सहस्र युग बोकेर काँधमा
यहाँ अधीर प्रतीक्षा छ
मैले खोजेको नयाँ विहानीको ।
र
एउटा उपक्रम !
आजभन्दा ८५ वर्ष पहिले पनि
तगडा दृष्टिमा एकजोडा आँखाहरू
र आज पनि पावरदार चस्माभित्रबाट चिहाउने दृष्टिमा
खोजेको थियो त्यही बिहानी !
थकित अब !
आफनै विश्वाससँग हारेर
कति खोजिरहन्छ र ?
आफनै आँगनबाट वतन नछोडी हिडेको विहानी
जीर्ण देहमा दशक दशकका
जामा पहिरिएर नाचेको थियो देश
उनीहरू ठोकिरहे उत्तेजक मृदङ्गा
हामीहरू ताली बजाइरह्यौं
लाग्छ, राजनीतिको मधुशालामा
बन्दगी राखेर आफैलाई
उभिइरह्यौ अँध्यारो चौरस्तामा रमिते वनी
हुनसक्छ यही रातमा राजनीतिसँग पोइल लागेको हो हाम्रो विहानी ।।
नयाँ नेपालको नयाँ विहानी !
क्षितिज खुल्नेछ सवेरै
र, नीलो आकाशमा
बथानका बथान कोइलीहरूले गाउँदै उड्ने भाग्यका मधुर सवाईहरू
ती दृष्यहरू हेर्न आतुर मेरा एकजोडा आँखाहरू पनि
किन ? यति उदास तुँवालो मात्र देख्दैछ नयाँ नेपालमा ?
महाशय !
तपाईको परिभाषाले दिएको यो “नयाँ”
स्वीकार्य छैन मलाई
किनकि—
पहिले त्यो नाँगो छ
र, दोस्रो— जीवनका यति धेरै
अप्ठयारा उकालीहरू चढेर पनि
हाम्रोसम्म मैदान कहिले आएन
जहाँ हुर्किरहेको हुनुपर्ने थियो ६२/६३ मुरी फल्ने सपनाको खेती ।।
त्यसैले सभामुख महोदय !
माननीयज्यू !
मेरा दृष्यका तृष्णाहरू
मेरा पछाडिका पुस्ताहरूलाई छोडनुभन्दा पहिले
सधैँ व्दन्द र तनावमा उँघिरहेको अनिदो सँसदमा
एउटा प्रश्न प्रेषित गर्न चाहन्छु —
“ हामीले गास, वास, कपासको चिन्ताबाट बाहिर निस्केर
शान्तिले बाँच्न र खुशीले हाँस्न कहिले पाउने महाशय ?”
यो प्रश्नपछि सायद
अकारण विघटन हुनसक्छ सँसद !!
दीपेन्द्र के.सी.
बागलुङ, हाल लुभेन बेल्जियम ।
