तिम्लाई पनि मलाई जस्तै, परेपछि थाहा हुन्छ
चोटै चोटले दिलमा बास, गरेपछि थाहा हुन्छ
हृदयको सानो घरमा, डेरा गरी बस्ने मान्छे
थाहै नदिई अन्तै बसाइँ, सरेपछि थाहा हुन्छ
परेलीको आँगनभरि, रोदनले जताततै
आँशुको बिस्कुन लगाइ, छरेपछि थाहा हुन्छ
रित्याएर सबै पीडाहरू, खुशी भर्न खोज्दा खोज्दै
पिरै पिरले मन्को प्याला, भरेपछि थाहा हुन्छ
मन्को सुन्दर बगैंचामा, वेदनाको आँधी चली
कोपिलामै रहरका फूल, झरेपछि थाहा हुन्छ
वसन्त दहाल
