विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग एक नियाल्दा


परिचय

रजस्थल पत्रिकाको वर्ष सत्र पूर्णङ्क ५९, २०७१ साल श्रावण – आश्विन अङ्क विश्वेश्वरप्रसाद कोइराला विशेषाङ भाग एक दुई विश्वेश्वरप्रसाद कोइरालाको शतबार्षिकी अवसरमा प्रकाशनमा आएको छ । भाग एकमा विभिन्न क्षेत्रका विद्वानहरूबाट साहित्य र राजनीतिक क्षेत्रमा वी.पी.ले पुर्याएको योगदानलाई विविध दृष्टिकोणबाट विश्लेषण गरिएका लेखहरू समावेश गरेको पाइन्छ । वास्तवमा यो विशेषाङ्कले वी.पीले दुवै क्षेत्रमा पुर्याएको गौरवमय योगदानका केही भागलाई प्रस्तुत गर्न सफल देखिन्छ । यस्तो गहनकामलाई आत्मसात गरी प्रकाशनमा ल्याउने रजस्थलका प्रधान सम्पादक विश्वप्रेम अधिकारी र सम्पादकज्यूहरू चिन्तु गिरी, लीलाम्बर ढुङ्गाना, मिलन समीर, बलराम दोरङ्गा, त्रिभुवन शर्मा, टीकाराम वाग्ले र गाविन्दप्रसाद शर्मा लगायत रजस्थल परिवारलाई धन्यवाद दिंदै यस विशेषाङ्कलाई वी.पी.को राजनीतिक र साहित्यिक जीवनको दुवै पाटोलाई सङ्क्षिप्तमा प्रस्तुत गर्न चाहान्छु ।

विभिन्न क्षेत्रका ५७ जना विद्वानहरूले आफ्ना लेखद्वारा राखेका भिन्न भिन्न शीर्षकमा पोखिएका धाराणाले ५४७ पृष्ठ ओगट्न सफल देखिन्छ भाग १ । यी लेखभित्रका विविध विषयमा लेखिएका लेखलाई समष्टिगत रूपमा हेर्दा राजनीति र साहित्यले नै यस कृतिमा प्रसय पाएका छन् । प्राध्यापक डा. देवीप्रसाद कँडेलको लेखको आधारमा वी.पी.को राजनीतिक जीवन यसरी केलाउन सकिन्छ । वी.पी.को जन्म वि.सं १९७१ भाद्र २४ गते दिव्या कोइरालाको कोखबाट तृतीय पुत्रको रूपमा बनारसमा जन्म भएको र नाम चूडामणि रार्खिएको, अध्ययनमा राजनीतिशास्त्र, अर्थशास्त्र र कानूनमा स्नातक, वि.सं १९९५मा सुशीला उपाध्यायसँग विवाह भएको थियो । वी.पी.को राजनीतिको थालनी पनि कलिलै अवस्थाबाट भएको हो ।

उनको राजनीतिको थालनी पनिरहस्यमय छ । उनी सर्बप्रथम आतङ्कवादमा देखिए । उनलाई वेतियामा भएको हत्या हिंसा र डकैतीको केशमा चारमहिना (१९३०) थुनामा बस्नु पर्यो । मोतीहारीको डकैतीको केशमा पनि नाम मुच्छिएको थियो तर त्यसमा यिनको सहभागिता थिएन र सफाइ पाएका थिए । भारतको स्वतन्त्रताको लागि कलिलो उमेरमै उनी ६/७ पटक जेलमा पनि बस्नु पर्यो ।

१५ अगस्त १९४७मा भारत स्वतन्त्र भयो । २००३ साल कार्तिक १५ गते बनारसमा अखिल भारतीय राष्ट्रिय काँग्रेसको जन्म भयो । वि.सं. २००३ साल माघ १३ गते कलकत्ताको भवानीपुरमा बृहत सभाको आयोजना गर्यो । सञ्चालक समितिको चयन गर्ने काम भयो । पार्टीको नाम नेपाली राष्ट्रिय क्राँग्रेस बनाइयो यसरी पार्टीको जन्म भयो । २००४ सालमा विराटनगरमा मिलमज्दुर आन्दोलन गरियो र वी.पी.लाई राणा सरकारले गिरफ्तार गर्यो । २००४ साल वैशाख १९ देखि जेष्ठ १६सम्म २९ दिन वी.पी. अनसनमा बस्नुभयो । २००५साल श्रावण १ गते कलकत्तामा नेपाल प्रजातन्त्र काँग्रेस नामको अर्को राजनीतिक दल खडा भयो । काँग्रेस मिलायर नेपाली काँग्रेस बनाइयो । २००७ सालमा असौज १० र ११ गते मातृत्वप्रसाद कोइरालाको नेतृत्वमा भारतको बैरगनीया भएको सम्मेलनले सशक्त आन्दोलन गर्ने तय भयो । २००७ साल कार्तिक २६ गते राजा त्रिभुवन सपरिवार दिल्ली गए पछि २००७ साल ७ फागुनमा नेपालमा प्रजातन्त्र स्थापना भयो । अन्तरिम मन्त्रीमण्डलमा वीपीलाई गृह्यमन्त्री बनाइयो । २००९ सालमा वीपी ने.का.को सभापति हुनु भयो । २०११ साल पौष २६ गतेदेखि ने.का.ले देशव्यापी सत्याग्रह आन्दोलन सुरु गर्यो । राजा महेन्द्रले आम निर्वाचन गराउने भनेपछि सत्याग्रह रोकियो । वि.सं. २०१३ सालमा तरुण दलको गठनको साथै प्रजातान्त्रिक समाजवादको घोषणा गरी नेपाली काँग्रेसको सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद बनाउनु भयो । निर्वाचन आलटाल भएको हुँदा २०१४ साल मंसिर २२ गतेदेखि भद्रअवज्ञ आन्दोलनको सुरु गर्यो र महेन्द्रले आम निर्वाचन गराउने निर्वाचनको घोषणा गरे । वि.सं. २०१५ सालमा जेठ २ गते सुवर्ण सम्शेरको नेर्तत्वमा निर्वाचन सरकारको गठन २०१५ साल फागुन ७ गतेबाट संसदको निर्वाचन सुरु, १०९ सिट मध्ये ७४ सिट नेकाले ल्याएर २०१६साल जेठ १३ गते वी.पी. निर्वाचित प्रधान्मन्त्री बन्नुभयो ।

२०१७ साल पुष १ गते महेन्द्रले दिनको ११.३० बजे प्रधानमन्त्री लगायत मन्त्रीहरूलाई गिरफतार गरी दिउसो ३.३० बजे मन्त्रीमण्डल र संसद दुवै विघटन, २०१७ साल पौष २२ गते राजनीतिक दलहरू दलका बर्गीय संघटनहरूमा प्रतिवन्ध लाग्नु, वि.सं. २०१७ साल चैत्र १० गतेदेखि वी.पीले आमरण अनसनमा बस्नु, २०१७ सालदेखि २०२५ सालसम्म आठ वर्ष कठोर जेल जीवन २०२५ सालदेखि २०३३ सालसम्म निनवार्सित जीवन र २०३३ साल पौष १६ गते राष्ट्रिय मेलमिलापको नारा लिएर स्वदेश फिर्ता, पञ्चायती सरकारले गिरफतारी ७ वटा संगीन मुद्दा लगायो । यी मुद्दामा २०३४ साल वैशाख १७ गतेदेखि जेठ ४ गतेसम्म अदालत बयान दिंदै ने.का. नेता तथा कार्यकर्ताले गरेका कामको नैतिक जिम्मेवारी लिनु, वि.सं. २०३४ साल फागुन १२ गते राजाको हुकुम प्रवाङ्गीले जेल मुक्त भै उपचार गराएको । २०३६सालमा जनमत सङ्ग्रहमा भोट दिन नेपाली नागरिकलाई आह्वान गर्नु । जनमतको नतिजालाई स्वीकार्नु । वि.सं.२०३९ साल श्रावण ६ गतेमा वी.पी.को निधन भएको विवरणहरू हामीले यस विशेषाङ्कमा अध्ययन गर्न पाइन्छ । वी.पी.ले छोटो अवधीमा विकासका धेरै कामको थालनी गरेको देखिन्छ । वी.पी.का सबै विचारहरू राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सकृय परराष्ट्र नीति थियो भन्ने धारणा यसमा समावेश भएका लेखहरूमा प्रस्तुत भएको पाइन्छ ।

साहित्यसँग विश्वेश्वर प्रसाद कोइराललाई जोडेर हेर्दा उहाँका कृतिहरू् उपन्यासमा तीनघुम्ती (२०२५), नरेन्द्रदाइ (२०२७), सुम्निमा (२०२७), मोदीआइन (२०३६), हिटलर र यहुदी (२०४२), बाबु आम र छोरा (२०४५)गरी ६ ओटा उत्कृष्ट उपन्यासहरू प्रकाशनमा आएका छन् । कथा लेखनमा वी.पी.को लेखनको थालनी हिन्दी भाषाबाट भयो । लेखनको थालनी १६ वर्षको कलिलो उमेरमै भएको थियो । ‘पहिलो कथा जो वनारसबाट प्रकाशित हुने हंसमा प्रकाशन भएको थियो भने ‘चन्द्रवदन’ नेपालीको उनको पहिलो कथा हो । ‘दोषी चस्मा (२००६), ‘श्वेत भैरुवी ( २०४४)’ वी.पीका कथा (२०५०) कृतिको रूपमा अध्ययन गर्न पाइन्छ । संस्मरणको रूपमा आफ्नो कथा (२०४०), जेलजर्नल (२०५४) र वीपीको आत्मवृतान्त (२०५५) हामीले पढ्न पाइन्छन् । वीपीका कविता कवितासङ्ग्रह (२०५९)प्रकशनमा आएका छन् । वीपीका साहित्यिक लेखनमा फ्रायडवादको प्रभाव परेको, मनोविश्लेषणात्मक तथा यौनवादी साहित्यक प्रयोक्तामा प्रस्तुत गरिएको पाइन्छ । यी माथि लेखिएका साहित्यिक कृतिमाथि विविध दृष्टिकोणबाट विश्लेषण गरिएको देखिन्छ ।

विश्वेश्वर प्रसाद कोइरालाको परराष्ट्र नीति

वास्तवमा वी.पी.को राजनीतिक तथा साहित्यिक यात्रामा विद्वानहरूका धारणा यसप्रकार अध्ययन गर्न सकिन्छ । प्रा. डा. जयराज आचार्यले ‘वी.पी.कोइरालाको परराष्ट्र नीतिको मुख्य उद्देश्य नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो र यो आफ्नो परराष्ट्र सम्बन्धमा स्वतन्त्र निर्णय गर्न सक्ने देश हो भन्नेकुरा स्थापित गर्नु थियो’ (पृ.२) भन्नुहुन्छ । प्रा.डा. देवीप्रसाद कँडेलले वी.पी.को परराष्ट्र नजीति नेपाललाई विश्व रङ्गमञ्चमा चिनाउन गरेको प्रयास ज्यादै प्रंशसनीय भएको ठान्नुहुन्छ र विश्व शान्तिको धारणा वी.पी.मा भएको ठान्नुहुन्छ र भन्नुहुन्छ–‘एकल काटे नीति अपनाएको नेपाललाई, विश्वसमुदायमा पहिचान गराउन वी.पी.ले खेलेको महिमा अविस्मरणीय छ ।’ विर्खे अञ्जानले वी.पी.लाई ‘वैदेशिक हस्तक्षेप वैदेशिक अङ्कुशताको खिलाफ आावाज उठाउनु’ (पृ४०३)व्यक्तिको रुपमा लिनुहुन्छ । वी.पीले छोटो अवधीमा पनि आफ्नो वैदेशिक नीतिलाई प्रष्ट्याइसक्नुभएको थियो । भारतीय प्रधानमन्त्री १९५९नोभेम्बर १७मा भारतीय लोकसभघामा उठाएको ‘नेपाल वा भुटानमा हुने कुनै पनि आक्रमण भारतमा आक्रमण भएको ठानिने छ भनिएकोमा वी.पी.ले ठाडै विरोध गरेपछि भारतीय प्रधान मन्त्रीले सच्याउनु, चिनसँगको सीमा विवाद पनि बुद्धिमत्तापूर्णरूपले समाधान गर्नु, छोटो अवधीमा १६ ओटा राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापित गर्नु जस्ता गहन धारणाहरू यस विशेपषाङ्कमा परेका छन् ।

विश्वेश्वरप्रसाद कोइरालाका कथाकारिताः–

कथाकारिताको क्षेत्रमा यस विशेषाङ्कमा गरिएका विवेचनामा विभिन्न समालोचकहरूको अभिव्यक्तिहरू मनन् योग्य छन् । प्रा. डा. जयराज पन्तले विश्वेश्वर‘प्रसादको कथा’ को अध्यायन गर्दै कथाको विवेचना गर्दै भन्दछन् –‘यस कथाले कथाकार कोइरालाको प्रवृत्ति, प्रकृति, कथा शिल्प, प्रभाव, भाषाशैली,अध्ययन, अभिरुचि, अवस्थाको समेत प्रतिनीधित्व गरेको छ’ (पृ. १२) भन्ने ठहर छ । डा. लक्ष्मणप्रसाद गौतमले ‘चन्द्रवदन, शत्रु, सिपाही, प्रेम –पहिलो दुलही, द्वन्द्व प्रेम, मधेसतिर, होड, दोषी चस्मा, प्रेम (दास्रो), कर्नेलको घोडा, पवित्रा,श्वेतभैरवी, राइटर बाजे लगायतका कथाहरूमा मनोविज्ञानपरक पठनीयता बढी देखिन्छ (पृ७१) भन्ने अभिव्यक्ति पाइन्छ । श्वेतभैरवी कथा सम्बन्धमा कुमारप्रसाद कोइराला ( विद्यावारिधि)ले श्वेतभैरवी कथा यौनको प्रकृतिमात्र नभएर संस्कृति पनि व्यञ्जित भएको पाइन्छ’ (पृ. १३३) भन्ने धारणा राख्नुभएको छ । डा. नेत्रप्रसाद न्यौपानेले विश्वेश्वरप्रसाद कोइरालातथा आत्मिक प्रेम र मानवतावादी चिन्तनका केन्द्रमा उनको राइटरबाजे कथामा ‘कथाकारका उच्च प्रेम प्रकट भएका कथाहरूमा यो अगाडि छ । र यसले दैहिकभन्दा आत्मिक प्रेमका पक्षमा वकालत गरेको छ ।……. अतःपरकीय सुखका खातिर नारीहरूले महान कर्म र कर्तव्यका अभियानहरू उठाउँछन् भन्ने विषयबस्तु समेटिएको यो कथा आदर्शवादी हुँदाहुँदै पनि प्रखर यथार्थवादी र मानवतावादी बनिरहेको देखिन्छ्’ (पृ १५९)। विजेताले विश्वेश्वरप्रसाद कोइरालाका कथाका नारी पात्र र उनको मनो वर्णन शीर्षकमा १०ओटा कथाको राम्रो विश्लेषण गरेको देखिन्छ । विजेताले निष्कर्षमा ‘उनका कथाहरूमा नेपाली समाजिक, सांस्कृतिक, रुढी र अन्ध परम्पराबाट पीडित नारीका मनोविश्लेषण गरिएको छ भने मानवीय तत्व र मानसिक संवेगको समेत कलात्मक वर्णन गरिएको छ (पृ.२४४)।

टेकनाथ दाहालले वीपीको समाजवाद र उनको वौलाहा कथा शीर्षकमा‘–बौलाहाको यस्तै मनोरचनाको पर्दाभित्र वीपीले समाजवादको अपरिहार्यतालाई खोजी गरेका छन्’ (पृ२६४)भनिएको छ । वनमाली निराकारले वी.पी.का कथा उपन्यास तथा जीवनी आदि पढेर उनी युद्ध विरोधी थिए भन्ने धारणा पोख्दै भनेका छन् –मेरो अध्ययनको निष्कर्ष विश्वेश्वर प्रसाद कोइराला युद्ध विरोधी हुन् भन्ने हो’ (पृ २७१)। जगन्नाथ कोइराला भन्नुहुन्छ –‘कथाकार कोइराला मनोविश्लेषणात्मक कथाका प्रर्वतक र त्यसमा पनि रतिरागको प्रयोगको दृष्टिले प्रथम प्रयोक्ता मानिएका छन्’ (पृ.२७३) । दुर्गाबहादुर रोकाहाले कथाका पुरुष पात्रहरूको अध्ययन गर्नुभएको छ । २६ ओटा कथामा ५ओटा कथामा निम्न वर्गका पुरुष पात्र देखिन्छन् । ९ओटा कथामा मधयम वर्गका पात्र, उच्च र निम्न मिश्रित पाठक पात्र ३, उच्च र मध्यम मिश्रित पाठक चार, मध्यम र निम्न वर्गका चार जना पात्र, उच्च मध्यम र निम्न वर्गका मिश्रित पात्र रहेका कथा १ गरी नेपाली समाजको संरचना अनुकुल पात्रहरूको चयन भएको र सबै पात्रको उठान, द्देश्य र भूमिका सशक्त देखिन्छ भन्ने धारणा राख्नुभएको छ ।

शान्ति रिसालले लेख्नुहुन्छ – ‘उनका कथामा पाइने सुक्ष्मता, गम्भीरता, सरलता, स्वभाविकता, सङ्क्षिप्तता, मनोविश्लेषणमूलक कलात्मकता, कारण उनका कथाहरू पश्चिमी कथाहरूसँग तुलनीय भएका छन्’ (पृ (४४०) । श्यामजी अतिथि शर्माले वी.पीका कथाको बारेमा लेख्नुहुन्छ– कथाकार विश्वेश्वर प्रसाद कोइरालाको कथाको अन्त्य हुँदैन कौतुहलतामै यसको अन्त्य गराइएको हुन्छ’ (पृ. ४८५)। नारायणप्रसाद काफ्लेले विश्वेश्वर प्रसाद कोइरालाका कथाहरूलाई चार चरणमा विभाजन गर्नुभएको छ । प्रथम चरण (१९९२–१९९५)मा चन्द्रवदना, बिहा, शत्रु, र सिपाही प्रथम चरणमा लेखिएका कथामा रतिराग केन्द्रित रहेका, दोस्रो चरण (१९९६–१९९८)मा लेखिएका कथामा यौन आकाङ्छा चाहना आदिको विश्लेषण, गरेको पाइन्छ ।प्रेम, द्वन्द्वप्रेम, मधेसतिर यस समयका कथाहरू हुन् । तेस्रो चरण (१९९९–२००६)का कथा दोषीचस्मा १४ कथा समावेश भएका र गम्भीर यौनकेन्द्रित छन् । चौथो चरण (२०१७–२०३९)का कथाहरू श्वेतभैरवीमा समावेश गरिएको छ र वीपी सफल कथाकार भएको जानकारी यस लेखमा पाइन्छ ।

दीपकप्रसाद गौतमले दोषी चस्मा कथाको विश्लेषण गर्दै ‘…… मनोवैज्ञानिक यथार्थको चित्रणका दृष्टिले कथा अत्यन्तै सफल र सवल देखिन्छ’ (पृ.४९६) । लोकहरि पाण्डेयक्षितिजले श्वेतभैरवी कथामा प्रयुक्त मनोविज्ञानको विषयमा विश्लेषण गर्दै भन्नुहुन्छ– ‘श्वेत भैरवी कथा विश्वेश्वर प्रसाद कोइरालाको आत्मसंस्मरणात्मक शैलीमा संरचित मनोवैज्ञानिक यथार्थवादी कथा हो’, (पृ ५३९) ।

वास्वमा विश्वेश्वरप्रसादका कथाहरूले मानवीय संवेदनका विविध पक्षलाई मनोविश्लेषणात्मकरूपमा यौनकेन्द्रित धारणालाई एक श्लीलरूपमा प्रस्तुति गरेको छ । वी.पी.बहु विषयका ज्ञाता भएको उनका लेखनशैलीले जनाउने र उनका कथामा सिग्मण्ड फ्रायडको फ्रायडेली यौनमनोविज्ञान परक पठनीयताको प्रभाव परेका धारणा विविधलेखमा अध्ययन गर्न पाइन्छ ।

वी.पी.का साहित्यसिर्जना र व्याक्तित्वमा विभिन्न विद्वानका अवधारणा

डा. गोविन्दराज भट्टराईले विश्वेश्वरप्रसाद कोइरालाका साहित्यिक सिर्जनामा चारवटा विशिष्ट, मौलिक र निर्विवादित स्थान भएको बताउनुहुन्छ । यी चारवटा विशिष्टताहरू (क) आधुनिक नेपाली कथाका प्रारम्भ कर्ता, (ख) नेपाली साहित्यमा मनोविश्लेषण सिधान्तका आदि प्रयोक्ता, (ग) पूर्वीय मूल्य एव म चिन्तन पद्धतिका पुनव्र्याख्यता (घ) विश्वसाहित्यको व्यापक प्रभावलाई नेपाली साहित्यमा प्रयोग गरी अकल्पनीय रूपले यसको स्तरोन्नतिमा समर्पित स्रष्टा, (पृ.१३), हुन् । भट्टराईजीले सपुष्टरूपमा यस लेखमा वी.पी.का साहित्य सिर्जनामा प्रकाश पार्नुभएको छ । प्रा. गोपीकृष्ण शर्माले वी.पी.लाई ‘जीवनवादी दृष्टि लिएर साहित्य रचना गर्ने साहित्यकार.. मानवलाई महान ठान्ने, …मानवतावाद प्रमुख चिन्तन,.. भौतिक र अध्यात्मिकमान्यताहरूको संयोजन पूर्ण मानव हो भन्ने मान्यताका समर्थक हुन् (पृ.१४३)भन्नुभएको छ । कपिल अज्ञातले वी.पी.को राजनीतिक तथा साहित्यिक क्षेत्रको व्याख्या गर्दै ‘साहित्य र राजनीति दुवै क्षेत्रको विशिष्ट वर्चश्वले यिनको व्यक्तित्वलाई बढी गरिमामय तुल्यायो (पृ.३१८) भन्नुहुन्छ । टीकाराम वाग्लेले लेख्नहुन्छ––‘वी.पी.को मूल्याङ्कन गर्ने हो भने उहाँ साहित्यमा परम्परावादीका विरुद्ध एउटा स्वतन्त्र र निजत्वलाई स्वीकार गर्ने, राजनीतिमा समय सापेक्ष सोच राख्ने धर्मबारे अन्धानुकरण नगर्ने अनौठो व्यक्तित्व हुनु हुन्थ्यो’ (पृ. ३५४) । रामहरि शर्माले वीपीको समयको सदुपयोगको बारेमा व्याख्यागर्दै लेख्नुहुन्छ – ‘विश्वेश्वरप्रसाद कोइरालाले कसैको निन्दामा आफ्नो स्वर र समय कहिल्यै खेर फालेनन्’ (पृ.३५६) । परशुराम तिमसिनाले लेख्नुहुन्छ–‘जस्तो सुकै विकट परिस्थितिमा पनि वी.पी. कोइरालाले र।ाष्ट्रीयता र प्रजातन्त्रप्रतिको आफ्नो निष्ठामा कहीं कतै कसैसँग सम्झौता गरेनन्’। विर्खे अन्जानले लेख्नुहुन्छ– ‘राजनीतिमा देश र साहित्यमा जनता देख्नुहुने वी.पी.को दुवै पाटो र पक्षमा उक्तिकै सशक्त भूमिका छ ।

साहित्यमा अब्बल र राजनीतिमा सफल नेताको रूपमा वी.पी.लाई चिन्न सकिन्छ’ (पृ ४१०)। तुलसीहरि कोइरालाले महामानव कि असल मानव भनेर विश्वका महान नेता गनिनेसँग वी.पी.लाई तुलनान गर्दै ‘राजनेता नभएको कारण देश सही बाटोमा हिड्न नसकिरहेको अवस्थामा कम्तीमा पनि विश्वले चिने मानेका राजनेता वी.पी.लाईअसल मानवको कोटीमा राखेर अरू नेताहरूको मूल्याङ्कन गरौं न (पृ ४५४) ?’ भन्ने धारणा अभिव्यक्त गर्नुभएको छ । मिलन समीरले विश्वेश्वरप्रसाद कोइरालालाई बरिष्ट आख्यानकारकौ रूपमा लिंदै उनका मूलभूत आख्यानका प्रवृत्तिहरूको विश्लेषणात्मक लेख प्रस्तुत गदै भन्नुहुन्छ –उनका आख्यानमा समाजका आर्थिक, सामाजिक, राजनीतिक, एव म साहित्यिक पक्षजस्ता कुराहरू अभिव्यक्त भएर आएका छन्’ (५३१) । हरिहर सविताले ‘वी.पी. यौनवादी साहित्यकार होइनन् यौन विश्लेषक हुन्’ ( पृ.५४७) भन्ने धारणा पोख्नुभएको छ । प्रा.डा.भूपति ढकाल कमलले वी.पी.ले परिकल्पना गरको मध्यम बर्गीय नेपाली समाजको निमार्ण व्यवहारमा उतार्न सकिने र ‘समृद्धशाली नयाँ नेपालको सुनौलो भविष्य निमार्ण गर्न’ (पृ८६) लाग्नु पर्ने धारणा राख्नुभएको छ । हरि अधिकारीले ‘वी.पी. कोइरालाकोनेपाली राजनीतिमा अन्यत म स्थान छ । उनी आधुनिक नेपालका निर्माताहरूमध्ये सबैभन्दा टड्कारोसँग देखिने चिनिने र सम्मानका साथ स्मरण गरिने ठूला व्यक्तित्व हुन् । कोइराला र सांस्कृतिक सन्दर्भ शीर्षक दिएर राजवेन्द्र सुवेदीले ‘कोइराला साहित्य सृर्जनामा साहित्यको समाजशास्त्र, र साहित्यमा सांस्कृतिक चिन्तन पनि उपयोग भएको कुरा यहाँ प्रतिपादित निष्कर्षले प्रस्तुत गरेको छ –पृ. २१३)’ भन्ने धारणा व्यक्त भएको देखिन्छ’ । मुकुन्द शर्मा चालिसेले वी.पी.का लेखनमा संस्कृत शब्दका प्रयोगलाई केलाउँदा ‘यदाकदा वी.पी.कोइरालालाई संस्कृतको मोह बढी नै हो कि भन्ने पनि देखा पर्दछ’ (पृ.२१८) भन्ने धारणा पोख्नुभएको छ । हुमकान्त पाण्डेले लेख्नुहुन्छ– ‘उनका रचनाका वैशिष्टय, तिनका शक्ति, रसीमातिर ध्यान नदिएर अन्धश्रद्धा र आग्रहीआक्षेप व्यक्त गर्नेहरू दुवैले कोइरालाप्रति न्याय गर्दैनन्’ (पृ. २७८) । टेकनारायण भुसालले वी.पी. कोइरालाको परिचय र साहित्यिक योगदानको चर्चा गर्दै ‘… त्यसैले उनी प्रजातन्त्रका प्रवर्तक र मानवताका मानवताका पूजारी उव म राष्ट्रवादी र अन्तर्राष्ट्रिय नेताहुन् भन्न सकिन्छ ।….आफ्नो आस्थाबाट कहिल्यै विचलित नभएका कोइरालाको संघर्षपूर्ण जीवन स्वय म उनको ईश्वरदर्शनको उज्ज्वल पक्ष हो’ (पृ.३३२), भन्नुभएको छ । नवीनचन्द्र घिमिरेले वी.पी.कोइरालाका चिन्तन र अभ्यासलाई अध्ययन गर्दै भन्नुहुन्छ –‘सबै प्रकारका विचारलाई सम्बोधन हुने गरी आफ्ना नयाँ विचार प्रतिपादन गरेका हुनाले उनी महामानव भएका हुन् र एउटा युग नायकका रूपमा चिनिएका हुन्’ –पृ ५०२) ।

वी.पीका ृउपन्यासको बारेमा लेखिएका विवेचनाहरू–

वी.पी.का उपन्यासहरूको बारेमा पनि विभिन्न साहित्यकारले विविध दृष्टिकोणको आधारमा आफ्ना धारणा राखेको पाइन्छ । डा. नारायण चालिसेले मोदी आइन र हिट्लर र यहुदी ‘उपन्यासहरू मानवतावादको स्थापनाको उद्देश्यले महत्वपूर्ण दस्तावेजका रूपमा रहेका छन् (पृ४२)’ । ‘श्रीमद्भागवताका श्रीकृष्ण र दोस्रो युद्धका नायक डिटलरका वीचमा पनि भिन्नता नरहेको भन्नेसम्मको आक्षेप कोइरालाले लगाएका छन् ( (४९) । प्रा.डा..कृष्णा प्रसाद दाहालले बाबु आमा र छोरा उपन्यासमा नकरात्मक – नकरात्मक द्वन्द्वविधानको रूपमा अध्ययन गरिएको र ‘उपन्यासको मुख्य विषयको रूपमा आएको नियतिले कोरेको नारीको विसङ्गतिपूर्ण जीवनलाई नकरात्मक – नकरात्मक द्वन्द्वले पारदर्शी तुल्याइदिएको छ ।… नकरात्मक – नकरात्मक द्वन्द्वविधानका दृष्टिले सफल देखिन्छ’ (पृ.६८) भनिएको छ । प्रा.डा. एकनारायण पौडेलले सुम्निमा उपन्यास र वी.पी.को मेलमिलापको नीतिलाई तुलनात्मक्रूपमा विश्लेषण गर्ने प्रयास गर्नुभएको र ‘यसरी सुम्निमाको रूप धारण गरी वी.पी.ले दुई भिन्न सिधान्त वा दर्शन बोकेर हिंडेका व्यक्ति वा समूहसँग पनि सम्झौता गर्न सकिने र गर्नु पर्ने कुराको संकेत २०२१ सालमै गरिसकेका थिए’ (पृ १०५) र सो को २०३३मा राजनीतिमा स्पष्ट देखिएको धारणा पोखिएको छ ।

शारदा शर्माले कोइरालाका नारी पात्रहरू भनेर ६ ओटा उपन्यासका नारी पात्रहरूको अध्ययन गरेर लेख्नुहुन्छ–‘कोइरालाका प्रत्येक उपन्यासका मूल नारी पात्रहरू आ–आफ्नै दर्शन धारणा र मान्यतामा पूर्णतया स्पष्ट परिपक्क छन्’ (पृ.१७५) । डा. ज्ञानु पाण्डेले तीनघुम्ती उपन्यासको लैङ्गिक पठन गर्नुभएको र उहाँको यस सम्बन्धमा ‘समाज अस्तित्वभन्दा व्यक्ति अस्तित्व ठूलो हो भन्ने सार बोलेको यो उपन्यासभित्र अस्तित्ववादी चिन्तन जति उच्च स्वरमा अभिगुञ्जित भएको छ त्योभन्दा कत्ति पनि कम उच्च लाग्दैन यसभित्र गुञ्जित लैङ्गिगकताको पाठ’ (पृ. १९८) । टंक पन्थले तीन घुम्ती उपन्यासमा ‘उपन्यासकार कोइरालाले नारी मनोविज्ञानका पृष्ठ भूमिमा मानवीय अहं र अस्तित्वलाई उठाएका छन्’ –पृ.२५७) भनिएको पाइन्छ । कृष्णप्रसाद सापकोटाले सामाजिक संरचनाका कारणले गर्दा सम्पूर्ण नारीहरू उत्पीडनको सिकार बन्नु पर्ने परिस्थिति सिर्जित भएको कुरालाई उपन्यासले सहज र सफल रूपमा प्रस्तुतगरेको पाइन्छ’ (पृ.३०३) भन्नुभएको छ । प्रमोद पंगेनीले नरेन्द्र दाइ उपन्यासको नियतिवादको आधारमा विश्लेषण गर्नुभएको छ र नियतिवादी उपन्यासका रुपमा व्याख्यायोग्य देखिन्छ’ (३२४) भन्नुभएको छ । कृष्णप्रसाद पोखरेलले मोदिआइन् उपन्यासको विवेचनात्मक अध्ययन गर्दै यो अनौठो लघु उपन्यास भएको र यसले अरु उपन्यासभन्दा छुट्टै योगदान दिन सफल देखिन्छ भन्ने धारणा राख्नुभएको छ । परसुराम पराजुली ‘पराशर’ले नरेन्द्रदाइ उपन्यासमा यौनमनोविश्लेण गर्दै लेख्नु ह’न्छ –‘..उनको साहित्य यौनवादी भए पनि सफल साहित्य भएको छ, असल साहित्य भएको छ (पृ३३९) पुण्यप्रसाद शर्माले सुम्निमा र कोइरालाको जीवन दर्शनको बारेमा प्रकाश पार्दै ‘कोइराला साहित्यमा अतिवादको विरुद्धमा देखिन्छन्’ (३८४) भन्नुभएको छ । शारदा पराजुलीले मोदिआइनको चारित्रिक विशेषतामा प्रकाश पार्दै ‘मोदिआइनमा वी.पीको विचारमा जति स्वच्छ र पवित्र छे व्यवहारमा त्योभन्दा पनि अँझै माथि छे् ।….यसरी हेर्दा मोदिआइन् उपन्यासले ‘बाँच र बाँच्न देऊ’ भन्ने मानवतावादी विचारलाई मनन गर्न सिकाएको छ’ (पृ४२६) भनेका छन् । मदन सुवेदीले ‘अन्तरनिहित वीपीको युद्धविरोधी दर्शनको अध्ययन गर्दै लेख्नुहुन्छ – वीपीको मेलमिलापको राजनीति र उनका साहित्यिक रचना द्वय– ‘मोदिआइन तथा हिटलर र यहूदी उनको युद्ध विरोधी दर्शनका प्रमाण हुन्’ (पृ४२७) । सरिता जोशीले नरेन्द्र दाइ उपन्यासमा पात्रगत विसङ्गतिको अध्ययन गरेर ‘कोइरालाको नरेन्द्र दाइ विसङ्गतिवादी दृष्टिकोणलाई आधार बनाएर लेखिएको एक उत्कृष्ट उपन्यास हो’ (पृ. ४४६) भन्नु एको छ । शशी थापा पण्डितले तीन घुम्ती उपन्यासमा अस्तित्वशून्य जीवन अनि पुरुषत्वको अहम्ताको विश्लेषण गर्दै ‘यस उपन्यासमा लैङ्गिक चेतना अभिगुञ्जित भएको पाइन्छ’ (पृ४४७) भन्नुभएको छ ।

गङ्गा कर्माचार्य पौडेलले वी.पी.को व्यक्तित्व्को बारेमा प्रकाश पार्दै भन्नुहुन्छ –उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मुल आधार बनाई आफ्नो दर्शन विकसित गरेका थिए’ (पृ ४५७) । कृष्णादेवी शर्मा श्रेष्ठको दृष्टि नरेन्द्र दाइमा पर्छ र ‘टेढीको जीवनसित सम्बन्धित यो उपन्यासमा वी.पी.को यौनवाद र भौतिकवाद दुवै छताछुल्ल भएको देखिन्छ’ (पृ.४६२) । निमग्ना घिमिरेले तीनघुम्ती उपन्यासमा अस्तित्ववादी विचारमा – अस्तित्ववादी जीवनदृष्टिको प्रस्तुति पाइने हुनाले कोइरालाको “तीन घुम्ती” एक उत्कृष्ट अस्तित्ववादी उपन्यास हो भन्न सकिन्छ’ (पृ.४८१) ।’

वी.पी.का विविध कृतिको बारेमा समावेश गरिएका विवेचनाहरू

डी. आर पोख्रेलले वी.पी.लाई बुझ्नको लागि उनको आत्मवृतान्त पढ्नु पर्छ भन्नुहुन्छ । प्रा. डा. कुलप्रसाद कोइरालाले विश्वेश्वर प्रसाद कोइरालाले २०१७ साल फागुन ४ गतेदेखि दैनिकी लेख्न थालेको र उनको यो ‘एउटा सानो दर्पण जसबाट वर्तमान र विगतको नेपाल र भारत लगायत सान्ु विश्वको चित्र देख्न पाइन्छ (पृ.१०१) भन्ने धारणा प्रकट गरिएको छ । ईश्वरमणि अधिकारीले वी.पी.का कविताको विवेचना गर्दै १२वटा कविताको आधारमा साहित्यकार कोइराला मूलत मानवतावादी, अस्तिववादी, चिन्तक र कलात्मक सौन्दर्यवादी कवि हुन्’ – पृ. २८७), भन्नुभएको छ’ । कृष्णहरि पहारीले वी.पी.को आफ्नो कथालाई प्रष्ट्याउने कोशिस गर्नुभएको छ र यस सम्बन्धमा भन्नुहुन्छ –‘आफ्ना जीवनका यावत घटनाहरूको यथार्थ परक चित्रण यही ‘आफ्नो कथामा’ मात्र पाइन्छ । त्यसैले यो नेपाली निबन्धको इतिहासमा छुट्टै विशेषता बहन गरेको मौलिक कृति हो’ (पृ.२२१) । गायन अधिकारीले जेलजर्नलमा प्रतिबिबित वी.पी.को द्रष्टा व्यक्तित्वमा विवेचना प्रस्तुत गर्दै ‘वीप्ीको निबन्धात्मक रचनामा मात्र नभई उनको आख्यानात्मक रचनाहरूमा समेत द्रष्टाव्यक्तिको प्रभाव पाइन्छ’ (पृ.४११), भन्नुभएको छ । माधव सयपत्रीले विश्वेश्वरप्रसाद कोइराला र फेरि सुन्दरी जलमा वी.पी.ले २०३३ साल पुष १६ गतेदेखि लेखेका दैनिकी लेखहरूलाई प्रष्ट्याउँदै लेखिएको यो लेखमा ‘सम्पूर्ण नेपालीले गर्व गर्न लायक नम्बर एक नेता वी.पी. नै हुन् यसमा सन्देह छैन’ (पृ४७२) भनिएको छ ।

रजस्थल प्रकाशन पूर्णाङ्क ५९को विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्कका ५७ जना लेखकका ५७वटा विस्तृत तथा विवरणात्मक यथार्थ परक लेखहरू यस विशेषाङ्कको विवेचना विभिन्न दृष्टिकोणबाट गर्न सकिन्छ र केही हद्सम्म विवेचना गरिएको पाइन्छ । विशेषाङ्कमा समावेश गरिएका लेखहरूले वी.पीका राजनीति र साहित्यिक क्षेत्रमा गहिरिन खोजेका छन् र प्रवेश पनि गराएका छन् सफलतामा उभिएको देखिन्छन् । भाग २को अध्ययन गरेर त्यसले दिन खोजेको सन्देशसहित पुःन हाजिर हुन गरी बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *