दुख्दैछ यो जिन्दगी, पेल्दा खुराफातले
ज्यादै भयो बगबगी, बाटो भुले मातले
चल्दैन खै वागमा, फूलको कुनै वासना
खोजिरहेँ मगमगी, छोपेछ त्यो पातले
आशा बग्यो भेलमा, खोला सितै रेलियो
खोस्यो सबै जगजगी, औंसी बनी रातले
धोका तथा झूटले, चारै दिशा ढाकियो
दुर्भावछन् रगरगी, दुष्कर्म भो हातले
सातो लिँदै दर्दले, पीडा दियो दिनदिनै
काम्यो शरीर डगडगी, पार्यो चिरा घातले
खोस्यो खुसी लोकले, रित्त्याउँदै चाहना
साह्रै भयो दिल्लगी, बेकारका बातले
(बहरे वसित)
कोमल भट्ट
komalkpbhatta@yahoo.com
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका
