Skip to content

म मेरी जन्मदात्रीको


म मेरी जन्मदात्रीको, मिजासी बात सम्झन्छु
अलौकिक स्नेह बाँडेका, पियारा हात सम्झन्छु (१)

असत्ती दैवले हर्दा, परेको घात सम्झन्छु
चितामा राख पारेको, भयङ्कर रात सम्झन्छु (२)

गरिन् सन्तानको माया, नमानी रात दिन झर्को
सदा दिन घाँसको भारी, र मेलापात सम्झन्छु (३)

सताई पिरले हाम्रै, बिताइन् जिन्दगी दुख्दै
खपिन् गर्मी तथा जाडो, कयौँ वर्षात सम्झन्छु (४)

न कहिल्यै हर्ष भो मन्मा, न आयो शान्तिको क्षण नै
बिषादले छट्पटी गर्दै, म त्यो बिस्मात सम्झन्छु (५)

बसिन् भोकै तथा नाङ्गै, खुवाइन गाँस काटेर
बनाइन् योग्य धर्तीमा, म यो सौगात सम्झन्छु (६)

सिकेँ धेरै कुरा उन्को, टुटेको जिन्दगीबाट
सँगाली राखंदै शिक्षा, त्यही मौज्दात सम्झन्छु (७)

गलायो यादले ज्यादै, छचल्क्यो आँसु आँखामा
म उन्को बन्दना गर्दै, बितेका तात सम्झन्छु (८)

उनैको कोखमा जन्मौं, म अर्को जन्ममा फेरि
रमाऊँ साथमा उन्कै, उनैको थात सम्झन्छु (९)

म उन्कै मार्गमा चल्दै, बनौँ ‘कोमल’ निरन्तर नै
नआओस् दम्भ जीवनमा, सधैं औकात सम्झन्छु (१०)

बहरे हजज मुसम्मन सालिम
(विधाता छन्द)
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *