जेष्ठ ३१, २०७२- जतिखेर नेपालमा निर्दलीय पञ्चायती व्यवस्था नेपाली जनताको मथिंगलमा टेकेर रजाइँ गर्ने बलियो तरखर गर्दै थियो, लगभग त्यहीताका अर्थात् सन् १९६३ को अगस्टका प्रारम्भिक दिनहरूमा सोभियत रुसको तत्कालीन राजधानी लेनिनग्रादमा युरोपीय साहित्यकार र समीक्षकहरू भेला भएर भविष्यका उपन्यासहरूमाथि चर्चा गर्दै थिए । त्यतिखेर लेखक र समीक्षकहरूको एउटा समूहले समाजवादी यथार्थवादी उपन्यासको विपक्षमा उभिएर त्यहाँ भन्दै थिए– अब सामाजिक यथार्थमात्र लेखेर हुँदैन । उपन्यासकारले अब आफूले भोगेको वा देखेको यथार्थको मात्र लेखनबाट तुरुन्तै आफूलाई अलग पारिहाल्नुपर्छ र उसले अब नयाँ यथार्थको निर्माण गर्न थाल्नुपर्छ । जो दृश्यभन्दा टाढा छ, त्यसलाई पनि उसले खोज्नुपर्छ र अपरिचित अन्तर्जगततिर पनि अब उसले आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ ।
लेनिनग्रादको कुनै सभागारबाट यी भनाइहरू अभिव्यक्त भइरहँदा सम्भवत: नारायण ढकाल (जन्म २०१०) आफ्नो बाल्यावस्थाका स्वाभाविक क्रीडाहरूमा मस्त थिए । उपन्यासकार वा लेखक बन्ने उपक्रममा उनी लागेकै थिएनन् । त्यसको धेरै वर्षपछि कविता, कथा, निबन्ध बिधालाई छिचोलिसकेपछि बल्ल उनको औपन्यासिक यात्रा प्रारम्भ भएको थियो । तर उनी जुन समय, परिवेश र परिस्थितिमा हुर्किँदै थिए, त्यो समयले उनलाई सामाजिक यथार्थकै लेखन–कर्मप्रति अभिप्रेरित गर्दै थियो ।
हो पनि, दैनिक जीवनमा हामी जुन पात्र, स्थिति र परिस्थितिका निकटमा रहन्छौँ, हामीलाई तिनै कुराले प्रभावित गर्छन् र तिनै स्थितिसित संघर्ष गर्दै हाम्रो आफ्नो जीवन चरित्र, चिन्तन र आनीबानीहरू निर्माण हुन्छन् । यिनै सबै कारणले उनीभित्र बिस्तारैबिस्तारै आफूले भोगेकै र देखेकै यथार्थकै कथावाचक भएर निस्कने हुटहुटी जाग्दै थियो । त्यही हुटहुटी नै उनका ‘दुर्भिक्ष’, ‘प्रेतकल्प’ र ‘वृषभ बध’ उपन्यासको निर्माणको आधार भयो ।
ढकालभित्र जब आख्यान लेखनको चेत जागृत भयो, उनले त्यतिबेलै बुझ्न थालिसकेको हुनुपर्छ, यथार्थबाट विमुख भएर साहित्यको उपादेयता सावित गर्न सकिन्न । जीवनको यान्त्रिक प्रस्तुतिले साहित्यलाई आम मान्छेबाट झनै विमुख पारिदिन्छ । हामीले देखेको, भोगेको या अनुभूूत गरेको कुरा नै हाम्रा साहित्य या उपन्यासका विषय हुन्छन् र बिभिन्न कलारूप र शैलीका माध्यमबाट अभिब्यक्त भएर पाठकको हातहातसम्म पुुग्छन् ।
