Skip to content


के गर्दैछौ तिमी हिजोआज ?
कालो चस्मा लगाएको आफ्नै तस्वीर
फेसबुकको भित्तामा टाँसेर
लाइक, कमेन्टको गणनामै व्यस्त छौ ?

भूकम्पीय आतङ्कले देश तहसनहस भइरहेको छ
मर्नेहरूको संख्या अँझै यकीन छैन
घाइतेहरू अस्पतालको शैय्यामा छट्पटाइरहेछन्
मर्नेका आफन्तहरू रुँदा रुँदै मुर्छित छन्

यी सब दृश्यहरू देखेर वा सुनेर पनि
यदि तिम्रो आँखा रसाउँदैन भने
कलेजो र मुटु छट्पटाउँदैन भने
तिमी आई.एस.आई.एस को लडाकुमा भर्ती हुन गए हुन्छ
त्यहाँ तिम्रो उचित मूल्यांकन हुन सक्छ

हुनत तिम्रो व्यक्तिगत स्वतन्त्रतामा
कुनै हस्तक्षेप गर्न खोज्या हैन मैले
यति मात्रै मेरो आग्रह हो कि

म अचेल राहत सामाग्रीको मरीकुच्चे भारी बोकेर
बारपाक र अन्य गाउँ हिंडेकाहरूको
तस्वीर शेयर गर्नैमा व्यस्त छु
जनहित सम्बन्धित समाचार अनि
ज्यानको प्रबाह नगरी उद्दारमा खटिएकाहरूको
तस्वीर शेयर गर्नैमा व्यस्त छु

त्यसैले, तिम्रो कालो चस्मा लगाएको
सुन्दर तस्बिरहरूमा मैले
लाइक वा कमेन्ट गर्न भ्याइन भने
कृपया नरिसाऊ है !

वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *