” म यहीँ छु ।”
” मेरोमा आउन छोड्यौ क्या रे ”
” त्यस्तो होइन हजुर ”
” माया भा पो ”
” त्यस्तो नभन्नु न ”
” त्यस्तै त हो नि ”
” आफ्नै काममा भइन्छ¸ त्यसैले ”
” काम छ भन्दैमा माया मार्न पाइन्छ त ? ”
” माया कसले मारेको छ र ! तपाई पनि आफ्नै काममा बिजी हुनुहुन्छ¸ त्यसैले ”
” कहिले काहीँ यता पनि आऊ न !”
” हुन्छ¸ आउला नि ”
००
माया भन्ने चिज बडो गजवको हुदोरहेछ । मायाले जात उमेर धर्म रङ्ग रुप केही पनि हेर्दैन भन्थे¸ त्यो सत्य रहेछ । कुनै बेला कुनै फरक प्रसंगमा केही दिन संगसँगै काम गर्ने मौका मिलेको थियो उनीसँग । पहिलो पटक देख्दा नै भित्र कता चसक्क भएको थियो मेरो । हिस्सी परेको अनुहार अग्लो पातलो र छरितो शरीर कोईलीको जस्तो मीठो बोली ठूला र तीखा आँखा लामो र स्टेट गरिएको हावामा उडिरहने कपाल टिसर्ट र जिन्स पाइन्ट । भद्दा मेकअप नगरिएको मायालु अनुहार। यही नै हो मैले पहिलो पल्ट देखेको झलक ।
उनको यो रुप मनमा यसरी गढ्यो कि जो जुनी जुनी देखि परिचित थियो र आज यस जुनीमा पहिलो पटक प्रकट हुदैछ जस्तो भयो । म त्यतिखेरै भावविभार भएँ । अवाक भएँ । एकछिन त बोल्नै सकिन । अनायास हृदयमा प्रेमअंकुरण भएर आयो । यो प्रेम मेरो एकतर्फी थियो र यसले हृदयमा यस्तो छाप छोड्यो जो कहिल्यै पनि भुल्न सकिदैन ।यो प्रेममा कुनै आग्रह छैन¸ कुनै लालसा छैन¸ कुनै चाहना छैन¸ कुनै कामना छैन । केवल प्रेम छ । एक झल्को देख्ने, एक बचन सुन्ने र एकछिन समीपमा रहने चाहना मात्र छ । आजकल प्रेममा अनेक उद्देश्य हुन्छन् । कोही घरजम गर्न प्रेम गर्छन् । कोही आत्मरती पूरा गर्न प्रेम गर्छन् । कोही समय काट्न प्रेम गर्छन् । मानिस केही न केही पाउन प्रेम गर्छन । तर मेरो मनमा उव्जेको प्रेममा कुनै कामना छैन¸ कुनै वासना छैन¸ कुनै चाहना छैन¸ कुनै स्वार्थ छैन । खासमा मैले उनीसँग प्रेम गरेकै होइन यो त अचानक आफै भएको हो । म आफै अचम्ममा परेको छु । पहिले पहिले मैले पनि प्रेम गर्छु भनेर लागेँ तर साँचो प्रेम गर्नै सकिन । केही स्वार्थ ममा देखियो केही उमा देखियो अनि प्रेम खत्तम भो । तर यो प्रेम आफै भो । कसरी भो कसरी । अचम्म लागिरहेछ ।
यसको बारेमा म उनलाई भन्न पनि सक्दिन । त्यो आँट ममा छँदै छैन । मुख नै खोल्न सक्दिन मैले । म यसको आभास पनि उनीसम्म पुगोस भन्ने चाहन्न । किनकि उनले मलाई घृणा गर्न सक्छिन् । मेरो आत्मीय एकतर्फी प्रेममा तुषारापात हुन सक्छ । किनभने उनी एउटी कलकलाउदी भरखरकी अविवाहित युवती म भने एउटा अधबैसे विवाहित पुरुष । हाम्रो उमेर र अवस्था बेमेलको छ । सामान्य नजरमा हेर्दा कुनै हालतमा ग्राह्य छैन । सामान्य अवस्थामा प्रेम गर्न उमेर र अवस्थाको मेल चाहिन्छ । तर हामी बिचको अवस्था फरक छ । मेरो घरमा श्रीमती छोरा छोरी सबै छन् । परिवारमा कुनै समस्या छैन । मैले अन्त माया लगाउनु पर्ने त्यस्तो कुनै कारण र अवस्था पनि छैन । किन अनायास उनी माथि मेरो आशक्ति बढेको छ¸ थाहा छैन। मान्छेले मेरो प्रेमलाई नाजायज पनि ठान्लान् । अनैतिक पनि भन्लान । तर मेरो उनीसँग कुनै स्वार्थ छैन । न त म यसबाट कुनै किसिमको नाजायज फाइदा उठाउन चाहन्छु । म त मेरो एकतर्फी प्रेमबारे उनलाई थाहासम्म नहोस भन्नेमा छु । त्यसैले म उनलाई मेरो प्रेमको बारेमा छनक पनि दिन चाहन्न । मलाई लाग्छ हाम्रो जन्मान्तर धेरै लामो भैदिएछ । एकै समयमा जन्मेको भए सायद हाम्रो प्रेमको केही अर्थ हुन्थ्यो कि ?! अनमेल प्रेम गर्नु हुन्न भन्छन् तर मैले यो प्रेम कहाँ गरेको हो त ?! यो त आफै भएको हो । मलाई लाग्छ हामी दुवैको जुनी जुनीको सम्बन्ध थियो । जुनी जुनी हामीसँगै सँगै बाँच्यौ होला । यस पटक भेट हुँदा बिधाताले केही गडबडी गरिदिएछ । अगाडि र पछाडि पारिदिएछ । भाग्यको लेखा यस्तै लेखिदिएछ। हामी दुवै यही छौँ । एक आपसमा बोलचाल हुन्छ । तर माया साटासाट हुदैन । म मनमनै माया दिन्छु मात्र¸ तर लिन पाउदिन । उनले मेरो माया लिन्छिन् कि लिन्नन मलाई थाहा छैन । हरे ! बिधिको बिडम्बना ।
केही वर्ष अघि हाम्रो भेट भएको थियो । मैले काम गर्ने कम्पनीमा केही कर्मचारीहरू छोटो समयको लागि आवश्यक भएकोले बिज्ञापन गरिएको थियो । उनी पनि प्रत्यासी भएर आइन् । उनलाई देख्ने बित्तिकै म मोहित भएँ । मैले जीवनमा धैरै केटीहरू देखेको छु । तर उनमा मैले अर्कै अलौकिक सुन्दरता देखेँ र त्यो सुन्दरतासँग म जन्म जन्मान्तर परिचित छु जस्तो लाग्यो । म अलि रुखो स्वभावको मान्छे भएकोले उनीसँग पनि आफ्नो स्वभाव प्रदर्शन गर्न पुगेछु । उनको निम्ति म नौलो थिएँ । मेरो कडा स्वभाव मन नपर्नु स्वभाविक थियो । मेरै छेउको कम्प्युटरमा काममा लगाउन पाए हुन्थ्यो भन्ने लाग्यो र त्यही प्रस्ताव राखेँ । उनी त मेरो व्यवहार मन नपराएर मेरो प्रस्तावलाई असहज रुपमा लिइछन् र फर्केर आइनन् । पछि उनी काममा नआउने कुरा थाहा पाउँदा म मर्माहत भएँ । धैर्य गरेर मधुर व्यवहार गर्न नसकेकोमा आफैलाई धिक्कारेँ । फेरि केही दिन पछि उनी आइन् । मैले केही प्रतिक्रिया जनाइन । केही नभएको जस्तो गरिरहेँ । उनी फेरि काममा लागिन् । मेरो चहराइरहेको हृदयमा अलिकति मलहम लाग्यो । दिनमा दुई चार पटक सुटुक्क हेरेर चित्त बुझाउन थाले । हाइ हल्लो बाहेक अरु खासै कुरा भएनन् । किनभने म फेरि उनलाई यहाबाट पठाउन चाहन्नथे । अन्ततः काम सकियो । सबैलाई बिदा गरियो । उनी पनि बिदा भइन् । मेरो मनमा फेरि कालो बादलले ढाक्यो । कहाँ कसरी भेट होला झैँ भैरह्यो । फोन नम्बर त थियो तर फोन गर्ने आँट थिएन । कतै देखिहाल्छु कि भनेर प्रत्येक दिन चार पाँच पटक बजारमा चक्कर लगाउन थालेँ । उनको घर भएको ठाउँ थाहा थियो तर घरसम्म जाने आँट थिएन । अन्ततः उनी फेरि एक पटक बजारमा देखिइन् । उनी फेरि त्यही बाटो भएर ओहोर दोहोर गर्न थालिन् । कहिले काहीँ हाम्रो जम्काभेट हुन थाल्यो । हाई हल्लोको औपचारिकता हुन थाल्यो । उनको लागि त यो सामान्य थियो होला किनकि म जस्ता साथी उनका अरु पनि थिए । तर मेरो त यो तहको साथी उनी मात्र थिइन¸ केवल उनी मात्र ।
मेरो मनको उथलपुथल बारे उनलाई कुनै जानकारी थिएन र छैन पनि । म पनि यो कुरा उनलाई सकभर थाहा नहोस् भन्न चाहन्थेँ । किनकि मेरो प्रेम उनले स्वीकार्न सक्ने खालको थिएन । मलाई घृणा गर्न सक्थिन । उनले घृणा नै गरेपनि मलाई त केही फरक पर्ने थिएन । मैले गर्ने मायामा कुनै कमी हुने थिएन । तर हाम्रो भेट पालतो हुन सक्थ्यो । उनी मबाट टाढा हुनु पर्ने हुनसक्थ्यो । त्यसैले मेरो एकतर्फी प्रेमबारे थाहा नदिनु नै श्रेयस्कर लाग्यो र दिइन पनि । म उनीसँग नजिक हुन चाहन्थेँ । उनी मेरा अगाडि बसिरहुन र मेरा कुरा सुनिरहुन, म अव्यक्त शव्दावलीमा मेरा भावनाहरू सुनाइरहुँ भन्ने म चाहन्थेँ ।त्यसैले मैले मेरो एकतर्फी प्रेमको बारेमा उनलाई कहिल्यै भनिन ।
उनले एउटा बित्तीय संस्थामा काम गर्न थालिछन् । फेरि हाम्रो भेट हुन छोड्यो । कता गई होलिन् । बिहे पो गरिछन् कि भन्ने लाग्यो । एक पटक फोन गर्छु भनेर ठूलो साहस गरेर नम्बर डायल गरेँ । फोन उठेन । खुइइय लामो सास फेरेँ । केही दिन यसरी नै छटपटी मै बिते । उनलाई कतै देख्ने भेट्न सकिएन । एक दिन फेसबुकमा अनलाइन भेट भयो । मेरो खुसीको सीमा नै रहेन ।
” के छ हाल खबर ……… (नाम) ”
” ठिकै छ ”
” सन्चै हुनुहुन्छ ?”
” हजुर सन्चै छु अनि तपाई !”
” म नि सन्चै छु ”
” अनि अहिले कता नि ”
” म यतै काम गर्दैछु ”
” ए ! खुसी लाग्यो ”
” कहिलेकाहीं फुर्सदमा यता पनि आउनु नि है !”
” हुन्छ नि ”
” रिसाएकी त छैनौ नि ”
” किन रिसाउनु र ”
” त्यही त नरिसाउनु है मसित ”
” किन रिसाउने नि रिसाउदिन ”
” काममा व्यस्त होला हैन ”
” अँ अलिअलि काम त भैहाल्छ नि ”
” डिस्टर्व भयो कि ? ”
” खासै भा छैन¸ पछि कुरा गरौँला है त ”
” हुन्छ ओ के बाई ”
००
त्यसको केही समय पछि अचालक मलाई त्यो ठाउँ छोडेर अन्तै जानु पर्यो । उनलाई यो खबर सुनाउन सकिन । यो सुन्दा उनलाई त खासै फरक पर्ने थिएन तर म आफै व्यथित हुन्थ्येँ । त्यसैले केही कुरा नभनी जाने निधो गरेँ । अब म उनी देखि धेरै टाढा पुगिसकेको थिए । उनको सम्झना र फेसबुकबाट डाउनलोड गरेका फोटो बाहेक मसँग अरु केही थिएन । हरेक दिन उनको सम्झना आइरहन्थ्यो । फोटोहरू हेर्थेँ । व्यथित मन लिएर बाँचिरहेको थिएँ । पछि अफिसमा नेटको व्यवस्था गरियो । त्यसपछि फेसबुक खोलेँ । उनलाई अनलाइन देख्दा ठूलो युद्ध जिते जस्तो भयो । अनि म आफू सरुवा भएर यता आएको कुरा भने । मेरो कुरा सुनेर उनले पनि नजाती मानिन् ।
” अनि कति भयो त त्यहाँ गएको ? ”
” भरखर एक महिना भयो ”
” ठाउ त रमाइलो नै होला । ”
” अँ रमाइलै भन्नु पर्यो। । ”
” अनि अरु ”
” अरु केही छैन, साथीहरूलाई त्यतै छोडेर आउनु पर्दा दुखी छु ”
” …………..……………”
” ल ! आजलाई बिदा पाउँ है ”
” ओके ”
” माया नमार्नु है ”
” ओके बाई ”
००
कहिले कहिले सपनामा उनैलाई देख्थेँ । उनीसँग हाँसेको गफ गरेको डाँडाकाँडा घुमेको सपना देख्थेँ । एक दिन चाहिँ मैले उनीसँग बिहे गरेको सपना देखेँ । रातभरि बिहेमा रमाइलो गरिएछ । बिहान उठ्दा त आफू एक्लै रहेछु । अंगालोमा त सिरक पो रहेछ । साह्रै नमज्जा लाग्यो । यो सपना नटुटेको भए हुन्थ्यो झै लाग्यो । यस्तो हुनै नसक्ने सपना देखिएछ अनि रातभरि रमाईछ । झुटो नै भएपनि सपना राह्रै रमाइलो र जीवन्त थियो । यस्तो सपना म बारम्बार देख्न चाहन्छु । तर फेरि नसिव भएको छैन । एक दिन मैले यो कुरा उनलाई फेसबुक च्याटमा भनी दिएँ । सायद उनलाई यो कुरा राम्रो लागेन क्या रे । धेरै बेर गफ पनि गरिनन् त्यस दिन । नभनेको भए हुन्थ्यो किन भनेछु भनेर दिनभरि ग्लानि भै रह्यो । त्यस पछि धेरै दिनसम्म उनी फेसबुकमा पनि देखिइनन् । धेरै पछि एक दिन फेसबुकमा फेरि हाम्रो भेट भयो ।
” अनि अहिले तपाई कता नि ”
” म अहिले अर्को फर्ममा काम गर्दैछु ”
” कुन ”
“……………” अनि यता कहिले आउने हो त ? ”
” किन मलाई भेट्ने हो र ?”
” किन नभेट्नु, भेटौँला नि !”
” त्यहाँ जाडो छ होला ”
” जाडोसँग पनि डराउने हो र ? अलि अलि त भैहाल्छ नि ”
” ए हुन्छ ! जाडोले डराको हैन घर त आउछु नि ”
” यता आउँदा मलाई भेट्नु है ! ”
” हुन्छ अवश्य भेट्छु ”
” म अब पढ्न काठमाण्डू जान्छु होला ! ”
” कहिले ?”
” अर्को महिना ”
” हुन्छ¸ केटीएममा पनि भेट्न सकिएला नि ! ”
” हुन्छ नि ”
00
उनले नयाँ ठाउँमा काम सुरु गरिछन् । फेसबुकमा सामान्य हाईहल्लो मात्र भैरह्यो । फोन नम्बर भने साटासाट गर्यौँ । मैले नयाँ नम्बर दिएँ । उनले पुरानै दिइन् जुन मसँग छदैथियो । एकपटक फोन गरेको थिए उठेन । त्यस पछि मैले अहिलेसम्म फोन गरेको थिइन । त्यस पछि पनि उनले के सोच्लिन भनेर फोन गर्न सकिन । किनभने बढी नजिक हुन खोज्दा झन टाढा पो भै दिने हुन कि भन्ने डर लागिरहन्थ्यो । यसै बिच लामो समय पछि म घर गएँ । उनलाई भेटौँ भनी गएको थिएँ तर उनले त्यो जागीर पनि छोडिसकेकि रहिछन् । भेट हुन पाएन ।
अहिले फेरि म अर्कै ठाउँमा पुगेको छु । नयाँ ठाउँमा आएर आफ्नो कार्यभार सम्हालेको धेरै भएको छैन । नयाँ ठाउ खासै नरमाइलो छैन । यसो कहिले काहीँ बाहिर निस्कँदा रमाइलै लाग्छ । तर रमाइलो र नरमाइलो त आफ्नै मन हुने रहेछ । मनमा एक किसिमको उमुसमुकुस र खुल्दुली बोक्नु पर्दा रमाइलोको अनुभूती पनि नहुँदो रहेछ । उनीसँग कुरा भएको दिनमा जे पनि रमाइलो नै हुन्छ । नत्र हुन्न ।
अहिले केही दिन पछि फेरि हाम्रो फेसबुकमा भेट भएको छ । मलाई सारै रमाइलो लागेको छ । उनी अहिले कामको सिलसिलामा एउटा हिमाली जिल्लामा पुगेकी छन् । उनले त्यहाँ गएर हिउँले सेताम्मे भएका चुचुराहरू देखिने भिराला ठाउँमा उभिएर खिचिएका फोटोहरू पोष्ट गरिन् । मैले जतनसाथ डाउनलोड गरेर राखेको छु । यसै बिच उनीसँग रमाइलो कुराकानी पनि भैरहेको छ । जिन्दगीका यी पलहरू रमणिय नै बितिरहेका छन् । तर कुनै दिन उनी फेसबुकमा नहुँदा साह्रै नरमाइलो लाग्छ । दिन एकदम लामो र नियाश्रो हुन्छ । उनी फेसबुकमा नआउँदा एकदिन ठूलो हिम्मत गरेर डराउदै फोन गरेँ । गाली गर्लिन्, रिसाउलिन् भन्ने शंका थियो तर उनी त खित्का छोडेर हास्दै बोलिन् र मसँग छोटो कुराकानी गरेर बिदा भइन् । लामो कुरा त हुन पाएन तर पनि मन सारै प्रफुल्ल भयो । ठूलै लडाइ जितेको जस्तो खुसी लाग्यो ।
मेरो यो प्रेम कुनै स्वार्थ बोकेर भएको प्रेम होइन । यो त आफै उत्पन्न भएको प्रेम हो । हो, उनी स्वास्नी मान्छे हुन् म लोग्ने मान्छे । तर मेरो मनमा उनलाई उपयोग गर्ने लालसा छैन । केवल मैले उनलाई भुल्न सक्दिन । उनी माथि मेरो गहिरो प्रेम भएको छ । उनी मसँग नरिसाउन¸ मनले टाढा न भैदिउन¸ म यही चाहन्छु । उनी मलाई माया गर्छिन वा गर्दिनन् मलाई थाहा छैन । सायद गर्दिनन् होला । फेसबुक फोन र भेटघाटमा सामान्य साथीभाइलाई जस्तै हाइहल्लो मात्र गर्छिन कि जस्तो लाग्छ । जे होस् उनले मलाई माया नगरे पनि घृणा पनि नगरुन¸ म यही चाहन्छु । एउटा असल केटासँग उनको विवाह भैदिएको भए हुन्थ्यो । नेपालीको जीवनको सफलता नै सफल बैबाहिक जीवन हो । अहिलेसम्म पनि उनले विवाह नगरेर बसेको देख्दा नमीठो लाग्छ ।
कुरैकुरामा एक दिन “अब बिहे गर्ने हैन ?” भनेर जिस्क्याइ दिएँ ।
” अब त एउटा साथी पनि बनाउनु पर्यो नि सुखदुखमा काम लाग्छ ”
” हाहाहाहाहाहा ”
” हो त नि ”
” ल अब खोज्नु पर्ला ”
” खोज नानी खोज अब धेरै ढिलो नगर हाहाहा ”
” ए हुन्छ तपाईं पनि खोज्दै गर्नुस है ”
” हेहेहेहेहे ए हो र ?”
” हो त !”
” मैले खोजेको मन पर्ला र ?”
” ल किन मन नपर्ने ! ”
” मसँग एउटा मान्छे छ ”
” को हो नि ?”
” पछि भनौला ”
” भन्नु न ”
” उसलाई सोधेर भनौला ”
००
” सोध्नु भो त उसलाई ?”
” सोधेको छैन ”
” के हो नि नाम ?”
” अहिले नभन्ने ”
” भन्नु न हजुर !”
” त्यसो भए अलि घुमाएर भन्छु ”
” के हो त भन्नु न ?”
” त्यसको नाम तिम्रै नामको पहिलो अक्षरबाट आउछ ”
” …………………………………..”
” किन के भो ?”
” मैले त्यो नाम अनुमान गरिसकेँ ”
” को होला ?”
” भन्दिन ”
” चिनेको भए भनन त ”
” भन्दिन ”
” ल मै भन्दिन्छु ”
” भन्नु न छिटो ”
” त्यो नाम हो …………(नाम)”
” को …………(नाम) ?”
” अब अहिले अरु नसोध बिस्तारै भनौला ”
” हस हजुर ”
” मान्छे मन पर्दैन कि !?”
” मैले देखेको छु कि नाई ?”
” किन नदेख्नु ! बोलचाल कुराकानी सबै भाको हुनु पर्छ । दुवैले दुवैलाई चिन्छौ ”
” ए त्यसो भए राम्रै भयो ! ”
” अरु बाँकी पछि भनौला हुन्छ ?”
” हस ”
” मसँग रिस त उठेको छैन ? ”
” ल ! किन रिस उठ्नु ! ”
००
उनले सोचिहोलिन् आफ्नै प्रस्ताव राख्यो भनेर । होइन मैले त जिस्क्याएको मात्र थिएँ । म त विवाहित मान्छे मैले यथार्थमा त्यस्तो प्रस्ताव राख्नै सक्दिन । मबाट कुनै असान्दर्भिक काम हुनै सक्दैन । त्यस पछि फेसबुकमा एक दुई पटक भेट भयो । तर लामो कुरा हुन पाएन । त्यसपछिका दिनहरूमा उनी कुनै न कुनै बहाना बनाएर लगआउट हुन्छिन् । मेरो हृदयमा चोटैचोट पारेर छोड्छिन् । यस्तो सजाय मलाई उनले कति दिन दिने हुन थाहा छैन । उनी मसँग रिसाएर नबोले पनि, घृणा नै गरे पनि मेरो प्रेममा कुनै कमी हुने छैन । जन्मजन्मान्तरको अटुट नाता टुट्ने छैन । यो जन्ममा म अरु कसैको भएँ उनी पनि अर्कैको हुने छिन तर अर्को जन्ममा हामी दुई फेरि एक हुनेछौँ ।
