परारै पनि,
परारै पनि म आएको थिएँ
शीतका निला निभाहरूले
तिम्ले प्रीतिका क्यानभासहरूमा
टुँडिखेल मास्तिरको घाम कोरिरहँदा
म पोखिएको थिएँ
तिम्रो हत्केला भरी
र च्यातिदिएको थिएँ
त्यो सुन्दर क्यानभास
अनि ढलाई दिएको थिएँ
तिम्रो नाकै नेरको त्यो ठुलो रुख
जसरी ढलाएँ मैले अस्तिको दिन
हो, त्यो १२ बजेको समय
त्यो १२ गतेको दिन
मैले परारै भनेको थिएँ
म फेरि आउनेछु भनेर
मैले त भनेकै थिएँ
म फेरि ढलाउँछु भनेर
त्यो जीर्ण रुख
तिम्ले पत्याएनौ त म के गरुँ ?
त्यो बुढो रुखको शितल नभमा
तिमी सुन्दर प्रेमीकाको
बक्षस्थलमा टाउको अड्याएर
सेल्फी खिच्नमा मस्त थियौ
कोही ती अँध्यारा उकालाहरूमा
प्रेमीका ओंठबाट
प्रेमको नशालु सर्बत पिउँदै थिए
कोही एक माना बदाम कोट्याउँदै
स्वार्थी काठमाडौँका मान्छेका मन
पढिरहेका थिए
टुँडिखेलको त्यो चरित्रहीन चौरमा
हो, त्यही चौरमा
जहाँ बैंशालु युवालाई
नीला चलचित्र भन्दै
शाहरूख खानका पुराना फिलिमका
सिँढी बेचिन्छ
जहाँ सिंगापुरे सपनाहरूमा
पुरै काठमाडौँ एकैसाथ ताली पिट्छ
जहाँ सयौं भैंसीहरू
मम: र सुप बनेर
बटुवाका पेट भर्न
मुस्कुराउँदै उभिएका हुन्छन्
जहाँ सुन्दर युवतीहरू
सावरको पानीले नुहाएर
तिम्रा टेबलमा सराब होइन
आफ्नो जवानी पोखिरहेका छन्
प्रेममा बिक्षिप्त भएका धनबानहरू
नग्न नर्तकीका जाँघ र नितम्बमा
प्रेमका तमसुक सल्काएर
बान्ता गरिरहेछन्
हो, म त्यहीँ आउँछु भनेकै थिएँ
त्यो बुढो रुख ढलाउँछु भनेकै थिएँ
तिमीले पत्याएनौ त म के गरुँ
र, आएँ म अस्तिको दिन
र, ढलाएँ मैले अस्तिको दिन
त्यो बुढो रुख अनि तिम्रो सपनाको महल
हो, त्यो १२ बजेको समय
त्यो १२ बजेको दिन
जब म आएँ तिमीले रोयौ
जब म गएँ तिमीले छोयौ
आफ्नै मन
र सोध्यौ आफैलाई-
म जिउँदै छु कि छैन हँ ?
तिमी लडेकाथ्यौ भुइँतलामा
गल्लीमा
सडकमा
पसलमा
भग्नाबशेषमा
अनि भन्दैथ्यौ- हे प्रभु बचाउ
अहँ, यसपाली तिम्रा प्रभुले सुनेनन्
सुनून् पनि त कसरी ?
तिम्रा प्रभु पनि त ढलेका थे
पुरिएका थे
त्यहीँ तिम्रो छेवैमा
त्यही भग्नावशेषमा त्यो दिन
हो, त्यो १२ बजेको समय
हो, त्यो १२ गतेको दिन ।
