अथाह मान्छे धरती कमायो
विपत्ति यस्तो कसले पठायो
विनाशकारी, घर थर्थरायो
बहत्तरैमा भुइँचाल आयो
बिहाल सारा जन—जिन्दगीको
विज्ञान अन्धो अनविज्ञ जो भो
चिहान आफ्नै घर भो र खायो
भएर धामी भुइँचाल आयो
अपार झट्का भएको भँगालो
छ त्रास मात्रै भरियो अँगालो
उपाय खोज्दै बबुरो डरायो
दुरुस्त नब्बे, भुइँचाल आयो
न ज्ञानदाता न त हुन्छ पत्ता
छ राज उस्कै सब एक सत्ता
निरीह मान्छे घर जो हरायो
कुसाइतैमा भुइँचाल आयो
मरेर जाने जन जो गएका
अपाङ्ग कोही टुहुरा भएका
विचित्र यस्तो भन के गरायो
खुसी हरायो, भुइँचाल आयो ।
रामविक्रम थापा
कृष्णगर्त, खोटाङ
मो.नं. ९७५३००४३६०
