SajanRaiUpechhit


एक जना साथीले पठाएको एसएमएसले म नमस्तक भए। उसले प्रयोग गरेको शब्दहरूमा मैले “हो र?” भन्नै सकिन । कलेजो नै घाँटीमा आएर अड्के झै भयो, सपना या बिपना के हो ? आफैलाई चिमोटेर जान्न चाहे पनि । अचम्म कान्सिरी तात्तिए आँखी भौं उचालिए। २१डिग्रीको एसी को तापक्रमभित्र पनि म पसिना पसिना भएछु । मेरो अनुहार कालो निलो भएर अँध्यारिएछ। अल्छीले हाइ हाइ काढ्दै काम गर्ने मलाई त्यस बेला ११० भोल्टको झड्का लगेको थियो दिमागमा।

आफ्नै अघिल्तिर बसेको म्यानेजरको Are you ok? प्रश्नले पो म झसँग भए। छेउमै राखेको मसाफी टिस्यु पेपरले अनुहारको पहिना पुछ्दै “Yes Sir,I am Ok” संयमता भित्र सम्हालिने प्रयास गरे मैले । तर आफू भित्र परेको पीर ब्यथा शंका माया डर जलन आदि इत्यादि कुराहरूलाई लुकाउने ठाउँ हुँदैन। सायद मलाई पनि त्यही भएको थियो त्यो बेला । मैले जति लुकाउन खोजे पनि मेरो निराशामा धमिलिएको अनुहार र मेरो काम गर्ने शैलीमा आएको परिवर्तनले उसलाई सञ्चै छ भन्ने विश्वास भएनछ।

फेरि पनि दोहोर्याएर सोध्यो, “नढाँटी भन तिमीलाई केही त भा छ,” खै कसरी बुझ्यो कसरी पढ्यो मेरो मन भित्र परेको हुरी बतास र चट्याङहरू । “तिमीलाई सञ्च छैन भने हस्पीटल जाऊ ।”

यसपल्ट मैले दाउ पारेर भनेँ, “सर एक्चुल्ली मलाई हिजोदेखि टाउको दुखिरहेको थियो । तर अहिले आकास्मात बढ्यो फेरि । यसो गर्छु १/२ वटा पानाडोल लिएर कन्फेरेन्समा गएर आधा घण्टा आराम गर्छु त्यहाँ देखी नि भएन भने म हस्पिटल जान्छु ।”

“ओके, त्यही गर न त ।”

बस मलाई भयो हुरुरु कुदेर कन्फरेन्स हलमा गई ढोका बन्द गरेँ र सोफामा पल्टिए । हतार हतार मोबाईलमा फेसबुकदेखि नै काठमडौ हुने भाइलाई एसएमएस गरे र सोधेँ, “सन्ध्या मरेकी नै हुन ?”

“हो दाइ, हिजो बेलुकी टिचिङ हस्पीटलमा मरेकी हुन । आज हामी मलामी गरेर अहिले आईपुगेका हौ ।”

“ए,” प्रतिउत्तरमा मैले यति मात्र लेखेँ ।

मनभरि सिनेमाको पर्दामा आएका दृश्य झै उनीसँग कुराकानी गरेका क्षणहरू एक अर्को गर्दै फटाफट आए । ३/४ दिन पहिला नै स्काइपमा घ्याम्पो जत्रो पेट देखाउदै भन्दै थिइन, ”साजन महिला भएर जन्मिनु सबैको हेला हुनु रैछ। मेरो मन मुटु आत्माविश्वास पुरुष सरह नै छ । तर पनि म हेपिन्छु पेलिन्छु समय समाज र त्यसभित्र बाँधिएका संस्कारहरूको लहराले । प्रत्येक रहर र सपनादेखिलिएर संघर्षको पाइलामा-पाइलामा बार लाग्छ हामी महिलाहरूको लागि । भगवानले दिएको हात खुट्टासँगै म यस्तो आँट साहस र प्रेरणाको बातावरण सृजना गर्छु, ताकि मेरो छोरीलाई दुनियाँले वाह-वाह गरोस् । मेरो छोरी बाटोमा हिड्दा झुकेर हिंड्नुको सट्टा सारा दुनियाँले उसको काम कर्तव्य र व्यवहारलाई झुकेर सलाम गरोस् । संसारले देखोस् संसारके चिनोस । भोलि यो पुरुष प्रधान समाजमा महिलाहरू पनि पुरुष सरह हरेक क्षेत्रमा समान छन भन्ने प्रेरणा मिलोस्।”

“ए हो ?”

“भनेसि तिमी तिम्रो छोरीलाई तेरेस्कोभा, जुन्को तावेई, फ्लोरेन्स नाइटिंगेल बनाउन चाहन्छौ हैन त ? जसले जोखिम मोलेर भए पनि आफ्नो सामर्थ्यलाई दुनियाँमाझ देखाओस् । ठिक तिम्रो सोचाइलाई मेरो पनि सलाम छ । तर छोरो भए नि त के गर्छौ ? पहिला लिङग परिवर्तन गर्दिने र छोरी बनाउने ?”

बल्ल बल्ल तँबाट तिमीमा सरेको थियो हाम्रो बोलचाली । नत्र हामी जहिल्यै तँ तँ र म म कै शब्द प्रयोग गर्थ्यौं । म उसको कुरालाई कहिल्यै अँ हो ठिक भनेर समर्थन गर्दिन थिए । किनभने हाम्रो स्कुले जीवनदेखि नै यस्तै पैंठोजोरी चल्दै आएको थियो । र मेरो जिन्दगी पनि यस्तै चलिदिन्छ कि मैले मैले जे सोच्यो त्यो पुरा हुँदैन । अँझ बिचबिचमा यस्तै समस्याको पर्खाल उभिदिन्छ कि जसले कहिल्यै लक्ष्य र गन्तव्यलाई पुरा हुनै दिदैन ।

“बज्या!” उनीले बोल्ने ठुलो गाली नै यही हो ।

यसपल्ट पनि उनले त्यही गालीलाई प्रयोग गर्दै भनिन्, “बज्या, छोरीको बिहे गर्ने बेला भइसक्यो बुद्धि आउँदैन तिम्रो । कहिल्यै सिधा र गहिरिएर कुरा गर्न जानेनौ है । खाली उपपट्याङ कुरा गर्यो बस्यो धन्न सिताले मन पराईछे म हो भने ।”

“के ड्यास ड्यास दिएको ? म हो भने त झन कति माया गर्थे भन्न खोजेको हो ? मेरो माया पाउन त निधारमा श्री लेखेर आउनु पर्छ पिचिरी लेखेकोले पाउँदैन, हे हे हे,” मैले थपेँ।

“ई…… माया त उही हो, तिमीहरू बिहे गरेको १४ वर्ष भयो । हाम्रो भने तीन वर्षमा नै हाम्रो सम्बन्ध टुट्थ्यो भन्न खोजेको।”

२०५७ – २०७१ । ओ माइ गड मैले बिहे गरेको नि साँच्ची १४ वर्ष बितिसकेछ । एउटा युग खाएझैँ महसुस गरे मैले यो बेला । तर पनि उसको छेउमा मैले मजाक गरेरै भनेँ, “ठिक कुरा । धन्न तिमीले सोझो श्रीमान पायौ । नत्र तिमी जस्तो छोरो मान्छेले झै बाँसुरी मादल बजाउदै नाच्दै हिंड्ने आईमाइलाई कसले मन पराउँछ ? साँच्ची हाम्रो सम्बन्ध तीन वर्षभन्दा लामो जाँदैनथ्यो मलाई पनि यस्तो मान्छे मन पर्दैन ।”

“बाँदरलाई संगीतको राग र धूनको बारेमा के थाह त ! बरु बिष बोकेको सर्प संगीतमा लठिन्छ ।”

झ्याम्म दाहिने गालामा झाप्पु परे झै महसुस गरेँ कान नै रिनिनिनिन्न हुने गरी । यसपल्ट म नराम्ररी हारेँ । त्यही भएर पनि होला धेरै रहर सपना र संघर्षको कहानीहरू भनेको थिएँ मैले । सुरक्षित मातृत्वको बारेमा, मैले मेरो सन्तान जन्मिदाको अनुभव र गाउँघरमा भोगेको अनुभवहरूलाई खुलेर जानकारी दिएको थिएँ। सायद मभन्दा धेरै नै जानकारी हुनुपर्छ क्यारे उनलाई डाक्टरले दिएको मितिभन्दा ४ दिन अगाडि नै अस्पातलमा भर्न कुरा गर्दैथिन् । त्यो भेट एक हाँसी मजाकभन्दा बढी आ-आफ्ना जीवन भोगाइ र अनुभव साटासाट साथै बधाई दिनमा नै हाम्रो समय खर्च भएको थियो ।

***************************

विद्यार्थी जीवन पछाडिको हाम्रो भेट पनि अचम्मको छ :-

“फोटो हरायो” लेखिएको तस्वीर राखेर अर्चना नाम गरेर फ्रेण्ड रिक्वेस्ट गरेकी थिई असेप्ट गरुँ कि नगरुँ, दोधारमा परेँ । वास्तविक फोटोहरू कुनै नै थिएन । अँ सेलेब्रेटीहरूको फोटो भन्ने टन्नै थियो एल्बमभरि । वालमा गएर हेरे Good morning frenzz र Good Afternoonभन्दा अरु कुनै स्टाटस नै थिएन । फ्रेण्ड लिस्टमा एकाध मैले चिनेका साथीहरू बाहेक अरु अपरिचित मुहारहरू मात्र थियो । मैले चिनेको साथीहरूलाई यो को हो भनेर म्यासेज पठाएर सोध्नु पनि के दु:ख । एउटै मान्छे चिन्नलाई नै जस्तो लाग्यो । जे सुकै होस् रेक्वेस्ट कन्फर्म गर्दिए।तुरुन्त Thanks टेकेन्द्रको एसएमएस आयो ।

हैन को हो यो ? को रहेछ मलाई चिन्ने ? मेरो मथिङ्गल हल्लियो। आ, जो सुकै होस् नदुखेको टाउको किन चोयाले बाँधेर दुखाउनु ? प्रतिउत्तरमा मैले WC मात्र लेखिदिएँ ।

समय यसरी नै बित्दै रह्यो बिचबिचमा Miss you sajan को एसएमएसहरू आउथे मैले पनि same 2 u प्रतिउत्तर दिन्थे। ड्युटीमा फेसबुक बन्देज गरिएको हुँदा ढुकेरै चिनजान गर्ने समय र अवसर थिएन मसँग । अफलाइनमा एसएमएसहरू आदन प्रदान भइरहे । मैले तिमीलाई चिन्न सकिनभन्दा म तिम्रो क्लास फ्रेण्ड हो भन्थी । अब मेरो ब्याजमा ३०/३५ जना त केटीहरू नै थिए होलान त्यही माथि पनि २०५८ सालको रेगुरल हामी । पढाई छाडेको नै १२/१३ वर्ष भइसक्यो।यत्रो लामो समयवाधीमा मैले कसरी चिन्ने त्यो पनि बिना तस्वीरको नक्कली नामको आईडीबाट । मैले पहिचानको लागि धेरै खोताल्ने प्रयास गरेँ । तर प्रेतिउत्तर एउटै मात्र आउथ्यो Guess Me!

संयोगले एकदिन अनलाइनमा भेट भो । मैले भिडियो कलिङ बटम दबाइदिएँ। उतादेखि एसेप्ट भएन निरास भएर दरो एसएमएस पठाइदिएको त मोबाइलमा पो एसएमएस आयो, “म अहिले बिजी छु एकछिन् पछि कल गर्छु ल!”

“आम्म्म्म्मा, हैन को रहेछ यो मान्छे जसले मेरो मोबाइल नम्बर पनि जान्दछ ?” कौतुहलले मन मुटु मडारेर लाग्यो एकछिन ।

नभन्दै कल आयो – Answer with video call को निलो बटम क्लिक मात्र गरेको थिएँ, फ्याट्ट मान्छे, तेरीमा लैजाने ! हो त रहेछ त मेरै सहकक्षी, अल्लो पल्लो गाउँको मित्र, बाटो आउँदा जाँदासँगै हिंड्ने साथी ।

“साले ! फोटो राख्नु रक्दैनस्?” फुत्त गाली छुट्यो पहिलो वचनमै मेरो ।

“के भो त चिन्न त चिनिस् नि,” खितितितित्तितितिती हाँसो छाड्दै बोली ।

“चिने नि त चिन्न त, तर चिन्नुभन्दा अगाडि आधा मासु बनाइस् मलाई ।”

“हो र ? ठिक भएछ कमसेकम आधा मासु घटेर पहिलाको जस्तै भएछस् । यता सुन्, चैत्र वैशाखको हुरीबतास चल्दा भने डाँडातिर ननिस्कनु यदाकदाचित निस्किनु परेमा पेन्टको गोजीमा १/२ केजी को ढुङ्गा बोकेर निस्कनु नत्र उडाएर बेपत्ता पार्ला र घरपरिवारहरूले प्रहरी चौकीमा ‘मानिस हराएको सुचना’ भनेर निकाल्नु पर्ला हे हे हे ।”

“चुप लाग् डल्ली ! मेरो भाग नि तँ मोटी भाकी छस् किन मेरो चिन्ता गर्छन् ? कमसेकम म हराए नि तँ त हराउनु पर्दैन अनि कहाँ छस तँ ?” अब पो सोधिखोजी शुरु भयो हाम्रो ।

“काठमाडौंमा ।”

“के खानु आइस? त्यो खाल्डोमा स्वर्ग जस्तो हाम्रो संखुवा-सभा छाडेर । महगी, लोडसेलिङ, बन्द र अरु अरु आभाव चाख्नलाई ?”

“मेरो रहरले भो त ? घर-मालिकहरूको जहाँ हुकुम हुन्छ त्यही चल्नु परेन त ?” उसले विवशता बताई ।

“कुरा ठिकै हो अनि कहाँ बिहे गरेको नि ?”

“नजाने जस्तो नबोल है अरुण पारी हैन कि के हो ।”

“मलाई के थाह र तेरो बिहे खान मलाई बोलाइस् र ?”

“तँलाई नबोलाए पनि तेरो मामा-मामलासम्म त निम्तो थियो नि, भने होला त बहिनीहरूले !”

“तेरो बिहे हुँदा म कहाँ त्यहाँ थिए र ? मैले एसएलसी सकेपछि मामाघर बसेँ, अनि कसरी थाह हुन्छ मलाई ?”

“ए साँच्ची त!” यहाँ उनको सोचाइ फेल खायो ।

“अनि के छ दुबइको खबर कति भयो तँ गएको ?”

“८ वर्ष भयो यार ।”

“धेरै भएछ, पैसा त टन्नै कमाइस होला नि ?”

“हो कमाए नै भन्नु पर्ला । तर जमाउन सकेको छुइन ।”

“के हो ? फिलिपिना लिएर बसेको छस् कि के हो ? सबैले तेरो कमाइ ठिकै छ भन्छन ।” उनको कटाक्ष प्रश्न ममाथि बज्रियो ।

“हो त नि । तर दुबइमा हैन खाँदबारीमा ।”

कुरो बुझिछे, ऊ चुप भई ।

“अनि म दुबइ हो भन्ने कुरो र मेरो मोबाइल नं कहाँदेखि पत्ता लगाइस् नि ? कि ध्यान राख्छस् कि हो मेरो ? पहिला त वास्ता गर्दिन थिइस् त !” छड्के हाने मैले ।
समग्रमा परदेश हुने छोरा मान्छेहरू यसरी नै स्त्री जातीहरूको पछाडि लाग्छन ।

“तँलाई ! मेरो श्रीमान हुँदा हुँदै तैले कौडीको भाउ पनि पाउदैनस् । तेरो नं र काम गर्ने ठाउँ जान्नलाई के खोजतलास गर्न पर्छ र ? तैले नै काम गर्ने ठाउँ मोबाइल नंम्बर फेसबुकको प्रोफाइलमा टाँसेपछि ।”

यसपल्ट मेरो सोचाइले फेल खायो ।

त्यहाँदेखि हामी प्रत्येक हप्त जस्तो गफ गर्थ्यौ उता संखुवासभामा मेरो घर परिवारसँग पनि संपर्क गर्थी । मैले पनि उनको श्रीमान, जो साउदीमा हुनुहुन्थ्यो, सँग फेसबुकमा ग्रुप च्याट गरेको थिएँ । समग्रमा हामी नजीकको परिवार जस्तो भएर बसेका थियौं । बिचबिचमा अफलाइन एसएमएसहरू पनि हुँदै नै थिए । पहिलाको विद्यार्थी जीवन र अहिलेको हाम्रो जीवन निकै खारिएछ । समय, भोगाइ, परिस्थितिहरूले हामीलाई जिउनुमा पारंगत बनाउदै लगेको रहेछ । धेरै घर-व्यवहारको कुरा हुन्थे। आफू र आफ्नो वास्तविक भोगाइ र अनुभवहरू साटासाट गरिन्थ्यो । खाँचो गाह्रोका कुराहरू टाराटार हुन्थे । भविष्यको खाका कोर्नमा एक अर्कामा सररल्लाह लिन्थ्यौ हामी । साँच्चै हामी एउटा असाल साथी थियौं, एउटा असल छिमेकी भयौं, जसले हर सुख सुखमा साथ दिन्छ ।

*****************

उनको विगत देख्दा अचम्म लाग्छ मलाई अँझै पनि । पहिलो त, बोली मकै पड्के जस्तो पटटटटटटटट । मुख बन्द गर्दिए आँखा र कानदेखि बोल्न शुरु गर्ने । खराब या राम्रो बानी चित्त नबुझेको कुरामा तीन दिनको माना चामल बोकेर नै बहस गर्न थाल्थिन् । अचम्म, उनको अगाडि मास्टरहरू पनि थाक्दथे । मलाई कक्षा ६ पढ्दाको याद अँझै ताजै छ। पृथ्वी घुम्छ र दिन रात हुन्छ भन्दा “सर पृथ्वी घुम्ने भए मेरो घरको ढिका किन २४ सै घण्टा पूर्वको पूर्व नै हुन्छ त ?” गरमागरम बह्स हुँदा हुँदै अर्को घण्टी लागेसि शिक्षकले “ए यसलाई कसैले सम्झाइदेओ न सप्पैले बुझेको कुरा यिनले किन बुझ्दैन?” भन्दै निस्केको कुरा अहिले नै जस्तो लाग्छ । दोस्रो कुरा, उनी बडो आँटी थिइन्, छोरा मान्छेको जस्तो मन बोक्ने । झ्वाँक चलेसि छोरा मान्छेसँगै झगडा गर्न तम्सिन्थिन् पाखुरै सुर्केर । एउटा कमजोरी थियो उनको हरेक सामनहरू भने अस्तव्यस्त हुन्थ्यो। चिटिक्क भएर कहिल्यै हिंड्न जानिनन् । गुजुमुज्ज परेको गुन्द्रुके कपाल, उनको ध्वाँसे कहिल्यै गालामा लगाउने गालामञ्जन (फेयर & लब्ली) देखिन । बजारमा पाउने अनेक थरीको सुगन्धित र बास्नादार तेल उनको केशमा कहिल्यै भेटिन मैले । जहिल्यै तोरीको तेलको बास्ना आउथ्यो ख्याल-ख्यालैमा मैले भन्थेँ “तँले आमालाई साह्रै रुखाउने रहेछस्, भान्सामा तीन छाक पुग्ने सबै धारा तोरी तेल त खान्याइस कि के हो तेरो कपालमै ? परपरै गनाउछ त ।”

“तँलाई के भो त ? स्वास्थ्य केयर गर्छु म तोरीको तेलले टाउकोको चिसो सोस्छ । यसमा मलाई अरुले जे सुकौ भनोस्।”

मलाई थाह थियो उनको परिवार निम्न वर्गको नि हैन जसले यस्ता चीजहरू किन्नै नसकोस् । यो देख्दा भने मलाई भान हुन्थ्यो कि यो केटी सिम्पल लिभिङ हाइ थिन्किङ कै हो। तरै पनि म मजाक गर्दिन्थे किनकि मलाई उनीसँग जिस्किनु सारै मज्जा लाग्थ्यो । म भन्दिन्थेँ, “भान्सा भने नमीठो बनाउने भइस् हे हे हे हे ।”

“के रे के रे तँलाई त!”

सायद जित्न नसकेर होला बनमारा वा हाबेको सिर्कुना भाँचेर मलाई कुट्नलाई लखेट्थिन् । यसरी नै भागाभाग र दौडादौडीमै विद्यालय पुग्थ्यौ। यसै क्रममा हामी शिक्षकको हप्काइमा परेका थियौ ।

बस निहुँ यही थियो :- शुक्रबारको दिन थियो अतिरिक्त कार्यक्रम सकेर हामी घर फर्कदै थियौ। बाटोमा कुरा उनैले निकालिन्, “ओई लक्स साबुनले टाउको नुहाएर पुरै पखालिनस कि के हो तेरो टाउकोमा लक्स साबुनको बास्ना आउँदैछ नि ।”

म पनि के कम ? भन्दिएँ, “तेरो बाबियोको जस्तो लामो कपालमा पो साबुन रहन्छ कि भन्नु । मेरो त चार इन्चको छ त्यहीमाथि पनि जोर धाराको पानीले पखालेपछि के को नजानु ? नाक त कडै रहेछ बास्ना पो कसरी पत्ता लगाइस् ? नाकभरि सिंगान बोक्छस् ।”

यति भन्दिएको मात्र के थिएँ सिँ….. गरेर भाए-नभएको सिंगान निकालेर “ल त ल” भन्दै मेरो सर्टतिर हुईक्याइदिइन् ।

तर्किँदा तर्किँदै पनि उनको सिँगान मेरो दाहिने बाहुलामा हुत्तिएर टाँस्सियो। चौतारीमा भेला भएका सबै स्कुले विद्यार्थी साथीहरूले चौतारै उचालेर हाँसिदिए । आफू भने रिसले आँखै देखिएन ।

“छि………, पख !तेरो सिँगान तेरै हातले नपुछी कहाँ छाड्छु र!” मैले उनलाई कुदाउन थाले ।

“दिलु …….! मेरो किताब ल्याइदे है,” भनेर उनी बतास दगुर्न थालिन् ।

म पनि उनलाई पछ्याउदै हात्तीछाप चप्पल पट्याक-पट्याक पड्काउदै कुदेँ । अचम्मकै थिइन्, म पुरुष उनी महिला । फेरि पनि मैले मैले त्यो दौडमा उनलाई भेट्टाउन हम्मे हाम्मे नै परिरहेको थियो । अरु साथीहरूलाई छाडेर हामी १००/१५० मिटर टाढा पुगिसकेका थियौं । बाटो खोल्सा खोल्सीको थियो । अलि चिप्लो र खाल्डाखुल्डी पनि । दौडदा -दौडदै आइया भनेर थुचुक्क बसिन् । मेरो रिसको पारो शुन्य भएको थिएन, उनैको हात तानेर मेरो बाहुलामा लागेको सिंगान पुछ्ने प्रयासमा थिएँ । उनी भने खित्ता छाड्दै हात नदिने अड्डी कस्न थालिन् । मेरो बल र उनको बल कहाँ मिल्थ्यो र ? तरै पनि ठेलाठेल र तानातान चल्दैथ्यो।

“ओई तिमीहरू यो के गरेको हँ ?”

कसैको बोलीले हाम्रो ध्यान भंग भो । फर्केर हेरेको त हामीलाई पढाउने शिक्षक नै पो तल्लो गाउँदेखि खसी किनेर त्यही बाटो आउँदै हुनुहुदो रहेछ । तुरुन्त हामी सम्हालियौं।

“पख! तिमीहरू दुवैलाई भोलि म विद्यालय अफिसमा उपर्थित गराउछु। बाटोभरि यसरी चल्दै हिंड्नुहुन्छ समाजले के भन्लान् ? चन्दनपुरको विद्यार्थीहरूको चर्तिकला भन्दैनन् ? तिमीहरूले हाम्रो विद्यालयको नै बैज्यात हुने काम गर्दैछौ ।”

“सर अक्चुल्ली ….”

“चुप!” मेरो बोली सक्न नपाउदै शिक्षकको हप्काइले मेरो बोली नै अड्कियो। मैले सन्ध्यातिर हेरेर उनलाई बोल्न अनुरोध गरे । उनी त झन सुक्क सुक्क पो रुन थालिन्। गुरुलाई झन शंका लागेछ क्यार ।

“पख्, तँलाई पुलिस नै लगाउछु । तैंले के गर्न खोजेको यो नानीलाई ?” भन्दै ममाथि नै पो झम्टन थाले।

म झन असमनजस्यमा परेँ । मैले भने मेरो कुरै सुन्नु हुन्न नभनुँ साथी पनि रोइरहेकी छे । हे भगवान्, धन्न अरु साथीहरू त्यही बेला आइपुगे। साथीहरूले बेली बिस्तार लगाएपछि मात्र शिक्षकले सन्ध्यातिर फर्केर “हो ?” भनेर प्रश्न गर्नु भो । उनले पनि “अँ” भन्दै मुण्टो हल्लाइन् ।

अर्को साथीले प्याच्च बोल्यो, “ए अघि सन्ध्याले फ्याँकेको सिंगान त साजन दाइको बाहुलामा अँझै रहेछ है।”

यसो हेरेको मेरो दाहिने बाहुलामा सिंगान सुक्न लागेको रहेछ । मैले तत्काल धुस्रेको पालुवा भाँचेर आफ्नो बहुलामा लागेको सिंगान सफा गरेँ ।

“ल जाओ । तर यसरी सीमा नाघेर कहिल्याउ नचल्नू ।”

शिक्षक खसी तान्दै आफ्नो बाटो लाग्नुभयो । हामी पनि हस सर भन्दै चुपचाप सरासर आफ्नो बाटो लाग्यौ ।

“ओई पर्खी न आईया,” फर्केर हेरेको सन्ध्या जहिको तही पो रहिछन्।

“हैन तँलाई त साजनले साँच्चै दल्यो कि के हो ? के भो हलचल नै गर्दैनस त !”

फेरि खोल्सा उचालियो हाँसोको फोहोराले ।

“नकरा मोरी हो । आफ्नो भने खुट्टा मर्किएर हिंड्न भा छैन।”

“खाइस्… खुच्चिङ, त्यसो र खराब काम नगर्नू,” काखी बजाउने पालो मेरो आयो ।

“मैले के खराब काम गरे र? चोरेको छैन ढाँटेको छैन ।”

“अम्बो ! बोली सुनौं त अँझै च्वारच्वारकै छ हौ भन्या ।”

साथीहरू गएर उठाएर दोहोर्याए । मैले कुकुर माल्टाको बिरुवा भाँचेर लठ्ठी बनाइदिए । अली पर पुगेपछि आलुबारीमा बारेको सुकेको घोचा बारदेखि तान्दिएँ। तबसम्म छुट्टिने बाटो आइसकेको थियो।

“लु जा है सिंगानी!”

“लौ लौ तँ पनि जा है …! ” यसपल्ट ऊसँग मजाकभन्दा दु:खाइ धेरै महसुस गरे। तिनीहरू ओरालो लागे म तेर्सो लागे।

***************

सन्ध्यालाई सम्झँदा एक पटकको बिगार पनि बिर्सन्न म। विद्यालयदेखि घर फर्कँदा बाटोमा श्रेष्ठ थरका बाजेको करेसाबारीमा सुन्तला लटरम्मा फलेको थियो। हामी त्यही बोटको सुन्तला हेर्दै थुक निल्दै हिड्थ्यौ। किनेर खानु पनि आफ्नै घरमा फल्ने सुन्तला के किनेर खानु हौ भन्थ्यौ । तर विद्यार्थी जीवनको भोग र उपद्र अचम्मको । शुक्रबार दिन हुन्थ्यो हामीले बिझै गर्ने दिन पनि। यस्तै २:३० बजेको हुँदो हो। ६-७ जना साथीहरू घर फरकने क्रममा त्यही बाजेको बगैचा मुन्तिरको चौतारीमा मंसिरको पारीलो घाम ताप्दै बस्यौं । कहिले पढाईको गफ, कहिले कसैको प्रेमकाहनीको चर्चा,कहिले खाँदबारीको स्वागत हाइभिजनमा लागेको फिल्मको कुराले घाम तपाईका मसला बन्थे।

कुरै कुरामा सन्ध्या जुरुक्क उठी र भनी, “लु आज श्रेष्ठ बाजेको बारीको सुन्तला चोरेर खाउँ।”

कसैले हुन्छ भने कसैले हुँदैन भने। त्यसैबिच हामी “हुँदैन” भन्ने नै धेरै भएका थियौं।

“तिमीहरू जे सुकै गर । तर भरे मलाई पनि दिएन भन्न भने पाउने छैनौ है भन्देको छु ।” उनी तात्तिएर उकालो लागिन्, अरु उरन्ठेउलाहरूले पनि पछ्याए।

अन्तिममा साथी मरेको ठाउँमा आफू किन नमर्नु भन्दै म पनि त्यही ग्रुपमा सामेल भएँ । सबैलाई थाह छ श्रेष्ठ बाजेको घरको कुकुर सारै तगडा छ र हमेशा बाजेसँगै हुन्छ। यसो हेरेको बाजे घरमा हुनुहुन्न रहेछ । अब बाजे नै नभएसि बाजेको कुकुर कहाँ हुन्छ र ? मनमनै अर्थ लगाए मैले । म अभी र सुरेश रुखमा चढ्यौं । सन्ध्या र बाँकी हुनेहरूले किताब बोक्ने झोलामा सुन्तला भर्न थाले। यत्तिकैमा बाजेको कुकुर “भौ भौ भौ” गर्दै भुक्दै बगैचाको पल्लोछेउदेखी दौडदै आयो। हे फसाद ! सबै भागाभाग भयौ। हामी तीन जना सुन्तलाको बोटदेखि नै जम्प मारेर भाग्यौं, तल हुनेहरू पनि दगुरे । हामी छोरो मान्छेहरू त छिनभरमा नै चौतारीमा पुगिहाल्यौ। बिचरा सन्ध्या झोला बोकेर दौडदै थिइन् । माथि कुकुरले टोक्नै खोजेको आवाज घरीघरी कुइँया कुइयाँको आवाज नै आउँदै थियो। नभन्दै सन्ध्या आइपुगिन् तर रित्तो हात झोलासँग।

“हैन अघि टिपेको सुन्तला चाहिं खै त ?” प्रश्नहरू उतैतिर लम्किए ।

“ए आफूहरू चाहि गुटुटुटुटु गरेर भागिहाल्ने । यहाँ मान्छेले बाँच्नु परेन ? त्यही भएर कुकुरले टोक्नुभन्दा अगाडि त्यही सुन्तला फर्केर हानेर बाँचे नि । सप्पै झोलाको सुन्तला कुकुर हिर्क्याउदै सकियो।”

हामी सबै हिस्सा बुढी हरियो दाँत भयौ।

भोलिपल्ट श्रेष्ठ बाजेले भन्दै हुनुहुन्थ्यो, “नानी ! चोर्नेले चोरेर पनि मजाले खाए त हुन्थ्यो नि । खानैको लागि पाकेको फलफूल हो । तर बाटै भरी फुटाउदै फुटाउदै फाल्दै गएछ ।”

“च्वा ! च्वा ! बाजे यस्तो मान्छेलाई भेटे त उधोमुण्टो झुण्ड्याउनुपर्ने । कस्तो मान्छे रहेछ खाने खाएर बाँकी फाल्दै हिंडेको !”

“हो नि नानी !” बाजेको कुरा सक्नुभन्दा पहिला नै पछाडिदेखि सन्ध्याले चिरिक्क चिमोटेको अहिले जस्तो लाग्छ मलाई । चोर कमिलाले चिले जस्तो । यस्तै बिर्सनु नसक्नुको हाम्रो विद्यार्थी जीवन ।

**********

सबै विगत अहिले झै लाग्छ। तर ती सब क्षणहरू सन्ध्याको अन्त्यसँगै सबै सम्झनाको सन्दुकभित्र अवशेषको रुपमा मात्र रहने भयो। उनी साँच्चै समय र परिस्थितिको वहावसँगै हामीबाट बिलाइन हराइन एउटा तीतो सत्यको नियमसँगै ।

निशब्द छु म उनको प्राण समाप्तीको खबरले । शुन्यमय अनुभव गर्दैछु । म आफू भने उनको परिवारहरू त झन कति शोकभित्र डुबेका होलान । साजन सर यो बेला मलाई नबोलाई दिनुस् न plz! सँगै काटिएको मोबाइलमा मैले अँझसम्म सहनुभूतिको एक शब्द निकालेर फेरि कल गर्ने साहस जुटाउन सकेको छुइन उनको श्रीमानको लागि । म मेरो कान्छी छोरी स्वस्तिका र माइला भाइ जितेन्द्रले सुटुक्क छाडेर जाँदाकै क्षणहरूसँग अनुभव गर्दैछु बिचरा ! किरण पनि उही मृत्युशोकमा छ । प्रत्येक पल-पलहरूलाई आँश्रुधाराले पिएर जिउदै हिउदै होला जीवन ।

मृत्यु आकाट्य हो । तर पनि उपचार गरेर, धामी-पुझारी लगाएर, पुजा-पाठ र मन मन्दिरमा भाकल गरेर,दा न धर्मको माध्यमले हामी जित्न खोज्छौ । जब दिन आउछ यो सबै कुराहरू असफल बनिदिन्छन । तब यो संसारदेखि यसरी नै हज्जारौ, लाखौं सन्ध्याहरू हराएर जान्छन बिलाएर जान्छन । मर्नु मर्नु नै हराउनु बिलाउनु कहिल्यै भेट नहुनु लुक्नु आदि-आदि। जन्मेपछि मर्नु नै छ कालको बार आजसम्म संसारले नै निर्माण गर्न सकेका छैन । बरु मंगल ग्रहमा यान उतारिसके । अरु के भनौ र आफै आधा कलेजो काटिएको महसुस गरिरहेको छु । मेरो साथी सन्ध्यालाई मेरो सलाम ! मनभित्रैदेखि हार्दिक श्रद्दाञ्जली सहित तिम्रो लागि यही दुई शब्द समर्पण – झम्के गुलेली।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *