गाह्रो छ विश्वास गर्न अहिले —के जमाना त्यस्तो पनि थियो र ? ब्रम्हा, विष्णु र महेश्वर तीनै देवता गुरू नै थिए । बाजेका पालाका त्यस्ता “गुरू” आज हाम्रा पालामा पातलिँदै र खिइँदै गएर यस्ता “शिक्षक”मा रूपान्तरण भएका छन् । अमूल्य ज्ञानदाता र सर्वपूज्य त्यस्ता “गुरू” किन आज यस्ता निरीह र अदना “शिक्षक” भए ?डाक्टर, इञ्जिनियर र पाइलट बनाउँने शिक्षक । हाकिम, प्रशासक, सचिव र मुख्य सचिव बनाउँने पनि शिक्षक ।यस्तै—नेता, सभासद्, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बनाउँने पनि शिक्षक । यो संसारको कुनचाहिँ महामानव शिक्षकको निर्माणबाट अछुतो रहेको छ र ? खोलो तर्यो, लौरो बिस्र्यो : हाम्रो संस्कार । नदी तारिदिने माझीलाई बिर्सने नेपाली मानसिकता !
खरिदारको जागिर छाडेर मा.वि. शिक्षकमा नियुक्ति लिने व्यक्तिप्रति औँला ठड्याउँदै सामाजिक चर्चा र परिचर्चा—“त्यस्तो राम्रो खरिदारको जागिर छाडेर रूखो शिक्षकमा किन गएको होला फलानो !”दुईतहमाथिको पदमा जाँदा किन यस्तो सत्तोसराप ?आजका आईएस्सी र विएस्सीहरू लोक सेवामा खरिदार पास गर्दै धमाधम स्कुल छाड्दै !धेरै स्कुलहरू विज्ञान—शिक्षकविहीन भइरहेछन् । किन यसरी दुई खुट्किला ओर्लिरहेका यिनीहरू ? किन यति साह्रो वितृष्णा शिक्षण पेशाप्रति ?
जापानमा प्रतिभाशाली अब्बल मान्छेहरू सर्वप्रथम शिक्षकमा भीड्छन् रे ! शिक्षकमा असफल हुनेहरू मात्र अन्य सेवातिर प्रयास गर्छन् रे ! फिनल्याण्डलगायतका युरोपेली मुलुकहरूको अवस्था पनि यस्तै हो रे ! किन यस्तो भयो त त्यहाँ ? सेवा—सुविधा, मान—मर्यादा, समाज र राज्यको दृष्टिकोण राम्रो भएरै त हो यसरी शिक्षण पेशातिर आकर्षण बढेको । संसारका कुनै पनि मानिसले “म शिक्षक हुँ ” भनेर परिचय दियो भने जापानीहरू नतमस्तक भएर धनुष्टंकार झुक्छन् रे ! शिक्षकलाई ईश्वरकै प्रतिमूर्ति ठान्छन् रे ! तब पो त्यहाँ मान्छेहरू शिक्षक बन्न हुरुक्कै हुन्छन् । हाम्रै छिमेकी मुलुक भारतमा पनि शिक्षकको मान—मर्यादा अर्कै छ । मान—मर्यादा, सेवा—सुविधा र मूल्याङ्कन उच्च भएका यी मुलुकहरूमा शिक्षकको कर्तव्यबोध र उत्तरदायित्व पनि त्यत्तिकै माथि छ । शिक्षकले सिकाएको नबुझ्दा अर्थात् मन नपर्दा जापानी विद्यार्थीहरूले विरोधस्वरुप आप्mनो ढाड (पिठिउँ) शिक्षकतिर फर्काइदिन्छन् रे ! अनि निरीक्षकको सुझाव अनुसार त्यस्ता शिक्षकलाई सुधारकेन्द्रमा पठाइन्छ रे !केही महिनापछि सुधार भएमा स्कुल नत्र घर फर्काइन्छ रे ! त्यस्ता शिक्षक । कतिपय युरोपेली र अमेरिकन मुलुकहरूमा दायित्व र कर्तव्य पूरा नगर्ने शिक्षकहरूले अलिकति तलमाथि हुनासाथ जागिरबाटै हात धुनु पर्छ रे !
यता, हाम्रो नेपालको अवस्था भने ठिक विपरित छ ।यहाँ त निजामति सेवाको लोक सेवा आयोगमा छिर्न नसक्नेहरू मात्र शिक्षा आयोगको ढोका चियाउँछन् । शिक्षा आयोगको ढोका छिरिसक्नेहरू पनि दुई खुट्किला तल झरेर भएपनि लोक सेवा आयोगको ढोका छिर्छन्, छिरिरहेका छन् । अत : लोक सेवाबाट छानिएर (फिल्ट्रेट) बाँकिरहेकाहरू मात्र शिक्षण पेशातिर आउँछन् । आखिर यस्तो किन हुन्छ ? जनशक्ति निर्माण गर्ने कारखानामा छिर्ने मजदुरहरूमा किन यस्तो वितृष्णा ? निजामतितिर किन यति बढी आकर्षण ? शिक्षक र निजामति कर्मचारीमा केही अन्तर छन्, केही विभेद छन् र त यस्तो भइरहेछ । राज्य र समाजका तर्पmबाट शिक्षक र कर्मचारीमा विद्यमान अन्तर र विभेदहरूको सानो आँकलन यसरी गर्न सकिन्छ ।
अर्थोपार्जनका लागि मान्छेले कुनै पेशा वा व्यवसाय गर्ने गर्छ । आर्थिक हैसियतका आधारमा व्यक्तिको सामाजिक मर्यादा कायम हुन्छ । हामीले प्रत्यक्ष देखे—भोगेकै छ :मा.वि. स्तरको द्धितीय र प्रथम श्रेणीको शिक्षककोभन्दा एउटा खरिदारको आर्थिक हैसियत माथि हुन्छ । यो कुरालाई घर, गाडी, लुवाइ, खुवाइ र जीवनशैलीले पुष्टि गरेकै छन् । आर्थिक हैसियत राम्रो भएपछि व्यक्तिको सामाजिक मूल्य र मान्यता स्वत : उच्च भइहाल्छ । तब त मा.वि. शिक्षकलाई पन्साएर एउटा खरिदारलाई छोरी दिन्छन् मान्छेहरू । खरिदारको गुणगान र प्रशंसा गर्दै शिक्षक र प्राध्यापकहरूलाई घृणाको आँखाले हेर्छ हाम्रो समाज । सरकारी दृष्टिकोण पनि राम्रो छैन शिक्षकप्रति । निजामति कर्मचारीलाई सरकार आप्mनो दाहिने हात मान्छ भने शिक्षकलाई खुट्टाको एउटा औँलाको दर्जा पनि दिँदैन । मा.वि. प्रथम श्रेणीको शिक्षकलाई द्धितीय श्रेणीको जिशिअको मातहतमा राख्न अप्ठ्यारो मान्दैन हाम्रो नीति ।
पहिले त शिक्षकको निवृत्तिभरण, उपदान, सञ्चयकोष, औषधोपचार, विमा केही थिएनन् । समान तह र श्रेणीका शिक्षक र कर्मचारीको तलबमान नै फरक थियो । अहिले समान र एकरुपता भनिएता पनि अँझै धेरै कुरामा विभेदकारी फरक भएको अवस्था कायमै छ । निवृत्तिभरणको सूत्रै फरक भएपछि पेन्सनमा अन्तर हुने नै भयो । निजामति कर्मचारीको पेन्सनमा—आखिरी महिनाको तलब र नोकरी वर्षको गुणनफललाई ४०ले भाग गरिन्छ भने, शिक्षककोमा ५०ले भाग गरिन्छ । भाजक बढेपछि भागफल (शिक्षकको निवृत्तिभरण) न्यून हुने नै भयो । निजामति कर्मचारीलाई विकट पहाडी जिल्लामा दुर्गम(बेजिल्ला) भत्ताको व्यबस्था छ भने शिक्षकहरू यो सुविधाबाट बञ्चित छन् । बढुवाको कुरा गर्दा यहाँ पनि विभेद छ । शिक्षकमा प्रथम श्रेणीमाथिको विशिष्ठ श्रेणी नै छैन आजसम्म । फेरि, शिक्षकको बढुवा जिल्लाभित्र मात्र सीमित छ भने राजपत्राङ्कित कर्मचारीहरूले बढुवामा राष्ट्रियस्तरको प्रतिस्पर्धामा सहभागी हुन पाउँछन् । बढुवापछिको जिम्मेवारी र पदस्थापनमा पनि विभेद छ । निजामति कर्मचारीले बढुवापछि खास फाँट वा शाखा (माथिल्लो) पाउँछ भने शिक्षकचाहिँ त्यही स्कुलका उही विद्यार्थीहरूलाई पढाउँन बाध्य हुन्छ ।
सरुवाको माध्यमबाट विभिन्न भौगोलिक क्षेत्रहरूमा पुग्ने अवसर पाएर निजामति कर्मचारीले नयाँ—नयाँ अनुभव लिन पाउँछन् भने शिक्षक वर्षौसम्म एउटै विद्यालयमा कोचिएर बस्न बाध्य हुनु पर्छ । शिक्षकको सरुवा हुन दुवैतिरका स्कुल, विव्यस र जिशिकाको सहमति चाहिन्छ भने निजामति कर्मचारीमा यस्तो सहमतिको आवश्यकता छैन । कार्यालयको काममा बाहिर जाँदा कर्मचारीले पाउँने दैनिक भ्रमण भत्ता शिक्षकले नपाउँने व्यबस्था छ । यस्तै, निजामति कर्मचारीले वार्षिक ३० दिन घरबिदा पाउँछन् भने शिक्षकको हकमा यस्तो घरबिदाको कुरै छैन । सेवा प्रवेश गर्न शिक्षकले अध्यापन अनुमति पत्र लिनु पर्छ भने निजामतिमा यो झन्झटको आवश्यकता छैन । निजामति कर्मचारीका छोराछोरीलाई शैक्षिक छात्रवृत्तिको कुरा आइरहेछ भने शिक्षकतिर कसैले केही सोचेकै छैन ।छात्रवृत्ति पनि नीजि स्कुल पढ्नेलाई पनि हो कि सरकारी स्कुल पढ्नेलाई मात्र हो ?
लोक सेवा आयोग हरेक वर्ष खुल्छ भने शिक्षक सेवा आयोग खुल्न १७ वर्ष लागेको र लिखित परीक्षा भएको ८ वर्षपछि नियुक्ति (२०५२—२०६०) पाएको कुरा हाम्रा सामू जगजाहेर नै छ । विशेष : सुविधासहितको स्वेच्छिक अवकाशको अवसर निजामति कर्मचारीमा कार्यान्वयन भइसक्यो भने यता शिक्षकतिर भने हुने भन्ने हल्ला पनि सेलाएर जाँदो छ । १५ वर्षपछि एकतह बढुवा निजामतिमा निरन्तर छ भने शिक्षकमा एकपटक मात्र कार्यान्वयन भएर अन्त्य भएको अवस्था छ । यसरी नै काम गर्ने उमेरको हद निजामतिमा ५८ वर्ष र शिक्षकमा ६० वर्ष भएकाले यहाँ पनि विभेद देखिन्छ । स्वास्थ्योपचारका लागि निजामति अस्पताल बनेको छ भने शिक्षकहरू यो सेवाबाट बञ्चित रहेका छन् । अरु त के—तलब भुक्तानीमा समेत विभेद गरिएको प्रष्टै छ । निजामति कर्मचारीले हरेक महिना (२५ गते नै पनि) तलब पाउँछन् भने शिक्षकले चार महिना प्रतीक्षा गर्नुपर्ने अवस्थाको व्यबस्था छ ।
यी र यस्तै खालका अनगिन्ती विभेदकारी नीति र व्यबहारले गर्दा नै शिक्षण पेशामा कमजोर र दुर्बल जनशक्तिको प्रवेश भएको हो । जसको परिणाम आजको शैक्षिक क्षेत्र यति धराशायी र तहसनहस भएको हो । असल र सक्षम व्यक्तिहरूको शिक्षण पेशाप्रति यसरी वितृष्णा जागेको हो । मा.वि. शिक्षक छाडेर विएस्सीहरू खरिदारतिर गएका हुन् ।यसरी भटाभट विद्यालयमा विज्ञान र गणित शिक्षकहरू रित्तिएका हुन् । विभिन्न शिक्षक संघ, संगठनहरूमा शिक्षकहरू विभाजित हुँदै राजनीतिक दलका पिछलग्गू, झोले भएर झण्डा बोक्दै हिँड्नुले पनि शिक्षण पेशाको मर्यादामा आँच आएको हो । यसरी सुविधाविहीन र आकर्षणहीन हुनु परेको हो ।
विकासको पूर्वाधार र मेरुदण्ड हो शिक्षा । शिक्षाले सक्षम जनशक्ति उत्पादन गर्नु पर्छ । यस्तो जनशक्ति निर्माणकर्ता शिक्षकलाई हरतरहले प्रोत्साहित गरेर सबल र सक्षम बनाउँनु पर्छ । शिक्षण पेशालाई पहिलो प्राथमिकतामा राखेर आकर्षक र मर्यादित पेशाको रूपमा यसलाई विकास गरिनु पर्छ । उच्च श्रेणीका शिक्षित युवाले अब भन्सार, परराष्ट्र र जापान एव म अमेरिका ताक्नु नपरोस् । जापानमा जस्तै सेवा—सुविधा र मान—मर्यादा प्रदान गरिएमा दक्ष र सक्षम जनशक्ति शिक्षण पेशामा आवद्घ हुन्छ र मुलुकको शिक्षाको उन्नयन भएर अग्रगतिमा जान्छ । नत्रभने, जस्तोसुकै नीति, नियम र नियमावली ल्याए पनि यहाँ हुनेवाला केही छैन । उही काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ —नियति दोहोरीरहन्छ । सरोकार पक्ष—सबैलाई चेतना भया ।
रामविक्रम थापा
फाक्टाङ—२, कृष्णगर्त, खोटाङ
मो.नं.९७५३००४३६०
