मेरो कविता, मेरै लागि


ए कविजी, तिमीलाई थाहा छ कि छैन
देवकोटा गएका चैँ सोर्ह सालमा हैन ?
छब्बीस सालतिर होला गए लेखनाथ
सम पनि बाटो लागे, गए खाली हात
हेर्दाहेर्दै जिन्दगी जालो, आएको छ तिमीमै त्यो पालो…..!

छेडखानी पनि चल्थ्यो, हँसीमजाक् हुन्थ्यो
रक्सी पिएपछि आहा ! भित्रैबाट रुन्थ्यो
हरिभक्त पनि गयो, गयो भूपी शेर्चन
बाशुशशिरहेन है, मात्र रह्यो क्रन्दन
छाम्दाछाम्दै पानीको फोको, डुब्दैछ है जीवनको यो डोको…. !

युद्धप्रसाद पनि गए, गए गोकुल जोशी
रिमाल् गए, इच्छुक गए, को हुन् तिनका दोषी ?
पारिजात रहिनन् है, हिँडे हुमागाई
यमराजले हाल्दैछ कि तिमितिरै दाइँ ?
गन्दागन्दै जाँदैछ दिन, दिनका दिन गल्दैछ मन किन….. ?

भर्भराउँदा थिए सबै तोरीबारी हरा
ईश्वर बराल, ईश्वर बल्लभ गए कठैबरा
धुवाँ भई गए धुस्वाँ, मन्थलीय गए
दैवज्ञराज पनि हेर, परलोक भए
रुङ्दारुङ्दै यै थोत्रो घर:, दायाँबायाँ देखिन्न क्यै भर…..!

ढाड दुख्ने, घुँडा दुख्ने, जिउ झम्झमाउने
भातको थाल सार्दा पनि हातै थर्थराउने
चस्मा मोटो हुँदै आयो, गयो घाँटी सुक्दै
अहो ! पक्का गड्बडी छ, आयो रोग भुक्दै
गर्दागर्दै नौरङ्गी कुरो, जाल हेर बुन्दैछ माकुरो….. !

चुरोट तान्दै गोष्ठीतिर जान्थ्यौ चम्की चम्की
श्वास फेर्नै गार्होत अहिले, लाग्यो हेर धम्की
घाँटी खस्खस् मात्र गर्छ, कफ जमी राख्छ
कविजी, लौ बुझ कुरा छिट्टै चिसो लाग्छ
कुर्दाकुर्दै आशाको डालो, आएको छ तिमीमै त्यो पालो…..!

उ: बेलामा गर्नुगर्यौा नचाहिँदो भोग
क्यान्सर् होस् कि बाथ-सुगर्, जे सुकै होस् रोग
नानाथरी रोग यी ता निहुँ मात्रै जान
यमराजकै प्रपन्च हो उतातिर लान
गम्दागम्दै जिन्दगी जालो, आएको छ तिमीमै त्यो पालो…..!

न त क्रिष्ण न त राम, भनेनौ है भोला
वादविवादमै लड्यौ बोकी मैलो झोला
कहाँ के के गरेका थ्यौ, जम्मै थाहा पायो
ए कविजी, यमराज तिमितिरै आयो
हेर्दाहेर्दै जिन्दगी जालो, आएको छ तिमीमै त्यो पालो…..!

: नरेन्द्र पराशर

http://narendraparasar.blogspot.co.uk/2013/01/blog-post_4826.html

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *