केन्द्रीय सत्ता र गुनासो !


ए केन्द्रीय सत्ता !
तिमीसित नगरे गुनासो
कोसँग गरुँ म ?

सन्दूकमा थन्किएको प्रमाण पत्र
उद्धार टोली बन्न सकेन
व्याजमा डुवेको बुवाको जिन्दगी
पोहोर साल दशैंमा गएको सातो
फर्किएको छैन अँझै मेरो ।
अब ! नटालेको कुनै ठाउँ बाँकिरहेन आमाको मनको
अनुमानमा मात्रै भीमकाय लाग्ने हैसियत !
गतिलो बाँध बन्न सकेन
धुलाम्मे बगर भएको आमाको मनको
आजसम्म चलेको मेरो इमान
कामचलाउ अडान बस्न नसक्ने
रोगी बनिसक्यो बन्दगी बजारको ।

ए केन्द्रीय सत्ता !………….

हरेक प्रस्तावहरूमा
पीरा अश्रुग्याँस छोडिरहु मलाई
मरीचझैं चाउरिएका
तिम्रा रहरका रागहरू घोलेर
सत्य ! मेरो आम्दानी
कहिले प्रशस्त हुन सकेन
तिम्रो कानमा झुण्डिने एकजोर रीङ बनेर ।

आन्दोलन भनिस, उर्जा दिएँ
क्रान्ति भनिस, राँको दिएँ
स्वतन्त्रता भनिस, भोट दिएँ
प्रतीक्षा भनिस, समय दिएँ ।

अब दिने केही नभएको म !
भर्खरै टिकट किनेर दिल्ली र सिलोङको
वा भर्खरै भीसा थापेर
खाडी र मलेसियाको
वा बाँकी जीवन मिल्काउन
काठमाडौंका सडक किनारामा
साइत सारेर आँगनमा
फूल चुँडदैछु सपनाको फूलवारीको
यस्तो शुभसाइतमा
ए केन्द्रीय सत्ता !
तिमीसित नगरे गुनासो
कोसँग गरुँ म ?
तिमीसित नगरे गुनासो
कोसँग गरुँ म ?

दीपेन्द्र के.सी.
बागलुङ, हालः लुभेन बेल्जियम ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *