भुलेँ मैले जुनेलीको, रात साथी
यहाँ लाग्यो अँधेरीको, खात साथी
स्वदेशी हातको माया, खोज्छु रोजै
भए टाढा पियारा ती, हात साथी
सधैँ पाएँ रुखो बोल्ने, मात्र धेरै
कहाँ सुन्ने मिठो चोखो, बात साथी
उडायो स्वप्न आँधीले, ध्वस्त पार्दै
भयो जीवन झरेको त्यो, पात साथी
विरानो ठान्छ साराले, दूर पुग्दा
दुख्यो छाती परेकोले, घात साथी
हितैषी हुन्न है कैल्यै, धूर्त मान्छे
पराई हो विदेशीको, जात साथी
भएँ सोझो तथा ‘कोमल’, जिन्दगीमा
खपें साह्रै जमानाको, लात साथी
बहर : करीब
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
