क. साहित्यकार हाङपाल आङबुहाङ लिम्बूसँगको साईबरीय भेट:
सन् २०१२ को अन्ततिर साहित्यकार हाङपाल आङबुहाङ लिम्बूसँग फेसबुक सामाजिक संजालमा भेट भएको हो । त्यसपछि बिस्तारै फेसबुक मार्फत हाम्रो साईबरीय सम्बन्ध प्रगाढ वा बिस्तार हुँदै गएको हो । यस्तो सम्बन्ध बिस्तार हुनुको कारण नै साहित्य थियो । साहित्यले मानिसलाई आत्मीय मात्र होइन सामजिक बनाउँछ । साहित्य एउटा माध्यम मात्र हो तर आत्मीयता भन्ने कुरा मानिसको संवेदनामा निर्भर हुन्छ । साहित्यलाई लेखन गर्दै आत्मसाथ गर्दै जाँदा साहित्यकार हाङपाल आङबुहाङ लिम्बूलाई मात्र होइन अरु धेरैलाई भेटेको छु । तर सबैसँग आत्मीय नभएको पनि हुनसक्छु । त्यो मेरो कमजोरी होइन समयको अभाव र स्थान दुरताको कारण पनि हुन सक्छ वा अन्य कारणहरू पनि हुन सक्छन । सिंगापुरलाई कर्मथलो, जीविकोपार्जन मात्र होइन खेलकुद सँगसँगै साहित्यलाई पनि उतिक्कै माया गर्ने व्यक्तिसँग म भावनात्मक संवेदना जोडाएर हामी नेपाली साहित्य लेखनको पाटोमा उस्तै मार्ग पछ्याएर हिड्ने सहकर्मी जस्तै बन्यौं । यो मेरो लागि अति सुखदको पल हो किनभने जो मैले गरिरहेको छु त्यही काममा अर्को राम्रो व्यक्ति पाउनु नेपाली साहित्य कै लागि सुखद पल हो । लेखनको माध्यमले हाम्रा विचार,भावना र संवेदनाहरू फेसबुकको वालबाट साटासाट गर्ने ठूलो अवसर मिल्यो । जसले गर्दा साहित्यकार हाङपाल आङबुहाङ लिम्बूसँग एक साथ अगाडि बढ्ने मौका मिल्यो । आज हामी साहित्यको समानान्तर रेखामा छौं हो त्यसैले पनि रेखा साहित्य अन्तर्गत रेखा एकले अर्कालाई सजिलै जोड्ने माध्यम भनेका छौं। भावनात्मक,वैचारिक,साहित्यिक र आत्मीयता सधैँ कायम रहन्छ । किनभने एक पटक परिचित भएपछि परिचयको रेखा सदैव रहिरहन्छ । साहित्यकार हाङपाल आङबुहाङ लिम्बूसँगको भावनात्मक,वैचारिक,साहित्यिक र आत्मीय सम्बन्ध सधैँ रहिरहनेछ । यो सामाजिक संजाल फेसबुकले कायम गरेको दरिलो साहित्यिक सम्बन्ध हो । वहासँग त्यस्तो लामो साहित्यिक छलफल नभएपनि विभिन्न लेख रचनाबाट मैले धेरै नजिकबाट साहित्यकार हाङपाललाई चिन्ने मौका पाए । जसले गर्दा साहित्यीक,वैचारिक विषयवस्तुहरू आदान प्रदान गर्ने अर्को सुअवशर पनि मिल्यो । जुन अवशरले नेपाली साहित्य र वाङ्गमय उत्थान गर्ने विचार अँझ प्रवल भएर जानेछ भन्ने कुरामा दुई मत छैन । यही साईबरीय भेटले नेपाली साहित्यको हाइकु विद्याको लेखनमा अर्को नयाँ हाइकुकार हाङपाल आङबुहाङ लिम्बू जन्माएको छ । म हाइकु लेखनसँग सम्बन्धित भएर झण्डै दुई दशक समय गुजारिसकेको छु । जुन मेरो लेखनभन्दा पनि काव्यिक र वैचारिक चेतनाले हाङपाल आङबुहाङ लिम्बूलाई हाइकुकार बन्न उक्स्याएको जस्तो लाग्छ । ताप्लेजुङबाट धरान हुँदै सिंगापूरसम्म जीवन रेखा पछ्याउँदै साहित्यको रेखा समात्न पुगेका हाङपाल अन्तत च्याब्रुङको आवाज संसारभर फैल्याउने व्यक्ति बने हाइकु लेखनबाट । उनको यो अठोटमा लिम्बू सांस्कृतिक चेतना बोकेर आएको छ । जुन चेतना नेपालको बहुल संस्कृति भित्र च्याब्रुङको आवाजले बुलन्द गराउन तम्सिएको यथार्थ यहा उद्घोष भएको छ । साईबरीय भेटको प्रसंगले मुर्तरुप लिएपछि जसका साथ नेपाली हाइकु संग्रह नेपाली पाठक,लेखक,समालोचक,विचारक,चिन्तकहरू माझ पस्कने योजना बुनेका हुन् । जो आज हाङपाल आङबुहाङ लिम्बू आफैं हाइकु बनेर हाम्रो सामु उभिदिएका छन् ।
ख. साहित्यकार हाङपाल आङबुहाङ लिम्बूसँगको सशरीर पहिलो भेट:
साहित्यकार हाङपाल आङबुहाङ लिम्बूसँग सन् २०१४ को जुलाईतिर नै नेपालमा भेट्ने सामान्य सल्लाह भएको थियो । कारणबस वहाँको छुट्टी नमिलेपछि मैले झण्डै डेढ महिनाको नेपालको घर बसाई र गौतम बुद्धको जन्मस्थल कपिलबस्तुसम्म पुगेर हंगकंग फर्किए । उक्त अवशरमा धरान र बिराटनगरमा दुई रेखा कविता विमर्श बारे कार्यक्रम पनि पुरा गरेको थिएँ । हुन त सन् २०११मा पनि रेखा कविता विमर्श दमक,बिराटनगर र काठमाण्डौमा गरिएको थियो । साहित्यकार हाङपालसँग भेट्ने मेरो प्रवल इच्छा थियो तर त्यसबेला जुरेन । तर अचानक म पारिवारिक दु:खमा परें । र तुरुन्तै नेपाल गएर बुवाको दाहसंस्कार साथसाथै काजक्रीया समेत सकेर हंगकंग फिर्ने क्रममा सन् २०१४ सेप्टेम्बर २३ तारिखका दिन धरानको पिण्डेश्वरी चोकमा भेट भयो । आकर्षक व्यक्तित्व भएका साहित्यकार हाङपाल आङबुहाङ लिम्बू मैले सोचेभन्दा बेग्लै भेटें । साहित्यप्रतिको गहिरो अभिरुचि सँगसँगै खेलमा पनि त्यतिकै लगाव राख्ने युवा हुनुहुँदो रहेछ । उनको आट,उत्साह,जागरले ममा समेत नयाँ उर्जा थपिएको अनुभूति गरें। भेटको क्रममा मेरो दु:खमा सान्त्वना दिंदै मलाई बाँच्ने उत्साह थपिदिनु भयो । आत्मीयता भनेकै त यही हो । एकले अर्कालाई बाँच्न आत्मीयता देखाउने नै मानवता पनि हो । झण्डै एक घण्टाको बसाईमा हाइकु लेखन र पुस्तक प्रकाशनको बारेमा छलफल गर्यौं । हाइकु लेखनको प्रभाव मेरो हाइकुसम्बन्धी एक लेख हेरेपछि अँझ प्रभावित भएको कुरा व्यक्त गर्नुभयो । जुन कुराले म ज्यादै गौरावान्वित भएँ । किनकि म पनि हाइकु लेखनको विद्यार्थी हूँ । हाइकु लेखन बाहेक साहित्यकार हाङपालको कलम गीत,गजल र कवितामा उतिक्कै सवल र तेज छ । वहाको रेकर्ड भएको गीत समेत सुन्ने अवसर पाएको छु जुन गीत ” हाम्रो यात्रा” गीति एल्बममा सङ्गृहित छ । नेपाली साहित्य लेखनको नयाँ धार रेखा कविता बारे पनि थोरै चर्चा गरेका थियौं । देशको बारेमा र देशले भोगिरहेको अवस्था बारेमा पनि केही छोटो विमर्श गरेका थियौं । अन्तमा पारिवारिक र घरव्यवहारको बारेमा थोरै भलाकुसारी गरेर छुट्ने विचार गर्यौं । किनभने साँझ निक्कै छिप्पिइसकेको थियो । एउटा लेखक लेखनमा स्वतन्त्र देखिए पनि उसलाई हजारौं दु:खहरूले कुल्चिरहेको हुन्छ ।एउटा लेखक लेखक मात्र नभएर परिवारको सम्पूर्ण पनि हो । यी लेखकको अन्तरवस्तुहरू हुन् त्यसैले त्यो पाठकलाई थाहा हुने कुरो होइन । साहित्यले परिवार मात्र बोकेको हुन्न । वास्तबमा साहित्यले देश समाज र विश्व नै बोकेको हुन्छ । जनजीवनको,विचारको,भावनाको,विकासको भित्रि तह खोतलेर मेरुदण्डको रुपमा उभिदिएको हुन्छ । जीवनको अनेकौं पक्ष साहित्यले बोकी दिएको हुन्छ । यी अनेकौं कुराहरू छलफल गर्दै त्यो दिन छुट्टीयौं । भोलिपल्ट हाम्रो भेट्ने सल्लाह थियो तर समय अभावको कारणले हाम्रो भेट हुन सकेन । म आफ्नो व्यावहारिक समस्याले काठमाण्डौ हुँदै हंगकंग फिरें । अहिले हामीमा स्थानको दुरता भए पनि हरेक दिन जस्तो साईबरीय भेट हुन्छ । यो नै आजको युगको वरदान हो जो हामीले चाहेको वेला साईबरीय भेट गर्न सक्दछौं ।
ग.साहित्यकार हाङपाल आङबुहाङ लिम्बू र च्याब्रुङको आवाज :
हाइकु कविता यो समयको अति नै सुहाउँदो विद्या हो । तर हाइकु कविताका आदिकवि मानिने कवि बासो मात्सुकोले इस्वी १६४४ देखि १६९४सम्म लेखेका थिए । त्यही उनको पदचाप पछ्याउँदै अहिले विश्वभरी हाइकु लेख्ने गरिएको छ । समयको अभाव भैरहेको बेला थोरैभन्दा थोरै शब्दमा एउटा कविता प्रस्तुत गर्नु आम पाठकको लागि अत्यन्तै सान्दर्भिक हुन्छ । यही सन्दर्भलाई साहित्यकार हाङपालले बुझेर हाइकु लेखन र प्रकाशनमा अग्रसर भएका छन् । आम हाइकुका पाठक,समालोचक,अध्येता र लेखकहरूको लागि अध्ययन सामग्री बनेको छ । समयलाई बुझ्न सक्नु वा समयलाई बुझेर आफ्नो लेखनलाई अगाडि बढाउन सक्नु यस हाइकुकारको खुबी पनि हो । हाइकु थोरैभन्दा थोरै शब्द गरेर तीन हरफमा रचना गरिएको प्रकृतिसँग गहिरो सम्वन्ध राख्ने कविता भएकोले प्राय हाङपालको हाइकुहरूमा यही संरचना पाइन्छ । संरचनागत रुपमा हेर्दा पनि ५+ ७ + ५ गरेर जम्मा जम्मी १७ अक्षर मात्र समावेश गरेर सटिक ढङगले लेखिने वा प्रस्तुत गरीने भएकोले पाठकहरूको रोजाईमा पर्छ । थोरै शब्दमा लेखिए पनि त्यसको अर्थ खोज्दै जाने हो भने एउटा उपन्यास बराबर नै हुन्छ । किनभने थोरै शब्दबाट धेरै कुरा बुझ्नु पर्ने हुन्छ । खास गरेर युवा लेखक हाङपालको कलात्मक हाइकुहरू जति अध्ययन गर्दै गयो उति नै बोधगम्य लाग्दछन् । गहिरो अध्ययन र बुझाइ-भोगाइले पनि आफ्नो रचनामा नौलोपन आएको पाइन्छ । वास्तबमा हाइकुले प्रकृति विम्ब वा स्पन्दन बोकेको हुन्छ तर हाङपालले आफ्नो हाइकुमा प्रकृति विम्ब वा स्पन्दन सँगसँगै संस्कृति विम्ब वा स्पन्दन पनि उभ्याउन सफल भएका छन् । यसरी हाइकु लेख्नु उनको कला पनि हो र चुनौती पनि हो । हाइकु लेखनको परम्परा जापानी साहित्यमा १७ शताब्दीमै जापानी हाइकु कविताका आदिकवि मानिने बासोद्वारा थालिएको भएपनि नेपालमा भने प्रयोवादी कविता लेखन सँगसँगै वि.सं. २०१९ सालमा लेख्न थालिएको देखिन्छ । त्यसको निरन्तरता आज आएर साहित्यकार हाङपाल आङबुहाङ लिम्बूले दिएका छन् । हाइकु संरचनागत बनौट सम्वन्धमा नाकामुरा कुसाताओको “हाइकु न्यमोन”लाई आधार मान्दै ५+ ७ + ५ गरेर जम्मा जम्मी १७ अक्षरमा लेखिने कवितालाई हाइकु मानिंदै आएको छ । तर ५+ ७ + ५ अक्षरमा नभए पनि हाइकुमा हुने काव्यात्मकता भयो भने त्यो हाइकु नै हो । संरचनागत बनौट सम्वन्धमा पनि हाङपालका हाइकुहरूमा कतै खोट देखिंदैन । दर्शनका स्तरमा जापानी र अँझै पूर्वीय प्रकृति सम्वन्धि जीवन दर्शनलाई प्रस्तुत गर्ने भएकोले हाइकुलाई प्रकृति-काव्य पनि भन्ने गरिएको पाइएको छ । यस्तो प्रकृति-काव्य लेखनमा हाङपाल पारङ्गत देखिन्छन् उनका सालिन हाइकुहरूमा । प्रकृतिका अनेकौ विम्बहरू जोड्न र त्यसलाई स्पन्दित गराउन उत्तिकै माहिर छन् । हेरौं उनका हाइकुहरू ।
आधा चन्द्रमा
चुहुने छानोबाट
मलाई हेर्छ
यो हाइकुमा गरिबीको कथा पनि छ त्यो सँगसँगै प्रकृतिको स्पन्दन पनि पाइन्छ । चन्द्रमा प्रकृति हो जसको उज्यालोले चुहुने छानो भित्र बसेको मानिसलाई स्पर्श गर्दा मानिस आनन्दित बन्छ । गरिबीको कथामा प्रकृतिको उपस्थितिले गरिबी छायाँमा परेको छ । त्यसकारण आधा जूनले मानिसको सोच वा विचारलाई मोडी दिन्छ वा दिएको छ ।
हावामा उड्ने
सिमलको भुवामा
आशाको दाना
यो हाइकुमा एकदमै गहिरो अर्थ प्रकृतिको स्पन्दनमा भेटिन्छ । हावासँग उड्ने सिमलको भुवामा आशाको दाना देख्नु कविको सूक्ष्मदृष्टि हो । किनकि त्यो भुवामा निश्चित रुपले दाना हुन्छ । त्यस्तै मानिसको मनबाट उड्ने सिमल जस्तै मनको भुवा उड्दा त्यहा आशाहरू पनि उडेका हुन्छन ।
चिसो मौसम
च्याब्रुङको आवाज
गुञ्जिन्छ झन
यस हाइकुबाट लिम्बू जातिको पहिचान मात्र नभएर संस्कृतिलाई समेत उजागार गरेको छ । यो हाईकुमा प्रकृतिको स्पन्दन त छँदै छ नै त्योभन्दा ठूलो कुरा लिम्बूवानको आवाज बोकेको छ । लिम्बूवानको आवाज जति नै मार्न खोजे पनि झन्-झन् गुञ्जयमान हुन्छ अथवा हुनेछ भन्ने कुरा स्पष्ट गरेको छ । यस हाइकुले संघीयताको पनि बहस गरेको छ । किनकि च्याब्रुङ शब्द राजनीतिक,संस्कृति र जातिहरूलाई सिधै ईङ्गित गर्ने शब्द हो । यही हाइकुबाट लेखकले यस पुस्तक संग्रहको शीर्षक जुराएका छन् । लेखक आफैं लिम्बू भएकोले पनि च्याब्रुङ विम्ब रोजेका हुन् । ५+ ७ + ५ गरेर जम्मा जम्मी १७ अक्षरमा ठूलो बहस उभ्याएका छन् । हरेक लेखकले यसरी बहस उभ्याउनु निक्कै कठिन विषय हो । लिम्बूवानको आवाज बोक्ने हाइकु अरु पनि यस संग्रहमा परेका छन ।
अँध्यारो छैन
सिङ्गापुर शहर
रातमा पनि
साहित्यकार हाङपालको मातृभूमि नेपाल भए पनि उनले आफ्नो कर्मभूमिको वर्णन हाइकुमा यसरी गरेका छन् । आफ्नो रगत पसिना बगाएको ठाउँको निक्कै ठूलो महत्व रहन्छ । परदेशीनुको पीडा पनि छ सुन्दर शहर भएपनि सिङ्गापुर । केही खुशीहरू पनि हुन्छन् पसीनाको मूल्य हातमा पर्दा । जे होस् हाङपालको अन्तरहृदय कर्मभूमि सिंगापूरको स्वरुपलाई रातमा पनि अँध्यारो देख्दैन। यहाँ प्रकृति माथि मानिसले केही हदसम्म विजय गरेको अनुभूति छचल्किएको छ ।
अन्तमा
साहित्यकार हाङपाल आङबुहाङ लिम्बूका यस च्याब्रुङको आवाज हाइकु संग्रहमा सङ्गृहित हाइकुहरू ज्यादै पठनीय छन् । किनभने हाइकुमा हुनुपर्ने काबव्यात्मकता अथवा प्रकृति स्पन्दन हरेक हाइकुमा पाइन्छ । यो उनको मेहनत र उच्च विचारको मूर्तरूप पनि हो । हरेक हाइकुहरू अध्ययन गर्दै जाँदा दु:ख,सुख,माया प्रेम, पीडा,देश,राजनीति र परदेश समेत जोडिएर आएको पाइन्छ । मानवीय संवेदनाले भरिपूर्ण हाइकु पाठक,समालोचक,अध्ययन,अनुसन्धानकर्ताले यस संग्रहबाट भरपूर फाईदा,शिक्षा र आनन्द लिन सक्छन् । यो जटिल समयको मागलाई पूरा गर्दै हाङपालले नेपाली साहित्यमा अर्को नयाँ ईट्टा थप्ने शुभ कार्य गरेका छन् । उनको उर्जावान हाइकुहरूले उत्साह र हिम्मत थप्ने काम गरेको छ पाठकको मस्तिष्कलाई । यो ज्यादै सराहनीय काम हो । त्यसैले यस्ता युवा लेखकहरूलाई समाजले अघि बढ्न हातेमालो गर्न जरुरी छ र देशले र पहिचान गरेर सम्बोधन गर्न आवश्यक छ । तब मात्र नेपाली साहित्यले नयाँ स्वरुप पाउने छ । नेपाली साहित्य लेखनमा हाइकु लेखनको ईतिहास त्यति पुरानो छैन र पनि यसको लेखन विकास नेपाली साहित्यमा तीब्ररुपले भैरहेको छ । साहित्यकार हाङपाल आङबुहाङ लिम्बूका हाइकुहरू विशिष्ट खालका छन् । उच्च भावका हाइकुहरू अध्ययन गर्दा कतै बिसाउन मन लाग्दैन । एकपछि अर्को हाइकुको स्वाद लिइरहन मन लाग्छ । यस्तो हाइकु लेख्न सक्नु हाङपालको उच्च चेतना प्रयोग गर्न सक्नु हो । नेपाली साहित्य लेखनको हाइकु विधाको लेखनमा यो च्याब्रुङको आवाज हाइकु संग्रह प्रकाशन गरेर छुट्टै पहिचान बनाएका छन हाङपालले । आगामी दिनहरूमा पनि निरन्तर हाइकु लेखनमा पाईला बढिरहोस् भन्ने कामना गर्छु । निरन्तर हिडियो भने मात्र गन्तव्यमा पुग्न सकिन्छ त्यसरी साहित्यकार हाङपाल आङबुहाङ लिम्बूको लेखन यात्रा गन्तव्यसम्म पुगोस् । कहीं बाधा अड्चन आए पनि नरोकियोस् यो यात्राको लागि हार्दिक शुभेच्छा प्रकट गर्दछु । धन्यबाद!
भूमिका लेखक: वरिष्ठ साहित्यकार टंक सम्बाहाङ्फे
साभार: मेरो ” च्याब्रुङको आवाज” हाइकु संग्रहको भूमिकाबाट

लाै असल लाग्याे ।
लाै असल लाग्याे ।
धन्यवाद होम सर!
धन्यवाद होम सर!