Skip to content

धनमाया र मनमाया

  • by
BirBahadurThakuri

धनमायाले धनको कुरा मात्र गर्दिनन्,
मनको कुरा पनि गर्छिन्,
मनको पीडाहरू सुनाउँछिन्,
खुशी भएको बेला
लजाउने र काउकुती लाउने कुरा गर्छिन्,
कहिलेकाहीँ मेलापातको कुरा पनि गर्छिन् ।

मनमायाले मनको कुरा मात्र गर्दिनन्
वैंश र उमेरको कुरा पनि गर्छिन्,
मेकअप र ड्रेसअप पनि गर्छिन,
प्रपोज र डेटिङ पनि गर्छिन्
भोग र विलास
घरीघरी वाचावन्धन पनि गर्छिन् ।

दुवैको प्रेम गर्ने तरिका बेग्लै छ
एउटीले प्रेम गर्छिन्,
तर माया गर्दिनन्,
अर्कीले माया गर्छिन्
तर प्रेम गर्दिनन्,
प्रेम गर्नेसँग
निस्वार्थ र पवित्रता छ,
माया गर्नेसँग
निस्वार्थ र पवित्रताभन्दा
चाहना र मृगतृष्णा धेरै छ ।
दुवैले मलाई
आँखामा बसाउन खोज्छन्,
ह्रदयमा सजाउन खोज्छन्,
आँखामा राख्दाराख्दै
मलाई निकै अप्ठेरोमा पार्छन्,
ह्रदयमा सजाउँदा सजाउँदै
मलाई बसिनसक्नु बनाउँछन्,
त्यसैले म, दोधारमा छु,
म, मझधारमा छु,
खै म कहाँ छु
त्यो मलाई थाहा छैन,
कोसँग धेरै आकर्षित छु
त्यो पनि मलाई थाहा छैन,
मलाई यति नै थाहा
माया र प्रेम गर्नु पर्छ,
धनमाया र मनमायाको ह्रदयमा रमाए जस्तो
अरुहरूको ह्रदयमा पनि रमाउनु पर्छ,
उमेर जति नै ढले पनि
वैंशको मान्छे भएर जिउनु पर्छ ।

बी बी ठकुरी
मेडिकल मोड, सिलगढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *