लुई ब्रेलको सम्झनामा विश्वभर ४ जनवरीको विश्व ब्रेल दिवस मनाउँदै आएको छ । लुईले दृष्टिविहीनहरूका लागि ब्रेल लिपिका आविष्कार गरेका हुन् । उनले गरेका योगदानको बारेमा चर्चा गर्नु यहाँ सान्दर्भिक होलान् भन्ने ठानेका छौं ।

सयौ वर्षसम्म अन्धाहरूले कहीँ कतै पढ्न पाएको थिएनन्, जब लुई लिपीको आविष्कार भयो अनि आँखा नदेख्ने दृष्टिविहीनहरूका लागि लुई ब्रेल देवता र लुई लिपि विश्वविद्यालय सावित भयो ।

लुई ब्रेलको जन्म सन् १९०९ जनवरी ४मा फ्रान्सको पेरिसबाट लगभग ४० किलोमीटर टाढा पर्ने कुभ्रे गाउँमा भएको थियो । सामान्य परिवारमा जन्मेका लुईका बाबु जीविकोपार्जनका लागि घोडाको काठी कस्ने छालाको पट्टा बनाउँथे । बालक लुई अक्सर बुबाको ज्यासलमा खेल्ने गर्थे ।

लुईका बुबा भने आफ्ना छोराले कुनै घातक औजार चलाएर चोटपटक लगाउँला भनेर हमेशा ख्याल राख्ने गर्थे । तर अचाकन हुने दुर्घटनालाई कसले टार्न सक्दोरहेछ र ? हातमा बर्मा लिएर खेलिरहेका लुईलाई त्यो ज्यावलले आँखामा घोच्यो । तिनका आँखाको उपचार गर्नै नसकिने भयो र त्यति मात्र होइन, उक्त आँखाको संक्रमणले अर्को आँखालाई पनि बिगार्यो । त्यतिखेर अहिलेको जस्तो नेत्र चिकित्सा पद्धतिको विकास पनि भएको थिएन । पछि, लुईका पिताले उनलाई उपचारार्थ पेरिसस्थित प्रसिद्ध नेत्र विशेषज्ञ कहाँ पनि पुर्याए । तर त्यतिखेरसम्म निकै ढिलो भइसकेको थियो । अर्थात लुईले दुवै आँखाको ज्योति सदाका लागि गुमाउन पुगे ।

आमाबाबुलाई छोराछोरीको चिन्ता कस्लाई नलाग्ला? यस्तो अवस्थामा पनि आफूले सकेजति गर्न लुईका आमाबाबु र त्यस स्थानीय धर्मगुरु झाक पाल्वीले मिलेर स्थानीय विद्यालयमा भर्ना गरिदिए । कक्षामा दृष्टि भएकाहरूका लागि तयार पारिएको पद्धति प्रयोगबाट सिक्न अन्धो व्यक्तिहरूलाई त्यति सजिलो भएन । तैपनि लुईले जसोतसो केही वर्षसम्म सुनेको भरमा पढे । पछि, सन् १८१९ जनवरी १५मा लुईलाई रोयल इन्स्टीच्यूट फर ब्लाइन्ड विद्यालयमा भर्ना गरियो । यस संस्थाका संस्थापक भालेङटाङ अभ्यी अन्धाहरूलाई पढ्न सजिलो हुने कार्यक्रम स्थापित गर्ने प्रथम व्यक्तिहरूमध्ये एक थिए । तिनको मनसाय अन्धोपनले कुनै पनि व्यक्तिका लागि औपचारिक शिक्षाको ढोका बन्द गर्छ भन्ने आमधारणलाई जित्नु थियो । सुरुमा अभ्यीले बाक्लो कागतमा ठूलाठूला अक्षरहरू कुँदेर प्रयोगमा ल्याए । यो सुरुआत मात्र भएतापनि यी प्रयासहरू भावी कार्यहरूका लागि आधार बने । लुईले पनि अभ्यीको सानो पुस्तकालयमा भएका किताबहरूका ती उठाइएका ठूलठूला अक्षरहरू पढ्ने तरिका सिके । तथापि, यसरी सिक्न निकै समय लाग्नुको साथै अव्यावहारिक भएको तिनले महसुस गरे । हुन पनि अक्षरहरू त आँखाका लागि तयार गरिएका थिए, औंलाहरूका लागि होइनन् । यो पद्धतिको खासै प्रभावकारी भने थिएन । उक्त विद्यालयमा अध्ययनक्रममा उनले संगीत, इतिहास, गणित, भूगोल आदि विषयहरूका साथै फ्रेन्च, ल्याटिन भाषाको पनि अध्ययन गरे, जसले गर्दा ८ अगस्त १८२८का दिन सोही विद्यालयमा लुईले सहायक अध्यापकको रुपमा कार्यरत रहन थाले ।

अप्रत्याशित उपलब्धी

सन् १८२१मा लुई ब्रेल १२ वर्षको छँदा हातहतियार विभागका अवकाशप्राप्त फ्रान्सिसी क्याप्टेन, शार्ल वारबेड उक्त संस्थामा आए । त्यहाँ तिनले रात्री सन्देशमार्फत वार्तालाप प्रस्तुत गरे र यसलाई पछि सोनोग्राफी भनिन थालियो । वारबेडले युद्धभूमिमा प्रयोग गर्न यो रात्री सन्देश विकास गरिएको थियो । यो ६ थोप्ले उचाइ तथा दुई थोप्ले चौडाइको आयातकार रुपमा मिलाएर कुँदिएका थोप्लाहरू स्पर्शद्वारा वार्तालाप गर्ने तरिका थियो । शब्दहरू उच्चारण गर्न कोड प्रयोग गर्ने यो धारणाप्रति उक्त विद्यालयमा केही सकारात्मक प्रतिक्रिया देखियो । बडो उत्साहित हुँदै लुईले यो नयाँ पद्धति प्रयोग गर्नुका साथै त्यसमा केही सुधार पनि गरे । तर, यस तरिकालाई साँच्चै व्यावहारिक बनाउन लुईले अँझ धेरै काम गर्नु थियो । तिनले आफ्नो दैनिकीमा यसो लेखेः ‘‘मानिस तथा घटनाहरू, विचार तथा सिद्धान्तहरूबारे सिक्न म आफ्नो आँखामा भर पर्न सक्दिनँ भने मैले अर्को उपाय खोज्नैपर्छ ।’’

सन् १८०८मा तयार पारिएको उक्त सैनिकहरूका लागि रात्री सन्देश पठाउने १२ सूत्रीय एक पद्धतिको अध्ययन गरेर दुई वर्षमा यो कोडलाई सरल बनाउन लुईले निकै परिश्रम गरे । अन्ततः तिनले तीन थोप्ले उचाइ र दुई थोप्ले चौडाइ मात्र भएको आकारमा आधारित निश्चित आकारप्रकारको उच्चस्तरीय तरिका विकास गरे । सन् १८२५मा १५ वर्षको उमेरमा लुई ब्रेलले स्पर्शलिपिलाई दृष्टिविहीनहरूले सहज ढङ्गले छामेर पढ्न र लेख्न सक्ने लिपिमा परिमार्जित गर्न सफल भए । त्यसको लगत्तै लुई ब्रेलले उक्त संस्थानमा सिकाउन थाले र सन् १८३४मा उनले यो सफलतापछि स्पर्शलिपिलाई ६ विन्दुमा आधार बनाई व्यवस्थित रुपमा ६ अक्षरको एक कोठा बनाई तिनै ६ विन्दुबाट ब्रेल लिपिको विकास गरे । आज तिनको आफ्नै ब्रेल पद्धतिको नामले चिनिने अनुपम सञ्चार प्रणाली प्रकाशित गरे ।

विश्वव्यापीकरण र नेपाल

लुईको मृत्युपश्चात् सन् १८५४मा अमेरिका, फ्रान्स र बेलायतले उनको यो लिपिलाई सर्वमान्य बनाई उक्त लिपिको नाम ब्रेल लिपि नामाकरण गरियो भने युनेस्कोले सन् १९५१मा मात्र विश्व ब्रेल परिषद्को स्थापना गर्यो । यस परिषद्को स्थापनापश्चात विश्व ब्रेल परिषद्ले संसारभरि नै ब्रेलको प्रचलन र प्रयोग गर्ने मान्यता दिलाउन सफलता पाएको छ । संसारभरि ब्रेल लिपिको मान्यता प्रचलनपछि ब्रेल छापाका लागि ब्रेलप्रेसको आविष्कारले ब्रेल लिपिको प्रयोग र उपयोगमा कोशे ढुङ्गाको काम गरेको छ ।

नेपालमा ब्रेल लिपिको विकासको क्रमलाई हेर्दा सन् १९६४मा सर्वप्रथम एकीकृत शिक्षा लागू भई दृष्टिविहीनहरूले पढ्ने विद्यालयको रुपमा कीर्तिपुरमा लेब्रोटरी हाइस्कुलको स्थापना भएको थियो भने त्यसबेला नेपाली ब्रेलको विकास नभएकोले अङ्गेजी र भारतीय ब्रेलको प्रयोग हुन थालेको पाइन्छ । नेपाली ब्रेललाई विकासमा योगदानको श्रेय जंगबहादुर बोगटीलाई जान्छ, उनी स्वयं पनि एक दृष्टिविहीन हुन् । उनले भारतको देहरादुनको नेशनल इन्स्टिच्युट अफ द ब्लाइण्डमा अध्ययन गरेका थिए । भारतीय र नेपाली दुवै देवनागरी लिपि भएकाले प्रयोगमा त्यति जटिलता नहुने देखेर जंगबहादुरले भारतीय ब्रेलबाट विकास गरी नेपाली ब्रेललाई नेपालमा भिœयाएका हुन् भने नेपालको चितवन निवासी डा. कमल लामिछानेले सन् २०१०मा जापानको चुकुवा विश्वविद्यालयबाट मास्टर्स र टोक्यो विश्वविद्यालयबाट ‘एडभान्स इन्टरडिसिप्लिनरी स्टडिज’मा ब्रेल लिपिबाट पिएचडी गर्ने पहिलो नेपाली भएका छन् ।

उनी जाइकाका पहिलो पूर्णकालीन नेपाली अनुसन्धानकर्ता पनि हुन् । उनी अहिले नयाँ सहश्राब्दी विकास लक्ष्यमा राम्ररी समेट्न नसकिएका झण्डै ६५ करोडभन्दा बढी दृष्टिविहीन भएका व्यक्तिहरूका मुद्दालाई जाइकामार्फत् विश्व समुदायसम्म पुर्याउने प्रयास गरिरहेका छन् ।

अर्कोतर्फ उक्त नेपाली ब्रेललाई नेपाल सरकारको तर्फबाट मान्यता नपाइरहेको अवस्थामा थियो । यसैबीच दृष्टिविहीनहरूको एक समितिले सन् २००४मा नेपाली ब्रेल एकरुपतासम्बन्धी संहिता शिक्षा विभागलाई बुझाएको थियो भने सन् २००६मा शिक्षा मन्त्रालयबाट सो संहितालाई मान्यता दियो ।

लुई क्षयरोगबाट पीडित थिए । यस रोगबाट धेरै दिन बच्ने अवस्था पनि थिएन, अपितु दृष्टिविहीनहरूका लागि देवता मानिने लुई ब्रेलले यस संसारबाट सन् १८५२, ६ अगस्तमा ४२ वर्षको उमेरमा सदाका लागि बिदा लिए । यसरी भित्री उज्यालो देखाउन सफल भएका उनी सदा सर्वदा अमर अमर भएर बाँचिरहेको छ र बाँचिरहने पनि छन् ।

[email protected]

२०७१ पुस १९ गते प्रकाशित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *