जलवायु तथा मौसम विज्ञानको भबिष्यबाणीमा आज पानी को थोपै पर्ने उल्लेख थिएन तर मध्यान्न हुँदा नहुँदै पानी ओईरिन थाल्यो । फतमालाई के थाहा यसरी पानी पर्ला भनेर ।
‘विश्वासै नहुने भयो अब रेडियो नेपालको ।’ फतमा एक्लै बोल्न थाली ।
जुठेल्नोमा हिजो रातिदेखिकै भाँडा छोडेर आएकी थिई ऊ टुँडिखेल । आज टुँडिखेलमा कस्को सवारी छ उसलाई अँझै थाहा छैन । सबैले स्वस्ति गर्न पुग्नै पर्ने उर्दि थियो । छिमेकीले भनेपछि मात्र उसले आजको उर्दि बारे थाहा पाएकी थिई । उसले रेडियो नेपालको त्यस्तो उर्दी सुन्न कसरी छुटाई । ऊ आफै रनभुल्ल छे ।
पानी नथामिने गरी पर्न थालेपछि उसले स्वस्ति नगरी नै फर्किने बिचार गरी । उसको जिउमा पोहोर पोईले हाल्दिएको चौबन्दी चोलो, त्यसको पनि एउटा तुना चुँडिएर तिनबन्दी चोलो भएको थियो । र ठाउँ ठाउँ फाटेको टेलिकोसाको धोती मात्र थियो । धोतीको टुप्पोमा सानो गाँठो थियो ।
तुना चुडिँएकै दिन होला उसले त्यो गाँठो ‘सराप्नेको घाँटीमै अड्किजाओस् भनेर’ बनाएकी थिई । हो त्यति नै बेला चुडिएको तुना त्यसै भित्र पोको पारी राखेकी थिई । पानी बढ्दै गयो । ऊ हस्याङ फस्याङ गर्दै डिल्लिबजारको उकालो चड्दै गर्दा कुर्कुच्चा फाटेको चप्पलको फित्ता चुँडियो ।
धोतीको गाँठो फोई र चुडिएको चौबन्दीको तुनाले चप्पलको फित्ता टुनुक्क कसि । उसले यो काईदा केटाकेटी हुँदै सिकेकी थिई । फाल्नु पर्ने तुना जोगाई राखेकोमा आफ्नै बुद्धिलाई स्वस्ति गरुँ गरुँ लाग्यो । त्यतिनै बेला उसलाई बिस्मात पनि भयो । स्वस्ति नगरी फर्किएकोमा ।
‘तर.. ह्या… कोसलाई गर्नु पर्ने नै थाहा थिएन । ठिकै भयो ।’ फतमा फेरि मनमनै बोली ।
फतमाले रेडियो खोली । रेडियो स्याँईयँ… गर्दै थियो । रेडियोको प्रशारणनै सुरु हुने बेला भएको थिएन निकै बेर स्याँईंयँ …. नै गरिरह्यो । एकै छिनपछि उसले सधैं सुन्ने आवाज सुनि । समाचार बज्यो । उसले यो समाचारलाई अलि ध्यान दिएर सुनि ।
‘सुराकी गरेको आधारमा आतंकवादीको एउटा समुहले हिजो एक अधबैंसे आईमाईको हत्या गरेको छ ।’
उसलाई हिजोदेखि रेडियोको विश्वास लाग्न पनि छोडेको थियो । किनकि पानी नपर्ने सुचना आए पनि पानी परेको थियो ।
उसले हिजो छोडेको जुठेल्नोको भाँडा सम्झिई र ढोकाबाट निस्कनै थाल्दा सोची ।
‘यो आतंकवादी भनेको को होला ।’
दैलोबाट एउटा खुट्टा बाहिर पर्नासाथै ऊ झसँग भई । फुत्रुक्क खुट्टा गले उसका । फ्यात्तै भुईमा थचारिन पुगि । एकाबिहानै आँगनमा मान्छेको हुल थियो । फतमाले आफ्नो लास आँगनमा पछारिएको देखी । ऊ रुन पनि सकिन । बिस्तारै आफ्नो लास छेउ पुगी र यताउति पुगेका चप्पललाई जोडी बनाएर खुट्टामा हुाली ।
फतमा नमज्जा मानेर आफ्नो लाश नियाल्दै सोच्दै छे ।
‘साँच्चै यो आतंकवादी को होलान् है !’
