै मेरो हात झड्कालेर छुटाए । पिच सडकमा लमतन्न परेर सुते । दुवै हात टाउको माथि पुर्याई नमस्ते गर्न थाले । उठेर पुनः त्यही प्रकृया दुईतीनपटक दोहोर्याए ।

‘हनुमानजी महाराज दर्शन द्याके गेलै । धन्य प्रभु । हमर जनम सफल भेलै (हनुमानजी महाराजले दर्शन दिएर जानुभयो । धन्य प्रभु । मेरो जन्म सफल भयो)’ कुरो नबुझेर सोध्दा उनले भने ।
उनको हात हेरेँ । त्यहाँ उनकी बुहारीले पशुपतिको मन्दिरमा पूजा गर्न टपरीमा राखिदिएकी पूजासामग्री थिएन । कतै छुट्यो कि भनी हेरेँ । अलि पर एउटा बाँदर हाम्रै पूजासामग्रीको टपरा च्यात्दै थियो । हनुमानजीको दर्शन गर्न मामाले भुइँमा राखेको टपरी बाँदरले उछिट्याएछ । उनी त्यही बाँदरलाई बारम्बार नमस्ते गर्दै थिए ।

‘पशुपतिका बाँदर रामका सेना होइनन् । यी त मानवीय अतिक्रमणको चपेटामा परेका जीव हुन् ।’ जुगला मामालाई भन्नै बिर्सिएछ । छँदाखाँदाको पूजासामग्री गुमाउनुपर्यो ।

‘टिँ … ऽ … ऽ … टिँ … ऽ … ऽ …’ गाडीको तीखो हर्नले वर्तमानमा फर्कें । हामी बीच सडकमा उभिएका रहेछौँ । ट्राफिकजाम भइसकेछ । दुईतीनजना ट्रफिक हामीतिर दौडिँदै थिए । जुगला मामाको पाखुरा समातेर लगभग घिसार्दै टाप ठोकेँ । केही नबुझी मामा मेरो पछिपछि कुदे । सिठी बजाउँदै टोपी हातमा लिएर कुदेका ट्रफिक हाम्रा पछि थिए । उसबाट बच्नु जरुरी थियो । मामालाई बेस्सरी कुद्न भनेँ । उनी अखडामा देखाउने पहलमानी जोशका साथ दौडे । सुरक्षित स्थानमा पुगेपछि पछाडि फर्केर हेरेँ । निधारको पसिना पुछ्दै टक्क अडिएर ट्राफिक हामीलाई हेर्दै रहेछन् ।

सुरक्षित भएपछि दर्शनार्थीका भीडमा मिसियौँ । काठमाडौँ आएदेखि उनका कारण कष्ट भएको महसुस जुगला मामाले गरिसकेका थिए । त्यसैले अरू कष्ट पुर्याउन चाहँदैनथे । त्यो जनाउन मेरो हात च्याप्प समाते । भीडमा कतै हराइएला र भानिजलाई फेरि दुःख होला भन्नेमा उनी सचेत थिए ।

पहिला पवित्र वाग्मतीको दर्शन गरेर मात्र पशुपतिको दर्शन गर्ने मनसुबा उनले प्रकट गरे । त्यसैले आर्यघाटतिरबाट मन्दिर पस्ने विचारले त्यतै लाग्यौँ । अगाडिबाट जाँदा प्रवेशद्वारबाटै पशुपतिका प्रिय बाहनको फलले निर्लज्ज दर्शन दिने भएकोले जहिले मलाई नमिठो अनुभूति दिन्थ्यो । त्यहीँ बाटो फर्कंदा पशुपतिको अन्तिम दर्शन गर्न फनक्क फक्र्यो, तिनै पशुका फलको दर्शन पाइने ! अनौठो संयोग त्यसका निर्माणकर्ताले दर्शनार्थीहरूलाई जुटाइदिएका थिए । त्यसैले पशुपतिको मुख्य प्रवेशद्वारबाट प्र्रवेश गर्नुलाई कहिले पनि मैले सकारात्मक रूपमा ग्रहण गर्न सकिनँ । मन्दिरमा ठेलमठेल गरेर दर्शन गरेपछि मागेको वरको फल प्रदान गर्न त्यो त्यहाँ साङ्केतिक रूपमा अविचल बसेको जस्तो लाग्थ्यो । पशुपतिको दर्शन गर्न ढोग्यो उसको फलमा पो ढोगिरहेको हुइने । त्यहाँ जाँदा प्रत्येकपटक त्यो दृश्यले ठूलो व्यङ्ग्य गरिरहेको लाग्छ ! थाहा छैन, त्यसलाई अरूहरू कसरी लिन्छन् ! कुन रूपमा सोच्छन् ! मन्दिर स्थापना गर्ने र त्यस साँढेको विशाल पित्तले मूर्ति स्थापना गर्नेका बीचमा के तालमेल थियो ! के सोचेर त्यस्तो संयोग जुराए ! थाहा भएन, तर वर्तमानमा त्यो सार्थक थियो ।

मुख्य प्रवेशद्वारबाट दर्शन गर्न जान मन लाग्दैन । जुगला मामाको पनि पहिले पवित्र बाग्मतीको दर्शन गर्ने अभिलाषा थियो । त्यसकारण हामीले आर्यघाटतिरको बाटो समात्यौँ । घरबाट ल्याएको पूजासामग्री हनुमानजीको भेट चढिसकेको थियो । त्यहीँ फूलप्रसाद किन्यौँ ।

‘लुकाएर राख्नू, बाँदरले देखे ती लङ्का–दहन गर्नेभन्दा दोब्बर तागतले आइलाग्छन्’ भने । मामाले धोतीको फेरमा पोको पारेर बेस्सरी समाते । उम्किन नदिने गरी जोडले समाए । उनले समातेको देख्दा बाँदरसँग झिनाझपटी पर्ला भन्ने पीर लाग्यो ।

‘अब क्यै उपद्रो गर्दैनन्’ भन्ने लागेको मात्र थियो । बाग्मती देख्नेबित्तिकै उछिनेर कुदिहाले ।

‘अब यिनले के गर्न लागे ?’ भनेर पछिपछि कुद्दै मात्र थिए, बाग्मतीको किनारमा पुगी कपडा खोलेर झ्वाम्म हाम्फालिहाले ।

‘यो तपाईँले सोचेजस्तो पवित्र बाग्मती होइन । त्यहाँ नजानुस् ।’ भन्न नपाउँदै ‘हरहरे गङ्गे’ भन्दै बाग्मतीमा डुबुल्की लगाउन थाले । मामाको अर्को नादानी देखेर म टाउको समातेर जहाँको त्यहीँ थचक्क बसेँ । एक छिनपछि अचानक होश आयो । हेरेको त जे नहोस् भन्यो, त्यही भइसकेछ ।

‘च्याँ च्याँ’ र ‘चुँ–चुँ’ गर्दै बाँदरका हुल मामाका सबै कपडा बोकेर यताउता कुद्दै रहेछन् । खोसाखोसका कारण कपडा चिथ्राचिथ्रामा परिणत भए । तिनै चिथ्रा पनि खोसाखोस गर्दै थिए । जुगला मामा नुहाएर बाहिर निस्के । कपडा खोज्न थाले । बाँदरहरूले खोसाखोस गरेको देखेपछि तिनलाई लखेट्न थाले । त्यसपछि थाहा भयो, बाग्मतीबाट उनको शरीर शुद्ध भएर होइन, कालो भएर निस्किएको रहेछ । उनको शरीरभरि टाँसिएका बाग्मतीको फोहोरका कारण नमिठो गन्ध आइरहेको थियो । त्यो देखी आवारा केटाकेटीहरू रमाइलो मान्दै जुगला मामाका पछिपछि कुद्न थाले । सबभन्दा अगाडि बाँदरहरू, तिनलाई लखेट्तै जुगला मामा र अन्त्यमा आवारा केटाकेटीहरू कुद्दै थिए ।

बेलाबेला जुगला मामा बाँदरलाई लखेट्न छाडी पछाडि फर्केर केटाकेटीउपर ढुङ्गा टिपेर जाइलाग्थे । उनको रौद्र रूप देखी ती लाखापाख लाग्थे । जुगला मामा अगाडि कुद्न थालेपछि ती फेरि पछिपछि कुद्न थाल्थे । जुगला मामाको ताण्डवनृत्य सबैले रमाइलो मानी हेरिरहे । म भने हत्केलामा निधार अड्याएर किंकर्तव्यबिमूढ उभिरहेँ ।

बाँदरका हातबाट चिथ्रा कपडा फिर्ता पाउन नसकेपछि थाकेर मलाई खोज्न थाले । एक मन त भयो जुगला मामालाई त्यहीँ अवस्थामा छाडेर भागूँ । पाइला उचालेँ । तत्काल आमाको सम्झना भयो । जुगला मामाको निर्दोष अनुहार सम्झेँ । पाइला थामिए । तैपनि जुगला मामाले चेतुन् भनी चुपचाप उभिरहेँ । खोज्दाखोज्दा मलाई नभेटेपछि जब जुगला मामा रुँला जस्तो गर्न थाले अनि छेउमा गएँ ।

जुगला मामाको आस्था भत्कियो । अपराधबोधले लज्जित थिए । अनुहारमापश्चातापको भाव थियो । शिर झुकेको थियो । कराउला भनिसकेसम्म डराएजस्तो देखाए ।
‘पशुपतिनाथको दर्शन गर्न जाने होइन ?’ सोधेँ ।

‘हम नै जेबै पशुपतिके दर्शन करैके लेल । भेलै हमरा । हम देख लेलिए पशुपति । अब कतेक देखबै । चल भइग्ना । घर चल । हम नै बैठब नेपाल । हमरा गावँ जाइवाला बस चढ्यादह । हम अस्करे चइल जेबै । (पशुपतिको दर्शन गर्न म जान्नँ । भयो मलाई । मैले पशुपतिलाई देखेँ । यहाँभन्दा कति हेर्ने । हिँड भानिज, घर हिँड । म नेपाल बस्तीनँ । मलाई गाउँतिर जाने बसमा चढाइदेऊ । म एक्लै गइहाल्छु ।)’ रुँलाजस्तो गरी भने ।

बाग्मतीमा नुहाएर निस्किएका जुगला मामामा अचानक नवीन चेतना आयो । उनी एक्कासि परिपक्व भए । आँखा खुल्यो । भ्रमका जाला फाटे । कठोर वास्तविकतालाई स्वीकार्न सक्ने भए । आत्मज्ञानले उनलाई सिद्धि प्राप्त भयो ।

नबोली बस्न नसक्ने जुगला मामा पशुपतिबाट फर्केपछि ठ्याप्पै नबोल्ने भए । चिन्तनशील मुद्रामा मग्न रहन्थे । मणि हराएको सर्पको जस्तो स्थिति थियो । गाउँबाट काठमाडौँका लागि हिँड्दाको फूर्ति र जोश थिएन । त्यस दिन पानी पनि पिएनन् । भोलिपल्ट बिहानै उठेर गाउँ जाने बस चढाइदिन जिद्दी गर्न थाले ।

‘दुईचार दिन बसेर पशुपतिको दर्शन गरेर जान ।’ भनेँ । जति सम्झाउँदा पनि उनी मानेनन् । अरू व्यवहारमा परिवर्तन आए पनि जिद्दी गर्ने स्वभावमा परिवर्तन आएन । बस चढाउन जानैपर्यो । डेराबाट निस्केर बसपार्कमा बस चढाएँ । बाटोखर्च दिई ओर्लेको मात्र थिएँ, बस हिँड्यो ।

‘भइग्ना हमर लाठी (भानिज मेरो लट्ठी) ।’ झ्यालबाट टाउको निकालेर जुगला मामा कराउन थाले ।
लट्ठी मेरो हातमा रहेछ । दिन दौडेँ । तर बसले गति लिइसकेको थियो । मैले बिदाइको हात हल्लाएँ । मेरो निर्दोष जुगला मामाको लट्ठीलाई मायालु नजरले हेरेँ । म्वाइ खाएँ । आफूसँगै डेरा ल्याएँ ।

‘नेपाल जाने होइन ?’ गाउँ गएका बखत सोध्यो कि जुगला मामा तर्किन्थे । गाउँघरका कुरा गर्न तयार भए पनि नेपालका बारेमा कहिल्यै कुरा गरेनन् ।

कथाकार– धीरकुमार श्रेष्ठ
प्रकाशक–साझा प्रकाशन
कृति– ‘नजन्मिनुपर्ने मान्छे’
विधा–कथा
संस्करण–पहिलो–२०७०
प्रति–११००
मूल्य–२१०।–

1 thought on “जुगला मामाको काठमाडौँ यात्रा”

  1. कथाको बिषय वस्तु राम्रो छ ,
    कथाको बिषय वस्तु राम्रो छ , जीवन्त छ तर कता कतै पदावली नमिलेको अनुभूति हुन्छ /

Leave a Reply

Your email address will not be published. Required fields are marked *