Skip to content
sumycin
BirBahadurThakuri

कसै कसैले देखेको
कसै कसैले नदेखेको
मेरो पनि एउटा छोरा छ
रुपरङ्ग अँग्रेजतिर गए पनि
बानीब्यहोरा मपट्टि गाको छ,

नेपाली लेख्न त्यति जान्दैन,
तर अँग्रेजी मकै भुटे जस्तै पडकाउँछ,
बोली वचन भन्नै पर्दैन,
ज्यू,हजुर, दर्शन भनेर सबैलाई सर्काउँछ,
मौका पायो भने,
बियरदेखि तीन पाने पनि सोर्क्याउँछ ।

त्यस्तै उस्तैको सङ्गत लागेर होला,
मेरो छोराले पनि
हिजोआज ठुलठुलो कुरा गर्न थालेको छ,
एकातिर जान्छु भनेर
अर्कोतिर जान थालेको छ,
चढाएर आएको बेला
ग्लाइडरमा उड्छु भन्छ,
चन्द्रमामा चौतारी बनाउँछु भन्छ,
कहिलेकाहीँ भावुक भएर
टिस्टा र सुनकोशको कुरा गर्छ,
कहिले व्यथित भएर
शहीद र विधवाको कुरा गर्छ,
हुने पनि कुरा गर्छ,
नहुने पनि कुरा गर्छ ।

ठुलठुलो कुरा गरे पनि
मेरो छोराले
पिएर नालीमा लडेको छैन,
कसैलाई मार्छु र काट्छु भनेको छैन,
चोर्ने र लुट्ने कुरा गरेको छैन,
अर्काको खुट्टा तान्ने कुरा गरेको छैन
अरुलाई खसाल्ने गरी बोलेको छैन,
थाना र कचहरी कहिल्यै धाएको छैन ।

मेरो छोराले
जिन्दगी जिउनु सजिलो ठानेको छ,
कस कसलाई हातमा राख्नु पर्ने हो
सबै कुरा जानेको छ,
मेरो कुरा नखाए पनि
ड्याड भनेर उसले मलाई धेरै मानेको छ,
मेरो कमजोर नर्भ छामेर
उसले मलाई आफूतिर धेरै तानेको छ ।

कुरा गर्दा उसले
नयाँ जमानाको कुरा गर्छ,
टिकटक र बिगटकमा व्यस्त रहन्छ,
अपलोड र डाउनलोडमा मस्त रहन्छ,
वाइरल र बोइलर धेरै चर्चा गर्छ,
सबैथोक नयाँ जमानाको हुनुपर्छ भन्छ,
त्यसैले
मैले लाउने लुगा
उसलाई मन परेको हुनुपर्छ,
मैले किनेको कोट, ज्याकेट
उसले लगाएको हुनुपर्छ
म जाने ठाउँमा
ऊ पहिल्यै पुगेको हुनुपर्छ,
मैले खाने गरेको भोजन
उसले पहिल्यै चाखेको हुनुपर्छ ।


छोरा भनेको छोरा नै हो,
बैगुणी भएपनि
छोराको गुण गाउनै पर्छ,
निष्ठुरी भए पनि
उसलाई अँगालो हाल्नै पर्छ,
सप्रे पनि बिग्रे पनि
छोरालाई छोरा भन्नु पर्छ,
मात्तिए पनि नासिए पनि
उसलाई मान्छे भनेर गन्नु पर्छ,
जीवनको यही रीत हो
यसलाई हामी सबैले मान्नै पर्छ ।
किनभने
छोरा सप्रे अंश र वंश नै हो,
छोरा बिग्रे
कंश र विध्वंश नै हो ।

– बी बी ठकुरी
मिल्टन, कनाडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *