पोखराको बगरले सेती लुकाए झैं
यहाँ हजारौं मनहरू
दुःखका छालहरू
ढुकढुकीमा लुकाएर
लालीगुराँस झैं मुस्कुराइरहेछन्
माटेपानीको जंगलमा निउरो फले झैं
लटरम्म फल्थे मेरा सपना भने
प्रिय
म तिम्रो आँगनमा होइन
मझेरीमै फलिदिन्थें
मलाई थाहा छ
तिमी अंगेनु छेवैमा बसेर
आफ्ना नशालु आँखाले
मेरो तस्वीर खिच्ने छौ
र भन्ने छौ-
मेरो राजा, तिमी त
निउरो पो भएछौ
कहिल्यै नफुल्ने निउरो

हो मान्छे फुल्दैन
किनकि मान्छे फूल होइन
र फूल पनि मान्छे होइन
फुल्नलाई त मान्छेका मन
काँडा हुनु पर्छ
फुल्नलाई त मान्छेको मन
डाँडा हुनु पर्छ
अहँ, म काँडाहरूसँग
सहबास गरेर गुलाब बन्न सक्दिन
अहँ म कोखिलामा डाँडा र
भिर च्यापेर
लालीगुराँस बन्न सक्दिन

अन्माएकी बेहुली झैं
खुशी र बिस्मयको दोभान छिचोलेर
मान्छेहरू दौडिरहेछन्
सपनाको खेती गर्न
मैले भनें- हेर त
केही थान सपनाहरू
यतै बयरका झाङ्मा अल्झिएका रैछन्
मैले भने मात्र
मान्छेले सुनेनन्
मान्छे बयरका झाङ् देख्दैनन्
मान्छेका मन त
फाँटमा लटरम्म फलेका
आयातित धानका बालामा झुलेका छन्
मानौं भकारीमा धान होइन
मन भरिने छन्

हो, त्यसैले त
पोखराको बगरले सेती लुकाए झैं
यहाँ हजारौं मनहरू
दुःखका वर्षे भेल छातीमा लुकाएर
लालीगुराँस झैं मुस्कुराइरहेछन्
र,
म निउरो बनेर
यो वर्ष
माटेपानीको जंगलमा
लटरम्म फलेको छु
मलाई थाहा छ
तिम्रा नशालु आँखाले
फेरि पनि मेरा तस्वीर खिच्ने छन्
अनि तिमी भन्ने छौ-
मेरो राजा, तिमी त
निउरो पो भएछौ
कहिल्यै नफुल्ने निउरो
र, म भन्नेछु-
हो म निउरो हुँ
किनकि काँडासँग सहबास गरेर
म गुलाब बन्न सक्दिन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *