नेपालमा २०७२/०१/१२ गत शनिबार गएको महाभूकम्पले देश र देशबासी सम्पूर्णलाई क्षतविक्षत बनाएको छ अँझ पटक पटक भूकम्पको झट्का दोहारिरहदा हरेक नेपालीको मन यतिबेला त्रसित छ । वर्षौ देखि काठमाण्डौको मुटुमा अवस्थित धरहरा जसले विश्वमा म नेपाली हुँ भनेर गौरब साथ आफ्नो शिर ठड्याएर उभिएको थियो, हो ऊ पनि आज यस महाभूकम्पको शिकार हुन पुगेको छ सायद अब कहिले न उभ्भिने गरी टुक्रा टुक्रा भएर धुलो भएको छ । त्यसै गरी वसन्तपुर वरपरका यतिहासिक संरचना, धार्मिक स्थल लगायत उपत्यका बाहिर धेरैभन्दा धेरै ठाउँमा भौतिक संरचना अति दुखदायी तरिकाले ध्वस्त भएको छ कि सम्झदा मुटु फुट्ला जस्तो भइरहेछ । भौतिक संरचना आजै नभए भोलि फेरि पनि बन्ने सम्भावना हुन्छ तर अनगिन्ती मानवीय क्षति कसरी बिर्सनु?
हो आज मन असाध्य रोइरहेछ, अनायासै सामाजिक संजालहरूमा आफ्नो देश, आफ्नो मातृभूमि आफू जन्मेको, आफू हुर्केको, बढेको, खेलेको र आफू नेपाली हुँ भन्ने पहिचान दिने नेपाल आमाको विभत्स तस्बिरहरू देख्दा आफ्नो आत्मा मरेतुल्य भएको छ । पलपल विश्व भरिको सञ्चार माध्यमहरूले नेपालको आलो घाउलाई जस्ताको त्यस्तै प्रसारण गरिरहँदा यो मन मस्तिष्कले ठाउँ छोडेको अनुभूति भइरहेछ । यति बेला आफू प्रवाशी हुनुको अतुलनीय पीडा बोध भएको छ । घरपरिवारका आर्थिक, मानसिक पीडा पहिल्याउदै थाकें भनेको मन बास्तबमा आज थाकेको महसुस भएको र आफैलाई धिक्कार्न मन लागिरहेछ किनकि यति बेला प्रवासमा छु, प्रवाशी भएर बाँचिरहेछु, अर्थ आर्जनको लागि म अरुको गुलाम छु । अरुको ठाउँ अरुको देश बनाउन सघाउदैछु । तर आफ्नै देशको यो दसाले ग्लानि भइरहेछ आफ्नो हात र पाखुरा देखेर जसले दुखेको मेरो आफन्त नेपाली दाजुभाइ, दिदी बहिनी, बुवा आमा र साथी संगीको सहयोगको लागि केही गर्न सकिन यतिसम्म कि एक गिलास पानी पिलाउन सकिन । म कसरी गर्व गरौ कि, म नेपाली हुँ भनेर ?कसरी भनु मेरो शिर धरहरा र सगरमाथा जस्तो स्वाभिमानले उच्च छ भनेर?कसरी भनु मेरो छाती भित्र नेपाली मन छ जसले नेपालीत्व पहिचानको बिशाल हृदय बोकेको छ कसरी भनु? जो शरीर केही पैसाको लागि बिदेशीको अधिनमा छ । म आफूलाई देखेर आफै ग्लानिले झुकेको छु । सायद अब कदापि यो मानसिक पीडा बोधले उठ्न सक्ने छैन ।
पटक पटकको भूकम्पको झट्का र मार खप्दै चौरको छातीभरि पाल टाङ्ग्दै रात बिताउदैछ्न अरे आफ्ना आफन्त त्यस माथि अविरल झरी कस्तो होला मेरो देश? अकाल्प्निक दुखाइले यो न्यानो ओछ्यान बिजाइरहेछ, प्रवासी भूमिको थकाइपश्चात पनि आँखाहरू निदाउन मान्दैन । ए!प्रकृति कस्तो प्रकोप लिएर आयौ? एउटा सुन्दर संसार तहसनहस गर्नलाई?
तिमीलाई अवगतै थियो मेरो नेपाल कस्तो र कुन हालतबाट गुज्रिरहेको थियो, तिमीलाई त थाहा नै थियो फेरि किन यस्तो अनिष्ट लिएर आयौ?देश बनाउछु भन्दै वर्षौ जनयुद्ध चलेको मेरो देश हजारौले बलिदान दिएर पनि निकास नपाएको मेरो देश रगतको आँशु रोइरहेको बेला, वर्षौ देखी देशलाई सुखी, सम्पन्न र समृद्ध बनाउने खाकाहरू कोरेर एकल सासनले खडेरी झैँ सुख्खा भएको बेला, पुंजीवाद, नाताबाद, कृपावादको खेलमा फसेको बेला दिनहु बलात्कार, लुटपाट, दुर्घटना, अत्याचार, ठगीले ग्रस्त भएको बेला अरु कुन पीडा कम थियो र? तिमी आयौ प्रकृति आफ्नो अदम्य शक्तिको प्रदर्शन गर्न, हँ ?
धन्य छौ सकुसल रहेका नेपालीहरू तिमीहरू त बाँच्यौ अब ती ठुल्ठुला घर बिल्डिंगले पुरिएर रहेका आफ्ना आफ़न्त छरछिमेकलाई उद्धर गर्ने जिम्मा तिम्रो हो र तिमीले गर्नै पर्छ र जो जसले तनमन लगाएर उद्धरमा खटिनु भएको छ उहाहरूलाई सलाम साथै आफ्नो देशको मानचित्र नाघेर नेपाल र नेपालीको घाउमा मलम लगाउन आउने छिमेकी राष्ट्र भारत, चिन, क्यानडा, सिंगापुर, पाकिस्तान, इजरायल, अमेरिका, बेलायत, जापान, श्रीलंका, बंगलादेश, भुटान लगायत अन्य राष्ट्रका स्वयम सेवकहरू र ती राष्ट्रका संचालकहरूलाई सलाम तर आफ्नै राष्ट्रका केही मै हुँ भन्ने नेताहरू र पदाधिकारीहरू प्रति मेरो गुनासो र आपति छ । उत्खनन तथा भू गर्भ बिदहरूको कुनै काम नभए किन जनताले तिरेको कर र रेमिट्यान्सबाट तलब खुवाउने?यही प्रश्नहरू मनमा तछाड मछाड गरिरहेछ, सगरमाथा टेलिभिजनले देखेको उक्त कार्यलयको पदिधिकरिहरू दिनभरि तासको पत्तीमा रमाउदा रहेछन अनि कसले गरोस भू गर्भको निरिक्षण परिक्षण अनि कसरी आंकलन गर्न सकोस? भूकम्प आउनु न आउनुमा भू-गर्भ विदहरूको केही भूमिका हुन्न?त्यसै गरी देशका ठुला नेताहरू मानवीयता को चरम सीमा उलंघन गर्दै सामाजिक संजालहरूमा स्टाटस लेखेको देख्दा उदेक लाग्छ । त्यस्ता व्यक्तिहरूलाई कसले आफ्नो अगुवा बनायो तिनीहरू प्रति दया लागिरहेछ ।
अँझै पनि नेपालका बिभिन्न बिकट जिल्लाका गाउघरतिर उद्धारको काम सुरु भएकै छैन । जस्तै दोलखा नुवाकोट अरु बिभिन्न ठाउमा उद्धार टोलि पुगेकै छैन, काठमाण्डौलाई मात्र सहयोग राहत र उद्धारको केन्द्र बिन्दु बनाउनाले अरुतिर क्षतिले उग्ररुप लिने त होइन?सम्बन्धित पक्षको बेलैमा ध्यानकार्षण होस । कालो बाजारी, महंगी, चोरी डकैति, सरसफाई, स्वच्छ पानी जस्ता अति शुक्ष्म तर अति महत्व पूर्ण विषयमा सरकारी निकायको ध्यान जाओस ।
अन्तमा, महाभूकम्पको शिकार हुनुभएर मृत्यु हुनुहुने सम्पूर्णमा हार्दिक श्रद्धा सुमन, चोटपटक लागेर घाइते हुनुहुने सम्पूर्णलाई सिघ्र स्वास्थ्य लाभको शुभ कामना, आफ्ना आफन्त गुमाएर वियोगको आँशु बगाउनु हुने सम्पूर्णमा धर्यधारण गर्ने शक्ति मिलोस, हामी पनि प्रवाशमा बसेर कोही पीडा मुक्त छैनौ, हामी हरेक नेपाली भोक, तिर्खा निद्रा बिर्सेर नेपाल र नेपाली सम्झेर मुटु कमाउदै बसेका छौ । अकाल्पनिक समाचार पलपल सुनिरहदा आँशु बगिरहेछ । ओठ तालू सुकाएर भित्तामा तासिएको टेलिभिजन मार्फत शोकाकुल देशको जानकारी लिन एकोहोरिएका छौ आफैलाई धिक्कारिरहेका छौ । आफ्नै कानले चित्कार सुने पनि आफ्नो हातले ध्वस्त भवन पन्छाएर आमाको पुरिएको छोरा, छोरी निकाल्न सकिरहेका छैनौ ।
बुढो बुवाको बुढेसकाल को सहारा निकाल्न सकिरहेका छैनौ । भल्भल्ती रगत बगेका रक्ताम्य घाउहरूमा आफ्नो हातले मलम पट्टी गर्न सकेका छैनौ । भोक प्यासले छ्ट्पटिएका कोही कसैलाई एक छाक खुवाउन सकिएको छैन । सोच्नुहोस हामी प्रवासी कति पीडामा छौ कति कल्पिरहेका छौ आफ्नो देश सम्झेर, आफ्नो परिवार सम्झेर अनि तपाईहरू सम्झेर ।
कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया
