Skip to content

एक डबका दुध (लघुकथा)


एक समय यस्तो पनि थियो कि उस्ले आफ्नो विद्यालयको शुल्क तिर्नका लागि गाउँमा हरेक ढोका ढोका चाहारेर सामान बेच्ने गर्दथ्यो । समय सधैँ एक तमाशले चल्दैनथ्यो एक दिनको कुरा हो उस्को कुनै सामान पनि बिक्रि भएन, उसलाई बेजोडले भोक लागिरहेको थियो । अब म जस्को घरमा पुग्छु पहिले खानेकुरा माग्छु भनेर मनमनै सोच्यो र एउटा नजीकको घरमा पुगेर ढोका ढक्ढक्यायो । ढोका खुल्यो केटी मान्छे देखेर ऊ झस्कियो र खाना माग्नुको सट्टा उसले पानी माग्यो, तर उस्को हाउभाऊले ऊ भोकाएको छ भन्ने केटीले थाहा पाइसकेकी थिई ।

उसले भित्रबाट ठूलो डबकामा खाट्टि दुध ल्याएर दिई, उस्ले पनि बिस्तारै बिस्तारै पिएर भ्यायो र अनि सोध्यो कति पैसा दिउँ ? केटीले के को पैसा यो त म तिमी भोकाएका छौ भनेर दया माया गरेर दिएको काहाँ पैसाको कुरा गरेको ? भनेपछि उस्लाई मन खिन्न भयो मैले शायद अपमान गरेँ कि भन्ने ठानिरह्यो । मैले पनि आत्मै देखि तपाईँलाई धन्यवाद दिन्छु यो माया कहिल्यै भुल्ने छैन भनेर त्यहाँबाट बाहिरियो । जब उस्ले घर छोड्यो शारीरिक रुपमा मात्रै होइन उस्लाई मानिसहरू प्रति भरोसा र विश्वास अँझै बढेर गएको थियो । पढ्नमा तेज बालक विद्यालयबाट छात्रबृत्ति पायो र पछिसम्म पनि पाइरह्यो । पढाईमा अब्बल भयो र आफूलाई जीवनको नयाँ धरातलमा पुर्यायो ।

धेरै वर्ष पछि त्यही केटी गम्भिर रुपमा बिरामी भई, गाउँमा उपचार हुन नसकेर शहरमा ठूलो अस्पतालमा ल्याइयो । मेडिकल भाषामा जटिल रोगको उपचारको लागि डा. रोशनलाई बोलाउनु पर्ने भयो । उस्ले बिरामीको सबै बिबरण पहिल्यायो सबै आवश्यक परिक्षणहरू भए । उसलाई झन यो जटिल केश चुनौती हुँदा हुँदै पनि अवसर पनि भयो ज्यान छाडेर रोगको निदानमा लाग्यो । मनमनै लाग्यो कि शायद भगवानले मलाई यो चुनौतीभन्दा पनि एक सुनौलो अवसर दिएका हुन भन्ने लाग्यो । करिब एक हप्ताको सघन उपचार पद्दति पछि बल्ल उस्को ज्यान खतराबाट मुक्त भयो उसको ज्यान बच्ने भयो र पहिलेकै जस्तो हुने भई ।

डा. रोशनले अस्पतालको कार्यालयमा गएर उपचारको बिल लियो । उनीहरूको हैसियतभन्दा धेरै माथिको बिलको रकम थियो शायद उनीहरूले त्यो तिर्नै सक्दैनथे । यो बिल देखेर फेरि अर्को कुनै ताण्डब पो मच्चिने हो कि भन्ने पनि सोच्यो र पनि रोशन आफैमा सम्पन्न डक्टर थियो । एउटा ठूलो खाममा बिभिन्न रिपोर्टहरू र बिलहरू थिए । त्यसमाथि कुनामा अर्को कागजमा एक स्लिप स्टिच गरेर आफूले पनि केही लेखेर बिरामीको बेडतिर पठाइदियो ।

अस्पतालको उपचारको बिल देखेर केटी एकदम अलमलमा परि खोलुँ कि नखोलुँ जस्तो लाग्यो । उसको घरमा उसकी आमा र ऊ मात्रै थिए साथमा मामा पनि आउनु भएको थियो । तैपनि बिस्तारै उस्ले चिट्ठिको खाम खोली उस्को आँखा बिलभन्दा पहिलो माथि पट्टि कुनामा हातले लेखिएको उही डक्टरको अक्षरमा पुग्यो । उस्का आँखाहरू रसाए, ओठहरू थर्रथराए र भगवानलाई पुकारी र डक्टर रोशनलाई हृदय देखि नै धन्यवाद दिई । जहाँ लेखिएको थियो एक डबका दुधले यस अस्पतालको सम्पूर्ण खर्च ब्यहोरिएको छ – डा. रोशन ।

http://www.manko-chhaya.blogspot.co.uk/2014/12/blog-post.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *