फलामे ढोका अर्थात् आइरन गेट । पहिलेको मेट्रिक र अहिलेको एसएलसी । दशवर्षको अभ्यासपछि विद्यार्थीले नाघ्नु पर्ने एउटा अग्लो पर्खाल—ग्रेटवाल ।पहिले माघमा र अहिले चैतमा लाग्ने एकहप्ते वार्षिक मेला । शहरतिरको कुरा त के छ ! गाउँतिरका परीक्षा केन्द्रहरूमा भने ठूलै भीडको वार्षिकोत्सव ! नआउँने को होला यहाँ ? परीक्षार्थीको ठ्याक्कै दोब्बर संख्याका अभिभावकहरू, भएभरका स्थानीय नेताहरू, स्थानीय जुल्फे र मुन्द्रेहरू । शिक्षक र प्र.अ.हरू पनि हुलका हुल—पालो गरी गरी । गणितको दिन त निमाविदेखि उमाविसम्मका तीन—तीनजना गणित शिक्षकहरू । कत्रो तामझाम र महत्व एसएलसीको ?कति माया गरेका सबैले परीक्षार्थीहरूलाई ? सुरक्षाकर्मीसम्मले परीक्षार्थीलाई झ्यालबाट माया गरेको देख्न पाइन्छ ।बिचरो ! केन्द्राध्यक्ष । एक्लो बृहस्पति त झुटो हुने नै भयो ।
पहिले, गाइड हुन्थेन । गेसपेपर थिएन । ट्युशन र कोचिङको चलनै थिएन । घण्टौँ घोरिएर कोर्दा—कोर्दा पनि कुनै—कुनै हिसाब मिल्दैनथे । कापी र कलम ओछ्यानमा असरल्ल, त्यत्तिकै छाडेर सुतिन्थ्यो । सोच्दा—सोच्दै कतिबेला निदाइन्थ्यो । समस्याले मानसिक दबाब दिएपछि कहिलेकाहीँ त सपनामा पनि समाधान पाइन्थ्यो । बेलुकी कत्ति गर्दा नमिलेको हिसाब भोलिपल्ट बिहान फटाफट मिलाइन्थ्यो । ज्यामितिका साध्यहरू प्रमाणित गर्न विभिन्न वैकल्पिक उपायहरू सोचिन्थ्यो । चिन्तन र मननसहितको अध्ययन हन्थ्यो त्यो बेला । पढाइ पूर्ण आत्मनिर्भर थियो, परनिर्भरताको गन्ध समेत थिएन । क्यालकुलेटर र टाइपराईटर सदरमुकामका अलिक ठूलाखाले कार्यालयमा मात्र देख्न पाइन्थ्यो । ठूला—ठूला गुणा र भागहरू पनि कापीमा कोरेरै गरिन्थ्यो । ढब्बू शव्दकोश पल्टाएर अङ्ग्रेजीका शव्दार्थ(मिनिङ) ! उभिने विषय नमिल्दा र तल्ला शैक्षिक योग्यताका निरीह शिक्षकहरू । मुश्किलले आधा किताब मात्र पढाइ हुन्थ्यो कक्षामा । बाँकी पाठहरू स्वाध्ययन गरेरै परीक्षा दिनु पर्थ्यो । जिल्लाभरिको एसएलसी परीक्षाकेन्द्र एउटै हुन्थ्यो सदरमुकाममा । चिट चोर्नु र अर्काको सार्नु भनेको आकाशकै फल हुन्थ्यो । यस्तो सोचाइ र अपेक्षा सपनामा पनि कल्पना हुदैनथ्यो । आत्मनिर्भरताको शिखरमै थियौँ हामी त्यो बेला । धेरै अगाडिको कुरा पनि होइन यो । मात्र तीनदशकपूर्वको सन्दर्भ यहाँ उल्लेख गरिएको हो ।
जमाना धेरै छिप्पियो र अहिलेको अवस्था र व्यबस्था अर्कै छ । पञ्चायत खाएर बहुदल हुँदै यो तीनदशकमा समय लोकतान्त्रिक गणतन्त्रमा पुगिसक्यो । साना, ठूला विभिन्न खालका गेसपेपर र गाइडहरूको छ्यासछ्यासति । अङ्ग्रेजीका कक्षागत शव्दकोश र तहगत व्याकरणहरू । वैज्ञानिक क्यालकुलेटर, मोबाइल, ल्यापटप, कम्प्युटर, लगटेबल र अनेक प्रकारका तालिकाहरू । कुनिचाहिँ साधन र सामग्रीको अभाव छ आज ?बाह्रमासे ट्युशन र कोचिङको फेशन गजबले चल्दो छ । गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षकहरू त भ्याइ—नभ्याइ नै छन् । अँझ नीजि बोर्डिङहरूमा त दश कक्षामा पुग्नासाथ होस्टलको नाममा विद्यार्थीलाई एकवर्षे जेल(कारागार) हालेर घोकाउँनु घोकाउँछन्, रटाउँनु रटाउँछन् ।
“मसित ट्युशन पढ्ने सजिलै एसएलसी पास !”—ठेकेदारीको नारामा होडवाजी गर्दै ट्युशन पढाउँछन् शिक्षकहरू । शिक्षकको यस्तो आश्वासनले पढ्नेभन्दा पनि शिक्षकबाट परीक्षामा सहयोगको अपेक्षा गर्दै परनिर्भर हुन्छन् विद्यार्थीहरू । सरकारी अस्पतालको जागिरलाईभन्दा आफ्नो नीजि क्लीनिकलाई डाक्टरले बढी ध्यान दिएझैँ स्कुललाईभन्दा ट्युशन र कोचिङलाई अर्जुनदृष्टि दिन्छन् धेरै शिक्षकहरू । तब त स्कुलमा कहिल्यै कोर्श पूरा हुँदैन । ट्युशन पनि एसएलसीको मात्र हो र ! क, ख, ..र ए, बी, सी, …देखि माथि स्नातकोत्तर डिग्रीसम्म नै ! गणित, अङ्ग्रेजी र विज्ञानको त छँदैछ ।हरेक सङ्कायमा प्रत्येक विषयका ट्युशन नै ट्युशन । विद्यार्थीमा परनिर्भरताको यो कत्रो पराकाष्टा ?के पढ्नु भनेको अरुले खनिदिएको बाटोमा हिँड्नु होइन र ?अरुले खनिदिएको बाटोमा हिँड्न त यसरी सहारा(बैशाखी) लिनु पर्छ भने आफैँ बाटो खनेर हिँड्नुपर्दाको अवस्था कस्तो होला ?
एसएलसी परीक्षामा अहिले ‘होमसेन्टर’ छैन । एउटा स्कुलका विद्यार्थीले अर्को स्कुलमा गएर परीक्षा दिनु पर्छ । परीक्षालाई स्वच्छ र मर्यादित बनाउँन यस्तो व्यबस्था गरिएको हो । यसो गर्दा केन्द्राध्यक्ष नयाँ(केन्द्र स्कुलको) भएता पनि गार्ड(निरीक्षक)हरू आफ्नै स्कुलका सरहरू हुन्छन् । एसएलसी परीक्षाको एक महिनापूर्वदेखि नै परीक्षाको मौसम शुरु भैहाल्छ । चलखेल र आदानप्रदानले पखेटा उचाल्छ ।पारस्पारिक केन्द्र पर्ने विव्यस अध्यक्ष र प्र.अ.बीच सम्पर्क, समन्वय र भलाकुसारीको अध्याय प्रारम्भ हुन्छ । राज्यको नीति, नियम र कानूनलाई चुनौती दिँदै एसएलसी परीक्षालाई खुकुलो बनाउँदै कसरी बढीभन्दा बढी विद्यार्थी पास गराउँन सकिन्छ भन्ने वारेमा अनेक तानाबाना बुन्दै सबजेट अघोषित योजना बनाइन्छ । सुरक्षाकर्मी र बाह्य अनुगमनकर्तालाई मिलाएर कसरी आफ्नो अनुकुल बनाउँने भन्ने वारेमा तिकडमसहितको पूर्वयोजना बन्छ ।
तँछाड र मछाड गर्दै शिक्षकहरू सहायक केन्द्राध्यक्ष र निरीक्षकमा बस्न होडबाजी गर्छन् । कुन उद्देश्य र स्वार्थका लागि एसएलसी परीक्षामा बस्न मरिहत्ते गर्छन् शिक्षकहरू ?गार्ड कुन कामका लागि बस्दैछन् उनीहरू ?कुन उपलव्धि र लाभ छ गार्ड(निरीक्षक) बस्नुमा ? प्रश्न अनुत्तरित छैन—परीक्षालाई यथासक्य अमर्यादित र धमिलो बनाउँदै चोरबाटोबाट विद्यार्थीलाई फलामे ढोका छिराउँने । कत्रो सहमति सबैको । शिक्षक, अभिभावक, विव्यस, शिअसंघ, प्र.अ. सबै एकमुख । अब कसले खोस्ने चिट र गेसपेपर अनि गाइड र किताब ?कसले गराउँने परीक्षा स्वच्छ र मर्यादित ?अनिमियत र अमर्यादित कार्यमा सर्वसम्मत । बिचरा ! गाउँले सोझा अभिभावकलाई के थाहा—छोराछोरीको भविष्य कतातिर जाँदैछ ?यसरी पास गरेका विद्यार्थी आगामी बाटो कसरी हिँड्लान् ?भविष्य यात्रा कुन मार्गबाट कहाँ पुग्ला ?अभिभावकले मात्र होइन शिक्षकले पनि यतातिर सोच्नै पर्ने हो ।
शिक्षकको काम पढाउँने हो ।भविष्यका कर्णधारको भविष्य बनाउँने हो ।एसएलसी परीक्षाकेन्द्रमा गएर बलपूर्वक चिट चोराउँने चेष्टा गर्नु नैतिकताबाहिरको कुरा हो ।यस्ता शिक्षकहरू एकवर्षसम्म कक्षाकोठामा के पढाउँछन् ?बाह्रमासे ट्युशन र कोचिङमा के सिकाउँछन् ?कि यी सबै ठाउँमा शिक्षकले विद्यार्थीलाई चिट चोर्न र अरुको नकल गर्न सक्ने मात्र बनाउँछन् ?नत्र किन ट्युशने—शिक्षकहरू परीक्षाकेन्द्रमा गएर मेला लगाउँछन् ? किन बनाउँन सक्दैनन् विद्यार्थीलाई आत्मनिर्भर उनीहरू ?पढेको र सिकेको कुरालाई के विद्यार्थी आफैँ लेखेर परीक्षा पास गर्न सक्दैन ?एसएलसी परीक्षा शिक्षकको हो कि विद्यार्थीको ?पास र फेल शिक्षक हुन्छ कि विद्यार्थी ?परीक्षार्थी को हो—शिक्षक कि विद्यार्थी ? नत्र किन स्कुलको ढोकै थुनेर चुलैनिम्तो परीक्षाकेद्रमा किन पुग्छन् शिक्षकहरू ?
हाम्रो एसएलसी परीक्षालाई यदि स्वच्छ र मर्यादित बनाउँने हो भने :—
१.अलिक टाढाको, भरसक अर्कै जिल्ला वा निर्वाचन क्षेत्रको योग्य शिक्षक अथवा प्र.अ.लाई केन्द्राध्यक्ष बनाएर पठाउँनु पर्दछ ।होमसेन्टर नै हुँदा पनि उति फरक पर्दैन ।
२.स्रोतकेन्द्र परिवर्तन गरेर पारिश्रमिकसहित स्रोतव्यक्तिलाई बाह्य निरीक्षक बनाएर उत्तरदायी बनाउँनु पर्छ ।
३.त्यो केन्द्रमा परीक्षार्थी नभएको विद्यालयका मा.वि. शिक्षकलाई सहायक केन्द्राध्यक्ष बनाइनु पर्दछ ।
४.निरीक्षक(गार्ड)मा शिक्षकलाई होइन, बालविकास केन्द्रका सहयोगी कार्यकर्तालाई राख्नु पर्दछ ।
५.परीक्षार्थी भएका स्कुलका प्र.अ. तथा शिक्षकलाई परीक्षाकेन्द्रको क्षेत्रभित्र परीक्षा अवधिभर प्रवेशनिषेध गरिनु पर्छ ।
६.माथिल्लो निकायको कडा निर्देशन मार्फत सुरक्षाकर्मीलाई बढी उत्तरदायी र सक्रिय बनाउँनु पर्छ ।
७.हुल—हुज्जत र जबरजस्ती गर्ने जो कोहीलाई तत्काल कारबाही गर्ने व्यबस्था मिलाउँनु पर्छ ।
८.एउटा बेञ्चमा दुईभन्दा बढी र एउटै स्कुलका परीक्षार्थीलाई राख्दै नराख्ने व्यबस्था कडाईकासाथ लागू गरिनु पर्छ ।
९.जिशिकाबाट आकस्मिक र छड्के निरीक्षण गरिनु पर्दछ ।
१०.राजनीतिक दलका स्थानीय नेताबाट आवश्यक र सकारात्मक सहयोग हुनु पर्छ तर अनावश्यक र नकारात्मक दबाब भने हुनु हुँदैन ।
राष्ट्रव्यापी हाम्रो एसएलसी परीक्षालाई भयरहीत, स्वच्छ, मर्यादित र शान्तिपूर्ण बनाउँन सबैको सहयोग, समन्वय र जवाफदेहिताको आवश्यकता पर्दछ ।
रामविक्रम थापा
फाक्टाङ—२, कृष्णगर्त, खोटाङ
मो.नं.९७५३००४३६०