उनले त्यतिबेलासम्म सायद सोचिसकेको हुनुपर्छ, सिर्जनात्मक कल्पना, फ्यान्टेसी, प्रतीक आदिले कलाको सत्यलाई त्यति बेलामात्र उद्घाटित गर्न सक्छन्, जबसम्म लेखक आफ्नो छेउछाउको जनजीवनको नजिक हुन्छ र त्यही जमिनमा उभिएर चरित्र र कथा–सामग्रीको उद्देश्यपूर्ण चयन गर्छ । जतिसुकै स्वैरकल्पना र कल्पनाशीलताको कुरा गरे पनि ती हाम्रा समाजिक यथार्थकै धरातलमा उभिएर निर्माण भएका शिल्प र कथा अभिव्यक्तिका माध्यमहरू नै त हुन् आखिर ।
नारायण ढकालले आख्यानका विबिध रूपमा हात हालेका छन् । उनले आख्यानमा विबिध खालका कथानकहरू प्रस्तुत गरेका छन् । तर उनका हरेक कथानकबाट केही न केही राजनीतिक अर्थ प्रतिध्वनित भएकै हुन्छ । सायद यही भएर प्रसिद्ध माक्र्सवादी समालोचक फ्रेडरिक जेम्सनले यस्ता उपन्यासलाई ‘नेसनल एलिगरी’ अर्थात् राष्ट्रिय रूपक भनेका हुन् । उनले त पश्चिमी दुनियाको विकसित पुँजीवादी सभ्यताभन्दा फरक रहेका भारतलगायत तेस्रो विश्वका सबै विकाशशील देशका उपन्यासलाई ‘नेसनल एलिगरी’ नै भनेका छन् ।
जेम्सनको भनाइलाई विश्वास गर्ने हो भने ढकालका उपन्यासहरू राष्ट्रिय रूपकहरू नै हुन् । जसमा प्रकारान्तरले देशकै समस्या, संकट र संघर्षहरू उजागर भएर आएका हुुन्छन् । ‘वृषभ बध’ पनि त्यही कोटिको उपन्यास हो र यसले नेपालमा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्र खोसेर निरंकुश पञ्चायती व्यवस्था स्थापना गर्दाताकाको कथा भन्दछ । कसरी पञ्चायतका नाउँमा चिन्तनहीन जमातहरू एकत्रित भए र अराष्ट्रिय तत्त्वको नाउँमा देशका बौद्धिक र परिवर्तनकामी शक्तिहरूलाई पाखा लगाउँदै गए भन्ने कथावस्तु सुरुचिपूर्ण कथानकका माध्यमद्वारा ‘वृषभ बध’ मा अभिब्यक्त भएको छ । काँठको रूपमा चिनिने काठमाडौंको उत्तरपूर्वमा रहेको एउटा काल्पनिक गाउँ र त्यस वरपरको परिवेशलाई कथानकको क्यानभासको रूपमा प्रस्तुत गरिएको छ ।
रुसी चिन्तक बाख्तिनले संवादात्मक र बहुभाषी हुनु नै उपन्यासको चरित्र मानेका छन् । ढकालको ‘वृषभ बध’ मा उपन्यासको त्यो चरित्र प्रवल भएर आएको छ । यसमा समाजका विभिन्न खालका चरित्रहरू एक ठाउँमा उपस्थित हुन्छन् । तिनीहरू जम्मैले आआफ्नो सोच र चिन्तनअनुसारका बोलीचाली र आनीबानी देखाउँछन् । यस क्रममा कताकतै उपन्यासमा चरित्रहरूको अनावश्यकझैँ लाग्ने भीड पनि जम्मा भएको देखिन्छ । उपन्यासको सहज प्रवाहमा त्यसले बाधा उत्पन्न गरेको जस्तो पनि लाग्छ । त्यस्तो भीडले छिटो गतिमा उपन्यास पढ्ने र उपन्यासमा रोचकता खोज्ने यी दुवैथरीलाई दिक्क भने लगाउन सक्छ ।
आजभन्दा झन्डै आधा शताब्दीअगाडिको समयलाई अभिव्यक्त गर्ने क्रममा उपन्यासकारले गरेको अन्वेषण र प्रस्तुत गरेको ‘डिटेलिङ’ ले उपन्यासका चरित्रहरूको भीड र केही अनावश्यकझैँ लाग्ने उपकथाको भारीलाई पनि क्षम्य बनाइदिएको छ । यो उपन्यासकारको सफलता हो ।
उपन्यासमा प्रयुक्त पात्र र परिवेशको चित्रण शैलीले पात्र र घटनाक्रमका आन्तरिक पक्षहरूको सफल रूपमा उद्घाटन गरेको छ । उनीहरूको जीवनका आन्तरिक द्वन्द्व र घटनाहरूको भित्री बनोटलाई पनि स्वाभाविक रूपमा प्रस्तुत गरेको छ ।
भनिन्छ, इतिहास लेखन र उपन्यास लेखन सँगसँगै सुरु भएको हो । इतिहास पनि उपन्यास लेखनजस्तै घटिसकेका घटनाहरूप्रतिको आख्यानिक दृष्टिचेतकै आधारमा लेखिने भएर त्यसो भनिएको होला । चर्चित भारतीय समीक्षक नामवर सिंहले इतिहास र उपन्यास सजातीय हुन् भनेर ठोकुवा नै गरेका छन् ।
तर यस सन्दर्भमा प्रख्यात बंगाली उपन्यासकार बंकिमचन्द्रको विचार पनि मननीय छ । उनले आफ्नो ऐतिहासिक उपन्यास ‘राजसिंह’ (१८८२) को भूमिकामा लेखेका छन्– इतिहासको उद्देश्य कैलेकाहीँ उपन्यासद्वारा सिद्ध गर्न सकिन्छ । तर उपन्यासकार सधैँ सत्यतथ्यको बन्धनमा बाँधिदैन । उपन्यासले सधैँ इतिहासको भर्याङ पनि खोज्दैन । उपन्यास आफ्नो उद्देश्य पूरा गर्नका लागि कल्पनाको सहयोग लिन स्वतन्त्र हुन्छ ।
‘वृषभ बध’ ले नामवर र बंकिम दुवैको भनाइलाई आत्मसात् गर्दछ । वृषभ बध इतिहास भइसकेको पञ्चायतकालीन घटनाक्रमलाई आजको आँखाले तर स्वतन्त्र ढंगले हेर्ने एउटा रचनात्मक माध्यम पनि हो । शैलीगत परिपक्वता भएन भने यस्तो तरिका अपत्यारिलो पठन पनि हुन सक्छ । ढकालले सरल र प्रवाहमय भाषाका माध्यमबाट हामीलाई आख्यान र इतिहास एकसाथ पढाउन सफल भएका छन् । उपन्यासको यही सरल भाषाले कथावाचन शैलीलाई सजीव र प्रभावपूर्ण बनाएको छ । शैलीले नै चरित्रको चित्रणमा र घटनाहरूको वर्णनमा मार्मिकता, सघनता र गहनता उत्पन्न गर्दोरहेछ । वृषभ बधमा यी तीनै पक्ष विद्यमान छन् ।
आजभोलि लेखिँदै गरेका उपन्यासमा पात्रको व्यक्तित्वको चित्रण प्रवल भएर आएको छ । अब उपन्यासका चरित्रको निर्माणमा आदर्श हैन, वास्तविकताको प्रयोग हुन थालेको छ ।
त्यसैले उपन्यासका नायक या केन्द्रीय पात्रहरू अब असल खराब, नैतिक, अनैतिकजस्ता पनि हुन सक्छन् । पहिलापहिला पात्रको ब्यवहारले उपन्यासको घटनाक्रमलाई डोर्याउँथ्यो भने अब पात्रहरू घटनाक्रमभित्र पसेर आफ्नो प्रतिक्रिया दिन थालेका छन् । त्यसैले अहिलेका उपन्यासका चरित्रहरू स्वाधीन र बढ्ता विश्वसनीय भएका छन् ।
ढकालको उपन्यासमा पनि चरित्रको यो गुण प्रखर भएर आएको छ । उपन्यासको प्रमुख पात्र देवेन्द्र शर्मा आरम्भमा आफ्नै रामरमितामा रमाउने छुल्याहाजस्तो लाग्छ । पञ्चहरूको राजनीतिक सभामा साँढेलाई लगेर हुलिदिन्छ । तर त्यही कारणले जब ऊ आफूले सोच्दै नसोचेको र चिताउँदै नचिताएका घटनाक्रमहरूमा फस्दै जान्छ, उसको चरित्र क्रमश: रूपान्तरित हुँदै जान्छ । उसको वरिपरि घटित भइरहेका राजनीतिक घटनाक्रमहरूबाट ऊभित्र क्रमश: एउटा जीवनदृष्टि निर्माण हुन थाल्छ । उपन्यासको अन्त्यसम्म आइपुग्दा एउटा हुल्याहा केटा जिम्मेवार राजनीतिक प्राणी भएर निस्कन्छ । बाँकी जीवन वाम राजनीतिमा बिताउने चाहना प्रबल भएर आउँछ उसमा । उसको चरित्रको यो रूपान्तरण कतिलाई अस्वाभाविक पनि लाग्न सक्छ । कतिलाई यो कम्युनिस्ट राजनीतिको पक्षपोषण गर्न लेखिएको आख्यानजस्तो पनि लाग्ला ।
उपन्यासको अन्त्यतिर आउँदा उपन्यासकारलाई कथा समाप्त गर्ने हतार भएको देखिन्छ । उपन्यासको अन्तिम पातो पल्टाउँदै गर्दा त्यही हतारले नै देवेन्द्र शर्माको चरित्रको रूपान्तरण प्रक्रियाले पाउनुपर्ने विस्तार पाउन नसकेको हो कि जस्तो आभास भइरहन्छ । कथानकमा पात्रले गर्ने गतिविधि, त्यसको प्रासंगिकता, त्यसको उचित अनुपात र सन्तुलन महत्त्वपूर्ण कुरा हो । त्यसमा विश्वसनीयता पनि हुनुपर्छ र कथावस्तुअनुसार उठेका मुद्दाहरूको सहज र स्वाभाविक उठान र बैठान पनि हुनुपर्छ । वृषभ बधको अन्त्यतिर आएर कताकता त्यो सन्तुलन खल्बलिएको जस्तो लाग्छ । फलत: कथाको क्लाइमेक्समा पात्रको ब्यवहार र सोचमा आएको द्रुत गतिको परिवर्तनमा यथार्थभन्दा रोमान्टिसिजमको बढ्ता प्रभाव देखिन्छ ।
लेखकको निजी राजनीतिक पक्षधरतालाई विचार गर्ने हो भनेचाहिँ उपन्यासको यस्तै खालको अन्त्यलाई पनि स्वाभाविक मान्न सकिन्छ । किनभने जतिसुकै निरपेक्ष बस्छु भने पनि कथानकमा कतै न कतै लेखकको पक्षधरता देखिई नै हाल्छ । यो आख्यान लेखनको कमजोरी पनि हो र सामथ्र्य पनि । तर यति भन्दाभन्दै पनि अब उपन्यासकार ढकालले स्विकार्नैपर्छ, उपन्यासका आम पाठकले वृषभ बधको सन्दर्भमा उनलाई सबैभन्दा बढी गर्ने प्रश्न र उनीमाथि लाग्ने सबैभन्दा संगीन आरोप यही हुन सक्छ ।
उपन्यास आजभन्दा पचास वर्षअघिको समाज र जनजीवनका यथार्थहरूलाई अभिब्यक्त गर्ने प्रतिबद्धता र हस्तक्षेपका साथ हाम्रा सम्मुख उपस्थित भएको हो । वृषभ बध उपन्यासको कुनै भौतिक छवि हुन्थ्यो भने हामी स्पष्ट देख्ने थियौँ, यसका खुट्टाहरू कसरी यथार्थको ठोस धरातलमा बलशाली भएर उभिएका छन् । यस अर्थमा पनि वृषभ बध उपन्यासकार ढकालको पढ्नैपर्ने औपन्यासिक कृति हो ।
http://kantipur.ekantipur.com/news/2015-06-14/410840.html
