बोल्दछ रचना आफैं, बोल्दैन कवि ड्यासमा
सन्दर्भ सूत्रको खाका, खोल्दैन इतिहासमा ।।
प्यासी पाठकले देख्छ, आफ्नै त्यो परिवेशमा
कविता उसकै हुन्छ, आत्माको दीव्य देशमा ।।१।।
कवि हुन् सबका साझा, काव्यको रस प्याउने
बाँचेर कविता भित्रै, देहसिन्धु हँसाउने ।।
खोलेर मनका ढोका, आँखाभित्र अटाउने
पखाली मनको मैलो, तत्व ज्ञान खटाउने ।।२।।
कविता प्राणले बाँच्छ सच्चा प्राण भर्यो भने
बाच्तैन शव्दले मात्रै कच्चा त्राण सर्यो भने ।।
कविता कविमा छैन छैन कवित्व नै भने
बाँच्तैन शव्दको थुप्रो मात्रै भाषण भो भने ।।३।।
मर्दैन कविता राम्रो कविको प्राण बाँच्तछ
सुती मौसम सुख्खामा वर्षामा उठी जाग्दछ ।।
खहरे भेलमा कैले धोका खाएर खस्तछ
व्यूँझाइ अन्धता आफैं ज्योति छरेर बस्तछ ।।४।।
झिल्कोभै विम्वको ज्योति मस्तिस्क छुन्छ झर्झर
कविको भावना शक्ति आगो झैं बल्छ भर्भर ।।
पोखिन्छन् भावना आफैं बहन्छन् सृष्टि सृष्टिमा
खुल्छन् संसारका ढोका अनन्त ज्ञान दृष्टिमा ।।५।।
कवि मस्तिस्कका आँखा घोटिन्छन् जति शव्दमा
बज्दछन् कविता आफैं सारङ्गी तार शक्तिमा ।।
कविता कवि भै हाँस्छन् छुँदै ब्रम्हाण्ड, भाष्कर
कवि छन् कविता भित्रै गरौं सम्मान आदर ।।६।।
विष्णु न्यौपाने
दमक झापा
कार्तिक ५, २०७१
