Skip to content

प्रेम, मैत्री, करुणा र आनन्द


मनोवाञ्छा घटाएर जटाधारी बनेँ अब
परिव्राट् प्रेमको यात्री बाँड्न थालेँ सुधाऽसव ।।१।।

जे जे भेटिन्छ बाटोमा माटोमा मनमा कहीँ
सबै मेटिन्छ मेटिन्छ जहाँ भेट्यो त्यहीँ त्यहीँ ।।२।।

सानो बालकको जस्तो रम्यता छिर्बिराउँछ
नित्य–आनन्दको नाद कानमा चिर्बिराउँछ ।।३।।

कता मेरो कता तेरो सेरोफेरो महेशको
समता शान्तिको साधु सुधादीप सुरेशको ।।४।।

खानु प्रेम, दिई प्रेम प्यूँनलाई स्वतन्त्रता
पिई खाई उडी हिँड्छु हावासाथ कता कता ।।५।।

लीला गर्दछु लीलाले ढीला ढीला बनाउँछ
निरपेक्ष यही लीला बनी मुक्ति उदाउँछ ।।६।।

करुणा, प्रेम, मैत्रीको बोकेँ त्रिशूल चन्दन
हिँडेँ आनन्द आनन्द टोलैटोल वनैवन ।।७।।

नरेन्द्र पराशर

http://narendraparasar.blogspot.co.uk/2010/05/welcome.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *