Skip to content

सङ्क्रमणकाल


आज देशको बिग्रदो परिस्थितिले सबै आकुल ब्याकुल भएका छन । दैनिक उपभोग्य बस्तु लगायत प्रत्येक कुराको अभावले जताततै हाहाकार मच्चिएको छ । कसैको मन पनि शान्त र सन्तुलित छैन । सबैलाई एक किसिमको चिडचिडापनले घेरेको छ । लामो समय देखिको ग्यास अभावले जनता रनथनिएका छन । कामै नपाए जस्तो खाली सिलीन्डर बोकि डिपो डिपो धाउदै छन । तर ग्यास कहीं पाईदैन । ग्यास नपाएको झोकमा ठाउँ ठाउँमा सरकारबिरुद्ध नारा जुलुश पनि चल्दै छ ।

रातभर करायो दक्षिणा हरायो भने जस्तै निरास र दुखी मनले रित्तो सिलीन्डर बोकी घर फर्किन्छ । आफ्ना भोका बच्चाहरूलाई पौष्टिक आहार त परै जाओस् निस्तो तातो भातसम्म खुवाउन नसक्दा द्रवित भएको छ बाबुआमाको मन ।

पाच दिनदेखि भात खान नपाएर चिउराको भरमा बाचेका बच्चाहरू भातको माग राख्दै रुन्चे स्वरमा आमालाई यो दुख अभाव कसले र किन गराएको ? भनी सोध्दै थिए । आमाले आफ्नो समझभन्दा परको कुरा ती अवोध बच्चाहरूलाई सम्झाउदै भनिन् ‘बाबु ठूला ठूला नेताहरूले भन्नुभा को सङ्क्रमण कालमा यस्तै हुन्छ रे’ । हामीले धैर्य गर्नु पर्छ’ ।

छेउ पुच्छर केही नबुझी, छोराले फेरि प्रश्न गर्यो, ‘आमा….यो सङ्क्रमण काल भनेको के हो ? यो कहिलेसम्म रहन्छ ? र हामीले कहिलेसम्म पर्खेपछि भात खान पाउछौ ?’

अन्योलमा परेकी विवश आमा जवाफहीन भइन र टीठलाग्दो पारामा आफ्ना भोका निर्दोष सन्तानलाई हेरी लामो सुस्केरा हाल्दै थिइन् ।

सुशीला देउजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *