भूकम्पको धक्का नेपाललाई, राजनीतिको धक्का नेपालीलाई


आज दिउसो खाना खाने समयमा हामी नेपाली कामदारलाई हाम्रो देश नेपालको हालको परिस्थिति बारे कम्पनीको म्यानेजरले सोध्यो। हामी मौन रह्यौ। कारण हामी नेपाली भएको हैसियतले जुन पीडा र व्यथा हाम्रो हृदयमा छ त्यो न बोलेर भन्न सकिन्थ्यो न खुलेर बताउन सकिन्थ्यो न त हाम्रो आँखामा मनको वेदना अरु विदेशीले बुझ्न नै सक्दथ्यो। त्यो पनि यस्तो महाभूकम्पमा महाविपतिको यो बेला जब हजारौ हाम्रो आफन्तले अकालमा ज्यान गुमाउनु परेको छ, हजारौ बालबालिका अनाथ भएका छन्, हजारौ घरबार बिहीन भएका छन भने हजारौले अंगभंग हुनु परेको छ, यस्तै कुरा मनमा गुनिरहदा एक्कासि म्यानेजरको एउटा प्रश्न र हाम्रो देश प्रतिको उसको दृष्टिकोणले म स्तब्ध भएँ।

तिमीहरूको देशमा कस्तो प्रधान मन्त्री हो ?

हाम्रो देश कोरिया र हामी जस्तै अन्य कयौ देशले सहयोगको लागि पठाएका राहतका सामानहरू एयरपोर्टमै पोको पारेर राखेको छ, किन अहिलेसम्म भूकम्प पिडितहरूलाई नबाडेको ? किन त्यसरी अहिलेसम्म नेपालको जनतालाई हाम्रो सहयोगबाट बन्चित गरेको ?

मलाई त लाग्छ तिमीहरूको देशमा राजनीतिको नाउमा घृणित खेल भई राखेको छ। तिमीहरू नेपाली जनताको दुख देख्दा धेरै दया लाग्यो।

उसको यति कुराले मेरो मन मष्तिस्क र मुटु एकै पटक फेरि ठुलो भुइचालो गएको अनुभूति गरायो, अनि सोच्न बाध्य बनायो नेपाली हौ तर त्यही नेपाल भित्रको कस्तो नियम, कानून र बातावरणमा हामी जन्मियौ हुर्कियौ ? सबै बिर्से जस्तो भयो, आँखै अगाडि देशको राजनीति, द्वन्द, हड्ताल, बन्द, चोरी डकैति, जनताको सास्ती, युवा विदेश पलायन सबै सबै नाच्न थाल्यो। अनि कसरी अगाडि पस्केको खाना खानु ? मुखसम्म एक गाँस हाल्ने शक्ति आएन। सायद देश प्रतिको मायाले हो या देशले दिएको अथाह पीडाले हो बुझ्न सकिन। आफूभन्दा प्रिय लाग्ने आफ्नो देश र परिवारको लागि केही गर्छु भनी बिदेश आईयो विदेशको अनेकौ पीडा र दुख माझ पनि आफ्नो देशको राम्रो सुख समृद्धिको सु समाचार सुन्न नपाउदा नमिठो पीडा बोध हुँदो रहेछ। अँझ भनौ आफ्नो घर देशको नराम्रो कुरा अरु बिदेशीको मुखबाट सुन्नु पर्दाको अकाल्पनिक पीडा सायदै कसैले बुझ्छ एउटा निरिह प्रेदेशी बाहेक।

हो, नेता र मन्त्री ज्यु,

एकदिन तपाईहरू प्रवाशी बनेर अरुको समृद्ध राष्ट्रमा सेवा गर्नुस मजदुरी गर्नुस, बकुल्लाको बथानमा काग भएर श्रम बेच्नुहोस बल्ल बुझ्नु हुनेछ देश प्रेम। हामी गरिब जनतालाई केही चाहिदैन मन्त्री/नेता ज्युहामीलाई शान्ति, सुरक्षा, गाँस, बास, कपास शिक्षा र रोजगार दिनुहोस यति भए अरु केही चाहिदैन यति दिएको दश देखि पन्ध्र वर्षमा देशले आफै काँचुली फेर्ने छ। तपाईंहरूको बेकामे मन्त्री/नेता ज्युहरू कोही चाहिदैन जुन देशमा शिक्षाले शिक्षित व्यक्ति जन्माउछ त्यहाँ कुनै अपराध हुदैन, तछाडमछाडको स्थिति उत्पन्न हुदैन। किन कि मन्त्री/नेता ज्युतपाईंहरू भएर देशले कस्तो शान्ति र निकास पायो अहिलेको यो महाभूकम्पको विपदमा देखि हालियो अब देख्न के पो बाँकी छ र ? यस्तो महाबिपदको बेला एक हप्ता आफ्नो जनताको नैतिक जिम्मा लिन नसक्ने सरकारले देश चलाएको छ, हामीले देखि सक्यौ। जनताको आँतमा मलम लगाउने यो बेला तपाईंहरू कुन प्वालमा पुच्छर लुकाएर बस्नुभएको थियो ? त्यो मलाई थाहा छैन र खासमा भन्नु पर्दा मलाई यो राजनीति भन्ने शब्दबाट यति घृणा लाग्छ कि म बयान गर्न सक्दिन सायद यही राजनीतिको कारणले मेरो देश निसासिएको कारणले होला। हिजो आज यस्तो लाग्छ राजनीति कुनै देशको शान्ति र समृद्धिको निकास नभएर भागबन्डा गर्ने स्केल मात्र हो, हुन त विश्वका धेरै राष्ट्रहरूमा राजनीतिक उथलपुथलपश्चात नै विकासको मूल फुटेको ईतिहाँस छ तर यस्तो काल्पनिक चमत्कार हाम्रो देशको स्थितिमा असम्भब जस्तो लाग्छ।

कुनै बेला तापाईहरू नै हो, देशलाई सिंगापुर बनाउछु भन्ने, तापाइहरू नै हो देशलाई टुक्राएर समृद्ध र बिकशित बनाउछु भन्ने, तर आज खोई त्यही जनता घरबार बिहीन भएर बारीको कान्लातिर रात बिताउदा एउटा त्रिपाल, एक बोरा चामल र एक पोका नून पुर्याउन सक्नुभएको ? जवाफ दिनुस ।

आज भूकम्प गएको दश/एघार दिन भई सक्यो र पनि देशको बिकट र काठमाण्डौ बाहिरका कति गाउँहरूमा अँझै राहत पुगेको छैन, यसको दोस कसलाई दिनुहुन्छ मन्त्री/नेता ज्यु ? तपाईं आफैलाई ? तपाईंको बिपक्षी दललाई ? या फेरि हामी जनतालाई ? उत्तर चाहिन्छ अब जनतालाई, सोझासाझा जनताको सोझोपन हतियार बन्दैछ सजग रहनुहोस, आँखै अगाडि आएको राहत बाटो उँदी बेच बिखन हुदैछ, जसको तात्तातो समाचार संचार माध्यमले दिएता पनि त्यस्ता हृदय बिहीन दानबलाई किन कारबाही हुन सक्दैन ? भन्नुस मन्त्री ज्यु ?

आज तपाईंहरूले गर्दा छिमेकी राष्ट्रले समेत हेपेको छ, बिचार गर्नुभएको छ ? भारतीय प्रहरीहरू छ्यास्छ्यास्ती आफ्नो कम्ब्याटमा हाम्रो नेपाल आमाको छातीमा बुट बजार्दै हिडिरहेको छ खुलम खुला, भारतीय मिडियाहरू एउटा छोराछोरी गुमाएकी आमासँग सोध्छ, तपाईंलाई कस्तो लागिरहेछ ? यो सब के हो मन्त्री/नेता ज्यु ? सक्नुहुन्छ जवाफ दिन ? हुन त कसरी सक्नुहुन्छ तपाईंले जवाफ दिन, तपाई आफै भारतको फ्यान हुनुहुन्छ भन्ने सामाजिक संजालमा सार्वजनिक भीडिओले बताइसकेको छ, इन्टर नेसनल भाषा मानिने अंग्रेजीमा प्रश्न गर्दा हिन्दीमा उत्तर दिनुहुन्छ योभन्दा ठुलो प्रमाण के हुन सक्छ र ? मैले कतै पढेको कुरा याद आयो। शिक्षा, पैसा, दुरदर्शी चिन्तन र योग्यता बिनाको राजनीति राजनीति हुँदैन भनेर बास्तबमा हो रहेछ, जुन तपाईंहरूको हर्कतले पुष्टि गरिसकेको छ ।

केही वर्ष अघि मात्र विनासकारी भूकम्प गएको हाइटीमा स्वच्छ छबी भएका राजनीतिज्ञ, दुरदर्शी चिन्तन र बलियो सरकार नभएको कारण हिजोभन्दा आज त्यस देशको आर्थिक स्थिति, सुख समृद्धि धरासायी हुन पुगेको छ। विश्व भरिबाटै सहयोग आएता पनि सही सदुपयोग नभएको कारण आज त्यस ठाउँको जनताहरूले कस्तो र कसरी जीवनयापन गरिरहेका छन, त्यो हामी माझ सर्वबिधितै छ। त्यसले गर्दा पनि हामीले धेरै कदमहरू सोचेर बिचार गरेर उठाउनु पर्ने देखिन्छ ।

देश जनताले बनाएर बन्ने भए अहिले उद्धार र सहयोगमा क्रियासिल धेरै संघ, संस्था, व्यक्ति समुह लागि पर्नुभएको छ, जसको लागि यो सानो मुखले जति नै तारिफ गरे पनि कमै हुन्छ तर सत्तामा बसेरै देशको भविश्य कोर्ने कलम तपाईंको हातमा छ तसर्थ बिचार गर्नुहोस।

अब हावा जस्तो राजनीतिमा कुर्सी र सत्ता मात्र नसम्झेर देशको जनतालाई सम्झेर देश बनाउनु होस, मन्त्री ज्युहरेक शिरले बेलैमा छत पाओस, भोको पेटले खान पाओस, बिरामीले उपचार पाओस, अनाथले आश्रय पाओस, अन्यायमा बाचेकाले न्यायको उज्यालो पाओस, गाउका हरेक व्यक्तिले राज्य के हो ? सरकार भनेको केहो ? र एउटा देश भित्र त्यस देशको नागरिक हुनुको मुख्य अर्थ फाईदा केहो ? भन्ने परिचय नेपालको एक-एक नागरिकले पाओस। विश्वलाई थाहा छ, नेपालीको मन सानो छैन यस उक्तिलाई जीवन्त राख्न मन्त्री/नेताज्यू अब कम्मर कस्ने बेला आएको छ, नचुक्नु होला मेरो शुभ कामना !

कल्पना राई(खुशी)
दोलखा नेपाल
हाल दक्षिण कोरिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *