Skip to content

रिटायर्ड भएपछि

  • by
eriacta
BirBahadurThakuri

रिटायर्ड भएपछि मान्छे
युवा भए पनि
आफूलाई बुढो सम्झन्छन्,
नौलो भए पनि
आफूलाई पुरानो बनाउँछन्

पुरानो गीत सुन्छन्
पुरानो किताब पढ्छन्,
पुराना, पुराना गफ झिक्छन्,
पुरानो कुराहरू लेख्छन्,
पैसाको हिसाब किताब धेरै गर्छन्,
म यस्तो र उस्तो थिएँ भनी
आफ्नो गुण धेरै गाउँछन् ।

रिटायर्ड भएपछि
हैकम र हैसियत पनिरहँदैन,
पावर र पोजिसन हुँदैन,
जी हजुरी गर्नेहरू सबै टाढा हुन्छन्,
चञ्चल मनलाई चलाइरहने,
मायालु आँखालाई लोभ्याइरहने,
मदमस्तभई बोलाइरहने
ह्रदयमा काउकुती लगाइरहने
विपनाहरू सबै सपना हुन्छन्,
झझल्कोहरू सबै जपना हुन्छन्,
ती मध्ये केही अतित बन्छन्,
केही इतिहास हुन्छन्,
जे सुकै होस्
रिटायर्ड भएपछि मान्छे
जलिरहेको बत्ती
झ्याप्प निभे जस्तो हुन्छ,
फुर्सद थोरै
व्यस्तताले धेरै छोपे जस्तै हुन्छ,
रियायर्ड भएपछि मान्छे,
भाते जाँड जस्तो अमिलो हुन्छ ।

अरु जेसुकै भए पनि
मेरो हिसाब किताब बेग्लै छ,
रिटायर्ड भएर पनि
म मेरो जिन्दगीलाई टायर्ड बनाउँदिन,
केश पाके पनि यो मनलाई
लत्याक्क लुतुक्क होइञ्जेल पकाउँदिन,
खोला धाए पनि
तिर्खा भएर म, कहिल्यै धाउँदिन,
मनमा फोहोर दह जमेको जस्तो
चुप लागेर म, बस्दै बस्दिन ।

बरु सोँच्दैछु
आफ्नो उमेरलाई लालुपाते बनाएर
कि म साईँली, माईलीसँग पिरथि गाँसु,
कि म, बौलाहा झैँ एकलै हाँसु,
कि म नयाँ जाँगिरको लागि सहर पसौँ,
कि म नयाँ केही गरेर इतिहास रचौँ,
किवा नेता बनेर जनतालाई ढाँटु,
प्रिये,
लौ तिमी नै भन,
रिटायर्ड भएपछि म के गरुँ ?

-बी बी ठकुरी
२९ जनवरी, २०२१
मिल्टन कनाडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *