Skip to content

क्रान्तिकारी विश्वेश्वर महाकाव्य : मेरो आँखामा

BijaySagar


केही महिना अघि बुटवलमा भएको एउटा साहित्यिक कार्यक्रममा बहिनी कृष्णादेवी शर्मा श्रेष्ठले प्लाष्टिक कागजले बेरिएको मोटो मोटो पुस्तक मेरो हातमा दिंदै भनिन् – दाजु ! यो तपाईंलाई । आफ्नो हातमा लिएर प्लाष्टिक खोलेर पुस्तक हेरें । स्वयं कवयित्री कृष्णादेवी शर्मा श्रेष्ठद्वारा लिखित क्रान्तिकारी विश्वेश्वर महाकाव्य रहेछ । नेपालको हर क्षेत्रमा विशेष गरेर राजनीतिक र साहित्यिक क्षेत्रमा विश्वेश्वरप्रसाद कोइरालालाई नचिन्ने मान्छे विरलै होलान । यस्ता महान व्यक्तित्वलाई नायक बनाएर लेखिएको क्रान्तिकारी विश्वेश्वर महाकाव्य पाएर म मख्ख परें । तर जब मैले महाकाव्यको आकर्षक मुखपृष्ट पल्टाएँ । अर्को पानामा लेखिएको थियो – दाजु ! समीक्षार्थ समर्पित । म झसङ्ग भएँ । साहित्यमा रूचि राख्ने म त एक सामान्य पाठक पो हुँ । समीक्षक त हैन । तर मैले मनमनै भने बहिनीले स्नेहसाथ समीक्षार्थ भने पनि पाठकीय टिप्पणी चाहि पक्कै लेख्छु । त्यही अठोट अनुसार महाकाव्य पढें ।

महाकाव्यको प्रथम सर्गमा लमजुङ जिल्लाको दुराडाँडाको फेंदमा रहेको कोइराला फाँटमा कोइराला परिवारको वस्तिरहेको । प्राकृतिक प्रकोपको कारण एक परिवार पूर्व मकवानपुर हुँदै दुम्जासम्म छरिएका । मकवानपुर राज्यमा दामोदर कोइराला काजीसम्म बनेका । दुम्जामा रहेका नन्दिकेशर काठमाण्डौमा डिट्ठा भएका । वि.सं. १९१४ को प्रसंगमा जङ्गबहादुरको राज्य शक्तिको वर्णन । नन्दिकेशर दुम्जा फर्कने निर्णय र तिनका चौथो सन्तानको रूपमा कृष्णप्रसाद कोइरालाको जन्म भएको घटना विवरण उल्लेख गरिएको छ ।

दुराडाँडामा प्राकृतिक प्रकोपको वर्णन कवयित्री यसरी गर्छिन् –

एक रात भयो वर्षा, घनघोर अरिष्टको
भास्सियो त्यो दुराडाँडा, पखेरो पनि नष्ट भो । पहिलो सर्ग : १० श्लोक

दोस्रो सर्गमा कृष्णप्रसादको बाल्यकाल, विवाह र पत्नीको असमायिक निधनले दोस्री पत्नी मोहन कुमारी (मातृकाकी आमा)सँग विवाह भएको पाँच वर्ष पछि तेस्री पत्नीको रूपमा सहरिया दिव्या (विश्वेश्वरकी आमा)सँग विवाह । त्यसबेलाको मोरङ । दिव्याको बेस – भूषा र चरित्र चित्रण । कृष्णप्रसादको सफल जीवनको वर्णनका साथै त्यस समयको नारी दमनको चित्रण तथा सहयोगी डाक्टरको समेत वर्णन गरिएको छ ।

नारी दमनमा कोइराला परिवार पनि अछूत नरहेको वर्णन कवयित्रीले यसरी गरेकी छिन् –

एक बिहान दिव्याले, चट्टी बाहिर ल्याईथिन्
अत्याचार गरी भन्ने, पगरी पनि पाइथिन् । दोस्रो सर्ग : ९१ श्लोक

परिवेश थियो त्यस्तो, नारी दमनको अति
चट्टी लाएर हिंड्दैमा, सहनु पर्दथ्यो कति । दोस्रो सर्ग : ९२ श्लोक

तेस्रो सर्गमा कृष्णप्रसाद कोइरालाको जीवनमा घटेका प्रेरणादायी घटना । कृष्णप्रसादको मनमा सामाजिक चेतनाको जन्म । तथा भतिजा जनकका क्रान्तिकारी भावनाको वर्णन गरिएको छ ।

क्रान्तिकारी जनकको सन्दर्भमा कवयित्री कोर्छिन् –

एकदिन बिहानैमा, घोषणा यिनले गरे
“कोइराला” भनी लेख्छु, थरमा अबबाट रे । तेस्रो सर्ग : ८४ श्लोक

चौथो सर्गमा आफू गर्भवती भएकोमा दिव्यालाई आनान्दाभूति भएको । गर्भमा रहेको शिशु छोरा वा छोरी ? भन्ने कल्पनामा डुब्ने गरेको । अप्रेशन पछि विश्वेश्वरको जन्म भएको । साना वी.पी. र चन्द्रगञ्जको बसाई । चन्द्रशमशेरकी रानीको अध्यक्षता दिव्याको सेक्रेटरीमा नेपालमा पहिलो महिला सङ्घको गठन । दु:खी, निमुखा नेपाली जनताको उद्वार हुनु पर्ने सन्दर्भमा गरिब ढाक्रेहरूको लुगा पठाउँदा कृष्णप्रसाद र चन्द्रशमशेरको मनमुटाव । सर्वस्व हरण भएर कृष्णप्रसाद भारत पलायन हुनु परेको विवरण उल्लेख छ ।

दु:खी गरिब नेपाली जनताको लुगा चन्द्रशमशेरलाई पठाउँदा बखतको कवयित्रीको काव्य लहर –

भोकै, नाङ्गै जिएका छन्, नेपाली जनता जुन
गर्नु पर्ने त उद्वार, वास्तविक यिनै हुन । चौथो सर्ग : १०० श्लोक

– – – – — –

ढाक्रेहरूको तनको लुगा त्यो
लीखा र जुम्रा गुँड भैदिएको
भोटो र टोपी चिथरा लँगौटी
पोको बनाएर सबै समेटी । चौथो सर्ग : १०७ श्लोक

पाँचौ सर्गमा कृष्णप्रसाद कोइरालाको प्रवास यात्रा । बालक वी.पी.को निर्वासित जीवन । विश्वेश्वरको शिक्षारम्भ । वी.पी.को बालककाल । क्लोरोफर्म विनानै वी.पी.को अप्रेशन र वी.पी.को बनारस फिर्ता सम्बन्धी चर्चा गरिएका छन् ।

चन्द्रशमशेरबाट सर्वस्व हरण भए पछि निर्वासित कोइराला परिवारको जीवनका झलक कवयित्रीले यसरी कोरेकी छिन् –

पैतालीस जना जम्मा, रहन्थे परिवारमा
विश्वेश्वर बढे हुर्के, यिनैको काख – काखमा । पाँचौ सर्ग : ११ श्लोक

– – – – –

यायावर बनी बस्दा, दु:खको के कुरा भयो
पवित्र भावमा रम्दा, त्यो सबै सुखमा गयो । पाँचौ सर्ग : १५ श्लोक

छैंठौ सर्गमा मित्र बाबु साहेबबाट ऋण लिएर कृष्णप्रसादले भारतको कोशी किनार टेढीमा जग्गा किनेका । टेढीको प्राकृतिक छटामा रमाउँदै कृष्णप्रसादले गुरूकुलसरीको आदर्श विद्यालय खोलेका । परिवारमा हुने राजनीतिक चर्चाले वी.पी.को जीवनमा राजनीतिको बीजारोपण । तानाशाह चन्द्रशमशेर कृष्णप्रसाद प्रति नरम हुँदै दासमोचनको जानकारी पठाएका । वी.पी.को किशोरावस्था । सङ्गीतमय कोइराला परिवारमा जुन्टुनानीको प्रसङ्ग उल्लेख छ ।

वी.पी.मा राजनीतिको बीजारोपण सम्बन्धमा कवयित्री लेख्छिन् –

गान्धीवाद भयो बीज, लेनिनवाद मिश्रण
वी.पी.मा झाङ्गियो भाव, राजनीति दिनौंदिन । छैंठौ सर्ग : ६८ श्लोक

सातौं सर्गमा वी.पी.को विद्यार्थी जीवनमा उनलाई सबभन्दा मन पर्ने पुस्तक मध्ये ‘महाभारत’ भएको । वी.पी.मा फ्रायडेली प्रभाव परेको । वर्षामा कोशीको असर टेढीमा भयंकर पर्ने गरेको । वी.पी.को अनुपम पितृभक्ति । र वी.पी.को बनारस फर्कने निर्णयको वर्णन गरिएको छ ।

वी.पी.को पितृभक्तिको नमुना कवयित्रीले यसरी कोरेकी छिन् –

तुरुन्तै कृष्णले बोले, ‘वी.पी. तँ हामफाल’ भनी
तत्काल हामफाले ती, कोशीको भेलमा पनि । सातौं सर्ग : ५८ श्लोक

थिएन ‘विसु’मा ज्ञान, पौडने कसरी भनी
माझीले हामफालेर, सहयोग गरे अनि । सातौं सर्ग : ५९ श्लोक

आठौं सर्गमा सानी – मुमा र बहिनी नलिनीले वी.पी. पढ्न बनारस तर्पm लाग्ने बेला स्नेहसाथ दिएका स्वर्ण मुन्द्रिहरू र उनी बनारस बस्दाको दयनीय अवस्थाको चित्रण गरिएको छ ।

वी.पी.को दयनीय अवस्थाको चित्रण कवयित्रीले यसरी पोखेकी छिन् –

टालेको खद्दरी कुर्ता, पाउपोसबिना हुने
वी.पी.को दु:ख पढ्दा त, मन यो धर्धरी रुने । आठौं सर्ग : २५ श्लोक

नवौं सर्गमा वी.पी.को साहित्यिक यात्रामा शान्तिप्रिय द्विवेदीको स्नेह अत्यन्त रहेको । वी.पी.का सिर्जनाहरू ‘हंस’ पत्रिकामा छापिएका । प्रेमचन्द्र, शरश्चन्द्र, रविन्द्रनाथ ठाकुर, टाल्सटाय, गोर्की, तुर्गनेभ, चेखव, मोपाँसा, भिक्टर ह्यूगो आदिका साहित्यहरू अध्ययन गरेर साहित्य तर्पm आफ्नो मौलिक आदर्श तयार गरेका । वी.पी.मा अध्यात्मवादको प्रभाव र जेल यात्राको वर्णन मिठासपूर्ण तरिकाले गरिएको छ ।

वी.पी.मा अध्यात्मवादको प्रभाव सन्दर्भमा कवयित्री लेख्छिन् –

विद्यालय छँदा वी.पी., आध्यात्मवादमा थिए
जब साहित्यमा लागे, छायाँवादी हुँदै गए । नवौं सर्ग : १०५ श्लोक

दसौं सर्गमा टेढीमा रहँदा दु:खले घेरेको हुँदा कृष्णप्रसाद बेतियामा सरेका । तर बेतियामा पनि दु:खले नछाडेको । वी.पी.ले पनि जीवन निर्वाहको निम्ति पत्रिका बेच्ने गरेका । स्वतन्त्रताप्रेमी कोइराला परिवार । वी.पी.ले स्नातक तहसम्मको उच्चशिक्षा हासिल गरेका । वी.पी. र सुशीला विवाह बन्धनमा बाँधिएका । वी.पी. र सुशीलाको दाम्पत्य जीवन एवं सन्तानहरू जन्मेका बारेमा वर्णन गरिएको छ ।

बेतियामा रहँदा वी.पी.का भाइ हरिहर हैजाले वित्दा परिवारको आर्थिक स्थिति कति दयनीय थियो कवयित्री कोर्छिन् –

घाटमा कसरी लानु, कात्रो थिएन रे बरा
कहानी लेख्न चाहान्छु, मन हुन्छ चिरा – चिरा । दसौं सर्ग : १० श्लोक

एघारौं सर्गमा एकतन्त्रीय राणा शासन विरूद्ध नेपालमा जनजागरण अभियानमा मकैपर्व, हलो क्रान्ति । प्रजापरिषदको स्थापना । भारतीय आन्दोलनमा वी.पी.को सहभागिता । अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेसको गठन, देवीप्रसाद, बालचन्द्र, वी.पी. एवं गणेशमानको संलग्नताका कुरा । नेपाल प्रजातन्त्र काङ्ग्रेसको गठन । वी.पी. कोइराला आमरण अनसनमा – मरणासन्न अवस्था । मोहनशमशेरले सम्झौता गरेपछि अनसन टुटेको । दुई काङग्रेस मिलेर एउटै पार्टी नेपाली काङ्ग्रेसको निर्माण । त्रिभुवनले संविधान सभाको चुनाव गराउने भनिए पनि नभएको विषयका चर्चाले भरिएको छ ।

राणा शासन विरूद्ध जनजागरण अभियान सन्दर्भमा वी.पी. बारे कवयित्री कोर्छिन् –

अवतारी बनी आए, वी.पी. योद्धा विचारका
यी प्रजातन्त्रका सेना, समाजवाद धारका । एघारौं सर्ग : २० श्लोक

बाह्रौं सर्गमा दाजु भाइ मातृका र वी.पी.मा मनमुटाव । नेपाली काङ्ग्रेसको सत्याग्रह (२०११) । ने.का.को छैठौं महाधिवेशन । विश्वेश्वर कोइराला अदालतमा । प्रजातान्त्रिक मोचा र दरबारमा दोस्रो सम्मेलन बारेमा विस्तृत चर्चा गरिएको छ ।

वी.पी.को क्रान्तिकारिता सन्दर्भमा कवयित्री लेख्छिन् –

राणा पतनकोपश्चात, वी.पी.को क्रान्तिकारिता
निष्ठापूर्ण बनी उल्र्यो, राष्ट्र औ जनका हित । बाह्रौं सर्ग : ३ श्लोक

तेह्रौं सर्गमा वि.सं. २०१५ को आम चुनावमा नेपाली काङ्ग्रेसले बहुमत ल्याई वी.पी. कोइराला देशका प्रथम जन निर्वाचित प्रधानमन्त्री बनेका । देश विकासमा पूर्ण दृष्टि दिएका । तर राजा महेन्द्रको वी.पी. प्रति विश्वास नदेखिएको विषय वर्णन गरिएको छ ।

राष्ट्र र जनता प्रति वी.पी.को धारणा सम्बन्धमा कवयित्री लेख्छिन् –

गर्नु छ राष्ट्रको सेवा, राष्ट्र सेवकनै बनी
हुर्न छ जनका पीडा, जन–सेवक भै अनि । तेह्रौं सर्ग : १७ श्लोक

चौधौं सर्गमा २०१७ साल पौष १ गते राजा महेन्द्रबाट वी.पी.को मन्त्रिमण्डल साथै संसद विघटन गरी वी.पी., कृष्णप्रसाद, सूर्यप्रसाद उपाध्याय तथा गणेशमानहरू जेल पठाइएको । २०१७ पौष २२ गतेबाट पार्टीहरू माथि प्रतिबन्ध लगाइएको । पञ्चायती व्यवस्थाको आरम्भ र २०१७ पौष १ गतेपश्चात नेपालको राजनैतिक अवस्थाको वर्णन गरिएको छ ।

राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरी प्रधानमन्त्री वी.पी. कोइरालाको मन्त्रिमण्डल र संसद विघटनको घटना सम्बन्धमा कवयित्री यसरी कोछिन् –

विश्वको मान–मर्यादा, वी.पी.ले पाउँदा कति
डाहले भस्म झैं बन्थें, राजा महेन्द्र ती अति । चौधौं सर्ग : १२ श्लोक

– – – – –

दुई हजार त्यो सत्र, पौष एक गते थियो
कठै बाल प्रजातन्त्र, त्यस्कै घाँटी निमोठियो । चौधौं सर्ग : ३२ श्लोक

पन्ध्रौं सर्गमा सुन्दरीजलमा वी.पी.को जेल जीवन । जेलमा वी.पी.ले इतिहास, साहित्य र दर्शन शास्त्रको अध्ययन – साहित्य सिर्जना । घाँटीमा क्यान्सरको कारण आठ वर्ष पछि उपचारको निम्ति २०२५ कात्तिकमा वी.पी.को रिहाई समेतको वर्णन गरिएको छ ।

आठ वर्ष जेलमा बस्दा वी.पी.को धारणा सम्बन्धमा कवयित्री लेख्छिन् –

म मरे मर्छु क्यै छैन, माटो बनाउनै छ यो
गर्दिन सर्तमा मैले, सम्झौता जे हुने भयो । पन्ध्रौं सर्ग : १२३ श्लोक

राष्ट्र, राष्ट्रियता मेरो, धन सम्मान सर्व हो
मरेर पनि बाँच्ने छु, यो मेरो आत्मगर्व हो । पन्ध्रौं सर्ग : १२४ श्लोक

सोह्रौं सर्गमा घाँटीको उपचारपश्चात वी.पी. को नेपाल आगमन । वी.पी. को अध्यक्षतामा नेपालमा सशस्त्रक्रान्ति । सशस्त्रक्रान्तिको असफलता । मेलमिलापको नीति र वी.पी.को नेपाल आगमन । वी.पी. को रिहाई र उपचारार्थ अमेरिका प्रस्थान । नेपाल विद्यार्थी सङ्घ र नेपाली काङ्ग्रेस । २०३७ सालको जनमत सङ्ग्रह र वी.पी.को भूमिका । जनमत सङ्ग्रहको परिणाम स्वीकार । आमनिर्वाचन बहिस्कारको अभियान जस्ता घटनाहरूको विवरणहरू उल्लेख छन् ।

राष्ट्रिय धारणा बारे वी.पी.को अभिव्यक्ति सन्दर्भमा कवयित्रीको कलम यसरी बग्छ –

वी.पी.ले स्वर्ग सम्झन्थे, नेपाल–धरती घर
चुहिन्छ कि कतै छानो, भन्ने शोक निरन्तर । सोह्रौं सर्ग : २ श्लोक

सत्रौं सर्गमा वी.पी.को साहित्य सिर्जना सम्बन्धी विवरण । कथा सङ्ग्रह – दोषी चस्मा, स्वेत भैरवी तथा तीन घुम्ती, नरेन्द्रदाइ, सुम्निमा, मोदिआइन, हिटलर र यहुदी साथै बाबु, आमा र छोरा उपन्यासका सङ्क्षिप्त विवरण अनि आफ्नो कथा, जेल जर्नल र आत्मवृतान्त को विषयमा सामान्य परिचय दिइएका छन् ।

वी.पी.मा अन्य साहित्यकारहरूको प्रभाव सन्दर्भमा कवयित्री कोर्छिन् –

फ्रायड अनि मोपाँसा, टाल्सटाय र चेखव
प्रभावमा रहे वी.पी., साहित्यकारमा सब । सत्रौं सर्ग : २४३ श्लोक

अठारौं सर्गमा समाजवादको अवधारणा । द्वन्दात्मक इतिहासको स्वरूप । वी.पी. प्रजातन्त्र र समाजवाद । प्रजातान्त्रिक समाजवादको परिभाषा र उद्देश्य । विश्व – समाजवादी आन्दोलनमा वी.पी. को सहभागिता । वी.पी.को दूरदर्शिता र विकास सम्बन्धी अवधारणा बारे चर्चा गरिएका छन् ।

वी.पी.को प्रजातन्त्र र समाजवाद बारे धारणा सम्बन्धमा कवयित्री लेख्छिन् –

समाजवादको हत्या गर्न दिन्नौ कसै पनि
हुन्न शोषण स्वीकार्य, प्रजातन्त्र भनी – भनी । अठारौं सर्ग : ५१ श्लोक

उन्नाइसौ सर्ग अर्थात महाकाव्यको अन्तिम सर्ग यसमा वि.सं. २०३९ साल श्रावण ६ गते वी.पी.को देहावसान भएको घटना । वी.पी.की सहधर्मिणी सुशीलाको विलौना तथा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको निम्ति वी.पी.ले जीवन अर्पण गरेको यथार्थ तथ्य उजागार गरिएको छ ।

वी.पी.को देहावसान हुँदाको अवस्थाको चित्रण कवयित्रीले अति कारूणिक तरिकाले गरेकी छिन् –

रूख – वृक्ष सबै रोए, रोयो प्रकृति बेसरी
कसैको मृत्युमा कोही, रूँदैनन् भन्छु यस्तरी । उन्नाइसौं सर्ग : १०६ श्लोक

यसरी लमजुङ जिल्लाको दुराडाँडाको पेंmदमा रहेको कोइराला फाँट एवं कोइराला परिवारको ऐतिहासिक तथ्य खोतल्दै नेपाली राजनीति एवं साहित्यिक क्षेत्रका महान व्यक्तित्व वी.पी. कोइरालालाई नायक बनाएर लेखिएको महाकाव्य हो क्रान्तिकारी विश्वेश्वर ।

महाकाव्यीय परम्परा अनुसार ५ श्लोकको मङ्गलाचरणसँगै १९ सर्ग, १६ छन्द, २६६० श्लोक र ३६५+३२ पृष्ठ भएको यो महाकाव्य जति मोटो छ त्योभन्दा बढी यहाँ नायक वी.पी. कोइरालाको क्रान्तिकारिता सहित नेपालको राजनीति, सामाजिक एवं शोषित, दमित नेपाली जनताको इतिहास छ । देशलाई कसरी उन्नत बनाउने ? वी.पी. कोइरालाको सपना छ ।

नेपालमा महाकाव्यको परम्परा आदिकवि भानुभक्त आचार्यको रामायणबाट शुरू भएको हो । महाकवि देवकोटाका शाकुन्तल र सुलोचना महाकाव्यका आफ्नै इतिहास छन् । बालकृष्ण समको चिसोचुल्होलाई औंला ठड्याउनेहरू पनि नभएका हैनन् । समाजको चरित्र चित्रण नै साहित्य हो । त्यसैले महाकाव्यीय परम्परालाई पूर्ण आत्मसात गरिएको, समय सुहाउँदो, सबैले मनपराएका नायक वी.पी. कोइरालाको सन्दर्भको – क्रान्तिकारी विश्वेश्वर महाकाव्य सफल महाकाव्य हो ।

महाकाव्यका भूमिका लेखक गोविन्दराज विनोदीले अतिनै मिहिनेत र स्नेहपूर्वक महाकाव्यको परिभाषा, प्रस्तुत महाकाव्यको आद्योपान्त कथासार एवं सर्ग संख्या, श्लोक संख्या, छन्द संख्या साथै सुझाव र व्याकरण सम्बन्धी तथ्य् आदि सबै विषयमा प्रष्ट्याई दिएर सम्पूर्ण पाठकहरू प्रति पनि गुन लगाएका छन् ।

यसरीनै महाकाव्यमा आफ्ना शुभ–कामनामा प्रा.डा. नारायणप्रसाद खनालद्वारा नेपालमा २०६१सम्म प्रकाशित भएका १०२ महाकाव्यहरूको विवरण उल्लेख गरी नेपाली साहित्यका पाठकहरूलाई अति उम्दाको जानकारी दिएका छन् । त्यसमा पनि क्रान्तिकारी विश्वेश्वर महाकाव्यका रचयिता कृष्णादेवी शर्मा श्रेष्ठलाई महाकाव्य क्षेत्रमा कलम चलाउने महिलाहरूमा पाँचौ भएको उल्लेख गरी थप जानकारी दिएका छन् ।

महाकाव्यमा समाहित राष्ट्रपतिको कार्यालयको – शुभकामना सन्देश । प्रकाशक नारी साहित्य समाज नवलपरासीको तर्पmबाट सल्लाहकार उद्योगबहादुर श्रेष्ठको सन्देश । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाको शुभकामना । ने.प्र.प्र.का सदस्य सचिव सनत रेग्मीको – शुभकामना तथा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयका सभापति सुशील कोइरालाका हार्दिक शुभकामना पत्रहरूले महाकाव्यको ओज थपि दिएका छन् ।

वि.सं. २००९ सालमा पर्वत मुडिकुवामा पिता स्व. नारायणदत्त गौडेल र माता स्व. तुलसा गौडेलबाट जन्म भएर माता स्व. भागीरथी पौडेल (कर्म दिने)बाट पालित पोषित कृष्णादेवी शर्मा श्रेष्ठको हाल प्रगतिनगर–३ नवलपरासीमा स्याथी बसोबास छ । कवयित्री कृष्णादेवीका हालसम्म – सुनाखरी र लाली गुराँसको देश (कविता सङ्ग्रह – २०५७), नारायणहिटी पर्व (तीजगित संगालो – २०५८), अत्याचारी घर (तीजगित संगालो – २०५९) घरभेटी भाउजू (कथा सङ्ग्रह – २०६३) सृष्टि सौगात (छन्दोबद्ध कविता सङ्ग्रह – २०६५) आदि कृतिहरू प्रकाशित छन् ।

साथै दर्जनभन्दा बढी पुरस्कार र सम्मानद्वारा सम्मानित कवयित्री कृष्णादेवी दर्जनभन्दा बढी संघ संस्थाहरूमा आवद्ध छिन् ।

महाकाव्यमा गुणग्राहिता उल्लेख गरी आफ्नो सानो कथा सहित महाकाव्य प्रकाशनमा सहयोगी सबैमा कृतज्ञता जनाएकी छिन ।

अन्तमा, वी.पी. कोइराला सम्बन्धमा सबै कुरा सबैलाई जानकारी भएता पनि महाकवि कृष्णादेवी शर्मा श्रेष्ठद्वारा समाजले अनुकरण गर्नु पर्ने चरित्र बोकेका नायक वी.पी. कोइरालाका सन्दर्भमा लिखित क्रान्तिकारी विश्वेश्वर महाकाव्य महाकाव्यीय परम्परामा खरो उत्रिएको मात्र हैन, विभिन्न छन्द अंगालेर कलकल मधुर लयका साथ खोला जस्तै बगेका श्लोकहरू मिठा र रसिला छन् । यस्तो रसिलो महाकाव्यको सिर्जनाको निम्ति महाकवि कृष्णादेवी शर्मा श्रेष्ठलाई बधाई ज्ञापन गर्दै भविष्यमा पनि यस्तै उच्चकोटीका अन्य महाकाव्यहरू प्रकाशनमा आउन् भन्ने शुभकामना व्यक्त गर्दछु ।

विजय सागर
भैरहवा
ने.सं. ११३५ कछलाथ्व हरिबोधनी एकादशी सोमवार
वि.सं. २०७१ कात्तिक १७ गते कात्तिक शुक्ल हरिबोधनी एकादशी सोमवार

1 thought on “क्रान्तिकारी विश्वेश्वर महाकाव्य : मेरो आँखामा”

  1. कृष्णादेवी शर्मा श्रेष्ठ नारी
    कृष्णादेवी शर्मा श्रेष्ठ नारी महाकविकाे रुपमा चिनाउनु भएकाेमा र निजकाे परिचय दिनुभएकाेमा म गदगद छु । तर उनीसहित पाँच जना नारी महाकविहरुकाे नाम पनि यहाँ अाएकाे रहेछ । याे किताब नपाएकाेले म यसकाे गरिमाबाेधबाट वञ्र्चित छु । कृपया तिनकाे नाम मलाइ चाहिएकाे छ । कृपया उहाँसँग परिचय गर्ने मेराे मन छ । यदि यहाँले नै परिचय गराउनु भए कृतज्ञ हुने थिएँ ।

Leave a Reply to HomSuvedi Cancel reply

Your email address will not be published. Required fields are marked *