जानुकाको सपना


भीमानतिरबाट हर्न बजाउँदै
बस त आउँछ
तर आउदैन
जानुकाको अरब गएको सपना……..!

भान्सामा तरकारी पकाउँदै गर्दा होस्
वा बारीमा मकै छर्दा होस्
स्याउला लिन वन जाँदा होस्
वा भात खाँदा होस्
ऊ हर्न बजेको सुन्नेबित्तिकै
निस्कन्छे आँगनमा……!

छतभरी मान्छे र अनेक सामान हालेर
बान्ता लागेको झ्याल देखाउँदै
बस चन्दनपुरतिर लाग्छ
तर रोकिँदैन
जानुकाको आँगनमा ……!

पीडित र मर्माहत मरुभूमि मन लिएर
अरबको हरियो लोग्ने सम्झिन्छे ऊ
जीवनको सुक्खा खेतलाई
सागपात र बाख्रा-कुखुरामा समेट्छे ऊ
बालुवै बालुवाको निस्सारतालाई
अरबको तातोले
न्यानो भएको सम्झिन्छे ऊ…..!

विवश,
शून्य र रिक्त
बैँसका सुन-सपना समाप्त भएझैँ
शरीरको त्वचा नै ‘लाटो’ महशुस गर्छे
अनि ऊ
आँखा झुकाएर काममा फर्किन्छे …..!

जानुका
अर्थात् एक सुन्दर केटी
बिहे भएको नवौँ रातपछि
एक्ली भएकी छे
अनेकौँ कुरुप आँखाहरूको सामना गर्दै
आफैँले आफैँलाई
जित्दै वा हराउँदै
उभिएकी छे
सिउँडीको बोटझैँ….. !

सिन्धुलीगढी एफ्. एम्.बाट
आउने
समाचार सुन्छे ऊ
र कहिलेकाहीँ झस्किन्छे
उसको सपना
बाक्सामा बन्द भएर नआओस्
बरु रित्तै आओस्
भीमानतिरबाट आउने बसको छतमा
मुसुमुसु हाँस्दै आओस्
अनि त्यो गाडी
आफ्नै आँगन छेउमा रोकियोस्
अनि एकपटक ऊ स्तब्ध हुन पाओस्….. !

तर अहँ,
रोकिदैन कुनै गाडी
जानुकाको आँगनमा…… !

जानुकाको लागि
न शरद् न वसन्त
न जून न तारा
न रङ्ग न रमाइलो
उसका लागि
तीनवर्षदेखिको अत्यासलाग्दो प्रतिक्षा
भीमानतिरबाट आउने
अरब गएको उसको सपना….. !

:नरेन्द्र पराशर

http://narendraparasar.blogspot.co.uk/2013/01/blog-post_6746.html

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *