Skip to content
KalpanaRai-03


बिना कारण चसक्क चसक्क दुखिरहेछ छाती
थाहा छैन कस्तो पीड़ा बोध भइरहेछ
मात्र एउटा समाचार सुनेको त थें नि !
भर्खर फेरि हल्ला सुन्दैछु
चारतिरबाट चिथोर्न थाले अरे
गिद्धले सिनो लुछे जसरी
लुछन थाले अरे मेरी आमाको आँतलाई
सायद त्यसैले पो दुखेको हो कि ?
यो छाती,………

आफ्नै सन्तान कुलङ्घार जन्मेपछि
कस्को के नै लाग्दो रैछ र?
माकुरीले किन मर्नु पर्थ्यो ?
उस्को सन्तानमा बिवेक हुन्थ्यो भने?
मलाई डर छ मेरी आमाको अस्तित्व
त्यही माकुरी जसरी बिलिन हुने त होइन?

कहिले जातका कुराले लड्छन
कहिले धर्मका कुराले लड्छन
कहिले सीमा क्षेत्रका कुराले लड्छन
हुँदा हुँदा मलाई डर छ
विश्वले औला ठड्याउन नसकेको मेरो आमालाई……
आफ्नै सन्तानले
कुरुक्षेत्रको बीचमा अस्तित्वहीन पहिचान बिहीन बनाएर नङ्ग्याउने त होइन?

न चन्द्र बाडियो
न सूर्य बाडियो
न हावा बाडियो
न तारा बाडियो
फेरि किन बाड्न खोजिदैछ यो “धर्ती”आमालाई,

त्यसैले,
ए!आमा एउटा बिन्ती गर्छु
तिमीले प्रलय ल्याउनै पर्छ
तिमीले अब समाधि लिनै पर्छ
स्वार्थका प्रतिमूर्ति यी मानवलाई कतिन्जेल छातीमा टाँसिराख्छौ
जुकाले रगत चुसे जसरी कतिन्जेल चुसाउँछौ आफूलाई?
भो अब म देख्न सक्दिन
तिम्रो यो हविगत ……
कित मलाई नै दृष्टिबिहीन बनाइदेऊ
श्रवण शक्ति गुमाइदेऊ
या त,………
प्रलय ल्याऊ र तिम्रो काखमा चिर निद्रामा सुताऊ !

कल्पना राई “ख़ुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *