Skip to content


हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी भने दिनानुदिन टुसाउँछौ । हामी अँझ चाम्रँदै होचिन्छौँ । तिमी भने उम्रेर झ्यागिन्छौ । तिम्रो बुद्धि पलाइरहेझैं छ । हाम्रो शुद्धि हराइरहेझैं छ । अरू बेला हप्काउँछौ; थर्काउँछौ; त्यत्तिले नपुगे तर्साउँछौ । तर, चुनावमा भने हाम्रो छाप लिन गुलिया आश्वासन वितरण गर्छौ । तिम्रो आश्वासनमा विश्वास गरी हामी मख्ख हुन्छौँ । र, अन्तिम पटक भन्दै आफ्नो नागरिक अधिकार तिम्रा नाममा हवाला गर्दिन्छौँ ।

जितेपछि तिमी जिताउनेलाई नै बिर्सन्छौ । जिताएको भूमिलाई समेत पराई ठाउँ सम्झन्छौ । तिमीलाई जिताउँदा पनि उही भयो । हराउँदा पनि त्यही भयो । मन मिल्दा विजातीय सहकर्मीसँग समेत घाँटी जोडिएको कुरा गर्छौ । मन भाँडिँदा पानी बाराबार गर्छौ । अँझ, आफ्नो स्वार्थको घैंटो रित्तियो भने बन्द–हडताल, धर्ना–अनसनको परिपञ्च रच्छौ । थपडीका लागि बेसुर हुन्छौ । सञ्चारमाध्यमले तिम्रो सक्कली तस्विर सार्वजनिक गर्छन् । जगत् तिमीलाई टेढा आँखाले हेर्न थाल्छ । अनि, रक्षाकवच धारण गर्ने सुरले यो पत्रुकारको मनपरी हो भन्छौ । आफूलाई सधैँ सत्यको राजमार्ग ठान्छौ । हामीलाई भने बेसुरा जमात सम्झन्छौ ।

यद्यपि तिम्रो फैलँदो स्वरूप स्वीकार्न तत्पर रहन्छौँ । हामी पनि परोक्षमा तिमीलाई ‘काउछो’ भन्छौँ । काउछोकै माला पहिरिन तत्पर छौँ । खबरदार ! पिसिन र चेपिन भने विल्कुलै सहमत छैनौँ । फैलँदो रूप नयाँ मुलुकको शिलान्यासमा काम आओस् भन्छौँ । तिम्रो सप्रेको मुहार हेर्न लालायित छौँ । नयाँ नेपालको हस्ती तिमीलाई नै ठानेका छौँ ।

शिक्षक मासिक २०७२ चैत
तपेश्वरी–१, उदयपुर ।
हाल : श्रीमहावीर मावि, विषहरिया–४, सप्तरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *