desogen
SujanBudhathoki

ओ कवि
खै तिम्रो कविताको शक्ति ?
कहाँ हरायौ
तिमीले आफूलाई ?
र किन बिरायौ अरुलाई ?

जोस जाँगर क्यै पनि छैन
मदहोस मदहोस मात्र छौ
निदाएको बालक जस्तो
किन यति बेहोस छौ तिमी
ओ कवि !
खै ! तिम्रो कविताको चेत शक्ति ?

किन कवितामा
आफ्ना कुन्ठाहरू मात्र लेखिरहन्छौ तिमी
किन देख्दैनौ अरुका पीडा कदापि ?
यो पृथ्वीमा अरु पनि थुप्रै प्राणिहरू छन्
जो तिमी जस्तै
र तिमीभन्दा पनि बढी दुखी छन् ।
पीडितहरुको निमित्त
न्यायधिस भएर उभिनुको सट्टामा
किन आफै उभियौ
पाठकहरुको माझ पीडित भएर?

ओ कवि !
पत्थरसँगको ठक्कर
र बगरबाट सधैं
ढुङ्गा चट्टानको चोट खाएर पनि
अबिरल बगिरहने
उ परको त्यो खोलालाई हेर
कति अटल र बलवान् छन्
किनारमा उन्ले लेखेका कविताहरू
कति अबिरल र निर्मल छन्
आँसु पोखिएर
पानीमा कोरिएका कविताहरू
जीवनमा जति नै हिडे पनि
कदापि रुक्दैन नदी
ओ कवि !
खै कहाँ छ तिम्रो कविताको शक्ति ?

जीवन दर्शन कहाँ छ भिजन
अनि आफ्नोपन कहाँ छ
र खै कहाँ छन्
तिम्रा कवितामा जनरोदनहरु?
दूर कर्णाली र महाकालीका क्रन्दनहरू कहाँ छन्
सप्तकोसिका आसुहरू
भन तिम्रो कविताको कुन गहिराइमा छ?
र कहाँ छन् पहिचानबिहीन नागरिकहरुको राज्य ?
र किन देखेनन तिम्रा कवित्वका नजरियाहरुले
नेतित्वले पनि नदेख्ने
गरीब मजदुर र दरिद्रदेशका दुखहरु ?

अन्धकारलाई चिर्ने
ओ कवि
तिमी त रवि हौ रवि

तर तिम्रो कविता किन
ल्याम्पोस्ट भएर उभिएन सडककिनारमा
अनि किन आएन बत्ती भएर
र फिजाएन दिव्यज्योति
ती अध्यारा बस्तीहरुमा
आवाजबिहीनहरुको आवाज
कहाँ छ
यो समाजको विम्ब कहाँ छ
तिम्रो कवितामा
र कहाँ छ यो देश्को नक्सा?

देशद्रोही गद्दारलाई सिरुपाते खुकुरीले
प्रहार गर्ने सक्ने सामर्थ्य र बहादुरी कहाँ छ
अनि कहाँ छ्न
हिमालको हिउ पगाल्ने
रविको जस्तो ज्वलनशील ज्वालाहरू
तिम्रो दिलको द्वार
र कविताका हरफहरुमा
र खै कहाँ छ्न विचारका ज्वारहरू ?

बाझो चिहानमा
जीवन उमार्ने
र कुनै किसानको जस्तो
आत्मविश्वास
र सहासको हतियार कहाँ छ?

ओ कवि
के तिमीलाई बुडेसकालले
छोएकै होत
कपाल दारी फुलेको
मन्त्रीज्युलाई हेर
उहाको उखान र अढानलाई हेर
अँझै पनि नौजवान नेता
सिर्जना सक्तिलाई उमेरले छेक्न सक्दैन
बूढो भयो भन्दैमा भूमिको उर्वरा घट्दैन
डुङ्गा माटो चिरेर उभो आकाशमा फर्किरहेका
ती बोटबिरुवाका कलिला बिउहरुलाई हेर
ओ कवि
के तिम्रो कलमको मसी
सकिएकै हो त
के तिम्रा ती बुढी र चोर औलाहरू
कमजोर भएकै हुन त
नत्र, किन फोर्न सक्दैनन
तिम्रा ती कलमहरुले
जर्खरिएका पत्थर
र कठोर चट्टानहरुलाई
जहा, बर्षौंदेखि उम्रिएर
हुर्किरहेछन् केही हिटलर
र इदि अमिनका अभिमानहरू !

आधी तुफान भएर
साम्राज्यवादी सासनका
लालकिल्लाहरू खोल्ने
फलामका बसिलाहरू कहाँ छन्
अनि नरपिसाचका पुत्ला पोल्ने
आगो र बिद्रोहको राको कहाँ
र कहाँ छन् क्रान्ती र परिवर्तनका अठोटहरू
तिम्रो कवितमा इन्साफ कहाँ छ
न्याय कहाँ छ र कहाँ छन्
मानव अधिकारका सबालहरू ?
हात काटिएकाहरुको कविता खै
कलम खोसिएकाहरुको कविता खै
र आन्दोलनमा रङ्गिन सिउदो
लुटिएकाहरुको अस्मिता खै

खै खै?
किनकै पनि छैन तिम्रो कविताहरुमा
आफ्नै मात्र मनको भाव र भाषा त
जनवारले पनि बोल्छ
ओ कवि
खै तिम्रो कविताको शक्ति
किन बतायौ आफ्नै मात्र भाषाहरू
किन सुनाएनौ अरुका गुनासाहरू
कुनै बालक झै गरेर
र फेरि किन राखिरह्यौ
अबोध अभिलाषाहरू

तिम्रा कविताहरुमा
मैले कागज सिबाय अरु केही पनि देखिन
यस्तो लाग्छ सायद, तिम्रो कविताका
अछ्ययरहरुमा कुनै उज्यालो नै थिएन ।

दुश्मनसँग डराएर भागेर आएर अनि
अन्धकारको कुनै कुनामा थर्थर कापेर
कविता कोरे जस्तो
किन यति थकित छौ तिमी
किन यति भयभीत छौ तिमी
किन यति निरास छौ तिमी
प्रेममा धोका पाएर टोलाए जस्तो
हार खाएर
किन सधैं यति धेरै झोक्रिरहन्छौ तिमी?

ओ कवि ! खै तिम्रो कविताको शक्ति
खै तिम्रो कविताको प्राणत्व
अमृत्व अनि तिम्रो कविताको औषधी
ओ कवि अनि खै तिम्रो कवित्व?
ओ कवि खै तिम्रो कविताको शक्ति
छैन केही पनि छैन
किनकि, तिमीले कवितामा
उहिल्यै आत्महत्या गरिसक्यौ !

ओ स्वार्थी
ओ कवि
किन आफ्नो लागि मात्र कविता लेख्छौ तिमी
अरुको चाहिँ लेख्नु पर्दैन
ओ कवि
किन आफ्नो पार्टीको मात्र कविता उतार्छौ तिमी?
के जन्ताहरुको चाहिँ दुख देख्नु पर्दैन ?
के उनीहरुको दुख चाहिँ दुस हैन ?

पैले पैले कविताका जुलुस बोकेर
एकसाथ तताउथेउ ती सान्तसडकहरू
र लडाउथे सामन्तसत्ताहरुलाई
खै ती तागतहरू आखिर केमा
बिके ती कागजहरू
र अहिले तिमी तिनै सडकको बिरोध गर्दैछौ ?

भुपी शेरचन, कृष्णसेन इच्छुक
गोपालप्रसाद रिमालका कविताहरू
झोलाभरि भिर्थ्यौ
तर अहिले कार्लमाक्स लेलिन र माओबादका।
किताबहरू मात्र बोक्न थालेछौ ।

त्यो भारी झोला कस्को हो
जो अहिले तिमी गर्धनमा भिरिरहेछौ
कस्को हो त्यो झोला
जहाँ, जन्ताका सपनाहरुभन्दा पनि धेरै
आफ्नै आश्वासनहरू छन्
ओ कवि !
माकुराको जालो जस्तो
त्यो झोला कस्को हो
जहाँ, सिकात झै गरेर झुन्डिरहेछ
तिम्रो जीवन।

पैले पैले झोलामा झन्डा
र कवितामा क्रान्तिका ओजहरू भरिएका
कागजहरू हुन्थिए
तर अफसोच अहिले
कसरी बद्लिए तिनीहरू
पार्टीको पर्चा र पम्पलेटहरू भएर
र कसरी कोरिए
ती कागजहरुमा
आफै चुनाब चिन्हहरू ।

ओ कवि
यस्तो लाग्छ साएद !
तिमीलाई राजनीतिको
हावाले धेरै नै छोइसकेछ ।

✍️सुजन बुढाथोकी
रतुवामाइ, मोरङ्ग

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *