renova
NishaKhanalAryal

इजरायलको अनेसास च्याप्टरको अधिवेशन थियो ! नेतृत्व परिवर्तन र रचना वाचन गर्ने कार्यक्रम समेत भएकोले सर्जक / साहित्यानुरागीहरूको भेला बाक्लो थियो ।

अधिवेशनले मलाई निर्वाचित गर्यो । म अनेसास इजरायल च्याप्टर अध्यक्ष भएँ ! रचना वाचन गर्ने क्रममा म अघि सरेँ । कविता ‘आमा’ शीर्षकमा थियो । निकै मार्मिक कविता वाचन भयो भनी मलाई वधाई दिनेहरूको ओइरो लाग्यो ।

यसै क्रममा खादा ओढाउँदै एक युवतीले भनी, “वधाई छ दिदी ! हजुरको नाम त मैले उहिल्यै सुनेकी थिएँ । भेट भने अहिले भयो !”

“धन्यवाद ! धन्यवाद !! आभारी छु !!!” मैले बधाई दिनेलाई भन्ने शब्द यिनै थिए, उसलाई भने विशेष भनेँ, “म त पहिलेदेखि नै अनेसास च्याप्टरमा आबद्ध छु ।”

कार्यक्रम समाप्त भएर सबै लाखापाखा लागे । त्यस युवतीले भने मलाई छाड्दै छाडिनँ ।

भन्दै गई, “बाबाले तपार्इँ इजरायलमा हुनुहुन्छ भन्नुहुन्थ्यो । अनलाइनहरूमा सर्च गर्दा तपार्इँको फोटो र लेख, कथा, कविताहरू पढ्न पाउँथेँ । बाबासँग फोनमा कुरा हुँदा हरेक पटक सोध्नुहुन्थ्यो, “निशालाई भेट्यौ त ?”

“अनि के जवाफ फर्काउँथ्यौँ त !” मैले उत्साहित हुँदै भनेकी थिएँ, “म त जताततै छु । जहाँ पुगेर खोजे पनि मलाई भेट्न सकिन्छ ।”

“सधैँ भेट्छु बाबा ! प्रत्येक्ष भेट्न त साइत जुर्नुपर्छ । साहित्य संसारमा भेट्छु । अन्य अखबारी जगत्मा भेट्छु ।” उसले पनि मेरै मनसायलाई जोड दिँदै भनेकी थिई, “तपाईंका रचना पढ्दा पढ्दा म फ्यान भइसकेको पत्तै भएन । बाबा त तपाईंको सहृदयी आनीबानीको मात्र फ्यान हुनुहुन्थ्यो ।”

यो युवती को हो र उसको बाबा को हो ? कसका बारेमा कुरा गर्दै छे यो केटी ! उसका नजरमा म उसलाई नजिकबाट चिन्दछु भन्ने रहेछ । यद्यपि म पूरापूरी अनविज्ञ थिएँ । मनमा जे कुरा खेले पनि मुख खोल्ने काम भने गरिनँ ।

“यहाँ अर्थात् इजरायलमा कामको टर्चरले मेन्टल समस्या भयो । डाक्टरको चेकजाँचपछि मेडिसिन खाँदै जाँदा केही राम्रो भएको छ, दिदी ! काम गर्न नसक्दा भिसा काटिएपछि इमिग्रेसनले धुरूक्कै पारेर दुई पट्क थुनिए । एउटा वकिलको सहारामा तीस हजार सेकेल बुझाएर नेपाल फिर्ता पठाउनबाट बचेँ । उसैले शरणार्थीको कागजात बनाई दियो र म इजरायलमै रहन पाएकी छु । हाल यसो साना दुईचार जना वच्चाको मेतापेलेत भएर सुसारेको काम गर्दै छु ।”

उसको कुरा सुनिरहेँ । कुराको छेउटुप्पो नबुझे पनि कुरा मार्मिक लाग्यो । एक नारीको पीडा सम्झेर सुनिरहेँ, ऊ भन्दै गई– “बाबाका धेरै आशाहरू त्यत्तिकै मरे । रोग र चिन्ताले ग्रस्त भएको बाबाको विगत थियो । वर्तमान पनि त्यस्तै छ, बलिन्द्र धारा आँसु बग्न रोकिएको छैन । म एम. ए. पढ्दै गर्दा मालपोतको सुव्वा हरिसँग बिहे गराइदिनुभयो । उसको स्वभाव भने जाँड–रक्सी र जुवा–तासमा रातरातभरि रम्ने रहेछ । धेरै जसो बाहिरै बस्ने, घर आउँदै नआउने गर्नाले म दिक्क थिएँ । केही सोधे रिसाउने गर्थ्यो । आफू पनि रिसाए, हात छोडूँलाजस्तो गर्थ्यो । अफिसबाट आइहाले पैसाको विटो लिएर आउथ्यो । र, वेलुका म खान आउँदिन भनेर निस्कन्थ्यो । गाउँलेहरूले सुनाउथे– तेरो लोग्ने होटेलहरूमा युवतीहरूसँग रात बिताउँछ । एक दिन मैले नै रङ्गेहात फेला पारेँ ।”

ऊ अगाडि बताउँदै गई– एकदिन घुस लिँदै गर्दा पक्राउ पर्यो । जागिरबाट सस्पेन भयो । मुद्दा मावलामा भएको सबै सम्पति सकायो । रात दिनको कचकच र गनगनले म वाक्कदिक्क भएकी थिएँ । पछि रातोदिन पिट्न शुरु गर्यो । सहन नसकेपछि काखकी दुई वर्षकी छोरी लिएर माइत आएर बस्न थालेँ । आमाको पनि स्वास्थ्य राम्रो थिएन । प्रेसर र सुगरको विरामी । मैले दु:ख पाउने भएँ भनेर बाबाले एउटा मेनपावरमा पाँचलाख दिनु भएको रहेछ । पैसा बुझाएको झण्डै एक वर्षपछि मेरो भिसा आयो । र, इजरायलमा प्रवेश गर्न पाएँ ।

उसले लामो सास तानी । र, आफ्नो कथालाई निरन्तरता दिइरही– दुई वर्षकी नाबालक छोरी रोगी आमाको काखमा छोडकी थिएँ । उहाँ पनि पनि म आएको दुई वर्ष नबित्दै मुटुको व्यथाले बित्नुभयो । त्यसबेला मलाई कामबाट निकालेकोले आमाको मुख हेर्न जान पाइनँ ! आँसु चुहाएर आमाको क्रियाकर्म गरेँ । र, छोरी र बाबाको याद गरेर झोक्राइरहेँ ।

मेरा तीन दाजुमध्ये जेठो केदार काठमाडौँमा अख्तियार आयोगको अधिकृत हुनुभयो । बावालाई दमले आक्रमण गर्यो । काममा जान सक्नुभएन । दाजुबाट घरका लागि कुनै सपोर्ट भएन । उहाँ भाउजूको सोचतिर सर्नुभयो । उहाँका साथीहरू सभ्रान्त परिवारका थिए । बुवाआमाले दिएको पैसामा थपथाप गरेर लोकन्थलीमा घर–घडेरीको व्यवस्था गरे । दाजुको मार्गनिर्देश र भाउजूको मेहनत र प्रयासपछि निजामती सुव्वामा निकालीन् ।

माइला दाजु उमेश चाहिँ हेर्दा भद्र देखिन्थे । धेरै नबोल्ने, पढ्नमा निकै तेजिलो थिए । स्कलरसिप पाएर पढ्न अमेरिका गए । त्यस बेला पनि आमाबुबाले अब दु:खको दिन सकिए भनेर छोरालाई सगुन दही खुवाएर हात हल्लाउदै बिदा गर्नुभयो । दाइ उमेशले पिएचडी पछि सिकागोको एउटा इम्भरसिटीमा प्रोफेसर भएछन् । आफ्नै सहपाठी जर्मन राष्ट्रियता बोकेकीसँग प्रेम विवाह गरे रे । फोनमा कुरा हुँदा यस्तै भन्थे ।

उनलाई पनि विवाहपछि अमेरिकाको संघर्षमय जीवनको ठुलो छालले कता बगायो कुन्नि ? थाहा छैन । घर परिवार, देश, समाज, इष्टमित्र, आफन्तहरू सबैले माल्दाइसा्ँ््् जे आशा राखेका थिए त्यसको कुनै मतलव भएन उनलाई । उनी अहिलेसम्म मौन छन् !

युवतीले व्यथा सुनाएर लामो श्वास तानी फनक्क मुन्टो बटारी र आँखाको आँसु पुछी ।

+++

म एकोहोरिएँछु । प्रश्नविहीन भएँछु । र, एक्कासि सोध्न पुगेँछु, “हैन, बहिनी पीडाको पोखरीमा हेलायौ । आक्रोशको ज्वाला मनमा दङ्कायौ । न आफ्नो नाम भन्यौ । न आफ्नो बाबाको नाम सुनायौ । तिम्रो बाबाले कसरी चिन्नुभयो मलाई ? म विदेश पसेकी चेलीलाई !”

प्रश्नमाथि प्रश्नको थुप्रो लगाउँदा ऊ छक्क परी । गलत मान्छेसँग पो पारिवारिक गोप्य कुरा खोलेँछु भनेर ऊ पछुताई । अनुहार खुम्च्याई र छुट्टिन खोजी ।

मैले नै आग्रह गरिरहेँ । ऊ टक्क अडिई ।

“हजुर निशा अर्याल भनेको हैन !” अविश्वासी नजर मतिर फ्याक्दै भनी, “राजविराज, सप्तरीमा जन्मेकी सप्तरिया चेली भनेको हैन !”

मैले मुन्टो हल्लाएर सकारात्मक जवाफ फर्काएँ ।

“तपाईं मदन शर्मालाई चिन्नुहुन्न र ?” मैले फेरि स्वीकारोक्ति जनाएपछि भनी, “म उहाँकै छोरी हुँ,ं रुपा शर्मा ।”

+++

अपरान्ह चार बजेको थियो । तुुम्लिङ्गटार विमानस्थलमा विदेशी–स्वदेशी पर्वतारोहीहरू र सहयोगीले खचाखच भरिएको थियो । सिजनको समय भएर होला हिमाल चढ्ने भारी धमाधम भरिन लागेका थिए ।

त्यसमध्ये एउटा अन्दाजी छ फिट अग्लो करिब ४०/४५ वर्षको मान्छे उभिएको देखेँ । तीन मीटर मात्रैको दुरीमा रहेको उसको शरीरबाट आएको दुर्गन्धले म नाक खुम्च्याइरहेकी थिएँ । ठुलो टाउको, ठूल्ंठूला आँखा, चौडा निधार, ङिच्च हाँस्दा पहेँला घिनलाग्दा दाँतमा मात्र मेरो नजर वारम्वार परिरह्यो ।

ऊ आफ्नो उचाइको आधा अग्लो ढाकरमा धमाधम सामान भर्दै थियो । उसको खुशी र पीडा मिश्रित अनुहारले उसको शरीरलाई जाँगरिलो बनाउँदै थियो । म आनन्दले टुलुटुलु हेरेर मात्र वस्न सकिनँ । मेरो आत्माले उसँग केही जिज्ञासा राख्न खोज्यो । म उसको छेउमा ठिङ्ग उभिएँ र जिज्ञासु नजर लगाउँदै आफूतिर आकर्षित गर्ने प्रयत्न गरेँ । तर, मेरो प्रयासले उसभित्र सञ्चारिक तरङ्ग ल्याउन सकेन । मेरो मनोभावनालाई उसले बुझ्दै बुझेन ।

विरक्त अनुहारको त्यस मूर्तिलाई आकर्षण गर्ने निरन्तर मेरो प्रयास जारी नै रह्यो । अन्तमा उसलाई सम्बोधन गर्दै मैले भनेथेेँ, “दाइ ! भारी त निकै ठुलो छ नि ? सहयोग गरूँ कि ?”

उसले धोक्रे आवाजमा भन्यो, “यति त बोक्नै पर्यो । सानो भारीले मेरो गुजारा नै चल्दैन, बुयिनी !”

“घर चाहिँ कहाँ हो नि दाइ ?”

“देउरालीबाट चार घण्टा पर । बाहुनको छोरो हुँ ।”

“शुभ नाम चाहिँ के हो दाइको ?”

“मदन हो, डोलेश्वर पनि भन्छन् बोलाउँदा ।”

“के–कति परिवार छन् त ? खेतीपाती ?”

“हामी छ जनाको परिवार, तीन छोरा, एक छोरी अनि हामी श्रीमान् र श्रीमती.। लगभग दश/बाह्र मुरी अन्न फल्ने खेती छ । खेतीको अन्न वालीले गुजारा हुँदैन । खान त जसोतसो पुग्छ तर छोराछोरीलाई आधापेट खाएर मजस्तै भरिया हुन नपरोस् भनेर हिमाल चढ्ने कुइरेको भारी बोकेको हुँ ।”

मैले चाहेभन्दा बढता नै जवाफ दिएथ्यो उसले । मैले पनि प्रश्न गर्न जारी राख्तै सोधेथेँ, “छोराछोरीहरू कतिमा पढ्छन्, के गर्छन् त दाइ ? गाउँमै कि शहरमा ?”

“एक घण्टा टाढा स्कुल छ तर पढाइ राम्रो छैन । त्यसैले सबै सदरमुकाममा पढ्छन् ।”

”कसरी धान्नुहुन्छ त ?”

“पढाइको लागि खर्च गर्न लोभ गर्दिनँ म । उनीहरूको शिक्षाका लागि भारी बोकिरहेछु !”

“दशैँको मूखमा हिमालतिर लाग्नुभयो त ? कति दिनमा फर्कनुहुन्छ ?”

“लाग्छ चार महिना जति । हिउँमा हिँड्न सजिलो कहाँ छ र ?”

“एक खेपमा कति आम्दानी हुन्छ त दाइ ?”

“चालिसदेखि पचास हजार । यसो पाँच छ महिनाको गुजारा चल्छ । फेरि फागुनमा चार महिनाको बोक्यो भने वर्ष दिनको गुजारा चल्छ ।”

“दाइ ! त्यसो त दशैं लेंकमै वित्ने रहेछ नि ?”

“हो, बुयिनी ! लगभग १५ वर्ष भयो हिमालमै दशैँ मानेको । यिनै भारी बोक्ने भरियाहरू र शरदारहरू, सरकारी हाकिम, शेर्पा र पर्वते सबै मिली दशैँ मनाउँछौँ । सरकारी अफिसरले नै सबैलाई टीका लगाई दिन्छन् । त्यही रमाइलोमा विदेशीहरू पनि रमाउँदै हामीसँग सहभागी हुन्छन् । श्रीमती र छोराछोरीको सम्झनाले भने त्यसबेला आँखाले भेल बगाउँछ ।”

दुई महिनामा खेतीवारी लगाइसकेपछि मदनको काम निरन्तर यसरी नै चलिरहेको छ । गाउँलेहरू मदनको यस कामले प्रसन्न मात्र छैनन् । परिश्रम र सन्तानप्रतिको योगदान देख्दा अचम्भित हुन्छन् ।

मदन सम्झन्छन्– अरवको भूमिमा चर्को आगोको राम्पमा सेकिँदा व्यतित पलहरू कष्टकर हुन्छन् । दीर्घरोगी बन्नू र अशक्तको चाकडीमा अपमान र पीडाहरू भोग्नू कत्ति दुर्भाग्यपूर्ण हुन्छ । जर्मन, वेलायत तथा विदेशका जुनसुकै ठाउँमा भोग्ने यातनाको असह्य वेदना, रगत बग्दै गरेको खुट्टा, मेसिनमा पेलिँदै गर्दाको रगतले पोतिएका युवाहरू सम्झिन्छन् उनी । अपाँङ्ग भएर व्हिल चेयरमा घर फर्किन लाचार युवायुवतीहरू, बाकसमा हरेक महिना आउने लासको थुप्रो, परिवारको चिच्याहट आदि वेदनाका यस्ता अनगन्ती यातना र पीडाभन्दा त आफ्नै देशमा भारी बोक्ने भरियाको जीवन इज्जतदार ठान्छन् उनी ।

मदनले कुरा थपे, “अर्थोपार्जन गर्न सजिलो कहाँ छ र ? बरू मलाई त आफ्नै देशको भरिया हुँन्दा आनन्द महसुस हुन्छ । झन हिमाली डाँडाकाँडाको दर्शन हुने र खेतीपाती पनि हराभरा रहने ।”

मदनको कुरा चाख मान्दै सुनेर उनको वारेमा जिज्ञासाले मैले प्रश्न तेर्साइरहेँ ।

उनले खिसिक्क हाँस्दै सोधे, “बुइनी, चाहिँ कुन ठाउँँबाट आएकी र के गछ्र्यौ ? नाम के हो ?”

मैले उनको जिज्ञासा मेटाउँदै भनेथेँ, “मलाई निशा भन्छन्, म इजरायलबाट केही दिनको छुट्टीमा आएकी हुँ, म तराई सप्तरीकी हुँ ।”

+++

यस्ता कुरा गरेको आज मदनसँग पच्चिस वर्ष बितेछ । जेठो छोरा नेपालमै अधिकृत, माइलो अमेरिका फिजिक्समा पिएचडी गरी अमेरिकाको विश्वविद्यालयमा प्रोफेसर, कान्छो अरवको मलेसियामा दस नंग्रा खियाउँदै र छोरी इजरायलमा मेतापेलेत (किएर गिभर) ।

तिनै मदनका आधा सपना साकार देखिन्थे त आधा निराकार ।

सम्झिन्छु म, अरूका मलेसिया र इजरायल हानिएका छोराछोरीको कष्टदायक जीवन । मदनका अमेरिका गएर प्रोफेसर भएको छोरो अनि नेपालमा एक विशिष्ट पदमा रहेको हाकिम ।

+++

अहिले आएर थाहा पाएँ– सधैँको भरिया मदन आफैँ कष्टकर जीवन बिताइरहेको छ । गाउँले कुरा गर्छन्– कठै, मदनले सन्तानको लागि आफ्नो सर्वस्व सकायो । आमाले कति दुख गरेर हुर्काइन् । राजधानीमा राखेर सबैलाई पढाए । दुई ठुला पोष्टमा भए । कान्छो भने कुलतमा लागेर साउदी हानियो । छोरीले दु:ख पाई । सानी नातिनीको भविष्य सम्झेर इजरायल लागि ।

अमेरिका भएको छोरोले कुइरिनीसँग विवाह गर्यो । ऊ गएदेखि भेट्न घर फर्केन । जेठो छोरा निजामतिमा ठुलो हाकिम भयो । सबै आफ्नै पत्नीका कुरा सुन्न व्यस्त भए, घरपरिवारलाई हेर्ने मौकै पाएनन् ।

आमाको पनि सुगर, प्रेसर र दमको रोगले थलिँदा स्याहार्ने कोही भएन । निधन भयो । तेह्र दिन जेठो छोरोबुहारी क्रियामा बसे, माहिलो वार्षिकीको काममा आएको थियो । कान्छो साउदीको जेलमा परेर बसेको छ । छोरी इजरायलमा निकै दु:ख पाएर शरणार्थी भईबसेकीले चाहेर पनि आउन सकिन ।

+++

अहिलेसम्म आफ्नी छोरीको पढाइ खर्च र मदनको बुढेसकालको भरथेग रुपाले नै गरिरहेकी छे । तीन दाजुहरूको वेवास्थालार्ई ऊ एक्लैले थप्पड हानिरहेकी
छ, समाज यसै भन्दै छ ।

-–निशा अर्याल

विवरण
निशा अर्याल,
माता : अम्बिका देवी अर्याल
पिता : स्वर्गीय बद्रिप्रसाद अर्याल
जन्म : १९७२ जुलाई ११
जन्म स्थान : राजविराज, सप्तरी
शिक्षा आई. ए.
अभिरुचि : साहित्य, कला, संगीत एँव फिल्म अभिनय, खेलकुद साथै अध्यात्मिक, धार्मिक जगतमा रमाउनु ।
अनुभव : बाल शिक्षा, पौढ़ शिक्षा एँव स्वास्थ्यको क्षेत्रमा तालिम प्राप्त ।
तालिम : उद्घोषण, ब्युटीसियन डिप्लोमा भारत, पत्रकारिता, परिवार नियोजन, सिलाई कटाई, पेंन्टिङ्ग, किएर गिभर डिप्लोमा इजरायल, कन्टिनेन्टल कुक, सोसल एक्टिभिटी, घरेलु उद्योग अन्तर्गत विभिन्न तालिम प्राप्त ।
सम्बद्धता : रेडक्रसको आजीवन सदस्य, परिवार नियोज संघको आजीवन सदस्य, अन्तर्राष्ट्रिय विश्व साहित्य संघ इजरायल (सचिव रही काम गरेको), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिका (अनेसास)को आजीवन सदस्य, अनेसास एसिया उपाध्यक्ष, अनेसास इजरायल च्याप्टर अध्यक्ष, सत्य शाही सेन्टर सदस्य, अन्तर्राष्ट्रिय नेपाली नारी आवाजको आजीवन सदस्य (महासचिव भएर काम गरेको)
भ्रमण : नेपालका अधिकांश जिल्ला, भारतका केही भागहरु, जापान, बैंकक, थाइल्याण्ड, अस्ट्रेलिया, इजरायल ।
भाषा : नेपाली, अंग्रेजी, हिन्दी, अरबी, हिब्रु ।
पेशा : नोकरी, सिचाई कार्यालय पाँच वर्ष अस्थायी र शुटिंग प्रशिक्षक १० वर्ष स्थायी, किएर गिभर इन इजरायल १२ वर्ष ।
प्रकाशन : जीवनलाई चियाँउदा (कथा संग्रह) २०६९ फागुन १६, अनगन्ती चोट (कथा संग्रह) २०७२ कार्तिक १२ ।
(लेख संग्रह) राष्ट्र निर्माता र राजनीति २०७३
प्रकाशनको तयारीमा : लेख संग्रह, कथा संग्रह, गद्य कविता संग्रह, छन्द कविता संग्रह ।
सम्मान : अन्तर्राष्ट्रिय द रेयुकाई जापानद्वारा बुद्ध १०० वर्ष स्मृति विशेष सम्मान, वेष्ट मिचिविकी सम्मान, अन्तर्राष्ट्रिय विश्व साहित्य सम्मान इजरायल, अनेसास डायस्पोरा सम्मान अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिका, साहित्य सम्मान शान्ता देवी लुइटेल प्रतिष्ठान लन्डन, नोवेल साकोस साहित्य प्रतिष्ठान विशेष साहित्य सम्मान, राष्ट्रिय नागरिक विकास समाज, साहित्य तथा सामाजिक अभियन्ता सम्मान, सार्क गेम शुटिंग प्रतियोगिता जजमेन्ट सम्मान, युवराज दिपेन्द्र शाहबाट ।
पुरस्कार – जिल्ला तथा अन्तर कार्यालय क्षेत्रीय व्याडमिण्टन प्रतियोगिता, लेडिज, सिंगल दोस्रो, लेडिज डवल, पहिलो, मिक्स डवल दोस्रो, जेसीजवाट प्रश्न उत्तर कार्यक्रममा प्रथम पुरस्कार, विश्व शान्ति पुरस्कार “आमाको स्नेह” अन्तर्राष्ट्रिय द रेयुकाई जापान ।
प्रतिबद्धता : जीवनभरि कलम चलाई आफ्नो धर्म शास्त्रको रक्षा गर्न आवाज उठाउने र देशको भाषा, संस्कार, संस्कृतिको रक्षा गर्ने, २ दाजु १ भाइ, २ दिदी सबैभन्दा कान्छी निशा, विवाह साल २०५३ मंसीर ११

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “छोरीको कमाइ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *